राजा विचित्रवीर्यको अकाल–मृत्यु भएपछि उनकी जेठी रानी अम्बिकाको क्षेत्रबाट नियोग–विधिले महर्षि वेदव्यासका समागमद्वारा एक पुत्रको जन्म भयो । ती अम्बिका–पुत्र राजा धृतराष्ट्र थिए, जो दुर्दैववश मातृ–दोषका कारण जन्मान्ध हुन पुगे । ती धृतराष्ट्रको पति–परायणा युवती गान्धारीसँग बिहा भयो । तिनबाट उनका जम्मा एक सय एक सन्तान जन्मिए । ती थिए– दुर्योधन आदि सय भाइ छोरा र दुःशला  नाम भएकी एउटी छोरी ।

धृतराष्ट्रको एउटी वैश्यजातीय दासी स्त्रीसँग पनि समागम भएको थियो । तिनबाट पनि एक छोरो जन्मियो : युयुत्सु ।

यसरी राजा धृतराष्ट्र जम्मा १०२ सन्तानका  पिता बने ।

…..

यहाँनेरि प्रश्न उठ्दछ– गान्धारीले कसरी १०० भाइ छोरा र एक छोरी जन्माइन् ?

यसै प्रश्नबाट आजको यस रोचक उपाख्यानका लागि भावभूमि तैयार हुन्छ ।

कुनै एक समय महर्षि वेदव्यास भोक र थकाईले लखतरान परेर राजा धृतराष्ट्रकहाँ आइपुगेका थिए । महारानी गान्धारी अतिथि–परायणा थिइन् । उनले ती ऋषिलाई स्वादिष्ट भोजन र आनन्दकर विश्रामको व्यवस्था गरिदिएर सन्तुष्ट बनाइन् । प्रसन्न–मना महर्षि वेदव्यासले गान्धारीको उत्तम कोटिको सेवाबाट प्रसन्न भएर उनलाई कामनानुरूप वर दिने इच्छा प्रकट गरे । अनि गान्धारीले अन्तर्मनको एकान्त कुनामा पलाएको मनोकांक्षा व्यक्त गर्दै व्यासजीसँग आफ्ना पतिदेव जस्तै पराक्रमी १०० पुत्र मागिन् । व्यासजी तथास्तु ! भनेर अन्तर्हित भए ।

यथासमय गान्धारीले धृतराष्ट्रसँग समागम गरेर गर्भधारण गरिन् । दुई वर्ष बिते । गर्भ रही नै रह्यो तर कुनै सन्तान जन्मेन । यसै बीच गान्धारीले के थाहा पाइन् भने– उता आफ्नी देउरानी कुन्तीले देवतुल्य सुन्दर छोरो जन्माइछन् । उनका मनमा तीव्र ईर्ष्याभाव उत्पन्न भयो । ईर्ष्याग्निमा दग्ध भएपछि उनलाई एकदमै औडाहा भयो, अरु केही सुझेन, अत्यन्त आवेगमा आएर उनले दुई वर्षदेखि निष्क्रिय भएर बसेको आफ्नै उदरस्थ गर्भमा आफैंले आघात गरिन् । तत्काल योनिविवरबाट एक मांसपिण्ड निस्कियो, त्यो फलामको डल्लो जस्तो कडा थियो । उनी निराश भइन् र त्यो लौहकर्कश मांसपिण्ड फ्याँकिदिने विचार गरिन् । तर, दैव–संयोगले त्यसैबेला उनलाई व्यासको वचन याद आयो । उनले व्यासलाई एकाग्र भावले स्मरण गरिन् । तत्काल महर्षि द्वैपायन वेदव्यास त्यहाँ प्रकट भए । उनलाई सादर प्रणामपूर्वक गान्धारीले सारा वृत्तान्त बेलिविस्तार लगाइन् । व्यासले भने– मैले यसै हँसी–मजाकको भावमा भनेको कुरा पनि कहिल्यै असत्य हुँदैन भने यो त मैले तिमीलाई समस्त कल्याण–कामनाका साथ दिएको वर हो । कसरी असत्य हुन्छ र ? बरु तिमी एउटा काम गर । सय वटा घडा लेऊ र तिनलाई घिउले भर । अनि तिनलाई एकदमै गोप्य र सुरक्षित स्थानमा राख्ने व्यवस्था गर । अब पहिले यस मांसपिण्डलाई  शीतल जलले सिञ्चन गर त !

गान्धारीले आफ्नै गर्भबाट निस्किएको त्यस कठोर मासुको डल्लोमा जल–सिञ्चन गर्नासाथ त्यो तत्काल टुक्रिन थाल्यो र हेर्दाहेर्दै त्यो सय टुक्रा भयो ।  ती बूढीऔंलाका टुप्पाजत्रा सयवटा गर्भका रूपमा परिणत भए । गान्धारीलाई अनायास मनभित्र कतै केही कमी भएझैँ लाग्यो । अनि उनले व्यासलाई भनिन् : हे महर्षि ! मैले अब सय भाइ छोरा पाउने भएँ, म तृप्त भएँ । तर यिनका बीच छोरीको अभाव मलाई खडकिरहेको छ । कृपया एउटी छोरी पनि भए मेरो कोख सफल हुने थियो ।

गान्धारीको यो आकांक्षा बुझेर वेदव्यासले तिनै मांसखण्डबाट फेरि एक टुक्रा निकालेर अर्को घृतपात्रमा राख्न लगाए र भने– लौ, यसबाट तिमीलाई पुत्री–लाभ हुनेछ । अनि व्यासको आज्ञानुसार नै  ती लघु मांसपिण्डलाई तिनै एक सय एक वटा घृतपूर्ण घडामा स्थापित गरेर बिर्को बन्द गरी गान्धारीले सुरक्षित ठाउँमा गोप्य रूपले राख्ने व्यवस्था गरिन् । अनि व्यासले भने– अब अरु यति नै समयसम्म, अर्थात् दुई वर्षसम्म तिमी प्रतीक्षा गर । त्यसपछि जुन क्रममा यी राखिएका छन् त्यसै क्रममा यिनको बिर्को खोलेर हेर । तिम्रो समस्त मनोकांक्षा पूर्ण हुनेछ, तथास्तु ! – यति भनेर वेदव्यास त्यहाँबाट अन्तर्हित भई हिमालयतिर तपस्या गर्न गए ।

नभन्दै ठीक दुई वर्ष पुगेपछि गान्धारीले पहिलो घडाको बिर्को उघारिन् । त्यहाँबाट एक तेजस्वी बालक जन्मियो, त्यो थियो– दुर्योधन । कुन्तीपुत्र युधिष्ठिर भन्दा त्यो दुई वर्ष कान्छो थियो । त्यसै समय उता युधिष्ठिरका भाइ भीमसेन जन्मिए । यसरी दुर्योधन र भीमसेन एउटै उमेरका भए ।

दुर्योधनको जन्म हुनासाथ धेरै अमंगलकारी लक्षणहरू देखा पर्न थाले । पहिले एउटा गधा कर्णभेदी स्वरमा ढेंचूँ गर्न थाल्यो, पछि उसका सबै एक बथान साथीहरूले पनि स्वरमा स्वर मिलाउन थाले । कर्णकटु ध्वनिले सारा वातावरण कोलाहलमय र अत्यन्त भयावह भयो । अनि त के थियो– गिद्ध, स्याल, काग आदि पशुपंक्षी पनि रुखो स्वर निकालेर चिच्याउन थाले । एक्कासी ठूलो आँधीबेहरी चल्यो । समस्त वातावरण यकायक रनक्क तात्यो । त्यो कुलक्षण थाहा पाएर राजा धृतराष्ट्र आत्तिए र सारा बन्धुबान्धव र कुरुवंशीय मान्यजन अनि मित्रगणलाई एकत्र बोलाएर भन्न थाले– हे आदरणीय गुरुजन ! हाम्रा कुलको कीर्ति बढाउने पाण्डुपुत्र राजकुमार युधिष्ठिर नै ज्येष्ठ हो त्यसैले उसले नै राज्य पाउनेछ, यसमा त मेरो केही भन्नु छैन । तर, त्यसपछि त यो मेरो छोरो नै जेठो हो नि त, के यो पनि राजा बन्न पाउँछ ? यस विषयमा गम्भीर बनेर तपाईँहरूले विचार गरी मलाई भन्नुपर्यो । धृतराष्ट्रले यति भन्न पनि रामरी भ्याएका थिएनन् चारै दिशा–विदिशामा एकसाथ भयंकर मांसाहारी क्रूर जीवजन्तुहरूको गर्जना सुनिन लाग्यो । स्यालहरू अपशकुन लाउँदै हुईँया गर्न थाले ।

यसरी उत्पात बढ्दै गएको देखेर परमज्ञानी नीतिज्ञ महात्मा विदुरले यस्तो घोषणा गरे : हे राजन्, तपाईंको यो जेठो छोरो जन्मनासाथ भयंकर अपशकुनहरू देखापरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने– यसले हाम्रो समग्र वंशको नै उच्छेद गर्नेछ । यसलाई तत्काल परित्याग गर्नु सर्वथा समुचित हुनेछ । यसरी कदाचित् हामी सुरक्षित रहन सक्नेछौं । अन्यथा भविष्यमा यसले भयंकर उपद्रव खडा गर्नेछ, यसमा कुनै सन्देहको लेश पनि छैन । हे राजन्, तपाईँका बाँकी उनान्सय पुत्र रहून् । तिनबाट कुनै अमंगल हुने छैन । तर, यो जेठो छोरालाई चाहिँ तपाईँले कुलका लागि त्याग गर्नै पर्छ । किनभने–

त्यजेदेकं कुलस्यार्थे ग्रामस्यार्थे कुलं त्यजेत् ।

ग्रामं जनपदस्यार्थे ह्यात्मार्थे पृथिवीं त्यजेत् ।।

तर, महाज्ञानी विदुरका कुरा राजा धृतराष्ट्रले सुनेको नसुन्यै गरे, गज–निमीलिका गरे । एक कानले सुने, अर्का कानले उडाइदिए । पुत्र–मोहले गर्दा उसै पनि जन्मान्ध धृतराष्ट्रलाई विवेकान्ध पनि बनाइदिएको थियो । यसरी राजा धृतराष्ट्रका एक सय भाइ छोरा र एक छोरी भए । सबैभन्दा कान्छी छोरीको नाम रह्यो– दुःशला ।

यसका अतिरिक्त गान्धारी गर्भवती भएका बेला धृतराष्ट्रले एक वैश्यजातीय दासीसँग समागम गरेका थिए । त्यसै दासीबाट उनको एक अवैध पुत्र जन्मियो, त्यसको नाम रह्यो– युयुत्सु । त्यो ज्येष्ठता–क्रममा दुर्योधनपछिको माइलो छोरो थियो । तर, वैधानिक पुत्र नभएकाले सय भाइहरूमा उसको गन्ती कहिल्यै भएन ।

यसरी राजा धृतराष्ट्रका दुर्योधन आदि सय भाइ छोरा, दुःशला नाम गरेकी कान्छी छोरी र एक वैश्यापुत्र युयुत्सु समेत गरेर जम्मा १०२ सन्तान भए ।

….

महाभारत आदिपर्व ११४ र ११५ अध्यायमा आधृत ।

ॐ अक्षरालयः । २०८१ कार्तिक मसान्त, शुक्रवार ।