कवि जगन्नाथ पौडेल कुश्मा, पर्वतमा जन्मिएर हाल अमेरिकामा बसोबास गर्नुहुन्छ । उहाँ नेपालमा हुँदा पूर्व सहायक क्याम्पस प्रमुखको हैसियतले गुप्तेश्वर बहुमुखी क्याम्पस, कुश्मा, पर्वतमा कार्यरत हुनुहुन्थ्यो ।
प्रस्तुत छ, उहाँको पहिलो कवितासङ्ग्रह `बग्दैबग्दै´ ( २०८१)मा सम्बन्धित भएर जगन्नाथ पौडेलसँग जनक कार्कीले विविध साहित्यिक विषयमा गरेको कुराकानी प्रस्तुत छ ।
…
यहाँको हालसालै प्रकाशित कविताकृति ‘बग्दैबग्दै’ मा कुनकुन विषयका कविताहरू समेटिएका छन् ?
– कवितालाई कुनै ठोस र स्थूल विषय चाहिन्छ जस्तो मलाई लाग्दैन । कहिलेकाहीँ स्थूल विषयभन्दा माथि वा पर कतैबाट भावतरङ्ग उत्पन्न हुँदा पनि कविता जन्मन सक्छ । भावको लमाइ र उचाइको प्रवाहमा कविता बग्न सक्छ । तिनले कुनै परिवेश, पात्रता, रङ अनि क्षेत्रतर्फ झुकेर तिनको सहारा लिँदा ती भाव विषयका भित्तोमा अडिन पुग्छन् । सरसरती भन्दा जुनसुकै भाव वा विचार पनि विषयबाटै निसृत हुन्छन् भनिन्छ ।
यहाँ यी दुवै हेराइ राख्न सकिन्छ । अभिधामा भन्दा पर्यावरण, स्थानान्तरणका संवेदना वा डायस्पोरा, प्रेम, करुणा, विश्वमानवता, विज्ञान, प्रविधि, क्वान्टम, सामाजिकता, नीति, चिन्तन, दर्शन, अन्तरयात्रा, नयाँ भूगोल र जीवनको खोजी, आत्मनिर्णयका सवाल, वैश्विक चिन्तन, सृजनात्मक सौन्दर्यको गरिमा तथा महत्त्व, सीमाहीनताको खोजी, अविभाज्य भूगोल, अखण्डित मान्छे, पेटभरि खान पाउने शान्त मनस्थितिका बालबालिका, प्रकृतिविमुखताले क्षयग्रस्त मानिस, सङ्लो नदी, धुलोले नछोपेका रुखका पात, क्षेप्यास्त्रले नछेडेको आकाश, सगरमाथाको उचाइ, नाइलको लम्बाइ, आकाशको गहिराइ, खाली पैतालाले टेक्न मिल्ने माटो, पर्गेल्न सक्ने आँखा, घाम, पानी, हाँसो, खुसी, दुःख, सुख आदिले ग्रसित मन, श्रम, डरत्रास, संकुचन इत्यादि विषय ‘बग्दैबग्दै’ मा छालझैँ लहराएको देख्नुहुनेछ, एउटा इलाकातर्फ हिँडिरहेको भेट्नुहुनेछ ।
कवि भएर हेर्दा भूगोल के रहेछ ?
– छोटोमा भन्दा भूगोल आध्यात्मिक विज्ञानको अपार सृजना हो । यसलाई बुझेजस्तो गर्न मन लागेर अलि रङ थप्नुपर्यो भने असङ्ख्य सम्भावनाहरूको सुन्दर शिल्पले युक्त अपरिमेय बगैँचा । सूक्ष्म तत्त्वहरू मिलेर बनेको प्राणतत्त्वयुक्त वृहत् घर । हामीले कल्पना गर्न नसकेका विविधताले सजिएको आध्यात्मिक विज्ञानको पूर्ण र सजग सृष्टि । शान्तिको अचुक बिम्ब । एउटा यस्तो कलकारिता जहाँ मसीको वाफको सूक्ष्म आकार अनि भव्य र दार्शनिक अर्थको भीमकाय आकार एकैपटक प्रकटित छन् । पछिल्लो समय एउटा यान, जो आफ्नै यात्रीले ठोक्दै गरेको घन सहन गर्दै महाप्रस्थानको सुदूर यात्रामा उडिरहेछ ।
कवितासँगको सङ्गत कसरी सुरु भयो ?
– मभित्रको चिन्तनले जीवनजगतको गहिराइ खोजिरहन्थ्यो । भाषामा त्यसको केही अंश देखेपछि तात्त्विक विषयका साहित्य पढ्ने रुचि बढ्दै गयो । विशेष गरी पारिजातको विसङ्गत चिन्तन, शङ्कर लामिछानेको सूक्ष्म दर्शन अनि देवकोटाको मानवताबोधी आह्वान र प्रकृति निकटताको खोजी, ध्रुवचन्द्र गौतमको श्वैरकाल्पनिकता, वैरागी काइँलाका सांस्कृतिक बिम्ब, इन्द्रबहादुर राईको लीलाबोध आदिमा रहस्य देख्न थालेँ, बुद्धले सङ्केत गरेका जीवनमा दुःखका कारणहरू, मृत्युको सत्य र शान्तिका सूत्रहरूले कताकता गिज्याउने काउकुती लगाउने गरेको अनुभव हुन थाल्यो । पढेका विविध लेखक र पुस्तकबाट अनुभव गरेका विषय वा काउकुती र धरातलीय यथार्थका दृश्यबिम्बहरू टकटक्याउन कवितामा बढी सहज लाग्यो । कविताको चुम्बकीय शक्ति अन्य विधाको तुलनामा बढी महसुस गरेँ । त्यतैतिर रुझ्न, पोखिन थालेँ ।
कविको मस्तिष्कभित्र आम मान्छेभन्दा कस्तो फरक विचार चलिरहेको हुन्छ जस्तो लाग्छ ?
– कविताभन्दा बाहिर आउँदा अक्सर आम मान्छे र कवि उस्तै लाग्छ । कविता कुँद्ने बेला कवि सामान्यबाट विशेष अवस्थामा पुग्छ जस्तो लाग्छ । नभए सबै व्यवहारका बोली कविता नै हुन्थे होला । कवितालाई कविताकै तहमा पुर्याउन त्यसले बोक्ने भावको सामल र अँगाल्ने विशेष शैली पकड्न पनि त्यस अवस्थाको आवश्यकता हुन्छ । कवि आम मान्छे हुँदाको अवस्थामा परिवेशले बाँधिए पनि उसको अन्तर हृदय कोमल र शान्तिप्रिय नै हुन्छ जस्तो लाग्छ । मन र विचार नाप्ने कुनै यन्त्रको आविष्कार त अहिलेसम्म भएको देखिँदैन तर पनि मनले नै मन नाप्दा र विचारले नै विचारको कसी खोज्दा कविजगत अवश्य सुन्दरताको पक्षमा नै उभिएको हुन्छ । अक्सर कविको विचार सृजनात्मक सुन्दरता र उन्नयनको लागि उद्वेलित हुन्छ । नयाँ यात्रा र वैकल्पिक चिन्तनबाट प्रभावित हुन्छ । वैयक्तिक भन्दा सार्वजनीन र सार्वकालिकताले परिपोषित हुन्छ । अर्को कुरा विचार त संस्कार, सोच्ने तरिका र बाँचिरहेको परिवेशबाट पनि प्रभावित हुन्छन् नै ।
यो डिजिटल र फास्टफुडको जमानामा कविताको महत्त्व के छ जस्तो लाग्छ ?
– मलाई त लाग्छ यो कविताको जमाना हो । मान्छेलाई कसैले सिधै उपदेश दियो भने उसलाई सही लाग्दैन । कवितामा जति उपदेश दिए पनि वा भत्किने गरी गाली नै गरे पनि ध्यानपूर्वक सुनिन्छ । गाईजात्रे या व्यङ्ग्यात्मक शैलीमा कविता गाउनु वा वाचन गर्नुभयो भने उही पात्र पनि हाँसीहाँसी सुन्छ । त्यो ताकत हुन्छ कवितामा । गाली नै गर्न मन लागेको मान्छेलाई नै अगाडि राखेर गजबले तीर मार्नसकिन्छ कवितामार्फत । सिधै त्यसरी कहाँ भन्न सकिन्छ र । फास्टफुडको हल्ला मात्र हो । समय त झन् संवेदनशील बनिरहेको छ । जो छिटो गायब हुन्छन् ती फास्टफुडका अनुयायी हुन्छन् । विचारमा पनि सतही विचार छिटो हराउँछ । विशिष्ट विद्वान्, अनुसन्धाता, दार्शनिक, वैज्ञानिकहरू, चिन्तकहरू, योगीहरू त फास्टफुड नभएर प्राकृतिक मांसरहित खानाकै पक्षमा छन् । भन्न खोजेको कुनै खाद्यवस्तु र समयको संवेदनशीलता फरक विषय हुन् अनि कला, संस्कृति र भाषाका कुरा फरक हुन् । तिनमा रहेको सौन्दर्य कहाँ घट्छ र ।
डिजिटलयुगमा कविता सुन्ने माध्यम फेरिन सक्छन् । कविताका शैलीमा नयाँपन आउन सक्छ । यसैले त यही जमानाकै मान्छेहरू मञ्चमा गएर कविता अभिनय गरिरहेका छन् । भिडियोमा कविता, गितारमा कविता, बाँसुरीमा कविता, समग्र सङ्गीतको सङ्गतमा कविता अनि अब क्वान्टम कविता पनि । यी त सुखद कुरा पो हुन् त । बस् समयको गतिलाई पछ्याउन सक्यो भने ती कविता तत्कालीन युगका पाठककै प्रिय बन्छन् ।
कविता पार्न सकिएन र समयका रेखाबाट बिच्कियो भने ती कविता टिक्दैनन् र बिक्दैनन् । यो जमानामा कविताकै हतियार बिक्दो छ । कामलाग्दो छ । गहिरोमा पुर्याएर करौँती लगाउन पाइने । टुप्पोमा पुर्याएर चङ्गा उडाउन पनि मिल्ने । सिमेन्टको वा बिस्कुटकै विज्ञापन पनि कविताकै शैलीमा बढी सुन्न मन पराउने । कुरो कहाँनेर छ भने अब भक्तिकालीन कविताका शैलीशिल्प सर्वग्राह्य नहुन सक्छन् । अब कवितालाई मञ्चमा लगिएको छ । कविताका विषयलाई मङ्गलमा पुर्याइएको छ । विज्ञान र प्रविधिमा जोडिएको छ । यी सुखद कुरा हुन् । समयानुकूल परिवर्तनको सङ्केत र अपेक्षा हुन् । अबको सूचना या कविता निमेषभरमा संसारभरि पुग्छ । सबैको हातमा संसार कैद हुँदो छ । हाम्रो हातमा मोबाइल छ जो सीमाहीनता (boarder-less) को द्योतक छ । यस्ता प्रविधिको प्रयोगसँगै अहिले दुनियाँ साइबर स्पेसमा कैद छ । अबको यस डिजिटल दुनियाँले कवितालाई झन् सजिलो र व्यापक बनाइदिएको छ ।
एक दशकदेखि अमेरिकामा हुनुहुन्छ । अमेरिकाले तपाईंलाई के दियो र के खोस्यो ?
– दिने र लिने कुरा सम्भवतः आफूमै निर्भर रहने कुरा हुन् । म कहाँ रहने कसरी रहने । के लिने र गुमाउने यी जटिल विषय पनि हुन् । कहिले नसोचेको प्राप्त हुन्छ । कहिले नचिताएको गुमिरहेको हुन्छ । अमेरिकाले मलाई कर्म चिनायो । सम्मान सिकायो । चुनौती सामना गर्न र सम्भावनाहरू देख्न सिकायो । नियम देखायो । भौतिक विकास देखायो । मनको र जन्मेको भूगोलको गहन सम्बन्धलाई गहिराइ दियो । अलिकति सम्बन्ध खोस्यो । अलिकति सम्बन्ध जोड्यो । माटो र सम्बन्धसँगको भावना र संवेदना बढायो । कति आफ्नालाई टाढा पुर्यायो कति टाढाकालाई आफ्ना बनायो । मेरो सम्बन्ध अनेसासमा जोड्यो । यसले भाषा, संस्कार, पर्यावरण र नवीन परिवर्तनका विषयप्रति संवेदनशील भएर लेख्ने बनायो । विश्वप्रेमको महत्त्वप्रति अलि सजग बनायो । भूगोलको दुरीले हुने भौतिक सम्बन्धहरू जटिल र टाढा भए । भावना र संवेदनामा जोडिएका सम्बन्धहरू थप गाढा भए । यथार्थमा हामी प्रकृतिका अंश हौँ । लिने र गुमाउने कुरा क्षणिक हुन् ।
अन्ततः इषावाष्योपनिषद्ले शान्तिपाठमा भनेझैँ ‘ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्ण मुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते’ नै हो ।
परदेश गएका लेखकलाई के आरोप छ भने `आफू चाहिँ देश छोडेर गयो तर अरूलाई देश बनेन भनेर गाली मात्र गर्छ´ भन्छन् नि । यसमा यहाँको धारणा के छ ?
– हाम्रो समाजमा आफूभन्दा पर रहेका विषय वा व्यक्तिप्रति आरोप वा गालीगलौज गर्ने प्रवृत्ति छ । ‘गाली गरेर चर्चामा आउन सकिन्छ’ मा विश्वास गर्नेहरूको छुट्टै लोक छ । अन्य अर्थ नलागेमा धर्तीमा जति युद्ध भएका छन् ती धर्म र सीमाविवादले बढी भएका छन् । न धर्ती उत्पत्ति हुनेबेला सिमाना लगाएर बनेको थियो न सीमाको कल्पना थियो । मानवसमाजको विकास हुँदै जाँदा र उसका स्वार्थहरूले मेल नखाँदा सीमा कोरिन थालेका हुन् । रावणले सीमा लगाउँदा उसको कस्तो अवस्था आयो । महाभारतमा सीमा वा राज्यको वैरीपनले कुन परिणति निम्तियो । जातको सीमा, भाषाको सीमा, भूगोलको सीमा, राजनीतिको सीमा आदिआदि यी केवल अहम् र स्वार्थका उपज हुन् ।
प्राविधिक हिसाबले वा व्यवस्थापनका सुगमताका हिसाबले यो सही देखिएला तर सृष्टिको प्राकृतिक गुणको हिसाबले, प्राणी मात्रको कल्याण र समग्र विश्वमानवताको हिसाबले यो पूर्णतया गलत छ । न हाम्रो दर्शनले सीमाविभाजनको कुरा गर्छ न जातीय असमानता र समूहको । यो त केवल स्वार्थको खेल मात्र हो । अज्ञानताको उपज । विश्व त एउटा घर रहेछ । मन विभाजित रहेछ । विश्वको जुन कुनामा रहे पनि मान्छे त मान्छे नै हुने हो । पहिला मान्छे हुन सकौँ त्यसपछि अरू कुरा शून्य लाग्छन् । अर्को कुरा मानिस जन्मेको भूगोलसँग निर्विवाद रूपमा समीपमा हुन्छ । प्राकृतिक हिसाबले र मनोवैज्ञानिक हिसाबले पनि । उसको शरीरले त्यो खास भूगोलको अंश बोकेका हुन्छन् । न त्यो कसैले छुटाउन मिल्छ न छुटाएर छुट्छन् । यद्यपि व्यक्ति स्वयम् पनि सक्दैन ।
अनि कोही अलि पर बस्दैमा घरको चिन्तन गर्न नपाइने भन्ने कुरा त अतिवाद मात्र हो । एउटै घरमा अँगेनाको छेउ बस्नेले मात्र छानोको चिन्ता गर्ने मझेरीमा बस्नेले मेरो घर भन्न नमिल्ने भन्ने त कहाँ होला र ? अनि गाली त कसैले कसैलाई नगर्ने कल्पना गरौँ कि ? अनि ‘प्रदेश’, प्रदेशी’ भन्ने शब्द हजुरले पनि प्रश्नमा नराख्नु पर्थ्यो सायद । अब सबैलाई विश्वप्रेमको खाँचो छ । विश्वमानवताको जरुरी छ । जन्मेको भूगोल प्रतिको माया मन मस्तिष्कमा रगतझैँ घुलेको हुन्छ । त्यो व्यापक आध्यात्मिक दर्शन र विज्ञानलाई देश, परदेश, राष्ट्र, राष्ट्रियता यी शब्दले सङ्केत मात्र गर्ने हुन् । यो कुरा सबै मानवजातिले बुझ्न सकेमा विश्वमा बुद्धले खोजेको शान्तिको बीज भेट्न सकिनेछ । कुनै कागजको टुक्राले हामीलाई किन यसरी विभाजित गर्न सकिरहेको छ । यो विचारणीय विषय छ । यस विषयमा यति मात्र भनौँजस्तो लाग्यो ।
भनिन्छ, विकसित देशहरूले कामको सम्मान गर्छन्, श्रमको मूल्य तिर्छन् तर हाम्रा धेरै परदेशीहरूले पार्कमा घुमेको, चिल्लो सडकमा गाडी कुदाएको, अग्लो घरअगाडि सेल्फी खिचेको आदिको मात्र फोटो सञ्जालमा सञ्चार गर्छन् । आफूले त्यहाँ गरेको श्रमको र दिनरात खटेको कुरालाई खासै खुलेर बताउन सक्दैनन् । विकसित देशमा पुगेर पनि मान्छेको मस्तिष्क विकसित हुन नसकेको हो कि के हो ?
– अवश्य अहिलेको समय प्राय: मुलुकहरू कामको सम्मान गर्छन् । मापदण्ड र श्रमनियम अनुसार श्रमको यथोचित मूल्य तिर्छन् । कामलाई कामको रूपमा नै हेर्छन् । ठुलोसानो काम भनेर पर्गेल्दैनन् । हरेक काम आफैमा महत्त्वको छ भनेर हेर्छन् । सबैले सबैको सम्मान गर्छन् । विकसित हुनु भनेको ठुला बिल्डिङ र ठुला पुलहरू बन्नु मात्र कहाँ हो र ? हरेकको सम्मान हरेकले गर्नु, सबै कामलाई एकै दृष्टिले हेर्नसक्नु र खासमा भन्दा वैचारिक परिवर्तन नै विकास र सभ्यताको पहिलो सूचक हो । ढुङ्गेयुगबाट यहाँसम्म ल्याइपुर्याउने आधार पनि त विचार वा सोचमा परिवर्तन नै हो नि । अर्को कुरा अहिलेका विकसित देशहरूमा हाम्रोजस्तो घुमाउने घर नहोलान् । घुम्न जाने भनेको विशेष ठाउँहरूमा हो जहाँ आश्चर्यजनक विकास वा चमत्कार रहन्छन् । ती ठाउँमा घुम्न गएपछि तिनै दृश्यहरू देखिनु कुनै नौलो कुरा भएन ।
दिनहुँ गइरहने कामको के नै महत्त्व हुन्छ र तस्वीर खिचेर नै राख्नुपर्ने ? काम गर्ने ठाउँ वा कम्पनीका आआफ्ना नियम र सीमा हुन्छन् । कहीँ फोटो खिच्न मनाही हुन्छ । गोप्यता भङ्ग भएमा जागिर जाने डर हुन्छ । यी कुराहरू बुझ्न जरुरी छ । फेरि विदेशमा फोहोरी स्थान भेटाउन पनि गारो छ । नेपालमा जस्तो भारी बोकेर हिँड्नुपर्ने अवस्था पनि त छैन । हुँदै नभएका दृश्य कसरी देखाउनु । के देखाउने भन्ने कुरा देखाउनेले नै निर्णय गर्ने कुरा पनि भयो । देखिरहेका सुनिरहेका कुराभन्दा नयाँ कुरा देखाउन मन सबैको हुन्छ नै । यो सबै मनको प्रकृति पनि हो क्यार । अर्को कुरा मानिस सबै दुःख बाहिर देखाउन चाहँदैन सायद न सबै सुख नै बाहिर ल्याउन । न दुःख बाहिर देखाउँदा कसैले समाधान गर्ला ।
आम मानिसहरू अरूको दुःखमा खुसी भेटेजस्तो गर्छन् । दुःख जति देखाए पनि बालुवामा पोलिने पाउ पोलिन छोड्ने होइन, न कसैले कामको पालो दिने हो । यसैले कतिपय कुरा व्यक्तिगत हुन्छन्, तिनलाई व्यक्तिगत रहन दिए राम्रो । अरूको जीवन जिउने तरिकामाथि किन टिप्पणी गरिरहनु । सामाजिक सञ्जालमा राखिने तस्वीहरूलाई नै आधार बनाएर मस्तिष्क विकसित हुन नसकेको भन्नु कत्तिको युक्तिसङ्गत होला ? यो विषयमा त्यति गहिराइ म देख्दिनँ ।
लेखेर यथार्थ व्यक्त गर्ने कुरा हो भने ‘बग्दैबग्दै’ का ‘न्युयोर्कभरि सगरमाथा’, ‘घरदेशझैँ बनाइदिऊँ अमेरिका’, ‘एक थुङ्गा डायस्पोरा’ लगायत दुईचारवटा मात्र कविता भए पनि पढिदिन अनुरोध गर्छु । अरू थप लेखक र कविका कृतिहरूमा पनि यथार्थ व्यक्त भएका छन् नै । आफूलाई पनि समय छुट्याउने गरौँ । अरूलाई सुधार्ने काम सजिलो छैन । उपदेश बिक्दैन । कलियुग हो । बुझौँ । आफूतिर फर्कौँ । दोस्रो व्यक्तिका निजत्वमा ध्यान खर्च नगरौँ ।
प्राय: लेखक जो परदेश छन् उनीहरू परदेशमा भोगेका कुराभन्दा बढी स्वदेशकै कुरा लेखिरहेका छन् । यस्तो किन भइरहेको छ ?
– मनको स्वभाव भनौँ । मनले जे कुरा गुमाउँछ त्यसैलाई ठुलो ठान्छ । घरभन्दा पर पुगेपछि घरकै याद बढी हुन्छ । आफ्नो जीवन प्रादुर्भूत भएको माटो, हावा, पानी, वायु, आकाश तीसँगको सम्बन्ध छुटाएर छुट्ने कुरा पनि रहेन । आफ्नो कुरा सुनिदिने बुझिदिने समूह वा समाजलाई इङ्गित गरेर नै केही सूचना प्रक्षेपण गर्ने हो । यो सम्प्रेषणको नियम पनि हो । नबुझ्ने वा ग्रहण गर्न नसक्ने वा नचाहने समूह वा समाजप्रति लक्षित गरेर के लेख्ने वा भन्ने । लेखकसँग लेख्नलाई सामल जे छ वा जे उपयुक्त लाग्छ र सम्प्रेषण गर्न सहज लाग्छ तिनै कुरा लेखिन्छन् वा व्यक्त हुन्छन् । उनीहरूलाई स्वदेशकै माया बढी छ । स्वदेशकै चिन्ता बढी छ । आफैले देख्नेगरी, अनुभव गर्नेगरी, आफ्नै समयमा परिवर्तन आइदिए देशमा नै केही गरौँला भन्ने तीव्र इच्छा छ । गाली आफ्नालाई नै बढी गरिन्छ माया पनि उसैलाई गरिन्छ । चिन्दै नचिनेको देख्दै नदेखेको, सम्बन्ध नै नरहेको विषय लेखिँदैन पनि बोलिँदैन पनि । आकाशभन्दा पर के छ भनेर कसैले सोध्यो भने के भन्ने ? भन्न लेख्न आफू त्यसमा थोरबहुत जानकार त रहनुपर्यो नि । लेखिने विषय र ज्ञानको पहुँच पनि त्यतैको छ । यस कारण हुनुपर्छ ।
अमेरिकामा नेपाली समुदायको लेखिन पर्ने विषय के देख्नुभएको छ ?
– मानिस जहाँ पुग्दा पनि उसले आफ्नो संस्कृति, भाषा, सभ्यता, इतिहास र स्वभावको हिस्सा बोकेरै पुगेको हुन्छ । अमेरिकामा नेपाली समुदायको लेखिन पर्ने विषयमा संस्कृतिलाई चिनाउने कुरा, भाषाको संरक्षणको कुरा, नेपाली पहिचानको संरक्षणको कुरा, अमेरिकामा रहने दोस्रो पुस्तामा यी विषयहरूको प्रवाह र निरन्तरताको कुरा । अमेरिकी सरकारसँग नेपालीहरूको सम्बन्धको कुरा । यहाँ बाँच्न सजिलो पार्ने विषय र सीपका कुरा । नेपाली भाषाको जगेर्नाका कुरा । नेपालीले अमेरिकी भूमिमा गरेका पौरखका कुरा, नेपाली समुदायको स्वसम्बन्ध बलियो पार्ने कुरा । अमेरिकामा रहेका शक्तिशाली पक्षहरू विकास, मानवता र स्वतन्त्रताजस्ता कुरा जसले नेपालीलाई उत्साहित गरोस् ।
नेपाली समुदायले अमेरिका बलियो बनाउन गरेका योगदानका कुरा । अमेरिकी वातावरणले नेपाली समुदायमा निर्माण गरेको मनोविज्ञान । अमेरिका छिरेपछि व्यक्तिमा देखिएका सुकीर्ति र विकृति । यावत् विषय छन् जसलाई गम्भीरतापूर्वक लेख्न जरुरी छ । केही कुरा लेखिएका छन् तर ती पर्याप्त छैनन् ।
भौतिक सुख र आत्मिक सुखको युद्धमा जित कसको हुने रहेछ यो युगमा ?
– सुख भन्ने बित्तिकै भौतिकतातर्फको झुकावको कुरा उठ्छ । ज्ञान र मुक्तिका कुरा आध्यात्मिकताको नजिक छन् । आध्यात्मिकता त सङ्ख्यामा नापिँदैन ।
न मन वा आत्मा नाप्नसक्ने यन्त्र नै बन्नसकेको छ । हामी विश्वको गति नियाल्यौँ भने देख्छौँ अधिक जमात भौतिक सुखमा नै भुलेको छ । उमेरको परिपक्वता र ज्ञानको सीमामा आएको विस्तारसँगै मानिस आध्यात्मिक बन्नेतर्फ झुक्छ । विश्वको ठुलो समाज भौतिकतामा डुबेको छ । त्यो सङ्ख्या गनेर भन्यो भने भौतिक सुखकै बाहुल्यमा छ वर्तमान । हरेक मानिस जीवनको उत्तरार्धतिर आध्यात्मिक बन्न मन गर्छ । भौतिक विकासले चरम गति लिइरहेको वर्तमान समयमा तपाईँ ठुलो समूहमा गएर आध्यात्मिक कुरा गर्नुभयो भने त्यो नगण्य हुनेछ यसर्थ अहिलेको समयमा भौतिक सुखको जीत भएको भान परिरहेको छ ।
आत्मिक सुखको मूल्य बुझेको भए त मानिसका अहम् र तुच्छ रूपहरू न्यून हुन्थे होला ।
तपाईंको कविहृदयलाई हामीले बाँचेको समयमा केके कुराले बढी पिरोलिरहेको छ ?
– पिरोल्ने बिथोल्ने कुरा त बाँचिरहँदा नै आउने भए । जहाँसम्म कविहृदयको कुरा छ, मेरो मनमा उठिरहने कुरा के छ भने प्राणीको रूपमा मानिसको यात्रा कहाँसम्म पुग्नेहोला । मानिस कतिसम्म सोच्न र गर्नसक्ने हुनेहोला । धर्तीमा कुनै सिमाना नरहुन् भन्ने सोच सबैमा कहिले आउला र के त्यो सम्भव होला । प्राकृतिक शक्तिको सीमा के होला । मान्छेले मान्छे चिन्ने दिन कहिले आउला । धर्मको नाउँमा द्वन्द्व कहिलेसम्म चलिरहनेहोला । मानिस चराझैँ स्वतन्त्र र प्रकृति उन्मुख हुनसके जीवन कति सौम्य हुन्थ्यो होला । आकाशको गहिराइमा के छ होला । दुनियाँ पैसाको खेलमा कहिलेसम्म बन्द रहने होला । आफूले आफैलाई चिन्ने फुर्सद कहिले मिल्ला । इत्यादि ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न । मन लागेको उत्तर दिनुहोस् ।
– अलिकति कविताका कुरा गर्न मन थियो । कुनै दिन गरौँला । अनि कम्तीमा तपाईँजस्तो जुझारु मान्छेसँग बेलाबेला भेट हुनसके लेखनले गति लिन्थ्यो । नेपाली लेखन परम्परामा संवेदनशीलताको कमी छ । गहिराइ कम छ । त्यसको पूर्ति तपाईँहरूजस्ता केही नयाँ गरौँ, बलियो गरौँ भन्ने हुटहुटी भएका सर्जकहरू चाहिएको छ । सबै मिलेर जाग्ने प्रयास गरौँ । केही नयाँ गरौँ । नेपाली साहित्य बलियो पारौँ । ‘बग्दैबग्दै’ कृति पढेर राय पाऊँ । नमस्कार !
सम्झनाका लागि हजुरलाई धन्यवाद !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।