केही फिल्महरू कालातित हुन्छन् । जहिले, जहाँबाट हेरे पनि कालातित फिल्मले तपाईंलाई तानिहाल्छन् र त्यहीँबाट तपाईं त्यो फिल्म नसकिउञ्जेल हेरिरहनु हुन्छ । भारतीय सिनेमाका केही त्यस्ता कालजयी फिल्ममध्ये एउटा शोले पनि हो । यसका हरेक पात्रका अनेक रोचक किस्साहरू पढ्न पाइन्छन् ।
त्यस्तै अनेक किस्साहरूमध्ये ‘शोले’का कालिया पनि हुन् । फिल्मको सुटिङ हुने बेलासम्म पनि कालिया को बन्ने भन्ने निर्णय हुन सकेको थिएन । गब्बर सिंहको भूमिकाका लागि अमजद खानलाई चयन गरिसकिएको थियो। अमजदले थिएटरमा काम गर्दा एउटा नाटकमा विजू खोटेले पनि उनीसँग काम गरेका थिए।
त्यो नाटक अमजदका दाजु इम्तियाज खानले निर्देशन गरेका थिए। नाटकमा अफ्रिकामा गोरा मानिसहरूले कालो मानिसहरूमाथि गरेको अत्याचारको कथा देखाइएको थियो। नाटकका चार शो देखाउँदा देखाउँदै ब्रिटिश सरकारले भारत सरकारलाई दबाब दिएर त्यो नाटक बन्द गरायो । ब्रिटिश सरकारले यो नाटक प्रपोगन्डा मात्र हो ।
त्यो नाटकमा अमजद खानका बाबुको भूमिका विजू खोटेले निभाएका थिए। विजू खोटेकी बुहारी अर्थात् अमजद खानकी पत्नीको भूमिका शबाना आजमीले निभाएकी थिइन्। त्यस बेला शबाना सेन्ट जेभियर्स कलेजमा पढ्दै थिइन्। शबानालाई कलेजबाट नाटकको रिहर्सलमा ल्याउन विजू र अमजद नै जान्थे।
त्यो नाटकमा विजू खोटेको पत्नीको भूमिका रमेश सिप्पीकी बहिनी सुनिताले निभाएकी थिइन्। सबै पात्रहरू अफ्रिकी भूमिकामा थिए। अमजदका दाजु इम्तियाज खान, जो नाटकका निर्देशक पनि थिए, त्यहाँ अंग्रेज अफिसर बनेका थिए। त्यो विजू खोटेको पहिलो नाटक थियो, जुन उनले आफ्नो बाबु नन्दु खोटेको नाटक समूहबाट अलग भएर गरेका थिए। यसै नाटकका क्रममा अमजद खान र विजू खोटेबीच राम्रो मित्रता भएको थियो।
यही सम्बन्धका कारण बिजुले शोले फिल्मका बारेमा सुनिरहेका थिए । शोलेको कालियाको भूमिकाका लागि अरू नै कलाकारलाई लिने तयारी भइरहेको थियो । जो व्यक्ति कालियाका लागि चयन गरिएका थिए, उनीबाट भनेजस्तो दृश्य लिन नसकिएला भनेर रमेश सिप्पी हिच्किचाइरहेका थिए । त्यही बेला अमजद खानले सिप्पीलाई सुझाव दिएका थिए, “हामीलाई यो भूमिकाका लागि विजू खोटे चाहिन्छ जस्तो छ । ऊ घोडा चलाउन पनि जान्दछ।”
तर वास्तविकता के थियो भने विजू खोटेलाई त्यति राम्रो घोडा चलाउन आउँदैनथ्यो, जति अमजद खानले सोचेका थिए। त्यसपछि रमेश सिप्पीले विजू खोटेलाई आफ्नो कार्यालयमा बोलाए। जब विजू खोटे सिप्पीको कार्यालयमा प्रवेश गरिरहेका थिए, त्यही बेला अमजद खान बाहिर निस्किरहेका थिए। गेटमा दुवैको भेट भयो। अमजदले भने, “राम्रो भूमिका छ विजू। सानो छ। दुई–तीन दृश्यको मात्र हो। तर राम्रो छ।”
विजू खोटेले भित्र अफिसमा रमेश सिप्पीलाई भेटे। सिप्पीले उनलाई कालियाको भूमिका कस्तो छ भनी सुनाए । अनि सोधे, “तिमी यो भूमिकाका लागि कत्तिको इच्छुक छौ?”
विजूले भने, “अहिले जाँदा जाँदै अमजद खानले यो भूमिका राम्रो छ भनेका थिए। त्यसैले म यो भूमिका पक्कै निभाउन चाहन्छु।”
यसरी विजू खोटे ‘शोले’ फिल्मको हिस्सा बने। शोलेमा विजू खोटेको झन्डै साढे सात मिनेटको भूमिका थियो। तर त्यो साढे सात मिनेटको दृश्य खिच्न दुई हप्ता लाग्यो।
शोलेमा कालियाको पात्रको मेकअप गर्दा नीग्रो ब्ल्याक रंगको प्रयोग गरेर उनको अनुहारलाई केही कालो देखाउने प्रयास गरिएको थियो। तर रमेश सिप्पी र लेखक सलीम-जावेदले चाहेजस्तो कालो अनुहार आएन । पछि नीग्रो ब्ल्याक रंगमा एम्बर रंग मिसाएर विजू खोटेको मेकअप गरियो। शोलेमा विजूको मोटा–मोटा आँखीभौं देख्नु भएकै होला । त्यो वास्तवमा नक्कली जुँगालाई काटेर आँखीभौँ बनाइएको थियो । रोचक त के थियो भने वास्तविक जीवनमा विजू खोटेको आँखीभौं लगभग थिएन।
यसरी छनोट भएका विजू खोटे हिन्दी सिनेमाका एउटा अमर पात्र कालिया बन्न पुगे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










