विद्या, बुद्धि ज्ञान र सीपको नमूना हुनसक्ने व्यक्ति, तर किन यो निर्णयमा पुगे ? जीवनलीला नै सकाउन पट्टि लागे ? कुरा जति नै नरमाइलो लागे पनि अब उनी केवल सम्झनामा मात्र रहेका छन् । भौतिक रूपले टाढा भए पनि भावनामा नजीक थिए उनी मसँग सधैं ।
00000
यस वर्ष सन २०२५ को फेब्रुअरी महिना अत्यधिक चिसो रह्यो । यसै महिनाको करीब मघ्यतिर भनौं बाह्र तारिकको कुरा हो । बाहिर मरणासन्न चिसो नै थियो । जब घडीले बिहानको ६ बजाइसकेको थियो । मेरो निद्रा भने अलि पहिले नै भागिसकेको थियो । सिरानको अलि पर पट्टि रहेको मोबाइल तानेर हातमा लिएँ र हत्तपत्त स्क्रीनमा थिचें । वेदर हेर्दै गर्दा त माइनस ३२ पो देखायो । फेरि फिल्स लाइक कति रहेछ भन्ने जिज्ञासा पनि जागिहाल्यो । त्यो त झन कति धेरै हो हुन पनि । चानचुन जम्मा माइनस ३७ डिग्री सेल्सियस । मैले एक पटक जीवनलाई धन्य ठानें किनकि सात समुद्र पार गरी यस्तो मीठो मौसम पाइने ठाउँमा आइपुगेको छु । यति धेरै चिसोको महसूस यसभन्दा पहिले कहाँ पाइएको थियो र ?
मेरो भाग्यको कुरा नै भएको भए पनि यस्तो ज्यान खाने उधुम चिसो कसले पो रुचाउँछ होला ? घरबाट बाहिर निस्किंदा कालकोठरीमा छिरेको झैं लाग्छ । तर पनि मानिस बसेकै छन् । जीवन पनि त चलेकै छ यहाँ । मानिस संसारकै सर्वोत्कृष्ट प्राणी त हो तर प्रकृतिको अगाडि ऊ कति निरीह भएर बाँच्न विवश छ । त्यही भएर त कोही मानिसहरू यहाँ दुई दिनको पाहुना झैं आउँछन् । अनि केही समय बसेर अन्यत्रै बस्ने गरी सरी नै हाल्छन् । तर सबैको हकमा त्यो सम्भव छैन र हुँदैन पनि । हुन त क्यानडामा सबैतिर चिसो औधी नै हुन्छ । तर सास्काचुवन भने चिसोको लागि क्यानडाको राजधानी नै हो भन्दा कुनै अन्याय हुँदैन ।
कुरा गत वर्ष भनौं सन २०२४ को फेब्रुअरी महिनाको मध्य तिरको हो । चिसोको कुरा गर्दा यो वर्षको भन्दा खासै फरक त थिएन । एका बिहानै छोरा छोरीलाई स्कूल र श्रीमती जीलाई कर्म थलोमा पुर्याएर घर फर्किएँ । हात खुट्टा चिसोले कक्रक्क त हुने नै भए । बाहिर हिउँले डेरा जमाएर महिनौं दिन देखि बसेकै थियो । एक छिन ज्यान तताएर बसेको थिएँ । यसै बीचमा मेरो ध्यान फेसबूकको पर्दातिर तानियो । नतानियोस् पनि कसरी ? जे होस् यसो नयाँ नौलो कुरा वा कुनै घटना वा परिघटना सबै यसै मार्फत जान्न पनि त पाएकै छु । अरू फाइदा वा बेफाइदा त आफ्ना ठाउँमा हुँदै होलान् ।
जब जब म फेसबूकको पेज सँगै अगाडि बढें । ठीक त्यहीनेर एउटा तस्वीरले तुरुन्त मेरो ध्यान तान्यो । नतानोस् पनि कसरी उनी चिनेजानेकै मात्र हैन सँगै खाए-खेलेका एक जना साथी थिए । अझै बढी गहिरो कुरा त फोटोको सिरानतिर माथि लेखिएको सूचनाको पो रहेछ । मेरो नजर त्यहीनेर टक्क रोकियो । जब मैले सबै कुरा पढेर सके त्यो त अझ धेरै गहिरो पो रहेछ । सूचनामा भनिएको थियो । “निम्न अनुसार नाम र थर भएको व्यक्ति निम्न बमोजिम ठाउँ र मितिमा आफ्नै साधन लिएर घरबाट सम्पर्क विहीन हुनुभएको छ । यदि कसैले उहाँलाई देखेको खण्डमा यो यो नम्बरमा वा यो यो व्यक्तिलाई सम्पर्क गर्नु हुन विनम्र अनुरोध छ ।”
यति पढेर सकेपछि मैले कुरा बुझी नै हालें । पक्कै पनि “अब यो मानिसले केही गडबड नै गरेको हुन सक्छ र ?” मेरो मनमा एकाएक बाहिरको चिसोले भन्दा बढी यो कुराले मुटुमा च्वास्स छोए झैं भयो । हुन पनि एउटा मन मिल्ने साथी भलै ऊ जहाँ भए पनि एकाएक हराएको सूचना सुन्दा कसको मनमा चोट पर्दैन होला । यस खाले कुराहरू धेरै नै सुनिन्छन् समाजमा । यसरी हराएका मानिसहरू कमै मात्रामा सारसौंदा फर्किन्छन् । यो कुरा धेरै हदसम्म साँचो नै हो झैं लाग्छ । हुन पनि त्यसै भयो । करीब दुई-चार दिन पछि खासै राम्रो खबर सुन्न पाइएन । जे नहुनु पर्ने थियो त्यो त भै नै हालेछ ।
यो सूचना पढे सँगै म करीब आज भन्दा २७-२८ वर्ष पहिले अर्थात् २०५३ सालतिर फर्किएँ । जति वेला आफू भर्खर मात्र एसएलसी पास गरेर क्याम्पस पढ्न भन्दै कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा पुगेको थिएँ । तौलिहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पस त्यो भेगकै शैक्षिक केन्द्र थियो र आज पनि छ । जहाँबाट आइ ए हुँदै बिए पास गर्दा पाँच वर्ष समय त्यही बिताएको रहेछु । त्यस हिसाबले हेर्दा तौलिहवामा हुँदाका धेरै रमणीय यादहरू अझै पनि मानसपटलमा ताजा छन् । बारबार घुमिरहन्छन् ।
भदौ महिनाको टन्टालापुरे चर्को घाम र उखरमाउलो गर्मी थियो । आइ ए पढ्ने भन्दै ठूलो अभिलाषा बोकेर म जस्तै दर्जनौं विद्यार्थीहरू तौलिहवा आएका थिए । कसैले कपिलवस्तुको पढाइलाई अलि कमशल ठानेरै होला अन्तै तिर पनि लाग्थे । तर हुनेखानेहरू ठूलो शहरमा पुगेर पढे पनि । सबैलाई त्यो सम्भव थिएन । उसो त तौलिहवा क्याम्पस पढ्न गुल्मी अर्घाखाँची हुँदै प्यूठान सम्मका साथीहरू पनि आएका हुन्थे । दह्रो गरी डेरा जमाएर त्यही बसेका र पढेका हुन्थे । कपिलवस्तु बासीले त झन् नपढ्ने कुरै भएन ।
कोही तौलिहवाका बासिन्दा वा रैथाने नै थिए । कोही भने गाउँबाट शहर बजार रहेको तौलिहवा पसेर डेरा जमाएका र कोही होस्टलमा रमाएका विद्यार्थी थिए । कोही भने आसपासका गाउँबाट साइकलमा सरर तौलिहवा पढ्न आउँथे । ६-७ किलो मिटर साइकलमा यात्रा गरेर आयो बेलुका घरमा गयो । डेराको टन्टै खलास अनि खर्चको हिसाबले सजिलो उस्तै । यसरी घरबाट आउजाउ गर्नेहरू धेरै नै थिए । तर हामीहरू तौलिहवा मै बस्थ्यौं ।
तौलिहवाको उत्तर पश्चिम भेगका केही गाउँहरूबाट हूलका हूल विद्यार्थीहरू साइकलमा चढेर पढ्न जान्थे । उनीहरू मध्ये एकजना जीउडाल मिलेको कालो जिन्सको प्यान्ट र सेतो तर काला धर्के सटमा सजिएको एक जना युवा विद्यार्थी थिए । हेर्दा अलि हट्टाकट्टा अनि अनुहार हँसिलो र मीठो मिजासको मानिस थिए उनी । उनको नाम थियो विमल राज । उनीसँग पहिलो परिचय त्यही क्याम्पसको आसपासमा कहींकतै भएको हो मेरो । यद्यपि गते र समय भने याद रहेन अहिले । तर कुरा के साँचो हो भने छोटो समय मै हामी आत्मीय साथी भएका थियौं, त्यही क्याम्पस आउने जाने क्रममा । उनी एक हक्की स्वभावका मानिस मात्र हैन मिलनसार साथी पनि थिए ।
अरू समयमा विद्यार्थीहरू तितरबितर भए पनि अनिवार्य अंग्रेजी पढ्दा कक्षाकोठा भरिएकै हुन्थ्यो । अंग्रेजी पढ्नु वा कक्षामा गुरुसँग बोल्नु धेरै नै अप्ठ्यारो कुरा थियो । अंग्रेजी पास हुन त झन् फलामकै चिउरा चपाए झैं कति हो कति गाह्रो हुने । हामी कनीकुथी गरेरै पनि बोल्ने गरेका हुन्थ्यौं । सरकारी स्कूल पढेर आएका हामी, अंग्रेजी खास राम्रो थिएन । त्यसै मध्येका विमलराज पनि एक थिए । उनी अंग्रेजी बोल्नपाउँदा अलि रमाउँथे । यद्यपि शुद्धताको हिसाब किन पो गर्नु । रमाइलो कुरा त के पनि थियो भने साथीहरू जिस्काएर उनलाई ‘मिस्टर इन्गलिस म्यान’ सम्म भन्दिन्थे । विमल भने यो कुरा हाँसेर उडाइदिन्थे ।
क्याम्पसमा हाम्रो भेट सधैंजसो हुने नै भयो । यसैगरी करीब दश महिना पछि हाम्रो पहिलो वर्षको पढाइ सकिंदै गयो । हामी परीक्षाको तयारीतर्फ लाग्यौं । त्यसै मेसोमा विसं २०५४ जेठ महिनाको अन्त्यतिर विमलले उनको घरमा लिएर जाने प्रस्ताव गरे । म पनि राजी भएँ । तौलिहवाबाट करीब सात-आठ किलो मिटरको दूरीमा रहेको उनको घरमा जाने निधो गर्यौँ । जेठ महिनाको चर्को गर्मी भए पनि साँझतिर हल्का हावा चलेकै थियो । उनको निजी सवारी साधन साइकलमा म पछाडि बसें । करीब एक घण्टामा साइकलमा हुइँकिंदै हामी उनको घरैमा पुग्यौं ।
बेलुकाको समयमा बाटैबाट खेतको पखेरो पहिलाउँदै हावा खान हिड्यौं । जेठ महिनाको धूपमा थोरै भए पनि शीतलता महसूस गर्यौँ । सँगै बसेर साँझको खाना खायौं । आफ्नो क्षमता र चलन अनुसारको सत्कार मनग्यै राम्रो लागेको हो । उनीहरू पुर्खौली घर अर्घाखाँची भएका आचार्य कुलका मानिस थिए । उता म भने गुल्मेली अर्याल खानदानको सन्तान परें । पाहुना लाग्न उनकै घरमा पुगेको थिएँ । तर जे जसो भएता पनि चालचलनमा हामी बीच खासै धेरै अनौठो लागेन । उसैगरी भोलि पल्ट बिहानको खाना टिपेर विमलसँगै तौलिहवा फर्कियौं । त्यो बसाइ अत्यन्तै छोटो तर धेरै मीठो रहेको हो । जुन कुरा अहिले पनि मानसपटलमा ताजा रहेको छ ।
आइ ए दोस्रो वर्षको पढाइ सकिए सँगै उनीसँग मेरो खासै भेट भएको झैं लाग्दैन । एकै पटक काठमाडौंमा भेट हुने संयोग भने जुटेको थियो । जब म २०५८ सालमा काठमाडौंमा बस्ने सुरसार कसेर आएको थिएँ । त्यही समयमा विमलसँग कीर्तिपुरमा जम्का भेट भयो । म कीर्तिपुर नयाँ बजारमा बहालको डेरामा बस्थें । यद्यपि नयाँबजार नामको मात्र नयाँ हो झैं लाग्थ्यो । गहिरिएर हेर्दा सबै पुरानै थियो । जब म नयाँ बजार बसेको थिएँ । विमल ट्यागंला फाँटमा बस्दा रहेछन् । धेरै वर्ष छुटेको साथी यसरी एक्कासि भेटिंदा ढुङ्गा खोज्दा देउता मिलेझैं महसूस भयो ।
त्यसै समयको सेरोफेरोबाटै विमल र मेरो आत्मीयता थप धेरै नै घनीभूत पनि भयो । हामी समय मिल्दा भेटिहाल्ने र लामो समय गफिएर पनि बिताउने गर्थ्यौं । सँगै बस्ने खाने मात्र हैन मौका मिल्दा पारी कीर्तिपुरका डाँडा पाखा र खोला खोल्सा तिर घुमफिर गरेका हुन्थ्यौं । उनीसँगको भेटेले गाउँको न्यास्रो घटाएको थियो ।
जब मानिस शुरूका दिनमा काठमाडौं आउँछन् । धेरै कुरा नमिलेको झैं लाग्नु वा छुटेको झैं लाग्नु नौलो होइन । जब म एमए अंग्रेजीमा भर्नाको सुरसारमा थिएँ विमल बिए पढ्दै थिए । उनी आर आर क्याम्पसका विद्यार्थी थिए । साथै बिहान कलेज सकेर दिउँसो जागीर गर्न पुग्थे । काठमाडौंमा एक चक्कर लगाउँदै बेलुका पुनः कीर्तिपुर फिर्ती हुन्थे उनी । भेट्दा सधैं हँसिलो उनको अनुहारले मनमा रहेको न्यास्रो कम भए झैं लाग्थ्यो । उनी मिहिनेती विद्यार्थी नै थिए । साथै असल साथी पनि । एउटा साथी दुःखसुखमा काम लाग्ने दह्रो प्रमाण बनेका थिए विमल । विद्यार्थी जीवनमा गाह्रो, साँघुरो वा केही सरसापट चाहिंदा उनी हमेशा तत्परता देखाएका हुन्थे । त्यसरी हेर्दा उनी एक अभिभावक मन भएका साथी बनेका थिए ।
समय क्रमसँगै हामी करीब २०५९ सालतिर एकै घरमा पनि तल र माथिको कोठामा बसेका थियौं । जुन कीर्तिपुरको माथि पोंडे टोल भनेर चिनिन्थ्यो । विद्यार्थी जीवनमा दुःखजिलो गरेर बस्नु र चराले गुण सारे झैं कोठा सार्नु कुनै नौलो विषय थिएन । समय र आफुस अनुकूल हुनेगरी सरेकै हुन्थ्यौं । तर साठी साल तिर नै होला विमल काठमाडौं छोडेर हिंडे । आफूसँग भएको झिटीझाम्टो केही बोकेर केही काठमाडौंमै छोडेर उनी भन्दै थिए, “अब म कपिलवस्तुकै हाम्रो गाउँघर तिर पढाउने गरी जाने भएको छु ।” यो सुनेर उनलाई शुभकामना दिनुको विकल्प रहेन । छिटै उनी कपिलवस्तु तर्फ लागे र आफ्नो कर्म शुरू गरे ।
उनी कौठमाडौं छोडेर गएसँगै बाक्लो भेट हुने कुरै भएन । तर बेलाबखत म कपिलवस्तु पुग्दा उनीसँग भेट हुन्थ्यो । त्यो केवल छोटो भेट मात्र हो । पहिले कै अवस्थामा झैं भेटघाट गरेर लामो समय बिताउने मौका भने कहिल्यै मिलेन । अझ बढी म क्यानडा लागेसँगै भेटको कुरा पूरै टरेर गयो । तर सौभाग्य र संयोग दुवैको बलमा उनीसँग एउटा सुखद भेट भयो । जुन भेट अन्तिम नै रह्यो । २०७२ सालको दशैं तिहारकै आसपासमा हो विमललाई कपिलवस्तुमा भेटेको थिएँ । महाभूकम्प पछि म पहिलो पटक नेपाल भेटघाटकै लागि पुगेको थिएँ । तर अहिले त भूकम्पले भत्काएको घर झैं मन पो भत्किन पुग्यो ।
नजीक बसेर छोटो समय र लामो दूरीमा रहेर बढी बुझ्दा उनी कहिल्यै पनि निराश बनेर हिंडेको देखिन । उनी एक जिम्मेवारीपूर्ण कसैको पति, बुबा र अभिभावक पनि त थिए । त्यो भन्दा बढी समाजको एक महत्त्वपूर्ण मानिस थिए । बिसौं वर्ष पढाएको शिक्षक । विद्या, बुद्धि ज्ञान र सीपको नमूना हुनसक्ने व्यक्ति । तर किन यो निर्णयमा पुगे र जीवन लीला नै सकाउन पट्टि लागे होलान् ? कुरा जति नै नरमाइलो लागे पनि अब उनी केवल सम्झनामा मात्र रहेका छन् । भौतिक रूपले टाढा भए पनि भावनामा नजीक थिए उनी मसँग सधैं ।
हेर्दाहेर्दै एक वर्ष बितिसकेको रहेछ । उनी हराएको सूचना त सेलाउँदै गयो तर उनको सम्झना भने सधैंभरी मनमा रहिरह्यो । साथीहरू धेरै हुन्छन् तर असल साथी धेरै हुँदैनन् । जो असल छन् तिनैलाई नियतिले किन र कहाँ पुर्याउँछ ? किन उनीहरू सांसारिक जीवनबाट मुक्ति चाहन्छन् ? यसको जवाफ आजसम्म पनि कहींकतै पाइँदैन ।
मानिस जन्मनु र मर्नु यस जगतको नियम नै हो । कति वेला को मर्नु पर्ने हो कसैले जानेको हुँदैन । उसो त मानिसको जीवन एउटा संयोग मात्र हो । कोही मानिस पनि आफू यस धर्तीमा जन्मिन चाहेर जन्मेको होइन । तर सौभाग्यले पाएको चोला जसलाई एकवारको जुनी पनि भनिन्छ । त्यही जुनी पनि किन मानिस यसरी विनाश गरेका हुन् ? तर उत्तर कहीं पनि पाइँदैन । जसरी बाहिर डेरा जमाएको हिउँ गर्मी दिन आए सँगै बिलाएर जान्छ । एक दिन मानव चोला पनि त बिलाई जाने नै हो । केवल समय आउन बाँकी रहेको कुरा मात्र हो । ढिलो वा चाँडोको कुरा मात्र हो ।
जब मैले विमल यो संसारमा अब छैनन् भनेर थाहा पाएँ । ठीक त्यसै समयमा नै होला मेरो कवितासंग्रहले गर्भधारण गरिरहेको थियो मेरो मनभित्र । जसको जन्म आज भै नै सकेको छ । ‘सेता भिर यता पीर’ यसको नाम जुटिसकेको पनि छ । जब मैले पीरको कुरा गर्छु । विमलको बेसमयको बिदाइ एउटा पीर थियो । उनैको सम्झनाको आलो घाउमा ‘नाम’ गरेको कविता रचना गरेको थिएँ । जसको पहिलो हरफ थियो : “ए हो र ऊ त माथि गएछ ? थाहै भएन खै उसलाई के पो भएछ ?”
हरेक चीजलाई हेर्ने सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । जीवनलाई बुझ्ने र हेर्ने पनि त्यसरी नै होला झैं लाग्छ । तर जतिसुकै कष्ट र पिडा भए पनि जीवनलाई सकारात्मक सोचले हेर्नु र हरेक पटक हार्दा पनि जीतको संकल्प गर्नु नै महान् बाटो हो झैं म ठान्दछु । यसै प्रसङ्गमा पुनः त्यही कविताको अर्को एक अंश जोड्न सान्दर्भिक ठान्दछु । शब्द श्रद्धा सहित केवल उनै विमल प्रति ।
“बाँच्दा बाँच्दै उसले जीवनसँग हार पो खाएछ
हार्दाहार्दै जीवनबाट पार पो पाएछ ।”
क्यानडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 










