जगन्नाथ पौडेलजतिखेर

जतिखेर
मेरा भँमरा ओठहरू
झकमक्क फुल्न बामे सर्न मात्र खोज्दै थिए
मेरो उमेरको अनुहारमा
छातीका कोपिलाहरू
पूरा घाम खाएर फक्रिन मात्र खोज्दै थिए
मेरो छातीकै बगैँचामा
मेरा चम्किला आँखाहरू
तृष्णाको सानो झिल्को उमार्दै मात्र थिए
मेरो बिहानी घामजस्तो शरीरमा
अनि
बिहेको बाह्रखरी मनभरि बुझ्न बाँकी नै थियो
भोलिको घाम झुल्किने काव्यका पृष्ठहरूमा

त्यति नै खेर
बिहेको मन्डपमा टुकुटुकु घुम्न बाध्य भए
मेरा निर्दोष पाउहरू
बस्
देउतामाथि फूल चढाऊ भन्दा चढाइदिएँ
सिउँदोमा सिन्दूर थापिदिएँ
निधारमा टीका छापिदिएँ
मुटु कलेजो सास आस सबै उनलाई सुम्पिदिएँ

मान्छेमान्छेहरूको भीडमा
घुमाएर देउताको विश्वासमा
मेरो हात थमाइदिएँ उनको हातमा
मेरो धड्कन बिसाइदिएँ उनको मुटुमा
कुन मायाजाल थियो कुन्नि
उति नै बेला बेरेर उनको भरोसामा
अडाइसकेको थियो मलाई मेरो विश्वासले
उनका छातीको भित्तोमा
तर
तर के गर्नु
सिन्दूर भरिएको मेरो सिउँदो
अघाउने गरी हेर्न नपाई
अनभिज्ञ मेरा आँखाहरूमा
उनका दुई आँखा देख्न नपाई
मेरो छातीमा भर्खर कोपिलाएको
उनको मायाको लय सुन्न नपाई
मेरा हत्केलामा कोरिएका
सपनाका रङहरू छुट्याउनै नदिने
त्यो निर्दयी समयको राप सहँदै
नयाँ दुलही बनेका मेरा औंलाहरूलाई
न्यानो गरी तताउन पनि नदिने अभावको भुमरी छिचोल्दै
मेरा भर्खर फुल्दै गरेका फूलका ओठहरू
उनका फुलेका ओठहरूमा फुलाउन नदिने विवशताहरूका बीच
सुहागरातको एक गिलास दूध पनि पूरै घुड्काउन नपाई
बिहे गरेको भोलिपल्टै
उनलाई चढ्नु थियो बडेमाको सपना बोक्ने
बडेमाको जहाज
र पुग्नु थियो पैसा फुलाउने बडेमाको देश
देश कस्को नाम थियो कुन्नि
म त्यति जान्दिनँ
खैर
उनी जहाजको नजिकनजिक हुँदै गए
आकाशमा उड्दै उड्दै गए
बादलले पूरै ढाकेर लग्यो उनलाई
मेरा आँखाहरू छोपिए
मेरा भाकाहरू टुक्रिए
त्यो बडेमाको जहाजले सबै उडाएरै गयो

उनले एक पटकमात्र अँगालेको छाती छामेँ
सेलाएकै थिएन
उनले एकपटकमात्र ओठमा पुर्याएका औंलाहरू हेरेँ
अघाएकै थिएनन्
छातीको माया भोकै थियो
मेरा पाउहरू उडेरै उनको पछि लागे
मेरा आँखाहरू
बगेरै धर्ती भिजाए
जहाज उड्दै उड्दै आकाशमाथि हरायो
मेरो मुटु भासिँदै भासिँदै धर्तीमुनि छोपियो
मुटु जति सबै छोडेर
एउटा भरी विश्वासको बाटो पछ्याएर
मुटुबिनाको मेरो मासुको थु्प्रोलाई एक्लो झुप्रोसम्म ल्याइपुर्याएँ
मलाई उतै उनीसँगै छोडेर आएको मासुको थुप्रो दुःख मात्र दिइरहन्छ अहिले
भान्सामा तरकारी काट्दा औंला काट्छ
करेसामा बेथे गोड्दा नङ फाट्छ
एक रात सँगै बिताएको कोठा
त्यो एक दिनको पाहुना जस्तै यात्रीका यादहरू कतिपटक उड्छन् तिम्रा आँखाहरूमाथि भनेर खिस्सी गर्छ
मेरा आँखाहरू आकाशतिरमात्रै हेर्छन्
मन बग्दै हिँडेको बादलमा चढ्छ

पुर्याउँछ उनको बिरानो देश
दिलाउँछ उनको न्यानो अँगालो
तर यी आँखाहरू ब्युँझिन्छन् बेसमय
बेखबर डराउँछन् औंलाहरू
र आँसुहरू गाला हुँदै माटोमा गएर हराउँछन्
लाग्छ पुनर्मिलनका लागि हजारौँ पटक रुनुपर्छ
मुटुलाई टुक्रयाई टुक्र्याई बाँच्नुपर्छ
सन्ताप र भयग्रस्त एक्लोपनले थिचिनुपर्छ पलपल

खसम गएका वर्षदेखि
जहाजमात्र उड्छ क्षितिजमा
छरपस्ट पार्छ
मेरो छातीमा रूझेका उनका सम्झनाहरू
तर
उनलाई त बोक्दैन जहाजले
बोक्छ त केवल मेरो छातीले
उनका यादहरू !
देख्छ त केवल आँखाले
अत्यास लागेर जहाजकै पछाडि दौडिरहेका
बादलका झुन्डहरू

बर्सौं भयो खसम हराएको
बर्सौँ भो आँखाहरू एक्लै रोएको
फगत
क्षितिजमा रित्तो जहाज उड्छ
छातीमा भरी याद बल्झिन्छ
हाय भगवान् !
मलाई अरू केही आस छैन अब
बस खसमको साथ भए पुग्छ
खसमको सास भए पुग्छ ।