अङ्ग्रेजीले सर्पले भ्यागुतो निले झैँ निल्दैछ । यसले नेपाली भाषालाई विसर्जनतिर धकेल्दै छ कि यो नेपाली भाषाको पुस्तान्तरण हो ? – मेरो मनोरथमा विराजमान ड्याडी/ममीहरू !

===

गए साता मैले फेसबुक-भित्तामा “नेपाली भाषा मासिने भनेकै ‘पढेलेखेका हौँ’ भन्नेहरूबाट हो” भन्ने वाक्य लेखेँ । अनेक रूपका प्रतिक्रिया र टिप्पणी आए । वाक्य-सन्देशप्रति धेरैको सम्मति नै थियो । “जब बाआमा र काकाकाकी नै ड्याडी र ममी, अङ्कल र आन्टी भए तब मातृभाषाबाटै नेपालीको मौलिकता पतनोन्मुख पार्दै पढेलेखेकाहरू विदेशी भाषाका ‘किताबी किरो र हिरो’ हुने होडबाजीमा नेपाली व्याकरणबाटै पलायन भए”  र “त्यसो भएको धेरै भइसकेको छ र अब भाषा मरेको घोषणा हुन मात्र बाँकी छ” जस्ता केही प्रतिनिधि विशेष टिप्पणी हात लागे । “त्यसका लागि तपाईं  र मजस्ता थुप्रै छौँ । नेपाली भाषाको व्याकरण कहाँ छ ? ड्याडी ममी आगन्तुक/आयातित भनेर व्याख्या गर्दै जाने बुद्धिजीवीहरू हावी भएजस्तै आङ्लको noun, pronoun, adjective लाई नाम, सर्वनाम विशेषण भन्दै अनुवादलाई नेपाली व्याकरण भनेर हुलिएको छ” यस्तो तिख्खर प्रतिक्रिया थियो- एक जना भाषाकर्मी वा भाषामर्मज्ञको ।

ए अँ ! हाम्रो ‘नेपाली भाषा सुदृढीकरण अभियान‘ नामको फेसबुक समूहलेखा पनि छ ।  आफ्ना भित्तामा त्यसो लेख्नुअगाडि मैले त्यस समूहका भित्तामा “‘मम्मी’ र ‘डेडी/ड्याडी’ अङ्ग्रेजी शब्द होइनन्; यी रूपपरिवर्तित आगन्तुक नेपाली शब्द हुन् । मलाई कति गाली गर्नु छ गर्नोस्” भन्ने दुई वाक्यको सन्देश लेखेको थिएँ ।

नामैले नेपाली सुदृढ बनाउने अभियन्ताहरूको विशाल समूहमा मेरो लेखाइप्रति स्वाभाविक रूपमा प्रतिक्रिया आउँछन् भन्ने मैले अनुमान गरेकै थिएँ ।  मैले भन्दै मलाई जति गाली गर्नु छ गर्नोस् भन्ने वाक्य जानाजान नै राखेको थिएँ ।  प्रतिक्रिया धनात्मकभन्दा ऋणात्मक बढी हुनु स्वाभाविक थियो । प्रतिनिधि कथन आए :-

  • “हाम्रो बानी नै परिसकेको छ आफ्ना आमाभन्दा पराइ मम्मी मन पर्छ, बाबाभन्दा ड्याडी मन पर्छ । आफ्नो भाषाका शब्द लोप हुँदै छन् तर हामी अङ्ग्रेजी भाषाका शब्दहरू जानी नजानी प्रयोग गर्न चाहन्छौं ‘सर्बत’ नभनेर ‘जुस’, ‘गोलभेँडा’ नभनेर टमाटर । … हाम्रा भाषामा शब्द नभएका ठाउँमा भने आगन्तुक शब्द प्रयोग गर्नुपर्छ”; “विदेशीहरूले नेपालबाट शब्द लगे होलान् हैन”;
  • “नेपाली शब्द लखेटेर आगन्तुकलाई भरौँ; आगन्तुकलाई नेपाल दिएर हामी अन्तै मरौँ;
  • “दैनिक प्रयोगमा चलनचल्तीका कारण आत्मसात् भएका हुन् तर मूल भाषा भने होइनन्”;
  • “भाषाको नाममा टुकुचामा पौडिएर अक्सफोर्डको सपना देख्नु, त्यो त मुहानमै भ्यागुताको रवाफ देखाएर आफूलाई जलपरी ठान्ने मूर्खता हो !”;
  • “जेसुकै हुन् आगन्तुक भन्दिने हो सकियो । स्वदेशी होस् कि विदेशी”;
  • “कुरामा चैँ नेपालले अक्सफोर्डलाई पनि पछि पार्छ । काममा चैँ आलोचना मात्र”;
  • “यो काहाको हरिलठ्ठक भाषाविद् आएछ”;
  • “मम्मी र डेडी दुबै मरेका लास हुन्”;
  • “कठै ! भाषा बलात्कारीहरूले नेपालित्व सके”;
  • “आमाहरूलाई मृत बनाएर, लाश (मम्मी) लाई जगाऔँ”;
  • नेपालीको भाषा संस्कार देख्दा भाषा स्वयं पनि लजाउँदो हो”;
  • “शायद डलरको चास्नीले मम्मी/डेडी बनायो कि महासय लाई”;
  • “ड्याडी र ममीलाई अहिलेसम्म व्याकरणले अर्थबोध गराउन सकेको छैन आमाको पर्यायवाची शब्द मम्मी र बुबाको पर्यायवाची शब्द ड्याडी भनेर राख्न सकेको छैन”;
  • “बल्ल बुद्धि पलाएछ । सर र मेडम भन्ने हटाउँदा झन् सुन्दर होला !” आदि ।

मेरो अनुमान गलत साबित भो किनभने यी कथनहरूमा प्रतिक्रिया आएनन्, जिज्ञासाहरूले खास ठाउँ लिएनन् र नेपालीलाई मलजल गर्ने कुरा त्यहाँ थिएनन् । थिए त – तीव्र रोष, आक्रोश, रनाहा, कुण्ठा, आरोप र गालीका असिना वर्षा । ती बल्ड्याङ्रे असिना मानौँ मेरा आँकुरा हाल्न हाल्न खोजेको त्यो अभिव्यक्तिका पिपिरा, टुसा, मुना वा डुकुहरूलाई मटियामेट गर्न चाहन्थेँ; धुलिसात् पार्न चाहन्थे र तिनको बिउको नामोनिसान नरहेको शून्यावस्थाको अपेक्षा गर्थे ।

“बल्ल बुद्धि पलाएछ । सर र मेडम भन्ने हटाउँदा झन् सुन्दर होला !” को मैले अर्थ लगाउन सकिनँ । पहिलो वाक्य र दोस्रो वाक्यका सन्देशका बीच म कुनै तारतम्य नै देख्दिनँ । म घोत्लिएँ, मन दुई फ्याक भयो र द्वन्द्व शुरु भो- अन्तर्द्वन्द्व अर्थात् द्वन्द्वात्मक अन्तर्लापिका ।

मनको एउटा फग्याँटाले भन्यो: तैँले ठिकै लेखेको होस् त – बीस बर्खमुनिका बहुमत नेपाली भाषीहरू आफ्ना बाउआमालाई ड्याडी-मम्मी भनेरै सम्बोधन गर्छन् वा बोलाउँछन् बाआमा भन्दैनन् । त्यो एउटा सार्थक सङ्ख्या हो र नेपाली भाषाको कथ्यमा त्यो जीवन्त छ – भला  धेरै नेपाली शब्दकोशहरूले यिनलाई प्रविष्टि दिएनन् होला ।

प्रज्ञाप्रतिष्ठानको शब्दकोशमा आँखा दौडाएँ – ‘ममी’ शब्द त प्रविष्ट रहेछ त्यहाँ र अर्थ दिएएका रहेछन् दुइटा – ‘मुर्दा’ र ‘आमा’ अनि श्रोत दिएको रहेछ अङ्ग्रेजी । खासमा अङ्ग्रेजीमा आमालाई ‘मम/मोम’ भन्छन् ममी/मम्मी होइन । बालबोलीमा सम्म ममी/मम्मी ग्राह्य छ नभए ‘मदर’ को छोटकरी रूपमा भन्ने मोम/मम नै हो । ड्याडी त उनीहरूले प्राय: बोलचालमा पनि प्रयोग गर्दैनन्-उनीहरूले भन्ने ‘ड्याड’ हो- जुन तिनले पनि संस्कृतको “तात्” सापट लिएर ध्वन्यानुकूलन हुँदै बनेको शब्द हो । संस्कृतमा तात भनेको पितासमान नै हो तातले बाबु बडाबाबु र काका सबैलाई जनाउँछ ।

मनको अर्को फग्याँटाले भन्यो: होइन, तैँले गर्नु गल्ती गरिस् । समाजमा साँचो कुरा भन्नु हुँदैन; तथ्योद्घाटन गर्नु समाजविरोधी पाइलो हो । ए तँ त्यसरी भन्ने मम र ड्याड अङ्ग्रेजी मूलबाट नेपालीमा आए र नेपालीले त तिनमा नेपाली प्रत्यय (बद्ध रूपिम) ‘ई’ थपेर ममी/मम्मी र ड्याडी/डेडी बनाए । यस्तो भाषाको आन्तरिक नियम चिनाएर किन अरूको चित्त दुखाएको ? गल्ती तेरै हो ।

मेरा मनका आत्मलाप/अन्तर्लापसँगै म भाषाचिन्तनको एक गहिरो पोखरीमा डुबेँ । पौडिन सक्दिनँ कि भनेर निकै डराएँ । तर, डुबिसकेपछि मसँग कि पौडने कि कि डुब्नेबाहेक अर्को विकल्प थिएन । यसैले म भाषाचिन्तनको पोखरीमा डुबुल्की मारिरहेँ ।

खासमा नेपाली भाषा बिगार्ने को ?, म ? मजस्तै पढेलेखेका हौँ भनेर अभिमानको नाक फुलाउनेहरू वा अनपढ भनिएकाहरू ? यो प्रश्नको उत्तर निर्क्योल्न त्यति सजिलो थिएन – मेरा मनका फग्याँटाहरूलाई ।

नेपाली भाषाको विकास पालि प्राकृतको खस अपभ्रंशबाट हुँदादेखि नै अर्को भाषाबाट शब्द सापट लिएर काम चलाउन थालेको हो । एघारौँ शताब्दीमै ‘लामा/लमृनि’ जस्ता पालि/संस्कृतइतर स्रोतका शब्द प्रयोग भएका अभिलेखमा छन् । जेनेरल, ल्याफ्टिनेन्ट र क्याप्टनजस्ता शब्दको ध्वन्यानुकरण गरेर जर्नेल, लप्टन र कर्नेलजस्ता शब्द पृथ्वीनारायण कालमै नेपालीमा सहजाए । यसैले शब्दतहको आगमले भाषालाई मार्दैन समृद्ध बनाउँछ ।

मनोरथको हातो घुम्यो र भन्यो होइन, आगम शब्दमा सीमित हुँदैन; यसले व्याकरणमै हान्छ, जलकुम्भीले तलाउ गाँजेझैँ वा वनमारा र अजगुतेले रैथाने झाडीलाई प्रतिस्थापित गरे झैँ । नेपालीमाथि अङ्ग्रेजीले धेरै हान्न थालेको २०१२ सालतिरबाट हो; पुलिस जेल, जेलर, एडभोकेट, प्लिडर, एसेम्लीजस्ता शब्दहरूलाई नेपाली सत्ताले कसरी भित्र्यायो भने ती शब्दैले सबै पेशाव्यवसायको मर्यादा कायम गर्छ भन्ने छाप दिने गरी । हुँदाहुँदै नेपाली शिक्षाप्रणालीमा अङ्ग्रेजी भाषा घोडा चढ्यो । पञ्चायत कालमा नयाँ शिक्षा लागू गरेपछि २०४६ सालसम्म सामुदायिक विद्यालयमा अङ्ग्रेजी एक विषयको रूपमा मात्र पढाइन्थ्यो, बाँकी विषय नेपालीमा पढाइन्थ्यो । निजी विद्यालय शिक्षा शुरु भएपछि पढाइको पूरा माध्यम अङ्ग्रेजी भयो ।

हो, त्यसपछि बा, बुवा, बाउ, पिता, तात, काका, बडबा, बढेमा, ठूलाबा ठूलेमा, मामा, माइजूजस्ता शब्दको नियोजन शुरु भो- ड्याडी/ममी/अङ्कल/अन्टीको बहुप्रचलनद्वारा । अहिले बोर्डङ पढ्ने छोराछोरीलाई अङ्ग्रेजी नपढेकी तिनकी आमाले खाजा पठाउनन्- पठाउँछिन् टिफिन । टिफिनमा केरा, स्याउ र रोटी तरकारी हुँदैन, त्यहाँ हुन्छ– बनाना, एपल, ब्रेड र करी ।

शहरिया नयाँ पुस्ताले नेपालीमा कुरा गरिहाल्यो भने पनि बीचबीचमा राइट, आई मिन, रियल्ली, ओके जस्ता पद वा पदावली नमिसाई बोलेको प्राय: सुनिँदैन । विद्यालय र विश्वविद्यालय पढ्ने-पढाउनेका बीचमा शुद्ध नेपालीमा कुराकानी शून्यप्राय: हुन्छ । कतिसम्म भने पढालेखा नेपालीहरू आफूलाई ‘नेपाली’ भन्नुमा भन्दा ‘नेप्लिज’ भन्न-भनिन लालायित हुन्छन् । नेपाली इतिहासलाई अङ्ग्रेजीमा चिनाउनुपरे नेपाली हिस्ट्री भनिँदैन नेप्लिज हिस्ट्री भन्नमा धेरैलाई गर्व लाग्छ ।

मनोरथको गति बढ्दै गयो । हो, संज्ञालाई नाउनको सादृश्यमा जान्नुपर्ने, नेपालीमा हुँदै नभएको भविष्यत् काल अङ्ग्रेजीका स्याल/विलका सादृश्यमा चलाउनुपर्ने, सो द्याटको सिको गर्दै ताकि जस्ता सर्वनाम/संयोजक प्रयोग गर्नुपर्ने, नेपालीमा बग्रेल्ती शब्द हुँदाहुँदै अङ्ग्रेजी शब्द चलाएर कानूनसमेत बनाउनुपर्नेजस्ता अनेक दशा बेहोरिरहेको छ हाम्रो नेपाली भाषाको पथ ।

स्वदेशी प्रविधिविकासको गतिशून्यता र विदेशी प्रविधिबाट निर्मित वस्तुको आयातले हाम्रा नेपाली शब्द मासिएका मासियै छन् । चोया, बाता, खाँबो बलो, डाँडाभाटा, बतासी, टुँडालजस्ता शब्दलाई पिल्लर, प्यानेल, बिम, रोप आदि शब्दले झ्याप्पै किचिसकेका छन् । कोल, पेचा, डेली, भुनेजस्ता शब्द चिन्ने पुस्ता अब थोरै मात्र बाँकी छ । अङ्ग्रेजीले सर्पले भ्यागुतो निले झैँ निल्दैछ । यसले नेपाली भाषालाई विसर्जनतिर धकेल्दै छ कि यो नेपाली भाषाको पुस्तान्तरण हो ? – मेरो मनोरथमा विराजमान ड्याडी/ममीहरू !