दाजु-बहिनीहरूमा सबै भन्दा ज्येष्ठ राजेश दाजु । त्यसपछि क्रमशः ठुली दिदी, सानी दिदी, प्रदीप दादा अनि म, साइँलो । मलाई बाबा-आमाले साइँला भनेर बुलाउनुहुन्थ्यो, अहिले पनि साइँला नै भन्नुहुन्छ । प्रदीप दादाको अनि मेरो आयुमा धेरै फरक नभएकाले सानोमा सँगै खेल्ने साथीसरह थियौँ हामी । पौडी खेल्ने, झुसुनेमा उफ्रिने, धानबारीमा छिचिमिरा समात्ने, कदम काटेर गाडीका चक्का बनाउनलाई मेरो साथ दिने साथी दीपक बाहेक प्रदीप दादाले जिम्मा उठाएको थियो भन्दा हुन्छ ।

पुखौमा हुँदाको कुरा हो । नदी र डाँडा-काँडा घरनजिकै थिए । म पाँच वर्ष अनि प्रदीप दादा सात वर्षको थियो क्यार ! धानको बाली उकासिसके पछि गाईबस्तु खेत अनि डाँडातिर छाडा छोडिन्थ्यो । गाई-गोरुलाई चरनमा छोड्ने आमा-दिदीहरूको जिम्मा थियो तर हामी फुच्चा हुनाले बाखा -बाखीलाई चरनमा पुर्याउने जिम्माचाहिँ मेरो र प्रदीप दादाको काँधमा थियो । ड्युटीभन्दा पनि दुई दाजुभाइ बाखा  जङ्गलमा पुराउन हत्ते गरिन्थ्यो । छ-सात बाखा -बाखीमा दुई बुढीमाउ थिए, एउटा रातो रङको अनि अर्को सेतो । दुइटै धेरै सीधा अनि सुबानी । सेतोभन्दा रातो बाख्रो अलिक अग्लो थियो । गाईबस्तुलाई चरनमा पुर्याउने ठाउँ थियो पसुन होली । पसुन होली, हाम्रो घरनजिकको कुकी गाउँमा बस्ने पसुन नामको बुढोमान्छेको नाममा राखिएको थियो ।

पसुन बुढाको नाम अहिले लिँदा पनि कता-कता मनमा डर उम्रिन्छ । कारण के थियो भने; पुसन होलीमा ऊ दिनै उसको खोरियामा काम गरेको हुन्थ्यो । हामीले बाखा  लगेको देखिसक्दा आफ्नो कुकी भाषामा केके हो केके हो भरभराउँथ्यो अनि परैदेखि कुटुलाझैँ गरेर लौरो उज्याउँथ्यो । हेर्दै डरमर्दो । कपाल लामो, अहिले सम्झिँदा लाग्छ त्यसले कपाल काट्दैनथ्यो होला ! हाँस्न उसले जानेकै थिएन । जङ्गलमा काम गर्ने कुकीले कम्मरपछाडि दाउ, चुप्पी, खुकुरी भिर्छन् । काठलाई खिपेर हतियार भिर्ने ठाउँ अर्कै भिन्नताले बनाउने राम्रो सिप हुन्छ कुकीमा । ऊ पनि त्यसरी नै कम्मरमा हतियार भिरेर सधैँ हिँड्थ्यो । उसको खल्तीमा सधैँ सुर्तीको झोल बतलमा हुन्थ्यो अनि छिनछिनमा बिर्को खोलेर घुटुक्क पार्थ्यो । हाम्रो घरको आरानमा बेलाबेला आउँथ्यो । ऊ पर आएको देखेर हामी खाटामुनि लुक्थ्यौँ । पसुन बुढाको उपस्थितिले हामीलाई सधैँ आपत् पार्थ्यो ।

घरदेखि पसुनहोली झण्डै पाँचसय मिटर जति टाढा थियो होला । प्रदीप दादा रातो माउमा सवारी हुने अनि म सेतोमा । बाखा को सवारी हामीलाई हवाईजहाज चढेसमान आनन्द लाग्थ्यो । बाखा  चरनमा पुर्याउन हामीले हत्ते गर्ने पनि यो एउटा मुख्य कारण थियो । पसुनहोलीसम्म हामी बाखाको सवारीमा गइन्थ्यो । बाखा ले यति मजाले सवारी हुन दिएको हामी भुराभुरी भएको थियो या असल बाखा  भएर हो त्यो ती नै बाखालाई थाहा थियो । बाबाले यी दुई बाखालाई कहिल्यै काटेर खाने क्रममा राख्नु भएन । चारहजारे गाउँमा आएपछि दुवै बाखा आयु पुगेर मरे । घरको बारीमा प्रदीप दादा र मैले खाडल खनेर पुर्यौं । हाम्रो बचपनलाई रमाइलो बनाउने राती र सेती बाख्री । दुवैलाई सम्झना ।

प्रदीप दादा र मेरो जोडी बिहानदेखि रात, रातदेखि बिहानसम्म, चौबिस घण्टा चलिरहन्थ्यो । पुखौको घरमुन्तिर खोला हुनाले बिहान खाएका भाँडा माझ्न आमा-दिदीहरू जाने गर्नुहुन्थ्यो । हामीचाहिँ पउडी खेल्न, नहुन, माछा मार्न गइन्थ्यो । खोलो घरनजिक हुनाले हामी फुच्चेलाई सजिलो । दुई फर्ल्याङ् कुद्दा खोलाको काखमा पुगिन्थ्यो । ठुली दिदी, सानी दिदीले मलाई पिठ्युँमा राखेर पउडिन्थे । त्यसरी नै अलिअलि गर्दै पउडिने कला सिकियो । प्रायः प्रदीप दादा र म खोलामा खेल्न गइरहन्थ्यौँ ।

एउटा खेल प्रायः खेलिन्थ्यो, त्यो थियो; चेप्टो ढुङ्गो पानीमा चिप्ल्याउने । यही खेल खेल्न एक दिन खोला लाग्यौँ दाजुभाइ । अलिक गहिरो भएको ठाउँतिर उभियौँ । पहिले चेप्टा ढुङ्गा एक ठाउँमा थुपारियो । प्रतियोगिता सुरु भयो; कसको ढुङ्गा खोलापारि कट्ने ! ढुङ्गो जति चिप्लेर खोलो कट्थ्यो उति नै खेल्नमा उत्साह बढ्दै गयो । खेलको क्रममा प्रदीपदाले खोला कट्ने गरी बल पुर्याएर ढुङ्गो हान्यो । यो चोटि ढुङ्गो खोलामा होइन मेरो चल्नीमा आएर लाग्यो । पानीलाई लत्याएर पारि पुग्ने ढुङ्गाको तेज मेरो चल्नीमा लाग्दा मेरो चल्नीको गति बेहाल भयो । रगत आयो, चल्नी फुल्यो । म रन्थनिएँ ।

म रुँदै-रुँदै घरतिर लागेँ । दादा डरले घर आएन । दादा घरमा गाली खाइन्छ भनेर खोलाको डिलमुनि सुतेर लुक्यो । उसलाई लाग्यो डिलमुनि लुकेपछि घरमा गाली र कुटाइबाट बाँचिन्छ । यो खेलमा यसरी चोट लागेको पहिलो चोटि थिएन । तेस्रो चोटि थियो मेरो चल्नीमा  चेप्टो ढुङ्गो लागेको, त्यै पनि प्रदीपदाको हातबाट ।

कल्पना गरौँ न, कल्पना गर्न पैसा लाग्दैन क्यार ! वयस्क भएका दाजुभाइले यसरी खेलमा चल्नी फुटाउँदा; कतै त कतै मनभेद हुने सम्भावना हुन्छ तर बचपनको त्यो निर्मल जलझैँ निश्छल मन पाप एवम् खोटरहित हुन्छ । खेलको भावनाले मनभेदलाई टाढा राख्दछ । जति लडे, चोट दिए पनि एक्छिनमा बालपनले जितिहाल्छ । हामीमा पनि त्यही बालपनाको निर्मल मन थियो । भोलिको सूर्योदय हुँदा हिजोको चल्नीकाण्ड भुल्यौँ ।

प्रदीप दादा सानैदेखि खाइलाग्दो । लड्न, कुट्न ऊ अगाडि सर्थ्यो । चारहजारेमा बसाइँ सरेर आएको सुरुसुरुको कुरा हो, हामी तल कठेतको खेत मास्तिर नयाँ गाउँको नयाँ साथीसँग खेल्दै थियौँ । खेलमा अर्जुनको दाइ पनि थियो । अर्जुनको दाइको नाम पनि मेरा दाइसँग मिल्ने नाम थियो, प्रदीप । ऊ पनि अर्जुनजसरी हेप्न अनि डर देखाउन कहिल्यै पछि नसर्ने । खेलेको क्रममा प्रदीपले मलाई कुट्यो । म सानो-फुच्चे अनि ती माथि लुइरे । प्रदीपलाई कुट्ने, लड्ने हिम्मत मसँग थिएन । मलाई कुटेको देखेर प्रदीपदादा प्रदीपतिर झम्टियो । हेर्दाहेर्दै प्रदीप-प्रदीप पकापक पर्न थाले । द्वन्द्व युद्ध भन्दा हुन्छ । छेउको झ्यासधरि पेले दुवैले । केही क्षणमा दादा प्रदीपमाथि भारी पर्यो । लातघुसा हान्दै प्रदीपलाई काँडाघारी भित्र हाल्दियो । उसले ‘हारे-हारे’ भन्न लागेपछि द्वन्द्व युद्ध समाप्त । बचपनमा यो नियम राम्रो थियो कि ‘हारे’ भनेपछि प्रतिद्वन्द्वीलाई छाडिन्थ्यो । लडाइँ त दादाले जित्यो तर खुसी म धेरै थिएँ । आखिर मेरो सुरक्षा र भातृप्रेममा प्रदीपलाई मज्जाले चुटेको थियो ।

साँच्चै दाजु-भाइको माया र सम्बन्ध नै अनौठो हुन्छ । प्रेम कहिल्यै नजताए पनि आइपरेको बेला ज्यान दिएर पनि आफ्नो दाजुभाइको सुरक्षा गरिन्छ । आफ्नो रगत भनेको रगत हो जसको सुरक्षाका लागि आफ्नो ज्यान फ्याँक्न पनि समय लगाइँदैन । प्रदीपदाले प्रदीपलाई कुटेको घटनालाई पछि गएर सम्झिँदा पनि मन खुसीले त्यसै फुलिन्थ्यो । सम्मान र माया दाजुप्रति जागृत हुन्थ्यो । सायद यस्तै घनिष्ठ साइनो होला दाजुभाइको सम्बन्धमा । त्यो दिनको कुटाइपछि कहिल्यै पनि प्रदीपले कुट्ने हप्काउने गरेन, उल्टै दुईजना प्रदीप-प्रदीप घनिष्ठ साथी भए ।

‘सङ्गतले सङ्गत गर्नेलाई प्रभाव पार्छ’ भन्छन् । यो कथन यथार्थमा कदाचित उचित पनि हो । सानैबाट मैले सङ्गत गरे भनेको प्रदीप दादाको हो । सँगै खेल्ने, सँगै सुत्ने, एउटै स्कुल, राष्ट्रिय स्वयम् सेवक सङ्घ-को शाखामा सँगै जाने, गाईबस्तु चराउन सँगै अनि घरको जे काम पनि साथ गर्ने । यो कुनै आश्चर्यचकितमा पर्ने कुरा होइन कि उसको बानी-बेहोरा मेरोमा नआओस् । उसको स्वभाव सानैदेखि गम्भीर । चाहिने कुरामा मात्र बोल्ने, परिवारमा आफ्ना इच्छाहरू नभन्ने, गलत भएको ठाउँमा ठोस्तापूर्वक भन्ने, नसा त परै जाओस् सुपाडीधरि मुखमा नहाल्ने, मासुमंस नखाने । घरको जिम्मेवारी बुझेर दसबर्ष बाटै हलोकोदालो गर्न लाग्यो ।

परिणाम; सानैबाट उसलाई गानो दुख्ने रोगले सिकिस्त हुनेगर समात्यो । पढाइमा अब्बल, तीन चोटि सनातन संस्कृत विद्यालयमा पढ्दा ‘सर्वश्रेष्ठ विद्यार्थी’को सम्मानले पुरस्कृत भयो । आफू सही मार्गमा हिँडेर होला भाइबहिनालाई पनि सधैँ पढाउन-लेखाउनमा ध्यान दिन्थ्यो । सही बाटो हिँड्ने र उचित काम गर्नेसँग कोही पनि सम्मानको दृष्टिले हेर्ने गर्छन् । सायद त्यही कारणले होला, प्रदीपदादाले भनेको-गरेको परिवारका ठुलाठाला पनि उसको कुरालाई काट्दैनथे । दादासँग हरदम खेल्ने, बस्न हुनाले मेरो स्वभावमा उसको स्वभाव मिसिनु ठुलो कुरा थिएन । र मैले दादाको आनीबानीलाई सधैँ आदर्शको रूपमा लिएँ । केही अनुचित काम आइपर्यो भने पनि पहिले विचार गर्थे कि दादाले यो कार्य गर्छ या गर्दैन? दादाले गर्ने काम गर्थेँ अनि नगर्ने गर्दिन थिएँ ।

एकचोटि चाहिँ दादाले मलाई धोखा दिएको छ । हामी पुखौबाट बसाइँ सरेका थिएनौँ । राजेश दादा चारहजारेमा हजुरबाको घरमा बसेर पढ्नुहुन्थ्यो । म चार सालको भएपछि, चारहजारे बसेर सनातन संस्कृत विद्यालयमा पढ्न थालेँ । तर बाबाको धेरै प्यारो हुने र बाबालाई छोड्न नसक्दा म पुखौ धाइरहन्थे । सुनिता दिदी र बिमला दिदी पनि हजुरबाको घरमा बस्नुहुन्थ्यो । दुईजना दिदीचाहिँ कान्छी फुपूका छोरी । फुपू बिमला दिदी जन्मिनुसाथै परलोक सिधार्नु भयो । मरणोपरान्त दुवै दिदी मामलमै हुर्किनु भयो, पढ्नु भयो ।

सुनिता दिदीको विवाहको घडी पनि आयो । यो समय चारहजारेमा बसेर सनातन संस्कृत विद्यालयमा कक्षा नर्सरीमा पढ्दै थिएँ । दिदीलाई विवाह प्रस्तावका लागि कन्यार्थी आए । विवाहपूर्वका औपचारिक नियम पूर्ण भए । यी नियमहरू मेरो आँखाअगाडि सम्पन्न भएका थिए । त्यही भएर पनि मलाई विवाह समारोहको रमाइलो हेर्न औडाह हुँदै थियो । हुन पनि किन न हुनु ? पाँच सालको बालक थिएँ ।

अर्ध-वार्षिक परीक्षा उपरान्त स्कुल छुट्टी भयो । बिहेको लगन नजिकै थियो । राजेश दादा पुखौको घर जाने हुनुभयो । सधैँसरह दादा घर जाँदा म नजाई नसक्ने भएँ । राजेश दादाको साथ लागेर म पुखौ लागेँ । इमफाल बजारमा निस्केर दादाले घरका लागि किनमेल गर्नुभयो । बिहेमा लगाउने लुगा भन्दै राजेश दादाले मलाई निलो रङको टिसर्ट किन्दिनु भयो । मेरो खुसीको ठेगाना रहेन । नयाँ लुगा लगाएर बिहेको रमाइलो हेर्न मजा आउने पर्यो, मनैमन कुरा खेलाइरहेको थिएँ ।

घर गइयो । पर्सिपल्ट चारहजारे घुर्ने कुरा रछ राजेश दादाको । राजेश दादा र प्रदीप दाको बिचमा के गन्थन् भयो मैले सुइको पाइनँ । मैले पत्तो नपाई दुवै दाजुले मलाई पुखौ छोडेर चारहजारे आए । मैले बिहेमा लगाउन किनेको टिसर्ट लगाएर प्रदीप दादा बिहेमा आयो । म चिल्लै; न बिहेमा आउन पाएँ, न टिसर्ट लगाउन । अहिले बिहेका फोटा हेर्दा जता-ततै प्रदीप दादा मेरो टिसर्ट लगाएर उभिएको पाइन्छ ।