एउटा नारीले पर्सबाट खुजुरा पैसा निकालेर कन्डक्टरसँग घर जाने टिकट लिंदै छिन्

केही घण्टा पहिले उनको बलात्कार भएको छ ।

त्यहीं बसमा अर्को नारी आफ्नै उमेरका लाचार नारीसँग महँगाइको विषयमा कुरा गर्दै छन् ।

उनको कार्यालयको निरीक्षकले आज पनि मेमो पठाएको छ ।

* * * *

त्यो नारी जसले सुखद दाम्पत्य जीवनको लागि निर्जल उपवास बसेकी छिन् ।

– सासूले उनको हत्या गर्छिन् भन्ने मनमा त्रास छ ।

-निद्रामै चिच्याउने गर्छिन् ।

* * * *

एउटा अर्को नारी मध्यरातमा बाल्कोनीमा उभिएर आफ्नो जँड्याहा श्रीमानको प्रतीक्षा गर्दैछिन्

जो घर फर्किंदै छ, आफू जस्तै  कुनै विवश र असुरक्षित  नारीको घरबाट ।

* * * *

सन्देह असुरक्षा र डरले काटिन भन्दा पहिले

मिहिन आवाजमा प्रश्न गर्छिन्

कहाँ खर्च हुन्छ आधा भन्दा बढी तलब ?

* * * *

एक नारी बच्चालाई नुहाउँदै गर्दा

रुन थाल्छिन् बेस्सरी

र लगातार बच्चालाई चुम्न थाल्छिन्

शायद बच्चामा देख्छिन्

भविष्यको गुफा र शरण ।

* * * *

एउटा नारीको हात जलेको छ

अर्को नारीको हातमा उम्लिएको पानी पोखिएको छ

अस्पतालमा हजार प्रतिशत जलेका महिलाको बयान लिइन्छ कि उनीहरू आफ्नै गल्तीले जलेका हुन् ।

उनीहरू बाहेक सबै निर्दोष छन्

गल्तीले उसैको भाग्य फुटेको थियो  र पड्किएको थियो स्टभ ।

* * * *

एउटा नारीको नाकबाट बगिरहेको छ – रगत

पुछ्दै भन्छिन् : कसम खान्छु, मेरो अतीतमा कतै थिएन प्रेम, त्यहाँ थियो पवित्र शताब्दी लामो आगो जस्तै एक्लोपन

जहाँ पाक्दै थियो; तपाईंको लागि मेरो देह।

* * * *

एउटा नारीको अनुहार सिंगमरमरको ढुङ्गा जस्तै सेतो छ

शायद उनले आफ्नो गहना हराएकी हुन् वा आफ्नो दुःख कसैमाथि पोखिन्

सिलिङको अंकुशमा बाँध्दै छिन् – पछ्यौरा

उनको प्रेमीले सार्वजनिक गरेको छ; फोटो र प्रेमपत्र

* * * *

– एउटा नारी फोन समातेर रुन्छिन्

– एउटा नारी आफैसँग वार्तालाप गर्दै, कुनै हिस्टेरियामा बाहिर निक्लिन्छन्

केही नारी अस्तव्यस्त कपाल र पोशाकमा

बस स्टेशनमा, प्ल्याटफर्ममा

प्रश्न गर्दैछन्

कुन गाडीमा बस्ने हो ? कहाँ जाने हो यो संसारमा ?

* * * *

एउटा नारी आजित भएर भन्छिन्

तिमी जे मन लाग्छ गर तर मलाई बाँच्न देऊ

* * * *

एउटा नारी शहरको पार्कमा मृत अवस्थामा भेटिएकी छिन् ।

उसको लासको छेउमा रोइरहेको छ बच्चा

उनको झोलामा भेटिन्छ; दूधको खाली बोतल, गिलास र एउटा रातो खेलौना बल – जसलाई हल्लाउँदा, अझै पनि झिनझिन्  संगीतको आवाज आउँछ

* * * *

एउटा नारी तेजाबले जलेकी छिन्

खुशी यस अर्थमा छिन् किनभने उनको दाहिने आँखा सुरक्षित छ ।

* * * *

एउटा नारी तन्दुरमा जल्दै गर्दा

आफ्नो हातका औलाहरू बिस्तारै हल्लाउँछिन् बाहिरको अँध्यारो नाप्न ।

– एउटा भुइँ पुस्दै छिन्

– एउटा भाँडा माझ्दै छिन्

– एउटा कपडा झटार्दै

– एउटा सडक छेउमा बच्चालाई सुताएर गिट्टी कुट्दै छिन् ।

– एउटा नारी भुइँ सफा गर्दै, राष्ट्रिय च्यानलमा फेसन शो हेर्दै छिन् ।

– एउटा नारी समाचार पढ्दैछिन्; संसदमा नारीको सीट बढ्दैछ ।

एउटा नारीको कलेजो बोरा बाहिर खसेको छ

कलेजो भन्दैछ; मलाई कुनै नालीमा फालेर छिट्टै घर फर्किनु

– केटाकेटीलाई विद्यालय पठाउनुपर्छ, नास्ता खुवाएर पठाउनु- पिठो त मुछेर राखेकी थिएँ ।

* * * *

गर्भको दुनियाँमा लाखौं लुकेका छन्; यस दुनियाँमा जन्म लिन अस्वीकार गर्दै

तर त्यहाँ पनि खोजिन्छ उनीहरूलाई ध्वनि तरङ्गको माध्यमबाट र हत्या गर्न निक्लन्छ धारिलो पत्ती ।

राजधानीको प्रहरी चौकीमा

एक-अर्कलाई स्पर्श गरेर चुपचाप जमिनमा बसिरहेका छन् दुई नारी

तर सारा दुनियाँमा गुन्जिएको छ

उनीहरूको हाहाकार र चित्कार ।

कवि : उदय प्रकाश

अनुवाद : जनक कार्की