आजको युग सूचना र प्रविधिको युग हो । विज्ञानको चमत्कारले आजको संसारलाई सञ्चालित गरिरहेको छ । पछिल्लो एक दशकमा समाजिक सञ्जालले पृथ्वीका मानवलाई जेलेर राख्न सुरु गरिरहेको छ । इन्टरनेट आजको युगको भयङ्कर पिंजडा हो र यसमा संसारका आधाभन्दा बढी मान्छे थुनिएका छन् । हामी समाजिक सञ्जालको कैदी भएका छौँ ।

आजका हाम्रा बच्चादेखि बुढा पुस्ताको एउटा सजिलो मनोरञ्जनको साधन बनेको छ समाजिक सञ्जाल । हाम्रा बच्चाहरू आउटडोर गेममा बिरलै देखिन थालेका छन् । मोबाइल, ट्याब र ल्यापटप घण्टौँ बसेर गेम खेल्छ्न् । यसले उनीहरूको मानसिक, शारीरिक र सामाजिक सबै पक्षलाई पक्षघात गराइरहेको छ ।

केही समय पहिला नेटफ्लिक्समा एउटा डकुमेन्ट्री फिल्म आयो `द सोसल डिलेमा´, यस फिल्मले सोसल मिडियाको डरलाग्दो स्थितिलाई उजागर गरेको छ ।

डाटा आजको नयाँ संसार हो । हामीले प्रयोग गरिरहेका विभिन्न सोसल साइटहरूले प्रयोगकर्तालाई प्रोडक्ट बनाएर व्यापार गरिरहेको छ । हामीले प्रयोग गरेका डाटालाई सुपर कम्प्युटरबाट फेसबुक,गुगल, युट्युब, ट्विटर आदिले हामीलाई नियन्त्रण गरिरहेको हुन्छ । हाम्रो मनोविज्ञानलाई ह्याक गरेर हाम्रा भावनालाई परिचालित गरिरहेको छ । उदाहरणको लागि यदि हामीले गुगल, फेसबुक, युट्युब आदिमा केही कुरा खोज्यौँ भने हामीलाई त्यस्तै विषयसँग मिल्ने सयौँ सुझाव आउन थाल्छन् । यसरी हाम्रो भावनालाई पक्रेर हामीलाई एडिक्सनको बाटोमा धकेलिरहेको तितो‑सत्य यस फिल्मले छर्लङ्ग पारेको छ ।

दुनियाँमा नशा एउटा ड्रग्सको र अर्को सोसल मिडियाको बन्दै गएको चिन्ता डकुमेन्ट्रीमा देखाइएको छ । आजका मानिसलाई यसको नसाले यसरी छोएको छ कि एकैछिन समाजिक सञ्जालबाट टाढिन पर्दा पनि छट्पटी भएको देखिन्छ । यसले सन् २००९ यता आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसका साथसाथै अत्याधिक सामाजिक सञ्जाल प्रयोग गर्नाले विभिन्न स्वास्थ्य समस्या, अनिद्रा, डिप्रेसन, विभेद, लगायतका समस्या बढेका छन् । सामाजिक सञ्जालको सबैभन्दा ठूलो समस्याको रूपमा फेक न्युजलाई पनि हो भनेर देखाएको छ । जानकारहरूका अनुसार सत्य समाचार भन्दा असत्य समाचार सामाजिक सञ्जालमा ६ गुणा छिटो फैलिन्छ । म्यान्मामा मोबाइल किन्दा नै फेसबुक एकाउन्ट बनाएरै ग्राहकलाई दिने चलन छ । जसको प्रभावले फेक न्युज द्रुत गतिमा फैलिएर हजारौं मुस्लिम समुदायको हत्या हुनुमा पनि कहीँ न कतै समाजिक सञ्जालको असर हो भनेर भन्न सकिने स्थिति छ । फेक न्युजले राजनीतिलाई पनि प्रभाव पारेको देखिन्छ । एउटा डरलाग्दो समस्यालाई पनि डकुमेन्ट्रीले देखाउन खोजेको छ । यदि यही हिसाबले सामाजिक सञ्जालको प्रयोगकर्ता र फेक न्युज बढ्दै जाने हो भने १० वर्षमा हरेक देशमा गृहयुद्ध हुने सम्भावनालाई पनि देखाएको छ ।

`द सोसल डिलेमा´ डकुमेन्ट्रीले यसकारण तपाईंको ध्यानाकर्षण गर्छ कि पर्दामा देखाइएका जानकार व्यक्तिहरू आफैँ गुगल, फेसबुक लगायतका विभिन्न कम्पनीका पूर्व विशेषज्ञ, इन्जिनियर हुन् । उनीहरूको अनुभव समेटिएको र किन उनीहरूले यस्ता समाजिक सञ्जालको जागिरलाई त्यागे भन्ने पनि डकुमेन्ट्रीले बताएको छ । यस कारण पनि यसप्रति विश्वासको आधार देखाउँछ ।

सञ्जालले नातेदार, साथीभाइ, घरपरिवारबाट हामीलाई टाढा लिएर जाँदै छ । मान्छे मात्र अब प्रयोगकर्ता बनेको छ । त्यसैले सामाजिक सञ्जालका प्रयोगकर्तालाई ड्रग एडिक्टसँग तुलाना गरेर डकुमेन्ट्रीमा देखाइएको छ । सामाजिक सञ्जालले यन्त्रद्वारा करौडौँ मानिसलाई मानसिक नोकर बनाएको कुरा पनि देखाइएको छ ।

यस डकुमेन्ट्रीमा गुगलको डिजाइन विभागमा काम गर्ने टिस्ट्रान हैरिसले भन्छन्, `दुई अरब मान्छेको मस्तिष्कमा सिधा असर पार्ने काम मात्र ५० जना डिजाइनर्सले गरिरहेका छन् ।´ यो कसरी हुन्छ प्रष्ट पार्न निर्देशक ओर्लोवस्कीले सोसल मिडिया कम्पनीमा काम गरिसकेका वरिष्ठ व्यक्तिहरूको अन्तर्वार्ता लिएर एउटा कथा बुनेका छन्, एउटा परिवार कसरी समाजिक सञ्जालको कारणले बर्बाद हुँदैछ भनेर देखाउँछ्न् । परिवार मात्र होइन मान्छेको आत्मविश्वास पनि तहसनहस भएको देखाइन्छ । कथाको बिचबिचमा अमेरिकामा सामाजिक सञ्जालको असरले आत्माहत्या बढेको ग्राफ पनि देखाइन्छ ।

फेसबुकको लाइक बटन बनाउने इन्जिनियर भन्छ्न्, `फेसबुकको लाइक बटन यो सोचेर बनाइएको हो कि यसले सकारात्मकता फैलाउने छ तर कसलाई थाहा थियो कि आफ्नो फोटो वा पोस्टमा कम लाइक प्राप्त भएकै कारण मानिस तनावग्रस्त हुन्छ भनेर !´

`विज्ञान असल नोकर हो तर खराब मालिक ।´

सामाजिक सञ्जाल पनि विज्ञानको एउटा हिस्सा हो । `द सोसल डिलेमा´मा देखाइएको छ कि हाम्रो मोबाइलमा जे जति कुरा देखाइएको छ, नोटिफिकेसन आएको छ, यी सबै कुरा योजना हुन् । त्यसैले फिल्मको सुरुवातमै भनिएको छ, `यदि कुनै पनि उत्पादनलाई निःशुल्क प्रयोग गरिएको छ भने हामी आफैँलाई उत्पादनमा परिवर्तन गरिन्छ ।´

संसारका कुनै पनि भव्य सिर्जना विनासको श्रापविना सिर्जित हुन्न भनेर पनि देखाउन खोजिएको छ । जति हामी मोबाइल चलाउँछौँ, त्यति नै यिनीहरूको जालमा फस्दै जान्छौँ । कसरी बच्चाबच्ची सामाजिक सञ्जालको प्रभावले परिवर्तन भइरहेका छन्, झुटो समाचार अभियानको हिस्सा बनाएर जिन्दगी कसरी खतरामा पर्दैछ आदि कुराको पर्दाफास यस फिल्ममा गरिएको छ । यसले एउटा अलग संसारको निर्माण गर्दैछ र त्यो संसार धेरै भयंकर छ ।

`चेन्जिङ आइस´ र चैजिंस कोरल´ निर्देशन गरिसकेका जेफ ओर्लोवस्कीले यो फिल्मको नाम `चेन्जिङ ह्युमानिटी´ राखेको भए पनि फरक पर्ने थिएन । सामाजिक सञ्जालका धुरन्धर विद्वानसँग कुराकानी गरेर यो फिल्म उपसंहारतर्फ बढिरहन्छ । यो फिल्मले एउटा यस्तो गम्भीर प्रश्न उठाउँछ कि यदि यो संसार यसरी नै चलिरह्यो भने के होला ? विशेषज्ञका अनुसार ट्विटरमा झुटो समाचार ६ गुणा छिटो फैलिन्छ, यदि कुनै देशको नागरिकलाई गुलाम बनाउन पर्‍यो भने फेसबुक सबैभन्दा सजिलो हतियार बन्न सक्छ ।

यो फिल्मले एउटा डरलाग्दो अवस्थाप्रति सावधानी गरेको छ । आज हामीहरू एउटै घरमा बसेर पनि मन खुलेर एकाअर्कासँग संवाद गरेका हुन्नौँ । भेटघाट पातलिँदै छ । भेटिहाले पनि औपचारिकता निभाएर घोप्टिन थालिहाल्छौँ । एकदुई वर्षको बच्चालाई पनि खाना खुवाउन र भुलाउन मोबाइलको आवश्यकता पर्न थालेको छ । आमाबाबु आफैँ मोबाइल चलाउन यति व्यस्त छन् कि बच्चाबच्चीको चकचकलाई रोक्न निस्फिक्री मोबाइल चलाउने छुट दिन्छौँ । मोबाइलकै कारण अपराध, मानसिक रोग, असमाजिक, शारीरिक क्रियाको कमी हुन थालेको छ । यदि हामीले भविष्यमा आउने डरलाग्दो समाजिक सञ्जालको असरलाई रोक्ने हो भने आजैबाट संयमित भएर सामाजिक सञ्जालको प्रयोग गर्न जरुरी छ ।

यो होइन कि सामाजिक सञ्जालमा नराम्रा कुरा मात्र छन् । यसलाई सीमित रुपमा सही प्रयोग गर्न जाने विभिन्न किसिमका ज्ञान, सीप, जानकारी, स्वस्थ मनोरञ्जन पनि लिन सकिन्छ ।

कुरा यति मात्र हो कि सामाजिक सञ्जालले हामीलाई नोकर बनाउने दिन आउनु दिनुहुन्न । यदि सामाजिक सञ्जाललाई हामीले नोकर बनाउन सकियो भने यसबाट हानि हुँदैन । यो डकुमेन्ट्री फिल्म आजको हरेक पुस्ताले हेर्नै पर्ने देखिन्छ ।