ज्ञानवती स्कुलबाट फर्किने बेला भैसक्यो । दिनभरि स्कुलका छात्र छात्रालाई पढाउने, साँझपख उनीहरूलाई मार्सल आर्ट सिकाएर घर फर्किंदा ऊ लखतरान भैसकेको हुन्छ ।
मानसिक र शारीरिक श्रमले थकित अनुहार लिएर घर फर्केकी छोरीलाई आउनासाथ खाजा ख्वाउन पाए कति सन्तुष्ट हुन्थी ! छोरीलाई खाजा तयार गर्ने तरखरमा लाग्छे राममाया । उसकी छोरी ज्ञानवतीलाई आलु भरेको पराठा साह्रै मन पर्छ । राममाया आलुपराठा पकाउन आलु उसिन्न बसाल्छे र एउटा बाटामा पीठो चालेर पीठो मुछ्न थाल्छे ।
भिजेको पीठो गिजोल्दै र मोल्दै पीठोको नरम डल्लो पार्छे । अनि त्यही नरम डल्लो गिजोल्दै माड्दै गर्न थाल्छे । पीठो गिजोल्दा र माड्दा एउटा बेग्लै किसिमको नौलो अनुभूति हुन्छ राममायालाई । नरम नरम पीठोको डल्लो गिजोल्दा त झन् बेग्लै किसिमको आनन्दको अनुभव गर्छे राममाया । रोटी पकाउनुको प्रारम्भदेखि अन्तिम क्रियासम्म बेग्लै सुख अनुभव गर्दछे ऊ । धेरै गिजोलेर माडेको नरम पीठोको रोटी पनि फुक्कफुक्क फुल्छ तावामा । तातो तावामा नरम पीठोको रोटी सेकिनासाथ फुक्क फुल्दा रमाइलो आनन्दको अनुभव गर्दछे राममाया । त्यसैले राममायालाई भात पकाउनुभन्दा रोटी पकाउन नै बढी जाँगर चल्छ । छोरी ज्ञानवती पनि भातभन्दा रोटी नै मन पराउँछे ।
राममायाको लोग्ने भने भाते थियो । उसलाई रोटी पटक्कै मन पर्थेन । लोग्ने बाँचुन्जेल भात र रोटीलाई लिएर दुवैजनामा ठाकठुक भै नै रहन्थ्यो । रोटी पकाएकोमा ऊ राममायालाई निकै झपार्ने गर्दथ्यो ।
राममायालाई लाग्थ्यो उसको लोग्ने गिजोल्न पनि जान्दैन थियो र माड्न पनि जान्दैन थियो । गिजोल्न र माड्न नजान्नेले रोटी कसरी फुलाइन्छ र फुलेको रोटी कति स्वादिष्ट हुन्छ के थाहा पाओस् । चिसो भात भकुर्ने बानी परेकोले तातो रोटीको कसरी थाहा पाउने । राममायाको लोग्ने हृष्टपुष्ट कसिलो जवान थियो ।
उसको लोग्नेमा कठोरता थियो मृदुता थिएन । उसको लोग्नेमा यौवनको १ आवेग थियो तर कोमलता थिएन । तर राममाया केटाकेटी बेलादेखि नै कोमल मनोवृत्तिकी थिई । कठोरता उसलाई मन पर्दैन थियो । कठोरताले भन्दा कोमलताले उसलाई फकाउन सकिन्थ्यो । तर श्रमिक जीवनको कठोरतामा हुर्केको उसको लोग्ने कोमल हुनै सक्दैनथ्यो । प्रत्येक कुरामा कठोरता उसको बानी भैसकेको थियो ।
आकर्षक तरुनी राममायालाई माया गर्दा पनि ऊ कठोरै हुन्थ्यो । ऊ उसलाई माया गर्दा पनि बेस्सरी अँठ्याउँथ्यो र पीडादायी म्वाइँ खान्थ्यो । लोग्नेको मायामा आनन्द र सन्तोषको ठाउँमा पीडा र असन्तोष मात्र पाउँथी ऊ । शरीरको कोमल अङ्गहरूमा जुन किसिमको कमलो सरसराहट ऊ चाहन्थी त्यो पाउन्न थी । ऊ तर पनि लोग्नेले जतिसुकै कठोर र अनगढ क्रिया अनाकर्षक र पीडादायी भए पनि त्यो नगरी नहुने क्रियाका लागि उसले तम्तयार हुनै पर्थ्यो । उसको लोग्ने धमाधम भात खाएझैं सबै क्रिया छिटोछिटो सक्थ्यो र राममाया असन्तुष्टको असन्तुष्ट नै हुन्थी । छोरी ज्ञानवती दश महिनाकी भएपछि एकदिन उसको लोग्ने एक्कासि हर्टअटेक भएर उसलाई एक्लो पारेर गयो । लोग्नेको मृत्युपछि राममाया छोरी ज्ञानवतीमै केन्द्रित भई । लोग्नेको कठोर यातनामय रतिक्रियाको सम्झनाले उसमा त्यो यौनआवेग पुनः जाग्रत् हुन सकेन । पुरुष वर्गप्रति उसको आकर्षण बढ्नै पाएन ।
राममायाले ज्ञानवतीलाई शिक्षा दीक्षा दिई । छोरो नभएकोले उसले आफ्ना आकाङ्क्षाहरूलाई ज्ञानवती मार्फत पूरा गर्न खोजी । उसले ज्ञानवतीलाई छोरोसरह नै पालन पोषण गरी । छोरीलाई उसले केटाकै पहिरनमा हुर्काई । जुडो, कराँते, मार्शल आर्ट यहाँसम्म कि भारीत्तोलनजस्ता पुरुषोचित खेलकुदको प्रशिक्षण दिई । गीत गायनमा रुचि भए पनि राममायाको आग्रहमा त्यता लाग्नै पाइन ज्ञानवती ।
शक्तिशाली सुगठन, सामान्यभन्दा अलि अग्ली अनुहारमा नारीजनित कोमलताका ठाउँमा पुरुषोचित कठोरता झल्कने एउटा बेग्लै किसिमको व्यक्तित्व हुन गएको थियो ज्ञानवतीको । ज्ञानवतीतर्फ पुरुषवर्गको आकषर्ण बढ्न सकेन । ज्ञानवती पनि आफ्नै आमामा केन्द्रित हुँदै गएकी छ ।
जम्मा दुईजनाको परिवार छ राममायाको । ३६ वर्षकी विधुवी राममाया र १८ वर्षकी ज्ञानवती । दुवै एक अर्कामा केन्द्रित छन् । ज्ञानवती एउटा स्कुलमा शिक्षिका छ र त्यहाँ ऊ केटाकेटीहरूलाई मार्शल आर्ट सिकाउँछे । यसका अतिरिक्त खेलकुदमा अन्य प्रतियोगिताहरूमा भाग लिन्छे । राममाया ज्ञानवतीका लागि छिटोछिटो आफू पराठा पकाउने उपक्रममा लाग्छे । छोरी स्कुलबाट आउनासाथ तात्तातो आलुपराठा खुवाउनेतर्फ मस्त छे ऊ ।
“मा, आज खाजामा के पकाएको” भन्दै ज्ञानवती भान्छामा पुग्छे । “के हुने तिमीलाई मन पर्ने आलुपराठा पकाउँदैछु । लुगा फेरेर आऊ तात्तातो आलुपराठा टमाटोसँग खानु ।”
ज्ञानवती लुगा फेरेर आई । उसलाई आलुपराठा प्लेटमा दिएर राममाया छोरीले खान लागेको हेरिरही । आजभोलि राममायालाई छोरीप्रति एउटा नौलो किसिमको माया पलाउन थालेको छ । यो माया, छोरी जन्मेदेखि छोरी हुर्काउन्जेल पलाएको वात्सल्यपूर्ण माया होइन ? कुन्नि कस्तो कस्तो बेग्लै किसिमको । छोरीलाई केही दिऊँ जस्तो, छोरीबाट केही प्रतिदान पाऊँ जस्तो । पहिलापहिला राममाया छोरीलाई माया गर्दा एकोहोरो आफ्नो सर्वस्व खन्याउँथी । तर आजभोलि ऊ ज्ञानवतीबाट नौलो खाले माया खोज्न थालेकी छ । उसलाई अनायास नै यो आकाङ्क्षा जाग्न थालेको छ । यस्तो आकाङ्क्षा छोरी १८ वर्षकी हुन्जेलसम्म उसलाई कहिल्यै जागेको थिएन ।
केही दिन पहिला त हो नि, ज्ञानवती जिल्ला स्तरीय भारोत्तोलन प्रतियोगितामा विजयी भएर घर फर्किएकी थिई । राममाया खुसी हुँदै पूर्ण नजरले छोरीलाई हेर्दै थिई । त्यस दिन उसले थाहा पाई ज्ञानवती त काटिकुटी आफ्नै बाबुजस्तै देखिन थालेकी छ । उसको अनुहार आफ्नो बाबुसँग ठ्याक्कै मिल्दो रहेछ । लामो कपाल छोट्याएर जिन प्यान्ट र भेस्ट लगाएकी ज्ञानवती । लामो कपाल पालेको आफ्नो लोग्नेको प्रतिरूप लाग्यो राममायालाई । कमिज सुरुवाल र भादगाउँले टोपी लगाइदिने हो भने त आफ्नो बिहे भएको समयको लोग्नेझैँ देखिन्छे ज्ञानवती । आफ्नो जीतको खुसीमा अँगालो मार्न पुगेकी थिई ज्ञानवती । ज्ञानवतीको यो अङ्गालो एकदमै नौलो किसिमको लाग्यो । राममायालाई ।
बिहे भएपछि पहिलो पटक लोग्नेले अङ्गालो मारेजस्तै तर बेग्लै स्वादको । लोग्नेको अङ्गालो कसिलो र अँठ्याइएको च्यापिएको कठोर थियो तर यो अङ्गालो त उसले चाहेजस्तै कमलो र नरम थियो । लोग्ने मरेको अठार वर्षपछि राममायालाई लोग्नेको सम्झना भयो । लोग्नेको सम्झनाले व्यथित भई राममाया । त्यसै दिनदेखि के नपुगेजस्तो हुन थाल्यो राममायालाई । त्यही दिनदेखि राममाया ज्ञानवतीमाथि दुई किसिमको माया खन्याउन थालेकी छ । एउटा मातृ वात्सल्यको, अर्को के को ? के को ? राममायाले पहिल्याउनै सकेकी छैन यो कस्तो माया ।
आजभोलि छोरीलाई ख्वाउँदा, उसको जीउ मुसार्दा, उसको थाकेको जीउ थिचिदिंदा समेत राममायालाई नौलो किसिमको तृप्तिको अनुभव हुन्छ, अलिकति वात्सल्य, स्नेह र अलिकति वासना मिसिएको अनौठो स्वादको तृप्ति ।
ज्ञानवतीलाई आमाको यस्तो अनौठो मायाको आभास पनि छैन । ऊ आमालाई मातृत्व भावले नै माया गरिरहेकी हुन्छे । दिनभरिको थकाइलाई ऊ राति एउटै ओछ्यानमा सँगै सुतेकी आमाको मातृत्वको अङ्गालोमा बिसाइदिन्छे । तर राममायालाई भने अठार वर्ष पहिलाको लोग्नेसँग बाँधिएको अङ्गालोको सम्झना हुन्छ । ऊ छोरीलाई बेस्सरी अठ्याउँछे र तीव्र उन्मादमा म्वाइँ खाइदिन्छे । प्रत्युत्तरमा छोरीले पनि बिस्तारै आमालाई म्वाइँ खाइदिन्छे । तर उसको म्वाइँमा त्यो आवेग हुँदैन । राममाया अर्कै आवेग चाहिरहेकी हुन्छे । अहिले राममाया छोरीलाई तात्तातो आलुपराठा ख्वाइरहेकी छ । ज्ञानवती पनि “आमा कति मिठो आलुपराठा पकाउनु हुन्छ” भन्दै प्लेटको आलपराठा सिध्याउँछे ।
ज्ञानवती खाइसिध्याएर चुठ्न गएपछि झलाँस्स हुन्छे राममाया । छोरी चुठेर बाहिर गएपछि राममाया त्यसै त्यसै टोलाइरहन्छे । उसको जीउ एकतमासको भइदिन्छ । एउटा नजानिंदो आलस्यले छोप्छ उसलाई । एकछिन निःचेष्ट भएर आँखा चिम्लिदिन्छे ऊ । केही समयपछि बिस्तारै आँखा खोल्छे । के हुन लागेको हो उसलाई ? यस्तो त कहिल्यै हुन्थेन ? लोग्ने छँदै पनि त रात्रिका उनका क्रिया प्रतिक्रियाहरू औपचारिकझैँ हुन्थे । कहीं कतै कुनै सुख कुनै आनन्द हुन्थेन । अहिले छोरीको अनुहारमा लोग्नेको छायाले किन उसलाई यसरी सताएको ? छोरीबाट कुन सुख कुन आनन्दको आशा गरेकी हो उसले ।
पीठो गिजोल्दा र माड्दा जुन कोमल मृदुताको अनुभव हुन्छ उसलाई छोरीको अङ्गालोमा गिजोलिंदा र माडिंदा त्यही मृदुल आनन्दले अविभूत हुन्छे ऊ । अनि ऊ चाहन्छे छोरीले उसलाई बेस्सरी गिजोलोस्, बेस्सरी माडोस् अनि सुस्तरी खेलाइराखोस् जसरी ऊ नरम भएको पीठोको डल्लोलाई बिस्तारै खेलाइरहेकी हुन्छे । राममाया छोरीलाई त्यसो गर्न अभिप्रेरित गर्न चाहन्छे । ऊ आफू पीठोको डल्लो हुन चाहन्छे र छोरीलाई पीठो मुछ्ने साधन बनाउन चाहन्छे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।