प्रार्थना

तिमीहरू
कुनै आपद्–विपद् आइलाग्दा
अथवा
आफूलाई आवश्यक पर्दा
प्रार्थना गर्दछौ

आहा ! कति राम्रो हुन्थ्यो‑
तिमीले आफ्नो
परम आनन्दका क्षणमा र
समृद्धिका दिनहरूमा पनि
प्रार्थना गर्ने गरे !

प्रार्थना
सचेतन ब्रह्माण्डमा
तिम्रै आत्म–विस्तारका अतिरिक्त
अरु के नै हो र ?

यदि तिमी
आफ्नो मनको अँध्यारोलाई
अनन्तमा घोप्ट्याएर
शान्ति पाउँछौ भने
तिमीले
आफ्नो आनन्दका लागि
आफ्नो हृदयको सूर्योदयलाई पनि
त्यहीं‌‌ घोप्ट्याइदिनुपर्छ

जब तिम्रो आत्मा
प्रार्थना गर्नका लागि
तिम्रो आह्वान गर्दछ
त्यसबेला
यदि तिमी रुनुका अतिरिक्त
अरु केही पनि गर्न सक्दैनौ भने
तिम्रो आत्माले तिमीलाई
तबसम्म उक्साओस् ‑
जबसम्म तिमी भलै रोइराख
तर
हाँस्दै हाँस्दै प्रार्थना गर्न नजाऊ

जब तिमी प्रार्थना गर्दछौ
त्यसबेला
आफैंभन्दा माथि उठेर
आकाशमा पुग्ने गर्दछौ –
जहाँ
तिम्रो ती सबै आत्माहरूसँग मिलन हुन्छ
जो त्यसै समय प्रार्थनारत हुन्छन् –
जोसँग भेटघाट गर्ने अवसर
तिमीले
प्रार्थनाका क्षणबाहेक
अरु कहिल्यै पनि पाउन सक्दैनौ

त्यसैले
प्रार्थनाको त्यस अदृश्य मन्दिरमा
प्रवेश गर्नुको लक्ष्य
परम–आनन्द र
मधुर सम्मिलनका अतिरिक्त
अरु केही पनि हुन नदेऊ

किनभने
यदि तिमी केवल
केही माग्ने इरादाले मात्र
त्यस मन्दिरमा जान्छौ
अरु कुनै इरादाले होइन भने
तिमीले केही पनि पाउने छैनौ

यदि तिमी
स्वयं दीन भएर
आफैंलाई गिराउने इरादाले जान्छौ भने
तिमीलाई कसैले पनि उठाउने छैन

कहाँसम्म भने ‑
यदि तिमी त्यहाँ
अरु कसैको
कल्याणको कामनाले
गएका छौ भने पनि
तिम्रो प्रार्थना
सुनिनेवाला छैन

त्यस अदृश्य मन्दिरमा
प्रवेश गर्न पाउनु नै
पर्याप्त हुन्छ

म तिमीलाई
शब्दद्वारा प्रार्थना गर्न सिकाउन सक्दिन

ईश्वरले तिम्रा अरु कुनै शब्दहरू सुन्दैन,
केवल ती शब्दबाहेक –
जसलाई उसले
स्वयं तिम्रा ओठहरूका माध्यमले प्रकट गर्दछ

म तिमीलाई
त्यो प्रार्थना पनि सिकाउन सक्दिन
जुन
समुद्र वन अनि पर्वतहरूले गर्ने गर्दछन्

तर तिमी
जो पर्वत र वन अनि
समुद्रका सन्तान हौ
तिमी उनीहरूका प्रार्थनालाई
आफ्ना हृदयमा महसूस गर्न सक्दछौ
यदि तिमीले
रात्रिको निस्तब्धतामा
सुन्ने चेष्टा ग-यौ भने
तिमीले
ती सबैको
मौन प्रार्थनाका रूपमा
यही सुन्ने छौ ‑
हे प्रभु !
तिमी हाम्रो तेजोमय स्वरूप हौ
त्यो तिम्रै संकल्प हो –
जो हाम्रो चेतनामा संकल्प गर्दछ
अनि
त्यो तिम्रै अभिलाषा हो –
जो हाम्रो हृदयमा अभिलाषा गर्दछ

हाम्रो संसारमा
त्यो तिम्रै इच्छा हो
जसले हाम्रा रातहरूलाई ‑
जुन तिम्रै रात हुन्
दिनमा बदलिदिन्छन्
जुन दिन पनि तिम्रै हुन्,

हामी तिमीसँग
केही पनि माग्न सक्दैनौं
किनभने
तिमी हाम्रा आवश्यकताहरूलाई
तिनको जन्म हुनुभन्दा पहिले नै
जानिसक्छौ

तिमी नै हाम्रो आवश्यकता हौ
अनि हामीलाई
अरु धेरै अपनत्व दिएर नै
तिमी सबै कुरा दिने गर्छौं ।