आजभन्दा झन्डै चौवालीस पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी बालिका थिएँ। म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ। हाम्रो तीनओटा स-साना कोठा भएको एउटा घर थियो जसमा म, मेरी आमा र दाजु कर्णवीर बस्ने गर्दथ्यौँ। एउटा कोठामा म र आमा सुत्दथ्यौँ भने सँगैको कोठामा दाजु सुत्ने गर्दथे ।

म र मेरी आमा सुत्ने कोठामा पूर्वपट्टिको भित्तामा काठको फलेक ठोकेर त्यसमा शिवपार्वतीको सानो फोटो राखिएको थियो । मेरी आमा हरेक साँझबिहान त्यो फोटोको अघि चोखो पानी, फूल राखेर दियो बत्ती बाल्ने गर्नु हुन्थ्यो । त्यतिमात्र होइन उहाँ धूपौरोमा बलेको कोइला राखेर त्यसमा धूपको धूलो छर्कंदै सबै कोठामा डुलाउने गर्नु हुन्थ्यो ।

धूपको सुगन्धित वासना घरभरि फैलिन्थ्यो । मेरो दाजुले बल्लतल्ल प्रवेशिका उत्तीर्ण गरेर एउटा प्रेसमा कम्पोजिटरको जागीर गर्न लाग्नुभएको थियो । त्यो समयमा दश कक्षा उत्तीर्ण गरेको मानिसलाई पढेलेखेको मानिस भनेर सबैले आदर गर्दथे । एउटा दाजुको कमाइले हामीलाई राम्रैसँग खानलाउन पुग्ने भए तापनि हाम्री आमाले पहिलेदेखि आफूले गर्दै आएको ज्यालामा स्वीटर बुन्ने काम छोड्नु भएको थिएन ।

मेरी एउटी दिदी पनि थिइन्‌, उसको विवाह भएको लगभग दुई वर्षजति भएको थियो। मेरी दिदीको जीउडाल र रूपरङ्ग खुबै राम्रो थियो । उमेर पनि उनको यस्तै अठार उन्नीस वर्षको हुँदौ हो । कहिलेकाहीँ दिदी माइत बस्न आउँदा उहाँ भिनाजुको विषयमा अनेक थरीका कुरा सुनाएर मलाई चकित पार्ने गर्नु हुन्थ्यो ।

“तेरो भिनाजुले मलाई असाध्य माया गर्नुहुन्छ, मसँग एकछिन पनि छुट्टिन मन गर्नु हुन्न । बिहेअघि त मलाई अर्काको घरमा चिन्दै नचिनेको मानिससँग कसरी जीवन बिताउन सकुँला भनेर असाध्य पीर लाग्दथ्यो, तर अहिले त मैले तेरो भिनाजुको माया पाएर आफूलाई समेत बिर्सेकी छु ।”

दिदीले भिनाजुको विषयमा कुरा गर्दा उहाँका गाला राता हुन्थे र उहाँको अनुहार नै उज्यालो हुने गर्दथ्यो ।

माया ठकुरी

“दिदी तपाईंलाई कसरी थाहा भयो भिनाजुले तपाईंलाई धेरै माया गर्नु हुन्छ भनेर ?” म जिज्ञासा राख्दथेँ दिदीको अघि ।

“धत्‌ लाटी ! कस्तो कुरो सोधेकी होली ल, ल भोलिपर्सि तँ पनि ठूली भएर बिहे भएपछि थाहा पाउलिस्‌, पोइले आफूलाई माया गरेको कुरो कसरी थाहा पाइन्छ भनेर ।” दिदी मतिर हेरेर हाँस्दै भन्ने गर्नु हुन्थ्यो ।

भन्छन्‌ ‘मानिसको जीवनमा दु:खको पहाड खस्नु छ भने कुनै पूर्व सङ्केत नदिएर पनि खस्न सग्दछ जसले गर्दा मानिसको जीवन तहस-नहस हुन्छ ।’

मेरी दिदीको जीवनमा पनि यस्तै भएको थियो । भिनाजुको अकाल मृत्युको कारणले गर्दा मेरी दिदीको जीवनमा अकल्पनीय आँधी-बेरी ल्याइदिएको थियो ।

जवान पतिको असामयिक मृत्युले गर्दा मेरी दिदी विक्षिप्तजस्ती भएकी थिइन्‌ ।

भिनाजुको मृत्युपश्चात्‌ उनका सासु-ससुराले उनलाई ‘पोइ टोकुई’ भनेर घरबाट निकालिदिएका थिए । त्यसैकारण दिदी माइतमा आएर हामीसँगै बस्न लागेकी थिइन्‌ ।

दिदीको शृङ्गारविहीन रूप र उनका उदास आँखा देखेर हाम्री आमा र दाजुलाई मात्र होइन मलाईसमेत साह्रै नै नराम्रो लाग्दथ्यो ।

दिदीको अवस्था देखेर आमा रोएको बेला आमालाई सान्त्वना दिँदै दाजु भन्ने गर्नु हुन्थ्यो “आमा ! तपाईं किन पीर गर्नु हुन्छ ? मेरी बहिनीलाई म जीवनभरि मसँगै राख्नेछु । उसलाई कुनै प्रकारको दुःख हुन दिने छैन ।”

मेरी दिदी माइत बस्न लागेको करिब दुई वर्षजति भएको थियो । घरमा मेरो दाजुको बिहेको कुरो चल्न लागेको थियो ।

दाजुलाई केटी रोजाएपछि आमाले भन्नु भएको थियो “म त बुहारी भित्र्याएपछि । घरमा उपरखुट्टी लाएर बस्नेछु ।”

दाजुको बिहे साधारण किसिमले भएको भए तापनि मलाई भने बिहेको चहलपहल निकै रमाइलो लागेको थियो ।

मलाई अझ पनि प्रस्टसँग सम्झना छ, दाजुले बिहे गरेर दुलही भित्र्याएको राति प्राय: आधीरातमा एक्कासी मेरी दिदी सुने, चिच्याउने, छट्पटाउने र डग्डग्‌ काम्ने गरेकी थिइन्‌ ।

“दिदीलाई के भएको हो आमा !” दाह्र किट्दै राता बल्ड्याङ्ग्रे आँखा चारैतिर घुमाउँदै डग्डग्‌ कामिरहेकी दिदीतिर हेरेर डराउँदै सोधेकी थिएँ मैले आमासँग ।

“खोइ के भएको हो कुन्नि । भूत लागेकोजस्तो छ । बिजुवालाई डाकेर देखाउनु पर्छ अनि मात्र थाहा हुन्छ ।” आमाले भन्नु भएको थियो । दाजुले साथी लिएर अर्को गाउँमा गएर बिजुवा लिएर आएका थिए । बिजुवासँगै उसको एउटा चेलो पनि आएको थियो ।

त्यो बिजुवा बलिष्ठ शरीर भएको एउटा अधबैँसे मानिस थियो ।

त्यसले आउनेबित्तिकै दिदीको नारी छामेको थियो ।

बिजुवाले दिदीको नारी समाउनासाथ दिदीले आँखा चिम्म गरेर अघिपछि गर्दै झुम्न लागेकी थिइन्‌ ।

“अहो ! मैयाँलाई त पिशाचिनीले छोएकोजस्तो छ । खै अक्षता, धूप दिनुहोस्‌ । अँ, एउटा अम्खरामा चोखो पानी पनि ल्याउनुहोस्‌ ।” त्यो बिजुवाले मेरी आमालाई अह्वाएको थियो।

त्यसपछि त्यो बिजुवाले के-के मन्त्र जप्दै अक्षताले दिदीको शरीरमा हान्न थाल्यो । बेलाबेलामा उसले अञ्जुलीभरि पानी लिएर दिदीको शरीरमा छर्किने काम पनि गर्न थाल्यो ।

बिजुवाले जति-जति चामल र पानीले दिदीको शरीरमा छर्किन्थ्यो उति-उति दिदी अझ बढी वेगसँग काम्ने गरेकी थिइन्‌ ।

“हूँ… हुँ … मलाई अझ चिनेको छैनस्‌, म पिशाचिनी हूँ, पिशाचिनी । मैले यो केटीको शरीरमा प्रवेश गरिसकेकी छु, यसर्थ मलाई भगाउने प्रयास गर्नु व्यर्थ छ, बरु मलाई पूजा गरेर राख्‌ । मलाई सन्तुष्ट पार्‌ । मेरो कुरो मानिनस्‌ भने म यो घरको सबै प्राणीको रगत चुसेर मार्नेछनु … हूँ… हूँ… ।” आँखा चिम्म गरेर अघिपछि झुम्दै बरबराउँदै भनेकी थिइन्‌ मेरी दिदीले ।

त्यसपछि त्यो आधी रातमा गाउँबाट कालो कुखुरो खोजेर ल्याएर त्यसलाई काटेर त्यसको रगतमा चामल मुछेर दिदीको शरीरमा जताततै छकिँदै मन्त्र पढ्यो बिजुवाले ।

त्यसपछि प्रायःजसो आधी रातमा दिदी काम्ने र चिच्याउने गर्दा त्यही बिजुवालाई डाक्न पठाउने गर्नु हुन्थ्यो हाम्री आमा र त्यो बिजुवा आएपछि उही कुखुरो काट्ने, अक्षता छर्ने, थाल ठटाउने काम हुन्थ्यो बिजुवाबाट ।

कहिलेकाहीँ त त्यस्तो बलिष्ठ शरीर भएको बिजुवालाई समेत दिदीलाई नियन्त्रणमा ल्याउनु धौधौ पर्दथ्यो । कारण, बिजुवाले दिदीको नारी समाउनासाथ उहाँ बिजुवामाथि झम्टिन पुग्नु हुन्थ्यो र कहिलेकाहीँ त उसको हात समातेर आफ्नो मुखमा लगेर टोक्ने प्रयास पनि गर्नु हुन्थ्यो ।

पछि-पछि त दाइलाई उठाउन खोज्दा उहाँ ढोका खोलेर झर्किँदै “सघैँभरिको के चाला हो यस्तो, राम्रोसँग निदाउन पनि नपाइने” भन्न लाग्नु भएको थियो ।

एक रात दिदीलाई त्यस्तै रोगले च्याप्दा म र आमाले उहाँलाई सम्हाल्न नसकेको बेला दाइ-भाउजू सुतेको कोठाको दैलो निकैबेरसम्म ढक्ढकाएपछि बल्ल खोलेका थिए दाइले ।

“यहाँ बहिनी भने पिशाचिनीले अँठ्याएर छट्पटिइरहेकी छ तिमीहरू चाहिँ सुने पनि नसुनेझैँ गरेर दैलो थुनेर बस्ने” भनेर आमाले दाइ-भाउजूलाई निकै झपार्नु भएको थियो ।

“यो सधैँभरिको के नाटक हो कृन्नि” एकदिन त दिदीलाई बिजुवाले मन्त्रतन्त्र गर्दै गरेको बेला भाउजूको मुखबाट अनायासै कुरो फुस्केको थियो ।

“मेरी छोरीलाई बिरामी परेको बेला तैँले नाटक गरेकी हो भन्ने ठानेकी रहिछलेस्‌। लाज पचेकी राँड । तँलाई लोग्ने भए पुग्ने रहेछ । तँले यो घरमा पाइला टेकेकै दिनबाट मेरी छोरीको यो दुर्गति भएको छ । अलक्षिनी !”

भाउजूलाई निकै रिसाएर गाली गर्नुभएको थियो मेरी आमाले ।

आमाले गाली गरेको भोलिपल्टै भाउजू माइत गएर बस्नु भएको थियो ।

भाउजू माइत गएपछि दाजु पनि कुनै न कुनै निहुँ पारेर उतै आफ्नो ससुरालीतिर रात बिताउन थाल्नु भएको थियो ।

एक रातको कुरो हो । दिदी पहिलेपहिलेभैँ जगल्टा फिँजाएर बल्ड्याङ्ग्रे आँखा चारैतिर घुमाउँदै डग्‌डग्‌ कामिरहेको बेला त्यस बिजुवाले दिदीको दुवै कुममा आफ्नो दुवै हातले समातेर उहाँलाई थुम्थुमाउने प्रयास गरिरहेको थियो । यत्तिकै दिदीले काम्दै भन्नु भएको थियो।

“ल रातो अक्षता लिएर मेरो ढाड माडिदे ! ढाड माडिदे … ! … हूँ … हूँ …हुँ ।”

त्यसपछि त्यस बिजुवाले पछिल्तिरबाट दिदीको चोलोमाथि सारेर अक्षताले दिदीको ढाड माडिदिन लागेको थियो । ढाड माडिदिँदा दिदीलाई सञ्चो हुन्थ्यो । बिजुवाले ढाड माड्ने निहूँमा दिदीका संवेदनशील अङ्गहरूको पनि अरूका आँखा बचाएर राम्रैसँग मर्दन गरिदिन्थ्यो । त्यतिबेला दिदी पूर्णरूपमा स्वस्थ भइसकेकी हुन्थिन्‌ ।

“हे परमेश्वर ! हामीले केही गल्ती गरेका छौँ भने हामीलाई अज्ञानी सम्झेर माफ गरिदिनु होस्‌ र यो केटीको शरीरबाट निस्केर अन्तै गएर विलीन हुनुहोस्‌ बिन्ती छ ।”, दिदीको ढाडमा रातो अक्षता दल्दै बिजुवाले भनेको थियो ।

“हा … हाहा … ! हा … हा… !!” बिजुवाको कुरा सुने दिदी हट्टहास गर्दै हाँसेकी थिइन्‌ । बिजुवाको स्पर्शसुख दिदीको उपचारको महत्वपूर्ण औषधि भइरहेको थियो।

कहिलेकाहीँ त दिदी काम्दाकाम्दै दाँत बाँधेर भुइँमा लडिबुडी गर्न लागिथन्‌ । त्यस्तो बेला बिजुवाले आफ्ना औँलाले दिदीको मुख खोल्ने प्रयास गर्दथ्यो । मलाई त कतै दिदीले बिजुवाको औँला टोकिदिने हो कि भनेझैँ लाग्दथ्यो, तर अचम्म उनले बिजुवाको औलो कहिल्यै पनि टोकिनन्‌ । बरु दिदीले बिजुवाको औँला चुसेजस्तो लाग्थ्यो ।

पहिले-पहिले त म दिदीको अनौठो क्रियाकलापले गर्दा राति अबेरसम्म चकित भएर उनलाई हेर्ने गर्दथेँ, तर पछिपछि मलाई दिदीको रुवाइ, छट्पटी र अन्य क्रियाकलापमा चाख लाग्न छोडेको हुनाले म घरमा जस्तोसुकै होहल्ला भए तापनि मस्तसँग निदाउने गर्दथेँ।

कुनै-कुनै दिन म बिहान उठ्दा त्यो बिजुवालाई भान्सा कोठामा भएको सानो खटियामा सुतिराखेको देख्दथेँ ।

हाम्रो घरमा बिजुवा सुतेको दिन दिदीको अनुहार प्रफुल्ल हुन्थ्यो । बिजुवाको क्रियाकलापमा पनि केही बढी फूर्ति देखिन्थ्यो ।

“के गर्ने हिजो राति तेरी दिदीले आधीरात बित्दासम्म बेस्सरी दु:ख पाई । बिजुवा नानी नभएको भए मलाई गाह्रै पर्ने थियो । धन्य बेला-बेलामा यसो सोध्न आउँछन्‌ र मात्रै, नत्र घरमा तेरो दाजु पनि नभएको बेला मेरो के गति हुने थियो । त्यसैकारण ‘राति यतै सुते हुन्छ । भोलि बिहानै जानु’ भनेर राखेकी हुँ मैले ।” बिजुवाको विषयमा भन्नु हुन्थ्यो आमा ।

त्यस बिजुवाले दिदीको उपचार गर्न थालेपछि बिस्तारै-बिस्तारै मेरी दिदीको स्वभावमा परिवर्तन आउन थालेको थियो ।

उनी पहिलेजस्तै हाँसेर बोल्ने एक्ली हुँदा गुनगुनाउने र कोरीबाटी गरेर सफा सुग्घर बस्न थालेकी थिइन्‌ । पकाइ-तुल्याइ गर्नमा पनि दिदीको रूचि बढ्न लागेको थियो ।

एक दिन हाम्रो घरमा सुतेर बिहानै उठी बिजुवा आफ्नो घरतिर जान तयार हुँदै थियो । त्यहीबेला दिदी पनि भित्रबाट के कामले हो कुन्नि बाहिर निस्किन्‌ । बिजुवा र दिदीका

आँखा जुधे । दिदीले मुन्टो निहुराइन्‌ । दिदीको साडीको पछाडिपट्टिको भाग खुम्चिएको देखियो । मैले त्यो निकै बेरसम्म हेरिरहेँ ।

“अबदेखि त्यो बिजुवालाई म मेरो घरमा खुट्टा राख्न दिन्नँ । दुनियाँले नानाथरीका कुरा गर्न लागिसकेका छन्‌। तपाईं भने आँखा बन्द गरेर बस्नु भएको छ ।” एकदिन अचानक दाजुले घरमा आएर आमासँग कराउँदै भनेका थिए ।

“यो कस्तो कुरो गर्दैछस्‌ बाबु ! उसले त तेरी बहिनीलाई जीवनदान दिएको छ । अरूको कुरो सुनेर यसरी विनासित्तीमा रिसाउन हुन्छ ?” दाजुको कुरो सुनेपछि आमाले दाजुसँग भन्नुभएको थियो ।

“त्यो सब म केही जान्दिनँ । त्यो नआएर मेरी बहिनी मर्छे भने मर्छे, तर म त्यसलाई म यहाँ मेरो घरमा पाइला राख्न पनि दिन्नँ ।” दाजुले दृढ स्वरमा भनेका थिए ।

“आफूहरू लोग्ने-स्वास्ती सल्लाह गरेर मलाई यस घरबाट निकाल्न खोजेका होलान्‌ नि … ।”

दाजुले आमासँग भनेको कुरो मैले दिदीलाई सुनाउँदा उनले यसो भनेकी थिइन्‌, तर केही समयको अन्तरालमा नै एकरात मेरी दिदीले कसैलाई थाहा नदिएर घर छोडेर हिँडिन्‌ ।

“मलाई त पहिल्यै थाहा थियो त्यो पिशाचिनी लागेको होइन बैँस लागेको हो भनेर ।”, दिदी त्यही बिजुवासँगै बस्न थालेपछि भाउजूले आफ्नो प्रतिक्रिया जनाइन्‌ ।

“मेरी छोरी सबैको हेला भएकी हुनाले न अशिक्षित बूढोसँग बस्न बाध्य भएकी हो ।”, आमाले चित्त गाँठो पारेर भन्नुभएको थियो ।

केही महिनापछि म दिदीलाई भेट्न उहाँको घरमा जाँदा बिजुवा भिनाजुले हाँस्दै मतिर हेरेर भनेका थिए – “तिम्री दिदीको शरीरबाट मन्त्रको बलले पिशाचिनी भगाउन त सफल भएँ, तर तिम्री दिदीले नै आफू पिशाचिनी भएर मलाई आफ्नो प्रेमको जालमा फसाइन्‌ । अब त म जीवनपर्यन्त यो जालबाट उम्कन सक्दिनँ ।”

=====

(२०२० सालमा बागलुङ जिल्लामा जन्मनु भएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ । 
पाँच पुस्तक लेखिसक्नु भएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौनकथा भाग २ निकै चर्चित कृति हो । यो कथा त्यही कृतिबाट साभार गरिएको हो ।
उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)