जगन्नाथ पौडेल

आकाशमा घाम पनि नउठ्दै
कुखुराले बिहानी गीत पनि नगाउँदै
तिमी उठ्थ्यौ
र पोत्थ्यौ रातो माटो मेरो सपनाको मजेरीभरि
आफ्नो पेटमा मलाई छाम्दै
घामको उज्यालोतिर फर्किन्थ्यौ र
मेरो जन्म सम्झिंदै जूनजस्तै मुस्कुराउँथ्यौ
मनिखाम वरिपरि गाईको गोबरले लिप्थ्यौ र
मेरो राजाका आँखाहरूलाई कहिल्यै
अँध्यारोले नछेकोस् भन्दै
पाँचसुते बत्ती बाल्थ्यौ

हो
म सजिलै अनुमान लगाउन सक्छु आमा
तिमी मेरो उज्यालो भविष्यका हरिकीर्तन गाउँदै
कति रात र बिहान एकै बनाएकी थियौ
मलाई थाहा छ
मेरो लागि सधैँ
दियो बाल्थ्यौ
र आफ्नो भोकको टलपलाउँदो बत्ती
मेरा सपनाले हम्केर निभाउँथ्यौ
कति दिनहरू शोकले भिजाउँथ्यौ
न तिमीले ‘क’ ‘ख’ लेखेको किताबको अनुहार हेर्न पायौ
न किताबले तिम्रो अनुहार पढ्न पायो
तर पनि मेरो भविष्यबारे एकै रातमा कसरी ठूलो महाकाव्य रच्यौ आमा
दिनभरि गीतहरू रच्यौ
एक्लै रच्यौ
एक्लै सुन्यौ
एक्लै हाँस्यौ
एक्लै रोयौ
म जन्मिएपछि
मेरा पाउभरि दुःखले फुलेका आफ्ना गाला टाँस्थ्यौ
म सुतिरहन्थेँ
तिमी सपना बुनिरहन्थ्यौ
म रोइरहन्थेँ तिमी बिपना खोजिरहन्थ्यौ
म तातेताते गर्ने भएपछि
मेरा हात समाउँदै आकाशको चम्किलो तारा देखाउँथ्यौ
म रुन नपाउँदै
तिमी अगेनाको डिलमा पुगेर
माटे कराई कोत्रीकोत्री कुनी कोरेर ल्याउँथ्यौ
म उफ्रीउफ्री खेल्दा मेरो पाउमा घाउ लागेको त्यो दिन
तिम्रो आफ्नै मुटु टुटेफुटेसरि छट्पटिएका तिम्रा आँखाहरू
अझै मेरा आँखावरिपरि घुमिरहन्छन् आमा
म मजेत्रो समाउँदै तिमी वरिपरि फन्फन्ती घुमिरहँदा
तिमी आफ्नो संसार मेरा आँखाभरि पढ्थ्यौ
मेरो कपी किन्दा तिमीले बेचेको पहेँलो बुलाँकी
तिम्रो रातो पटुकीले सिलाएको तातो भोटो
आलीमा बसेर तिमीले खुवाएका सुनजस्तै पहेँला उसिना मकै
खरबारीमा पाँजोभरिको घाँस डोकोमा बिसाएर
जिब्रोको बीच्चमा राखिदिएको टिमुरको चटनी
म तिम्रो हात समाउँदै टुकुटुकु हिँडेको गाईबाख्रा हिँड्ने डहरे बाटो
जेठाबाका कान्छा छोराको बिहेमा जन्त जानेबेला तिमीले लगाइदिने चन्दनको बाङ्गो टीका
अँधेरी रातमा पछ्यौरीमुनि लुकेर गाईजात्रा हेरेका ती उज्याला हर्कतहरू
सबै सम्झँदै र बिर्संदै
आमा तिमीलाई थाहा छ म अहिले परदेशमा छु
मैले छोडेको होइन आमा मेरो देश
तिमीले मलाई जन्माएको त्यो सास जोडिएको माटो
म कसरी त्याग्न सक्थेँ आमा
तर
मेरो देश ओगट्नेहरूले मलाई चिन्दैचिनेन्
मैले मेरो भविष्य मेरो देशको ऐनामा देख्नै पाइनँ
मेरो छाक टार्ने रोटी पनि कहिल्यै जोहो गर्नै दिएनन्
देशको निधारमा बसेकाहरूले
त्यसैले त आमा
मेरा खुट्टाहरूले यसै छोडेर हिँडे
मलाई नदेख्ने मेरो आँखाभरिको देश
म जहाजमा बसेर आकासिँदैआकासिँदै धर्ती छोड्दा
साना बचेराहरूले आमाको काख छोडेजस्तै
अनि मेरै छातीले श्वास छोड्लाजस्तै भएको थियो आमा
खैर आमा अहिले म
मोटर चढ्ने भएको छु
अंग्रेजी पढ्ने भएको छु
चिल्ला बाटाहरू छन्
माम खुवाउने हातहरू छैनन्
लन्च गर्ने काँटाहरू छन्
तर तिमी बिनाको मनमा जताततै खाटैखाटाहरू छन्
म गुड्ने बाटो निकै फराकिलो छ आमा
तर परदेशमा बाटोजत्रो मन कहिल्यै हुँदैन रहेछ
पहेँला चरेसका टलमलाउँदा थालहरू पनि छन्
तर
तर छाती त कहिल्यै टलमलाउँदैन रहेछ थालजत्तिकै उज्यालो गरी
खानलाई थुप्रै परिकारहरू छन्
तर तिनमा कुनै मायालु भाव छैन किनकि ‘तमीले तोलाई नछोबई’
न करेसामा तिमीले फलाएका करेलीहरू छन्
न झपक्कै प्रेम मिसिएका चरेलीहरू छन्
छन् त केबल हतारोले फुरेका
पाउरोटीका चिल्ला डल्लाहरू
अनि टिनको पाताले बेरेर चिसो कोठरीमा थुनेका जुसका नयाँजस्तै देखिने पुराना बट्टाहरू
तर के गर्नु आमा
खाँदाखादै गलामा अड्किन्छन् पुराना यादहरू
अड्केका यादहरूलाई तीता आशाहरूले धकालिरहेकै छु
अनि कामैकामको सिक्री लाएरै भए पनि
म यहाँ परदेशमा कामै गर्ने बहानामा सन्चै भैदिएको छु
के तपाईं मलाई पर्खंदापर्खंदै पुगेको
देउताको त्यो लोकमा सन्चै हुनुहुन्छ आमा ?