म उडाइदिन्छु
आकाश छेड्ने डन्डी‑बियोको रकेट
र मनाउँछु फिर्फिरेको विजय उत्सव
म मोजाको बाटुलो बल खेल्छु
र उफ्रिन्छु गोलो घाम छुने रहरले

म बनाउँछु
धुलोमै देउताको तस्वीर
र ढोगिदिन्छु निधारभरि
वरको डालीमा बसेर
गाइदिन्छु मेलाको गीत
वरको आलीमा बसेर
सुनिदिन्छु चरीको सङ्गीत

घरको पालीमा बसेर रुँगिदिन्छु
एक जोडी परेवा
र उडाइदिन्छु
दुई जोडी खुसीका पखेटा हालेर
नीलो आकाशभरि

आमाको मुदुस खोलेर
खाइदिन्छु गाईको बिलौनी
र ताकिदिन्छु स्वर्गको राजधानी
म बालक भएपछि
मलाई अग्लो घरले बाँध्दैन
मलाई भोलिको डरले छुँदैन
देश‑परदेशको सिमानाले अलमल्याउँदैन

म कुदिदिन्छु भेटे जति
इत्लाकान्ला
हेर्छु चौतारीमा फैलिएका जराहरू
गन्छु लज्जावती झारका मिलेका पातहरू

छुनेछैन अंशबन्डाको रेखाले
पुगिदिन्छु देवताको घर
र कुँदिदिन्छु मूर्तिमाथि अर्को देउता
उडाउँछु मागेर भाइको चङ्गा
चटक्कै छाडिदिन्छु झुटको धन्दा
बगिदिन्छु बलेनीकै पानीमा नीलो गङ्गा

बाख्रीको पाठोसँग उफ्रीउफ्री मीत लगाउँछु
सानो गोलकाँक्रीले अपार जीत मनाउँछु
म शिशु हुँदा छुटेका सुकिला आँखा सम्झिन्छु
मैले गाउन बिर्सेका ठाडो भाका सम्झिन्छु
मलाई देशदेशको रेखा कोर्नु छैन
मलाई धर्मको ढोका फेर्नु पनि छैन

बस
बिर्सनुछ
निधार खुम्चिने सिमाना
मलाई हेर्नुछ सङ्लिएको नदी
मैले खुसीले हेर्नुछ अस्ताउन लागेको हँसिया जून
दौडिनुछ कसैले काँडेतार नलगाएको चौरभरि
र भेट्नुछ हराएको मृगको शावक

मलाई कैलै फर्कन मन छैन
बालपनदेखि
म सुस्ताउन चाहन्छु
ममताकी तिनै आमाको काखमा
म निदाउन चाहन्छु
पुरानै जमानाकी आमाको मजेत्रोको रापमा

कोही उठाउन नआउनू
किनकि म
बालक हुनपाइने सपनामै मर्न चाहन्छु ।