
महाबली भीमसेनले विकराल राक्षस हिडिम्बको मिति पुर्याएपछि, उनीहरू त्यस दुर्गम अटव्यबाट प्रस्थान गर्दा पूर्व दिशातिर हलुका तवरले प्रभातीको लाली छाउन लागेको थियो । माता कुन्तीसहित पञ्च–पाण्डव कुनै सुरक्षित स्थानको खोजीमा छिट–छिटो पाइला चाल्दै अगि बढिरहेका थिए । अनाहूत अतिथि जस्ती हिडिम्बा पनि रूपयौवनवती देवकन्याको जस्तो मादक स्वरूप धारण गरी भीमसेनको पौरुष र पराक्रमप्रति अभिभूत हुँदै कामवाणले घाइते बनेर लुरुलुरु उनीहरूका पछि लागेको लागेकै थिई ।
हिंड्दा–हिंड्दै यकायक अगि बढेर अत्यन्त विनम्र भावले दुवै सुकुमार हात जोडी माता कुन्ती र ज्येष्ठ पाण्डव युधिष्ठिरलाई झुकेर प्रणाम गर्दै भीमसेनतिर फर्किएर हिडिम्बाले भनी :
हे वीरपुरुष, हजुरको दर्शनमात्रले म कामदेवको अधीन बन्न गएँ । आफ्नै दाजुको अवहेलना गरेर म हजुरको अनुसरण गर्न पुगें । त्यो मेरो दाजु भयङ्कर राक्षस हिडिम्ब उपर हजुरले देखाउनुभएको पराक्रम प्रत्यक्ष गरेपछि त म झन् हजुरकी भक्तिनी बनेकी छु । अब म हजुरकी सेविका बनेर हजुरका गाथको सेवामा रहन चाहन्छु । कृपया मेरो सेवा स्वीकारिदिनुहोस् ।
भीमसेनले भने :
हे हिडिम्बे, राक्षसजाति भनेका मोहिनी मायाको प्रलोभनकारी आश्रय लिएर चिरकालसम्म वैरभाव साध्ने स्वभावका हुन्छन्, बरु तँ पनि तेरै दाजुको बाटो लाग् !
यो सबै संवाद छेउमै उभिएर सुनिरहेका युधिष्ठिरले भने :
भाइ भीम, यद्यपि तिमी अहिले क्रोधावेगले ग्रस्त छौ, तैपनि हेर – स्त्रीको वधचाहिं नगर है । शरीर–रक्षा भन्दा पनि बढी निष्ठाका साथ धर्मको रक्षामा दत्तचित्त होऊ । त्यो भयङ्कर राक्षस हिडिम्ब त हामीलाई मार्ने इरादाले आएको थियो, तिमीले वध गर्यौ, ठीक गर्यौ । तर, उसकी बहिनी यो हिडिम्बाले त क्रोधै गरी भने पनि हाम्रो के हानि गर्न सक्छे र ?
त्यसपछि फेरि हिडिम्बाले अत्यन्त विनयभावले माता कुन्तीलाई झुकेर प्रणाम गर्दै भनी :
आर्ये, हजुरलाई त थाहा नै छ – हामी स्त्रीजातिलाई काम–तिर्सनाले कसरी सताएर पीडित तुल्याउँछ, मलाई हजुरका पुत्र महाबली यिनीप्रति त्यही काम–तिर्सनाले पीडित पारिरहेको छ । मैले आफ्ना सबै बन्धु–बान्धवहरूको माया मारेर यिनै पुरुष–सिंहलाई आफ्नो पति चुनेकी छु । मैले यत्रो धैर्य गरेर कातर भावका साथ हजुरसँग प्रार्थना गरिरहेकी छु, अब त मेरो अभीष्ट–सुख भोग्ने बेला आइसकेको छ । कृपया कामेच्छाले भुतुक्कै भएकी मेरो विन्तीलाई स्वीकारिदिनुहोस्, यदि हजुरले मेरो विन्तीलाई उपेक्षा गर्नुभयो भने सत्ते ! म जीवित रहन सक्दिनँ ।
कृपया मैले मनमनै पति मानिसकेका यिनी हजुरका पुत्रसँग मलाई मिलाइदिनुहोस् । म आफ्ना देवोपम स्वामीलाई लिएर अभीष्ट एकान्त–स्थलमा जानेछु, अनि निश्चित समयपछि उहाँलाई हजुरका समीप लिएर आउनेछु । ममाथि विश्वास गर्नुहोस् । हजुरले जब–जब मेरो स्मरण गर्नुहोला म तत्काल सेवामा हाजिर रहुँली, हजुरहरू जहाँ जान चाहनुहुन्छ, आफ्ना पिठिउँमा बोकेर तत्काल त्यहाँ पुर्याइदिउँली । हे आर्ये, म न त राक्षसी हुँ, न निशाचरी हुँ, म त राक्षस जातिकी सुशील कन्या हुँ । मेरो नाम साल–कटंकटी हो । म अहिले यौवनवती युवती अवस्थामा छु । म वृकोदरप्रति काममोहिता बनिसकेकी छु । म हजुरहरूको निरन्तर सेवा गर्नेछु । सदा सङ्कटनिवारण गर्नेछु । हे महारानी, ममाथि कृपा गर्नुहोस्, आफ्ना पुत्रलाई आज्ञा दिनुहोस्– उहाँले मेरो सेवा स्वीकार गरिदिनुहोस् भनेर, विन्ती !
म आफ्नो दिव्य ज्ञानले भूत र भविष्यत्–कालका सबै घटना देख्न सक्दछु । त्यसैले हजुरहरूको कल्याण हुने कुरा गर्दैछु, सुन्नुहोस् । यहाँबाट अलिकति अगि बढेपछि एउटा उत्तम सरोवर आउँछ । हजुरहरू आज त्यहाँ पुगेर सरोवरमा स्नानादि सम्पन्न गरेर तटवर्ती वृक्षको प्रशस्त छायामा विश्राम गर्नुहोला । केही दिनमा नै कमलनयन भगवान् वेदव्यासजीको दर्शन पाउनुहुनेछ र सकल शोकबाट मुक्त बन्नुहुनेछ । दुर्योधनद्वारा हस्तिनापुरबाट निर्वासित गरिनु, वारणावत नगरमा जानु, त्यहाँ लाक्षागृहको दहन गरेर महात्मा विदुरजीको प्रयत्नबाट हजुरहरूको रक्षा हुनु आदि सबै घटना मैले दिव्यदृष्टिबाट देखिसकेकी छु । अब हजुरसँग शालिहोत्र मुनिको आश्रममा निवास गर्ने महात्मा व्यासजीसँग चाँडै नै भेट हुनेछ । त्यो पवित्र आश्रम पुण्यशाली वृक्ष एवम् जाडो गर्मी वर्षा आदिलाई सजिलै सहन गर्न सक्ने ऊर्जाले युक्त छ । त्यहाँको केवल जल पिउनाले मात्र पनि सारा भोकप्यास र थकान तत्काल हट्दछ । शालिहोत्र मुनिले आफ्नो चिरकालीन तपस्याद्वारा त्यस सरोवर र त्यस वृक्षको निर्माण गर्नुभएको हो । त्यहाँ कादम्ब, सारस, हंस, कुररी आदि पक्षीहरूको श्रुतिमधुर कलरव गुँजिरहन्छ ।
हिडिम्बाका यस्ता वचन सुनेर माता कुन्तीले सकल–शास्त्र–पारङ्गत आफ्ना ज्येष्ठ पुत्र युधिष्ठिरलाई भनिन् :
हे धर्मप्राण छोरा, मैले भनेको कुरा रामरी सुन । यो हिडिम्बाले जे भनेकी छे, सबै धर्मानुकूल नै भनेकी छे । यदि यसको हार्दिक भावना भीमसेनप्रति दूषितै रहेछ भने पनि यसले तिनको के बिगार गर्न सक्छे र ? अतः यदि बाबु, तिम्रो सम्मति छ भने यो हिडिम्बा सन्तान–प्राप्तिका लागि यथोचित समय तिम्रो भाइ भीमसेनको सेवामा रहोस् ।
युधिष्ठिरले भने :
हे हिडिम्बे, तिमीले जे भन्यौ ठीकै भन्यौ– यसमा कुनै सन्देह छैन । परन्तु हे सुन्दरी, म तिमीलाई अब जे भन्दछु त्यसमा तिमी प्रतिबद्ध रहनुपर्नेछ । हे भद्रे, जब भीमसेन स्नान, सन्ध्या, नित्यकर्म सकेर माङ्गलिक वेश धारण गरेर तैयार हुनेछन् अनि तिमीले प्रतिदिन सूर्यास्त हुनुभन्दा पहिलेसम्म उनको सेवामा रहनु पर्नेछ । तिमी मनका समान वेगले घुमफिर गर्न सक्छ्यौ । त्यसैले दिनभरि त तिमी यिनका साथ आफ्ना इच्छानुसार विहार गरौली, तर साँझ पर्नासाथ तिमीले भीमसेनलाई हाम्रा समीप ल्याइपुर्याउनु पर्नेछ । अनि तिमीले यिनको सततः हर तरहले रक्षा गर्नुपर्नेछ । यस शर्तअनुसार जबसम्म तिम्रो गर्भ रहँदैन तबसम्म मात्र तिमी यिनको सेवामा रहन सक्नेछौ । यदि यो शर्त मान्छ्यौ भने तिम्रो कुरा हामीलाई मन्जूर छ ।
हिडिम्बाले यो शर्त सहर्ष मन्जूर गरेपछि माता कुन्तीले हिडिम्बालाई आफ्नी बुहारी स्वीकार गरी अँगलामा बेरेर सस्नेह आफ्नो वक्षमा टाँसिन् । त्यसपछि हिडिम्बा भीमसेनका छेउमा रहेर हिंड्न लागी । जाँदाजाँदै उनीहरू शालिहोत्र मुनिको रमणीय सरोवरको सन्निकट पुगे । त्यहाँ एउटा वृक्षको प्रशस्त तलमा हिडिम्बाले कुचो लगाई । सबैलाई त्यहाँ बस्ने व्यवस्था गरेर चाँडै नै सबै छोरा–मानिसलाई बस्न हुने एउटा कुटिया पनि फटाफट तैयार गरी । त्यसैको छेउमा माता कुन्ती र आफू बस्न हुने अर्को कुटिया पनि बनाई । सबैले स्नानादि पश्चात् जल पिए । त्यसै बेला शालिहोत्र मुनिले आफ्ना योग–बलले सबैका लागि उत्तम भोजनको व्यवस्था पनि गरिदिए । खानपीन गरेर सबै विश्राम गर्न लागे ।
त्यसै बेला कुन्तीले भीमसेनतिर फर्किएर भनिन् :
बाबु भीम, आज हाम्रा सामू यो धर्मसङ्कट पैदा भएको छ । यस हिडिम्बाले काम–भावनाले प्रेरित भएर देख्नासाथ धर्मतः तिमीलाई पतिका रूपमा वरण गरेकी छे । अतः मेरो तिमीलाई के आज्ञा छ भने धर्मानुकूल बनेर यसलाई एक पुत्र प्रदान गर । हाम्रा लागि यही कल्याणकारी हुनेछ । यस विषयमा म तिम्रो कुनै प्रतिवाद सुन्न चाहन्नँ । तिमी हाम्रा सामू प्रतिज्ञा गर ।
भीमसेनले माताको वचन शिरोपर गर्दै हिडिम्बासँग गान्धर्व विधिले विवाह गरे अनि भने :
म सत्यको शपथ खाएर तिम्रा अगि एक शर्त राख्दछु : हे शुभे, सुमध्यमे, जबसम्म तिम्रो पुत्र जन्मँदैन तबसम्म मात्र म तिमीसँग विहार गर्न जाउँला ।
हिडिम्बाले यो शर्त सहर्ष स्वीकार गरी, अनि भीमसेनलाई लिएर उडी । उसमा जहाँ पनि जान सक्ने अपार सामर्थ्य थियो । यस धरातलका रमणीय पर्वतशिखर, देवधाम, नदी–किनार, लता–वृक्षले लटरम्म परेको दिव्य वनस्थली, वनकुञ्ज, समुद्रतट, शान्त सुरम्य जलाशय अनि मानससरोवर आदि सबै सुन्दरतम स्थानमा ऊ भीमसेनलाई लिएर जान लागी र सम्भोगको आनन्दमा निमग्न हुँदै, समस्त कामभोगको तृष्णा पूरा गरेर परमसन्तृप्त बन्न लागी ।
केही समयपछि हिडिम्बाले भीमसेनको समागमबाट एउटा बलवान् छोरो पाई । त्यसका आँखाहरू विकराल थिए, मुख विशाल, कान भालाजस्ता तिखारिएका, आवाज भयानक, तीखा दाह्रा, ठूलठूला बटारिएका पाखुरा, घोर्ले नाक, चाक्लो छाती, बलिया–बांगा पिँडुला र अरमठ्ठ परेको डरलाग्दो शरीर थियो । गर्भधारण गरेको केही समयमै त्यो जन्मिएको थियो । उसका हातमा धनुष थियो । हुन त उसको जन्म मानव–वीर्यबाट नै भएको थियो तर त्यो अमानुषिक शक्तिले सम्पन्न थियो । चाँडै नै उसले समस्त शस्त्रास्त्र विद्यामा निपुणता पनि पाइहाल्यो ।
त्यस महान् धनुर्धर बालकले जन्मनासाथ पिता–माताका चरणमा नमन गर्यो । आमाबाबु मिलेर उसको नाम सोचे । त्यसको टाउकोमा रौं थिएन । त्यसैले घट : टाउको, उत्कच : केशविहीन भएकाले उसको नाम राखिदिए : घटोत्कच । ऊ पाण्डवहरूप्रति अत्यन्त अनुराग राख्दथ्यो र उनीहरूको पनि अतिप्रिय रह्यो । उनीहरूको सदा आज्ञाकारी पनि रह्यो ।
अब पूर्व–प्रतिज्ञाअनुसार भीमसेनसँग बस्ने समय पूरा भयो भन्ने बुझेर हिडिम्बाले विदा माग्न थाली । घटोत्कचले भन्यो :
हे मेरा मान्य गुरुजन, मलाई निःशङ्क भएर भन्नुहोस्– म हजुरहरूको के सेवा गरुँ ?
कुन्तीले भनिन् :
बाबू घटोत्कच, तिम्रो जन्म कुरुकुलमा भएको छ । तिमी मेरा पुत्र भीमसेन सरह मेरा प्यारा छौ । तिमी यी पाँचै पाण्डवका ज्येष्ठ पुत्र हौ । तिमी सदा हाम्रो सहायता गर ।
उसले भन्यो :
जसरी यस जगत्मा रावण र मेघनाद बडा बलवान् थिए त्यसै गरी मानव जगत्मा म पनि तिनीहरू सरह मात्र होइन तिनीहरू भन्दा पनि बढी विशालकाय र पराक्रमी छु । जब–जब हजुरहरूलाई मेरो आवश्यकता पर्ला – त्यसबखत मलाई सम्झिसेला । म आफ्ना मान्य पितृ–वर्गको सेवामा तत्काल हाजिर हुनेछु ।
यति भनिसकेर पाण्डवहरूको आज्ञा लिएर उनीहरूलाई प्रणाम गर्दै आफ्नी आमा हिडिम्बाका साथै छोरो घटोत्कच पनि उत्तर दिशातिर उड्यो ।
वास्तवमा आगामी महाभारतको महायुद्धमा, अनुपम पराक्रमी कर्णले प्रहार गरेका शक्तिको आघात सहन गर्नका निम्ति देवराज इन्द्रले घटोत्कचको सृष्टि गरेका थिए ।
…..
महाभारत आदिपर्व १५४ अध्यायमा आधृत ।
२०८१ साल फागुन ९ गते शुक्रवार ।
ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

