जगन्नाथ पाैडेल

हाे महाशय
काइँलो ख्याउटे छ
च्याउँसे छ
कुरुप छ
उसलाई थाहा छैन
कति गुलिया हुन्छन्

साततारे हाेटलका राता ओठहरू
उसलाई पर्वाह छैन
कुन जुवाडी खालमा
समय फिटेर
मध्यरातलाई ढाँटिरहेछन्
बेसुरका हातहरू

ऊ बाेल्दैन तिमीलेझैं बेतुकका
ओठ हल्लाएर
यसकाे माने याे हाेइन कि
ऊ लाटाे छ
ऊ जल्दैन अनुहारकाे आगाेमा
यसकाे मतलब याे हाेइन कि
ऊ हिउँजस्तै जमेकाे छ
उसलाई उस्कै वास्ता छैन

यसकाे अर्थ याे हाेइन कि
ऊ चेतनाशून्य छ
ऊ मातेर सडक नाप्दैन
यसकाे अर्थ याे हाेइन कि
उस्का हिंड्ने पाइलाहरू नै छैनन्
उसलाई आफ्नाे सुखकाे सम्झना हुँदैन

यसकाे माने याे हाेइन कि
शून्यता उसकाे पहिचान हाे
जुठा ओठहरू नचाट्नु उसकाे भूल हाे
मातेकाे सडक ननाप्नु
उसकाे कायरता हाे
फूलसँग साउती मार्नु
उसकाे पागलपन हाे

बिरामी गाउँकाे घाउमा ओखती लाउनु
उसकाे राेदन हाे
चहर्याएकाे गाउँकाे चित्र काेर्ने कलमसँग हाँस्नु
उसकाे ऐंठन हाे
अरुकाे लागि जिउनु उसकाे मृत्यु हाे भने
पहिर्याइदेऊ सेताे वस्त्र तिम्रा अन्धा आँखाहरूमा
पखालिदेऊ राता सपनाका रङहरू

तिम्राे कालाे सत्ताकाे शिरबाट
र ढलाइदेऊ
अलिनाे मानव सम्बन्धकाे कमजाेर खाेइलेकटेरी
अनि जलाइदेऊ तिम्राे मानवकाे आकृति

म याे पनि घाेषणा गर्छु महाशय
तिमी काइँलाेभन्दा
हजार गुना कुरूप हुनसक्छाै
हाेस रहाेस्
तिमी कहिल्यै
काइँलाे भएर जिउन सामर्थ्य राख्दैनाै
तिमी कहिल्यै काइँलो भएर
संसार हेर्न सक्दैनाै
किनकि
तिम्रा लागि तिमीबाहेक
केही खुल्दैन धर्तीमा
तिम्रा लागि कुनै सृजनाकाे
द्वार खुल्दैन आगनमा
न तिमीसँग दुःखमा रुने आँसु नै छन्
ती मैमत्त आँखाहरूमा
फरक यत्ति हाे कि
तिम्राे हातमा जीवन मास्ने विषालु जहर छ
उसकाे हातमा जीवन धान्ने ओखती

यस्तै हाे भने महाशय
आऊ युध्दकाे घाेषणा गर
जहाँ तिमी बाेलिरहू
ऊ सुनिरहन्छ
जहाँ तिमी घाेचिरहू
ऊ सहिरहन्छ

अन्ततः
तिम्रा विषालु हतियारले रेटिदेऊ
शान्त भएर सुतेकाे उसकाे सपनाहरूकाे गला
किनकि
लड्नुभन्दा हार्नुमै जीत देख्छ काइँलाे
दु:खाउनुभन्दा दुख्नुमै शान्ति भेट्छ काइँलो
त्यसाे त
मान्छे र सर्पकाे के नै युध्द हुन्छ र दुनियामा
त्यसैले विषालु विच्छुहरूसँग हार्नुमै ठुलाे जीत छिपेकाे हुन्छ

त्यसैले विष छर्नेहरूसँग हार्नु नै काइँलाकाे जीत हाे
आखिर
फूल र असिनाकाे युध्दमा
असिना कहिल्यै हार्न चाहँदैन
तर जीत फूलकै हुन्छ ।

भर्जिनिया, अमेरिका