बिहानै बाघ भैरवको मन्दिरको दर्शन गर्नु, भजन गर्नु र काठमाडौंको उपत्यकाको दक्षिण भेग हेर्नु ९५ वर्ष टेकेका रामचन्द्र महर्जनको दैनिकी हो ।
उनले के देखेनन् ? राणाको रवाफ, शाह राजाहरुको मस्ती, पञ्चायतको पहाड, प्रजातन्त्रको पत्कर, गणतन्त्रको गनगन सबै हेरिरहेछन् । प्रत्येक राजनैतिक परिवर्तनका लागि कीर्तिपुरले बलिदान दिएकै हो । तर राजनीतिले कीर्तिपुरलाई के दियो ? रामचन्द्र सोचमग्न छ ।

करिब शताब्दी लामो जीवन यात्रामा आफैंलाई सोध्यो ? तेरो कुन समय स्वर्णिम थियो वा छ ? उसले जवाफ भेटेन । यो प्रश्नलाई थाँती राख्यो ।
बाघ भैरवबाट तल हेर्यो, ट्यांग्ला फाँट । कीर्तिपुरका जनताहरूले सबैबन्दा बढी धान उब्जाउ गर्ने फाँट, बल्खु खोलाको गनगनाहट, वन जङ्गल, बगर । त्यो कति चाँडै सकियो है ! अहिले टेक्ने जमिन छैन ।

रामचन्द्रको जेठो छोरा नै ७२ वर्षको भइसक्यो, हरिनाराँ । हरिनाराँ कीर्तिपुरको नाम चलेको सिकर्मी । बलियो थियो । तीक्ष्ण थियो सिकर्मी पेसामा लाग्यो । उसले बनाएको झ्याल–ढोकाको सर्वत्र प्रशंसा हुन्थ्यो । उसले बनायो कि १०० वर्ष ग्यारेन्टी । उसले छान्ने काठ, बनाउने सीप, देखेरै काम भ्याई नभ्याई हुन्थ्यो । तर उनीहरूकै दश रोपनी जमिन अधिग्रहण गरेर बनाइएको त्रिभुवन विश्वविद्यालयमा उसको सीप निख्खर गर्ने, उसको पारम्परिक अध्ययनलाई सम्मान गर्ने, उसको सीप परीक्षा लिएर प्रमाणित गर्ने कुनै विधि थिएन । उसको जमिन पनि गयो । हरिनाराँ गंवार पनि सावित भयो । त्रिविवि कीर्तिपुरको लागि सहज हुन सकेन ।

स्नेह सायमि

हरिनाराँको जीवन त गयो गयो उसको जमिन पनि गयो । रामचन्द्रको नातिको पालो आयो । ऊ ४३ वर्षको भयो । उसले बाघ भैरव स्कूलबाट एसएलसी परिक्षा पास गर्यो । पछि एम.ए.सम्म अध्ययन गर्यो । तर उसले सरकारी जागिर पाएन । एउटा त लोकसेवाको परीक्षा अनुकूल ऊ हुन सकेन, अर्को उसको बोलीमा आउने नेवा लवज उसको जागिरको लागि अयोग्यताको प्रमाणपत्र हुन गयो । कलेज पढ्दा नै उसले आफ्नो उच्चारणको लवजका कारण गुरुहरूको गाली खानु परेको थियो । कतिले त भैंसीको मासु खाएपछि यस्तै हुन्छ भनेर पनि सुनाउथे । जसले सुनाउँथ्यो ऊ पनि खासी बजारको मम पसलमा भेन्टिथ्यो । रामचन्द्रको नातिको यो व्यथा सुन्थ्यो ।

तीन पुस्तामा आइपुग्दासम्म रामचन्द्रको परिवार किसानबाट निम्नस्तरको मजदुर भइसकेको थियो । रामचन्द्र सोच्छ, “हामीले खोजेको परिवर्तनले हामीलाई नै किन माग्ने बनाइरहेछ ?”

रामचन्द्रको पनाती पनि २२ वर्षको भयो । ऊ पनि छटपटिरहेछ । ऊ १२ कक्षा उत्तिर्ण गर्न नसकेर निराश छ । हिजो साँझ पनातिसँग अन्तरङ्ग कुरा गर्यो रामचन्द्रले । अब तिमीहरू एसईई र १२ कक्षामा नै हराउने भयौं ।

पनातिले भन्यो, “एसएलसीलाई परीक्षाको फलामे बार भनिन्थ्यो जुन उत्तिर्ण गरेपछि कलेज पढ्न पाइन्थ्यो । उक्त परीक्षामा अनुत्तिर्ण हुनेहरू दुई तिहाइ हुन्थे । प्रत्येक वर्ष ती अनुत्तिर्णहरु कहाँ गए होलान्, के काम गरे होलान् ? त्यो कुरा तथ्यांकशास्त्रीहरूले बताउनु हुनेछ । कतिले पास गरे कति गरेनन् । प्रश्नहरू उठेकै थिए र उठिरहेकै छ ।

के जीवनको सफलता र असफलता एसईई वा एसएलसीबाट सुरु हुन्छ ? हाम्रो यो आधारभुत परीक्षाले मानिसको अध्ययनको सही मूल्यांकन न पहिले भयो न अहिले हुनसक्यो । मानिसको क्षमता, आत्मबल, रुचि र आन्तरिक शक्तिको मूल्यांकन गर्नेगरी त न पाठ्यक्रम बन्यो न परिक्षा लिन सकियो । बिगत सत्तरी वर्षअघि शिक्षा प्राप्त गरेका र अहिले प्राप्त गरिरहेकाको सिलसिला हेर्ने हो भने नेपालको आधारभुत शैक्षिक मूल्यांकन झन् झन् खस्किरहेको छ । परीक्षाहरू उत्तिर्ण हुँदा पनि कागजी प्रमाणपत्रको थुप्रो मात्र भएको छ ।

यस्तो अवस्थामा एसएलसीको मापदण्ड जीवनयापनको महत्वपूर्ण मापदण्ड त कसरी हुनसक्छ ?

अक्षर महत्वपूर्ण माध्यम हो, अक्षरहरू चिन्नुपर्छ । भाषा पनि महत्वपूर्ण नै हो, त्यो पनि अनुशासित रूपमा सिक्नुपर्छ । त्यो भाषा र अक्षर प्रयोग भएर सिकिने वषिय भने छनौट गर्न सक्नुपर्छ । नेपाली शिक्षाको परम्परा हेर्ने हो भने त्यहीँ चुकेको छ ।

रामचन्द्रले भन्यो, “गुनासो नगर बाबु । जस्तो छ त्यस्तो पढ । दुई चार अक्षर चिन र प्रवेश गर राजनीतिमा । यो शताब्दीमा कीर्तिपुरले नजानेकै राजनीतिमा प्रवेश गर्न । सक्रिय राजनीतिमा लाग, आफू अनुकूलको जीवन बनाऊ । सहर बनाऊ ।”