म विगतका धेरै कुरा सम्झिरहन सक्दिनँ । तर मैले आफ्नो एसएलसी परीक्षको सिम्बोल नम्बर भने कहिल्यै बिर्सन सकिनँ– १९४५७ “आई ” । म अचम्मित छु, म जस्तो धेरै बिर्सने मानिसलाई एसएलसी परीक्षको सिम्बोल नम्बर किन कण्ठ छ ? न एसएलसी परीक्षा दिनलाई तयारी गर्न सकियो । न दिइसकेपछि फुर्सदमा बसियो । एसएलसी परीक्षभन्दा अघि स्कूलले लिने टेस्ट परीक्षाकै लागि पनि समय दिन सकिएन । प्रत्येक दिन पारिवारिक काममा लाग्दालाग्दै समय जान्थ्यो ।

स्नेह सायमि

टेस्ट परीक्ष दिँदा र परीक्षाफल प्रकाशित हुँदासम्म म अग्लिएको नै पनि मैले थाहा पाइनँ । टेस्ट परीक्षको परीक्षफल हेर्न भनेर नियमित स्कूल जाने पाइन्ट लाउन खोज्दा त यति छोटो भइसकेको रहेछ कि घुँडासम्ममात्र आउने भएछ । त्यही कारणले साथीले हेरेर आएको परीक्षफलमा भर परियो र नयाँ लुगा सिलाइकन मात्र एसएलसी परीक्षको फाराम भर्न हिँडियो ।

एसएलसी परीक्ष सकिएपछि भने अलि बाहिरी संसार हेर्न कोसिस गरियो । अलि फुर्सद पाइयो । दिनदिनै पढ्नु पर्ने चिन्ता पनि भएन । त्यतिखेर चलनचल्ती अनुसार सिक्ने भनेको टाइपिङ र भाषा कक्षा थियो । मैले पनि टाइपिङ सिकेँ र अमेरिकन भाषा केन्द्रमा अंग्रेजी भाषाको कक्षामा पढ्न गएँ । त्यहीबेला खिचापोखरीको हार्मोनियम माइला भन्ने पसल थियो ,त्यहीँ गितार पनि सिकेँ । तर यी कामहरु सकिगए ।

त्यसपछि किन किन गाउँका म जस्तै उमेरका केही काँचा केटाकेटीहरुलाई गाउँ र देश कसरी बनाउने भन्ने चिन्ता भयो । गाउँमा हामीभन्दा अघिल्लो युवापुस्ता सक्रिय थियो । गाउँमा पुस्तकालय चलाउने दाजुहरु हुनुहुन्थ्यो । पुस्तक संकलन गर्नु, पालो मिलाएर पुस्तकालय कुर्नु, पुस्तकको गाता मर्मत गर्नु, नयाँ पुस्तकका लागि पहल गर्नु, पुस्तकालय सदस्यता प्रदान गर्नु, पत्रपत्रिका ल्याउनु र पढ्ने मान्छे जम्मा गर्नु आदि, सजिलो काम पक्कै थिएन ।

हामी विहान विहान बिष्णुदेवी मन्दिरमा ब्याटमिन्टन खेल्न जान्थ्यौँ र फर्कंदा देशका कुरा गथ्र्यौँ । न कुनै अध्ययन, न कुनै सम्र्पक, न कुनै गुरु, देश बनाउने कुरा स्वतःस्फुर्त कसरी आइलाग्यो ? हामीलाई नै थाहा थिएन । कहाँबाट के काम गरेर सुरु गर्ने भन्ने धेरै तर्क विर्तक र छलफलपछि देश सेवा गर्ने एउटा बाटो सुझ्यो । हामीले रोजेको बाटो थियो– गाउँकै स्कूलमा समय मिलाएर विद्यार्थीहरुलाई निःशुल्क कोचिङ कक्षा संचालन गर्ने ।

हामीले केही समय पुस माघको बिदामा विद्यार्थीहरुलाई तीन चार समूहमा राखेर पढायौँ । अहिले सम्झने कोसिस गर्छु, कतिले लाभ लिए वा लिएनन् कुन्नि ! तर हामीले चाहिँ लाभ उठाएका रहेछौँ । त्यो कसरी भने, हामीलाई त्यही गर्दा आनन्द आयो, के के न गरियो जस्तो लाग्यो । थप सामाजिक काम गर्ने उत्साह पैदा भयो । अहिले सम्झन्छु, हामीले गरेको जस्तो काम त हामीभन्दा अग्रजहरुले कति व्यवस्थित रुपमा मेहनतका साथ गरिसकेका रहेछन् । उदाहरणका लागि गाउँतिरका अधिकांश स्कूल कुनै न कुनै शिक्षासेवीको पहलमा स्थापना भएको रहेछ । बलम्बुको एउटा स्कूल त्यहीँकै स्थानीय शिक्षासेवीले आफ्नो पहलमा स्थापना र संचालन गरेका रहेछन् । मैले टेकेको पहिलो स्कूलकै त्यस्तै इतिहास रहेछ, धेरै समाजसेवीको योगदान रहेछ । अधिकांश गाउँका स्कूल गाउँका वा छिमेकी गाउँका कुनै समाजसेवी, शिक्षासेवीका पहलमा स्थापना भएको रहेछ । सायद हामीमा पनि त्यही कुराको बिजारोपण भएको हुनुपर्छ ।

सामाजिक काम गरेर मात्र हुँदैन । त्यसमा पनि टिकाटिप्पणी हुनु स्वभाविक छ । किन गर्यो ? कसका लागि गर्यो ? यी सबै कुराको चासो रहन्छ नै ।

त्यही समयमा भूमिगत राजनीति नभएको होइन । तर हामी राजनीतिसँग प्रत्यक्ष सम्र्पकमा थिएनौँ । पञ्चायतकालमा यस्तो दबदबा थियो कि हाम्रो गाउँका पाका मानिसहरु कम्युनिस्ट र काँग्रेस शब्द उच्चारण गर्नसम्म डराउँथे । गाउँमा त मेरो छुट्टै संसार थियो । अर्थात् फुर्सद थिएन । विहान सबेरै उठेर घरको व्यवसायिक काममा सघाउनु, काम गर्दागर्दै जम्मा हुन आउने रिटायर्ड पाका मानिसहरुको गफगाफ र ठट्टाहरु सुन्नु, खाना खाएर फेरि घरमा बा र काकाहरुको निर्देशनमा काम गर्नु मेरो प्रमुख दिनचर्या थियो । काठमाडौंको मुख्य सहरमा घुम्ने हेर्ने फुर्सद थिएन । गाउँकै मानिसहरुसँगको व्यवहारिक र पारिवारिक सामिप्यतामा एक किसिमको बाध्यता र मज्जा पनि थियो । यो सबै कामबाट फुर्सद निकालेर सामाजिक काममा लाग्नु मेरा लागि अहिलेसम्मकै उर्जाको विषय बनिरह्यो ।