एक हप्ताअघि विज्ञान अध्यापन गराउने शिक्षक मित्रले भन्नुभो, “एउटा विषयशिक्षकले कति कुरा जान्नुपर्ने हो ?” उहाँ थप्नुभयो, “कति सिक्ने, पढ्ने र प्रयोग गर्ने कुनै सीमा नै छैन पढाउनका लागि ।” त्यस्तै, नेपाली अध्यापन गराउने मित्रले केही समयअघि भन्नुभएको थियो, “आज त कक्षा १० मा स्वरसम्राट नारायण गोपाल बनेर गीत गाएँ ।”

एउटा शिक्षक विषयवस्तुले मागेअनुसार कलाकार, चिकित्सक, परामर्शकर्ता, अनुसन्धानकर्ता  इत्यादि बन्नुपर्छ । भनिन्छ, शिक्षक जन्मजात हुन्छ । शिक्षकलाई ज्ञान प्रस्तुतकर्ता, आदर्श व्यक्ति, विषयगत रूपमा दक्ष र अध्ययनशील मानिन्छ । शिक्षण झट्ट सुन्दा जति सहज र सरल देखिन्छ, गहिराइमा बुझ्दा त्यति नै महत्वपूर्ण र जटिल छ । फरक क्षमता, इच्छा र पृष्ठभूमिबाट कक्षामा उपस्थित सिकारुलाई एउटै खाले विषयवस्तु सिकाएर, परीक्षा उत्तीर्ण गराउनुपर्ने अवस्था पनि आफैँमा कठीन छ । विद्यार्थीका अगाडि एउटा कुशल र आदर्शवान् शिक्षक बनेर सिकाइ प्रक्रिया अगाडि बढाउन पनि त सरल छैन ।

जापानिज लेखक नेटसम सोसेकीको कथा छ, आई एम अ क्याट । उक्त कथामा बिरालोले शिक्षक विद्यालयबाट फर्केर घरमा आएपछि कोठाको ढोका थुनेर किताबमै र्याल काढेर निदाएको देख्छ । त्यसपछि बिरालोले सोच्छ, यदि अर्को जन्ममा मान्छे बनेर जन्मन पाएँ भने  मालिकको जस्तै सबैभन्दा सजिलो पेशा रोज्छु । शिक्षक बनेर सजिलै जीवन व्यतित गर्छु । तर शिक्षण त्यो बिरालोको विश्लेषणमा देखिए जस्तो सरल पक्कै छैन । शिक्षकको कक्षाको प्रस्तुति भनेको समुद्रमा देखिने आइसवर्गको टुप्पो जस्तै हो । जसको नब्बे प्रतिशत भाग अदृश्य हुन्छ, दश प्रतिशत भाग मात्र देखिन्छ । शिक्षणको ९० प्रतिशत पूर्व तयारी अदृश्य हुन्छ, तर बाँकी देखिने दश प्रतिशतमा रहेर शिक्षणको आलोचना गरिन्छ । त्यसैले, प्रत्यक्ष देखिने १० प्रतिशतका पक्षहरूलाई प्रभावकारी बनाउनु आवश्यक हुन्छ ।

अमेरिकन प्रेरणादायी लेखक विलियम आर्थर वार्ड भन्छन्, “सामान्य शिक्षकले भन्छ, असल शिक्षकले व्याख्या गर्छ, उच्चतम् शिक्षकले प्रर्दशन गर्छ र उत्कृष्ट शिक्षकले प्रेरणा दिन्छ ।” यसबाट के प्रष्ट हुन्छ भने, विद्यार्थीमा विभिन्नता भए जस्तै शिक्षकमा पनि विविधता हुन्छ ।

आफ्नो विद्यालय समयबाहेक पनि समुदायमा शिक्षकको बानी, व्यवहार र बोलीचालीमा सबैको ध्यान जाने गरेको छ । सफल शिक्षक हुन विषयवस्तुको राम्रो ज्ञान भएर मात्र पुग्दैन । ज्ञानलाई विद्यार्थीको व्यक्तिगत विभिन्नता, रुचि र विविधता अनुरूप प्रयोग गर्नुपर्छ । प्रभावकारी सामग्री र प्रविधिको उच्चतम् प्रयोग गरी क्रियाकलाप र परियोजना विधिलाई केन्द्रमा राखी सहजीकरण गर्नु आवश्यक हुन्छ । बालबालिका काँचो माटो नभई सम्भावनाको खानी हुन् । एकोहोरो प्रवचन  सुन्न जो कोहीलाई पनि गाह्रो हुन्छ । मनोवैज्ञानिकका अनुसार बालबालिका त प्रत्येक दश-पन्ध्र मिनेटमा नयाँपन खोज्ने गर्छन् । शिक्षणका लागि शिक्षकमा आफ्नो विषयको निश्चित अध्ययनका अलावा समयानुकूल परिवर्तित पाठ्यक्रम, विधि र प्रविधिमा अद्यावधिक ज्ञान हुनुपर्छ । मिश्रा र कोयहलरका अनुसार शिक्षणमा तीन क्षेत्रको ज्ञान आवश्यक छ – प्राविधिक, शैक्षणिक विधि र विषयगत ज्ञान (टिप्याक मोडेल) ।

प्रसिद्ध अमेरिकी दार्शनिक जोन डिवे एउटा भनाइ छ –  यदि हामीले हिजो पढाएको जसरी आज पढायाँै भने भोलिका बालकलाई लुट्नेछाँै । हिजो ज्ञानको स्रोतका रूपमा शिक्षकलाई मात्र लिइन्थ्यो तर आज प्रविधिको कारण विश्व खुम्चिएको छ । शिक्षक, गुरुबाट सहजकर्ता हुँदै कार्यक्रम प्रस्तुतकर्ता बन्दै गएको अवस्था छ । बालमनोविज्ञानको ज्ञान, विषयको प्रस्तुति रसिक बनाउन कथा, कविता, चुटकिला, सङ्गीत, सामान्य ज्ञान, योग र पाठ्यपुस्तकका विषयलाई प्रष्ट पार्ने  सन्दर्भले सिकाइ जीवन्त बनाउँछ । यसलाई शिक्षणको उत्प्रेरक ठानिन्छ ।

अब यहाँ प्रश्न उठ्छ, शिक्षकले यति धेरै प्रयासहरू गरिरहँदा उसले एउटा असल विद्यार्थी तथा सचेत अभिभावकको परिकल्पना गर्ने कि नगर्ने ? विद्यालय पोशाकमा विद्यालयमा आवश्यक सामग्रीसहित नियमित उपस्थित हुने, र कक्षा क्रियाकलाप तथा अन्तर्क्रियामा पूर्ण सहभागिता जनाउने विद्यार्थी नै असल विद्यार्थी हो । यस्तै, विद्यालय तथा आफ्ना छोराछोरीको सिकाइका बारेमा जानकारी लिने, उनीहरूको हरेको गतिविधिको निगरानी राख्ने तथा समय समयमा विद्यालयमा उपस्थित भई सिकाइको पृष्ठपोषण लिने अभिभावक सचेत अभिभावक हो ।

शिक्षणमा त्रिपक्षीय सम्बध हुनुपर्दछ । वर्तमान पाठ्यक्रमले आन्तरिक मूल्याङ्कन, परियोजना कार्य तयारी, अभिलेखीकरण, सञ्चयिका तयारी , सहभागिता लगायत विद्यार्थीको व्यवहारिक पक्षलाई बाह्य मूल्याङ्कनभन्दा बढी महत्तव दिएको छ । यी क्रियाकलापहरू कुशल ढङ्गबाट सम्पन्न गर्न निकै मिहिनेतको खाँचो पर्दछ । आफ्नो पेशागत विकासको लागि विभिन्न रणनीतिहरू, जस्तैः कार्यशाला, सेमिनार, बैठक, कार्यमूलक अनुसन्धान, कार्ययोजना लगायत अन्य क्रियाकलापमा पनि तल्लीन हुनुपर्दछ । शिक्षक सक्रिय हुनुपर्ने भनेर आवाज उठिरहन्छ तर विद्यार्थी पनि असल शिकारु बन्न के कस्ता कुरा पूरा गर्ने, के कस्ता आचारसंहिता पालन गर्ने भन्नेबारे चिन्ता र चासो कमै उठ्छन् । विद्यार्थीले पनि कक्षाकोठाको शिक्षण सिकाइ प्रभावकारी बनाउन  शिक्षकसँग सहकार्य गरी उचित सिकाइको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु आवश्यक हुन्छ ।

हामीकहाँ ‘शिक्षक भनेको भित्ता हो जसले अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर  केही नबोली  सहनुपर्छ’ भन्ने मान्यता राख्नेहरू धेरै छन् । अब त्यस्तो सोचमा न्यूनीकरण हुँदै जानुपर्छ । सबै पक्ष सकारात्मक सोचका साथ शिक्षकको मनोबल उच्च बनाउतिर लाग्नुपर्छ ।  आ– आफ्नो  कमजोरीलाई सुधारतर्फ हामी सबै केन्द्रित हुनुपर्दछ । तब मात्र सिकाइ निरन्तर चलिरहन्छ । जो विद्यार्थी बन्न सक्दैन, ऊ कुशल अध्यापक पनि बन्न सक्दैन । शिक्षक एउटा शिक्षार्थी नै हो ।