ठूलो पर्खाल । ठूलै प्रहरीचौकी । ठूलो यस अर्थमा कि, आकारले एकतले ससाना दशआठ कोठा भएको तर त्यहाँ बस्न आउने थुनुवा र भेट्न आउने मान्छे भने ठुलाबडा मात्र हुने । चौकीको आकार सानो भए पनि त्यहाँ काम गर्ने जवान अफिसर सबकासब ठूलो छाती र फराक मन गरेका अनि थानामा प्रमोशन भइसक्ता पनि सबैले चौकी नै भन्दै आएका छन् त्यो अड्डालाई ।
एक दिन त्यही चौकीमा ऐजनबमोजिम आफ्नै कित्ताका ठूला सर बस्न आए । राम्रा लुगा, महँगो गग, ह्याट, जुत्ता अनि मोटोघाटो दारपातका सर औंलाका औँठी, ब्रास्लेट र घाँटीमा झुण्डिएको सुनको दाम्लो देख्तै जोकोही बेहोस हुन बेर नलाग्ने खालका रहेछन् ! थानाका कमाण्डरले स्यालुट ठोक्दै थुनुवा कोठातिर आगन्तुक सरको अगुवाइ गरे । कोठाको छेउभित्ता तलमाथि आँखा डुलाउँदै सरले पनि खुइय गरे अनि फलेकेखाटको मुलायम बिस्तरामाथि आफ्नो सुदीर्घ काया लम्पसार बिसाए । .
सिपाहीदेखि अफिसरसम्म कुनै समय आआफ्ना पूर्वहाकिमबाट कुटान पिसानका थरीथरी सांघातिक व्यथा बोकेका पात्र खटिएका रहेछन् त्यो चौकीमा । ती सबैले नयाँ पाहुनालाई कसैले झ्याल ढोकाबाट सीधै हेरे, कसैले अन्तरकुन्तरबाट चियाएर हेरे । गोरो वर्ण र मोटो दारपातका सरको भव्य व्यक्तित्व देख्दै जवानहरू त त्यत्तिकै सिटपिटाएका थिए । खाइलाग्दो बाघजुँगे अनुहारको रापले कसैको मुख सुक्यो, कसैको मुटु धड्कियो, कसैको तालु कन्सिरी र दिमागसमेत भतभती तात्यो ।
कमाने कान्छाले यस्तै हाकिमको फलोअर्स (सरकारले पुलिस हाकिमको घरघरै खटाउने भान्छे, नोकर आदि) बस्दा दिनदिनै दुईचार चड्कन भेट्ने गरेको थियो । हजूर बक्स्योस आदि बोलीका भाँती नमिलेर हाकिमको दनक खाने गरेको छनक त निकै पछि मात्र पाएको थियो । यो पनि उही हाकिम त परेन ? भन्दै जूभित्रको थुनुवा बाघलाई मिर्गले हेरेझैँ गर्दै थियो । पुरानो कुरा सम्झिएर मङ्गलेको मुटुमा ढ्याङ्ग्रो बज्यो ।
एक दिन दिउसै अफिस छोडेर निवास फिरेका सरले उनकै विस्तारमा लम्पसार परेर मस्त निदाइरहेको मङ्गलेलाई भेटेपछि भैंमा पछारेर बङ्किबङ् मर्मत गरेका रहेछन् । घर गएकी म्याडम जिल्लामै छँदा पनि उसको त्यही हर्कत थियो कि भन्ने शङ्काले सरलाई बढी तताइरहेथ्यो । उनले कुरा धुत्नकै लागि दिनको दुईचार पटक कोर्रा लगाएपछि हप्तादिनमा बल्ल “सरको अनुपस्थितिमा मेडमले नै बेडरुममा बोलाएर मालिश गर्दै जिउ मिच्न लगाउने गरेको” बताएथ्यो । सुन्दरेलाई पनि उपल्लो हाकिमको फिटिङ्गे (भान्छे) छँदाको सम्झनाले यतिवेर उखरमाउलो गरी ततायो ।
उसका सर पनि भान्साको सामान खरिद गर्दा नाफा गरेको भनेर सजाय स्वरूप दिनदिनै दुईचार लबटा कसिहाल्थे । खसी काटेको दिन र बजारबाट ल्याएको बेला पनि फलमासु पोलेर एक्लै चट पारेछ भन्थे , कहिले दूधको तरजति आफै डकुल्याउँछ भनेर सातो लिन्थे । “यो पनि उही हाकिम त परेन कतै ?” सुन्दरेको मन धरमरायो । उतिवेरको घटना सम्झिएर यतिवेर उसको मुटु ढुकढुक भइरहेथ्यो ।
बेलुकी अफिसअगाडि परेडग्राउण्डमा कमाण्डरले सबै केटाहरू फालिम गराउँदै भने, “हेर केटाहरू ! हाम्रो सङ्गठनका पूर्वहाकिम अवैध अकूत सम्पत्ति आर्जन गरिसेको केसमा अख्तियार लागेर थुनुवा बन्न आइसेको छ । सबै अफिसर, जवानहरूले आआफ्नो ड्युटी ठीकठाक ढङ्गले गरेस् । हँ ! ”
“हस् सर । गर्छौं सर ! ” खुट्टा बजारेर सबैले कमाण्डरको आदेश शिरोपर गरे ।
एक कान दुई कान मैदान भएर चौकीभरी कुरा फैलियो । भोलिपल्ट बिहानीको सामेलीमा पुग्दा आगन्तुक सरको केसबारे सबैले थाहा पाइसकेका थिए । त्यति ठूला मानिस उनीहरूको चौकीमा पाहुना लाग्न आइसेकोमा सिपाहीकेटा र परिचरको बगालभरी गौरवको अनुभव फैलिएको थियो । उहाँलाई लागेको आरोपको मतलब थिएन बरु उपस्थिति मात्रले पनि बेलुन् बिर्साउने गरी फूर्ति बढेको थियो । कमाण्डर त झन् तीन हातमाथि पुगेका थिए । सबै स्टाफले एकै मत भएर आफ्नै भाषामा थुनुवासरको नाम पनि “अकूते ” नै राखिदिए ।
गार्डकमाण्डरले राइफलधारीको डबल ड्यूटी खटायो । गेट र थुनुवा बस्ने कोठाको लागि पनि डवल ड्यूटी राखिएको थियो । ठूला मानिसको औकातअनुसार नै तिललाई पहाड बनाएर थानाले निगरानी बढाएको थियो । सिपाही, जुनियर अफिसर सबै एकैनासको सतर्कतापूर्ण हर्कतमा थिए ।
सर आइसेकै दोस्रो दिनको कुरा ! कमाण्डरले परिचय गराउन चौकीका खासखास स्टाफलाई सर बसेको थुनुवा कोठामा फालिम गराए । अनि एक एक जनाको नामथर दर्ज्यानी बताउँदै गए । सरले पनि पुराना परिचित अनुहारलाई समयान्तरमा ठम्याउन दिमाग उकेरा लगाउँदै गए । क्रमशः सम्झनाको तन्तु लम्बिंदै गयो । कुनैले दशैतिहार, छठ, माघी, फागू आदि पर्वमा बजार, नाका, भन्सार, कलकारखाना आदि ठाउँ, कुठाँउँबाट उठेका दैदस्तुरको साबुत हिसाब नबुझाएबापत बेलाबखत सरबाट दरो गोदाइ भेटेका पात्र परेछन् । कुनै ऐजनबमोजिम सरको दैदस्तुर पठाउन आलटाल गर्दा दक्षिणी बोर्डरबाट उत्तरी नाकामा सरुवा गरिने सत्पात्र परेछन् ।
एयरपोर्टजस्ता मालदार ठाउँमा पर्दा साबुत उठ्ती नबुझाएको भनेर तुरुङ्गमा बस्ने तपस्वी परेछन् कोही । दइचार दुई नम्बरीहरूको केशमा सहजीकरण नगरेकोमा सरबाट कोर्रा भेट्ने अटेरी परेछन् कोही । यिनै यस्तै अनेकौं घटनाका पात्रहरू देख्तै सरलाई आफ्नै सङ्गठनभित्रका जुनियर स्टाफ यतिवेर अलि खतरनाक अनि बिराना पनि लागे । कताकता अपरिचित वैरीको क्याम्पभित्र पुगेझैं मनमा चिसो पस्यो । अनेकथरी नकारात्मक सोचाइ र आशङ्काले मन धमिलियो ।
बेलुकी बिस्तरामा पल्टिएको केही वेरपछि नै अकूते सरले सपना देखेछन् । त्यही चौकीका स्टाफले नै बोराभित्र हालेर सरका गोफ्ले गालामा पालैपालो गरी लवटा लगाउँदै रहेछन् । राती बत्ती निभाएर अन्धकार कोठाभित्र ढाड, तिघ्रा, पासुँल्ला छानी छानी छालाको कोर्रा लगाएर भकुर्ने को को थिए, उनले अनुहार चिन्न सकेनन् । त्यसमा पनि लवटा लगाउने जतिले अनुहारभरीको कपडा गुतेकाले र उनको अनुहार पनि ढाकिदिएकोले चिन्ने कुरा असम्भव प्रतीत भयो । बोराभित्र कस्सिएर बस्दा सास फेर्नै गारो भएपछि अकुते सर निसास्सिएर छटपटी गर्दागर्दै झल्याँस्स बिउँझिए । तर उनले भेटेको यातना सपना मात्र रहेछ । तैपनि मुटु ढुकढुक भैरहेको, शरीरभरी पसिनाको बाढी आएको अनि मुख च्यापच्याप्ती सुकेको र जिउ आलसतालस अवस्थामा पुगेको अनुभवले एक छिन आत्तिए पनि । जुरुक्क उठेर नगिचै टेबिलमाथिको बोतलबाट घटघट पानी पिए । सुनसान मौन कोठामा लामो सास फेरे । आफ्नै सपनाले थर्ड डिग्रीको भौतिक कारवाही गर्दा उनको जिउ थरथर कामिरहेको ।
बिहान ढिलैसम्म चौकी निदायो । “कसैलाई भेट गर्न नदिनु भन्ने माथिको आदेश छ ।” भन्दै तिनीहरूले बाहिरिया आगन्तुकलाई चौकीमा ढिम्किन दिएनन् । घरबाट खाजानास्ता पानी आदि लिइआउने परिचरलाई पनि खाना चखाएर बाहिरको घुमाउने घरबाटै फर्काइदिए ।कतिवेर दिन उदायो, अकूते सरले पत्तो पाएनन् । बिहान थानाहाकिम पुगेर अकूते सरलाई लोलोपोतो गर्दै थिए । उनले नबोलेरै टारे । ऐनकानून बुझेका सरलाई पनि थाहा थियो ̵ थुनुवा कोठामा पुगेका मानवरूपी बेवारिसे जीवजन्तुउपर उनले भोगेका सपनाका वारदात दिनदिनैजसो विपनामा समेत हुने गर्दछन्, अझ कति थुनुवाले त यस्तै वारदातको फेला परेर इहलीला समाप्त नै गर्छन् ।
उनी आफैंले कति थुनुवा जीवातमाथि अरिँगाले पानीको तुजुकमा थर्ड डिग्री प्रयोग गरेका थिए, सम्झिसाध्य थिएन । आज आफूलाई सपनाले भौतिक कारवाही गर्दा बल्ल उनका ज्ञानचक्षु खुले । तर कतै कुनै प्रतिक्रिया जनाउनु व्यर्थ ठानेर चुपै लागिरहे । मूभ आइडेक्स मगाएर करकर खाएको आफ्नो गलित शरीरको सम्भार आफैं गरे । घरबाटै आएको दशथरी परिकारको बिहानीखाना पनि पटक्कै रुचेन । बरण्डा,चउर कतै निस्किन मन लागेन । ओल्टेकोल्टे गरेर पातलो बेडमा दिनभरी आङ मर्काइरहे । बेलुकी थानेदारसँग टिभी राखिदिने व्यवस्थाको लागि अनुरोध गर्दै थिए ।
दिन ढल्किंदै गयो । रात कसरी बित्ने हो ? न आज पनि उही सपना दोहोरिएर प्राणै जाने हो कि भनेर उनी चिन्तित भइरहेका थिए । शारीरिक यातनाको अज्ञात आशङ्काले दिमाग गिजोलिरह्यो । विचलित बन्दै दिन बिताएका थिए । बेलुकीको खाना पनि पटक्कै रुचेन । निदाउन खोज्दा धेरै वेरसम्म आँखा झिपिक्कै भएनन् । तर सोचाइ विपरीत त्यस रात त्यस्तो सांघातिक सपना देखा परेन । निद्रा कम लागे पनि रातभर कुनै अनिष्ठ नहुँदा बिहान भने निकै प्रफुल्ल थिए । नास्ता खानासहित त्यसै दिन घरबाट टिभी पनि आइपुगेछ । उतिवेरै विद्युत्कर्मी लगाएर थानेदारले टिभी फिटफाट गरिदिए । अनि जवानहरूकै ब्यारेकबाट लाइन तानेर प्रसारणको व्यवस्था मिलाइदिए ।
अकूते सरको घरबाटै दैनिक खाना, नास्ता, फलफूल र पानीसमेत आउँथ्यो । सामान लिई आउने परिचर केटासँग दुईचार दिन यता एउटी भव्य सुन्दरी मेडम पनि आउने गरेकी थिइन् । त्यही आगन्तुक केटाबाट थानाका सिपाही, अफिसरले पनि थाहा पाए– उनी अकूते सरकी सबैभन्दा कान्छी मेडम रहिछन् । जेठी, माइली, साइली मेडममध्ये कोही आआफ्ना छोराछोरी लिएर अमेरिका पुगिसकेका त कोही भैरहवा नेपालगञ्जमा छुट्टै घरबार जोडेर बसेका । दिन उमेरमा अकूते सरले औपचारिक श्रीमती नै चारवटी र सम्पत्ति त अथाह नै जोडेछन् । केही समय यता उनी कान्छी श्रीमती मेडम डायनाका साथमा बस्ने गरेका रहेछन् । मेडमको चटपटे वाचाल बानीले गर्दा थानाका इन्चार्जदेखि चौकीदारसम्म पुग्ने गरी दुईचार दिनभित्रै घरभित्रको आन्द्राभुँडी खोल्न बाँकी राखिनन् ।
विशेष अदालतमा सरको बयान लम्बिंदै गयो । थुनुवा बस्ने अवधि पनि झनझन थपिँदै गयो । आजभोलि गर्दागर्दै भेटघाट गर्ने घुमाउने घरमा थानेदार साब र मेडम डायना लामो गफ गरेर बिताउन थाले । झ्याल बाहिर कान थापेर बसेका केटाहरू उनीहरूको संवादको अंश एकले अर्कालाई सुनाउँदै मनमनै कोक्किने गर्दथे ।
दुई छोराछोरीको बाउ भएर पनि थानेदारले मेडमलाई आफू अविवाहित नै बताइरहेका थिए । मेडम पनि थानेदारको चुस्त खाइलाग्दो जवान व्यक्तित्व र उज्जर चेहरा देखेर उमेरको ख्यालै नगरी उसै मोहित बनेकी थिइन् । सदावहार सुन्दर परिधान, हँसिलो चेहरा र सुनैसुनले ढपक्कै ढाकिएर निसान कारबाट स्याट्ट सिगरेट उडाउँदै उत्रिंदा मेडमको व्यक्तित्व झनै आकर्षक लाग्दथ्यो । दैनिकजस्तो उनको पहिरन र गहनाको डिजाइन, आइटम पनि फेरिने गर्दथ्यो । थानेदार उनको धनाढ्य व्यक्तित्व र फुकाफाल आनीबानी देखेर जाल बुन्दै थिए । हुँदाहुँदै हप्तादिनमै भेटघाट कक्षबाट अलि पर अलग्गै रहेको थानेदार–क्वाटरको शयन कक्षसम्म पुगी पो हाले ती दुवै ।
“हजुर जस्तो सुन्दरी भरखरकी युवती यो देख्तै डरलाग्दो दुष्ट बुढासँग कसरी आइस्यो ?” थानेदार चिप्लो घस्तै थिए ।
“कहाँ म आफ्नो खुशीले गाको हो र ? क्याम्पस पढ्दापढ्दै मलाई मेरै कक्षाका केटीहरू लगाएर अपरणको शैलीमा क्वाटरमा बोलायो अनि दिनदिनै मसँग बिहा गर भनेर फकाउन थाल्यो । मैले इन्कार गरिरहेँ । अभिन्तरमा मेरो अर्डर बमोजिम कान्छी बनेर पछि लागिनस् भने तुँलाई मारेर महाकालीमा फालिदिने हुम भन्यो । कति केटीलाई गर्भ बोकाएर यसले फाल्या छ रे भन्ने हल्ला पनि थियो । बाबाहजूर मामु पहाडमै होइसिन्थ्यो । ठेकदार दाइ दिनरात कतकता हराउने । क्याम्पस पढ्न तराई बसेको म एक्लीजस्तै त थिएँ । अनि यस्तासँग पंगा लिएर म मात्रै कसरी सुरक्षित हुँदा हुम् ? अनेक डरधाक जालझेल गरेर मलाई जबरजस्ती फसायो । अनि बाध्य भएर पछि लाग्या हुम् । ऐले बल्ल फेला पर्यो । यसलाई दशपन्ध्र वर्ष जेलबाट नछुट्ने गरी भित्र हाल्न पाए हुन्थ्यो ! अनि त तिमी र म पनि अमेरिका भागिजाऊँ ।” उनी मनका कुरा खोल्दै गइन् ।
म्याडमको प्रस्तावमा थानेदारसाबले पनि “हुन्छ जाम्” भन्ने जनाए ।
“यो जाबो पुलिसको जागिर मलाई मन परेको छैन । पहिले खानै गाह्रो, खाएपछि बचाउन झन् गाह्रो । बचाइहाले प्रमोशन खान झनै सारो । सधैँ सास्तीमै जिन्दगी बिताउनु पर्ने, मस्ती गर्न कहिल्यै नपाइने । खै के झुण्डिराख्नु यस्तो नाथे जागिरमा ? दिनउमेर छँदै जागिर छोडेर केही काम गर्ने हो कि ?” थानेदार मेडमतिर मुखातिव भएर सुझाव मागेझैं गर्दै थिए ।
“बैंक कलेक्शनत दश पन्ध्र होला । तर म यी सबै गहना बेचेर हामी दुईलाई खर्च जुटाउन सक्छु ।” एक दिन म्याडमले आन्तरिक गुह्य कुरा खोलिन् । सुन्दा थानेदार थोरै मात्र मुस्कुराएथे ।
तिनीहरू बिस्तरामा सहयात्री बनेयता तिमी तिमीको लवज आदानप्रदान गर्ने तहमा उत्रिएका थिए ।
“विदेश लाग्ने भएपछि अब भिसा, पासपोर्ट बनाइहालुम्, तिमी अफिस चट्टै छोडेर यसै काममा लागिहाल !” मेडमले भनिथिन् । सुन्दा एक छिन अकमक्क परेथे थानेदार ।
“अफिस छोड्नु पर्दैन, यहीँ बसिबसी सबै काम बन्छ । पुलिसको थानेदार हुँदा त्यत्ति काम पनि नभए के जागिर खानु साहिबा ?”
मेडमका गाला मज्जैले मुसारेर भनेथे थानेदारले ।
भोलिपल्टै मेडमले ठूलै व्यागभरी गरगहना र ती सबैको बिलसमेत ल्याएर थानेदारसमक्ष समर्पण गरिन् । क्वाटरभित्र टेबिलभरी फिँजाएर हेरे दुवैले । पन्ना, मुगा, हिरालगायत बहुमूल्य धातु छुट्टाछुट्टै थैलामा रहेछन् । सुन त जाबो आलुपिडालु पो बन्यो ! चाँदी त छँदा पनि थिएन । बिक्रीको लागि कसले बजार लैजाने भन्ने कुरा चल्यो । कुनै परिचित मानिस बाटो, पसल, ज्यासल कहीँ पनि भेट हुन सक्ने डरले दुवै जना सँगसँगै हिँड्न हच्किएका थिए ।
थानेदारलाई मुगा, हिरा, सुनका गहना र सग्ला टेल सबै सुम्पिएर घर फर्कने मुडमा थिइन् उनी तर थानेदारले अलि दिनपछि भन्दै आधाउदी गहना लिएर बाँकी फर्काइदिए । यत्तिले अहिलेको हाम्रो खर्च चलिहाल्छ भन्ने उनको जवाफ थियो । उनैले गहनाको व्यवस्थापन पनि आफैं गरेर खर्च जुटाउने जिम्मा लिए । औडाहा पसेको मेडमको मन अलि शान्त बन्यो । उनी लगत्तै घर पर्किएर लामै समय नुहाइधुवाइमा लागिन् ।
मोबाइल कताकता फालिदिएर बिस्तरामा पल्टिएकी मेडम कल्पनाका रङ्गिन तरङ्गहरूमा डल्फिन माछाझैं सलबलाउन थालिन् । तीव्र उन्माद र उत्सुकताले छचल्किएको मन वल्लो हिमदेश र पल्लो महासागरतिर बाँकटे हानिरहेको थियो । अब चैँ भोली, पर्सी नै पक्कै उडिहाल्ने हो भन्ने मनस्थिति बनाएर गीत गुनगुनाउँदै थिइन्– “भिजिट भिसामा हजुर भिजिट भिसामा, भइँ छोडेर उड्ने हजुर पच्छिम दिशामा ।” खुबै धीत पर्यो मेडमलाई यतिवेर त्यो गीत !
“अब त कोरोना महामारी पनि हराउँदै गयो । अमृकामा पनि आप्रवासी विरोधी राष्ट्रपति ट्रम्प गएर बाइडेन आयो । विदेशी नवआगन्तुक र शरणार्थीलाई राम्रो गर्छ रे यसले ,अब उड्ने हो ! ” मनको लड्डुसँगै मेडमका हातखुट्टा पनि कल्पनाको निलो महासागरमाथि बोइङ् जहाज चडेर चहैचहै गर्न थाले ।
मेडम नङ्गा शरीर चङ्गा मन लिएर आनन्दगङ्गा याने बिस्तरामा लम्पसार थिइन् । हल्ला गर्दै फिटिङेहरूको हूल आएर ढोका ढकढक्याएपछि उनी जर्याकजुरुक उठेर एकसरो गाउनमा लपेटिइन् । ढोका खोल्दा किस्तीभरी लड्डु बर्फी लिएका गेटपाले र फलोअर्स केटाहरू देखा परे ।
“आज सर थुनाबाट छुटेर घर आइस्या छ ! तल प्राङ्गणमा भेट गर्न आउने मान्छेहरूको भीडमा परपरै बसेर अभिवादन लिँदै होइसिन्छ ।” भान्छे रोमन बहादुरले खवर दिँदै मेडमको मुखैसम्म लड्डु पुर्यायो । खबर सुन्दै तर्सिएझैं अनुहार बिगारेर मेडमले समातिन् तर मुखतिर मरी गए गएन ।
“हँन बिहानसम्म त केही अत्तोपत्तो थिएन, अहिले नै कसरी छुटेर आए यी बुढा ? कि जेल फोरेर निस्किए !” मनमनै भन्दै थिइन् मेडम । अप्रत्यासित रूपमा शिरमाथि पहाड तेर्सिएझैं लाग्यो । एकाएक आइलागेको झमेलाले उनी चिन्तामग्न बनिन् । सु शङ्कै नभएको आकस्मिक दुर्घटनाले दिमाग चक्करायो र हत्तपत्त एउटा जुक्ति पनि फुरी पो हाल्यो । बरण्डामा निस्किएर मेडमले सरलाई औंलाको पाँजो शिरमाथि राखेर जदौ पाराको दर्शन गरिन् अनि आफूलाई गाह्रो परेको अभिनय गर्दै कोरोना सङ्क्रमित भएको आशङ्कामा नगिल्लो दिनबाट आइसोलेशनमा बस्न लागेको कुरा जाहेर गर्न खोज्दै थिइन् तर हत्तपत्त सरले भनिहाले ।
“अदालत जाँदाआउँदा कता चैँ कोरोना सङ्क्रमण भयो कुन्नि ! म पनि निकै दिनदेखि खोकी जरोको सिकार थिएँ । पीसीआरमा पोजिटिभ देखिएपछि अदालत, अस्पताल थानेदार सबैथरीले होम आइसोलेशनमा राख्नु उचित ठानेछन् क्यार ! थानामा उपयुक्त बस्ने ठाउँ पनि नभएर घर पठाएका । मान्छे जनावरको सम्पर्कबाट बिलकुल टाढा बस्नु भनेका छन् । यो कुकुरलाई पनि न फुकाउनु , तिमी पनि मेरो नगिच नपर ! परीक्षणमा नेगेटिभ आएपछि मात्र थानामा फर्किने जमानीमा घर आएको ! ”
सुन्दै म्याडमको सन्तप्त मन अलि शीतल शान्त बन्यो अनि गुमेको होसहवास पनि बिस्तारै फर्किन थाल्यो ।
“पछि जे त पर्ला, अहिले त बाँचियो नि ! नराम्रो खबरले पनि कहिलेकाहीँ मन हल्का हुने रहेछ । क्या मज्जा गरायो त कोरोनाले !” यस्तै सोचिन् मेडमले । तिनीहरू पाँचतले घरका सिरान पुच्छारका दुई फ्ल्याट आबाद गरेर अलग्गै बस्न थाले ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।