यज्ञविघ्नभूत जरासन्ध र शिशुपालको वध भइसकेपछि महाराज युधिष्ठिरको संकल्पानुसार राजसूय यज्ञ निर्विघ्नतापूर्वक सुसम्पन्न भयो ।
यस राजसूय यज्ञमा सर्वत्र परम–समृद्धिको चमत्कार देखिन्थ्यो ।
यज्ञमण्डपको मूलद्वार सुवर्णमय थियो, त्यहाँ सदा सूर्योदय भए झैं लाग्दथ्यो । त्यस तेजोमय मूलद्वारबाट भित्रतिर हेर्दा त्यो विशाल यज्ञमण्डप समस्त ग्रहगणले देदीप्यमान महाकाशजस्तो प्रतीत हुन्थ्यो । त्यहाँ शय्या, आशन र क्रीडाभवनहरूको अपार विस्तार थियो । जताततै बडे बडे घडा, कराही, कलश आदि नानाभाँतिका पात्रहरू देखिन्थे– ती सबै स्वर्णमय थिए । त्यस महान् यज्ञमा राज–सेवकगण ब्राह्मणवर्गका सामू स्वादिष्ट व्यञ्जनहरू पस्किरहन्थे । भोजन ग्रहण गर्ने ब्राह्मणहरूको संख्या जब एक लाख पुग्दथ्यो अनि त्यसको प्रमाणस्वरूप दिव्य शंख फुकिन्थ्यो, जसको ध्वनि दिग्दिगन्तसम्म गुञ्जायमान हुने गर्दथ्यो । दिनभरिमा कैयौं पटक यस्तो शंखध्वनि त्यहाँ गुँजिरहन्थ्यो, यो सुनेर त्यहाँ आएका सहभागीहरू परम–विस्मयमा पर्दथे ।
हजारौं हृष्टपुष्ट सत्पुरुषहरू यज्ञकार्य सम्पन्न गर्न अनवरत कर्म गरिरहन्थे । त्यहाँ भोजनका निम्ति अन्नको पर्वताकार थुप्रो लागिरहेको देखिन्थ्यो । मानिसहरू छक्क परेर हेर्दथे : दूध दहीको खोलो बगिरहको हुन्थ्यो, घिउका बडे बडे कुण्डहरू लबालब भरिएर छचल्किरहेका देखिन्थे । सारा जम्बूद्वीपबाट भेला भएका मणिमय कुण्डल र हारले सुशोभित नरेशहरू पूज्य ब्राह्मणदेवलाई भोजन गराउन व्यस्त रहन्थे । अनेकौं स्वादिष्ट व्यञ्जन आकण्ठ खाइ–पिइ सकेर ती परम सन्तृप्त एवम् परम–प्रमुदित देखिन्थे ।
उता ऋत्विक्गण शास्त्रीय विधिअनुकूल महाराज युधिष्ठिरलाई यज्ञानुष्ठान गराउन सन्नद्ध थिए । विशाल यज्ञकुण्डमा पवित्र आहुति दिइँदै थियो । स्वाहाकारको पावन ध्वनिले यज्ञक्षेत्र गुञ्जायमान थियो । त्यहाँ मुख्यरूपेण व्यास र धौम्य आदि सोह्र जना ऋषिहरू प्रधान ऋत्विक् थिए । त्यस यज्ञ मण्डपका सबै सदस्यहरू षडङ्ग वेदका ज्ञाता, बहुश्रुत, व्रतनिष्ठ, निष्पाप, क्षमाशील र समस्त उत्तम मानवीय गुणहरूले ओतप्रोत थिए । त्यस यज्ञमा कोही पनि दीन, दरिद्र, दुःखी, मूढ र भोको प्यासो थिएन । त्यस राजसूय महायज्ञमा सदा भगवत्–कथा र प्रवचन चलिरहन्थ्यो त्यो मन्त्रमुग्ध बनेर सुनिरहेका असंख्य श्रोतागण परममुदित बन्दथे । देवता, असूर, यक्ष, नाग, दिव्य मानव तथा विद्याधरगणले भरिभराउ बनेको त्यो महायज्ञ अत्यन्त समृद्ध र शोभाशाली थियो ।
त्यहाँ गन्धर्व, अप्सरा, देवता, मुनिवृन्द किन्नर, किम्पुरुष र यक्षगणको भव्य उपस्थितिले यस्तो लाग्दथ्यो मानौं यही देवलोक हो । त्यहाँ सहस्रौं भेरी, मृदंग, मड्डुक, गोमुख, शृंग, वंशी र शंखको दिव्यनाद सदा गुँजिरहन्थ्यो ।
त्यस महायज्ञमा भीष्म, द्रोण, दुर्योधन आदि समस्त कौरवगण, सारा वृष्णीवंशीय सज्जन तथा समस्त पांचालहरू समेत सेवकसरह बनेर यथायोग्य सबै काम आफ्नै हातले सम्पन्न गर्दथे । धर्मराज युधिष्ठिर त्यस यज्ञमा हरबखत वस्त्र, कम्बल, स्वर्णपदक, स्वर्णपात्र र अनेक भव्य आभूषणहरू दान गरिरहन्थे । उनले समस्त ब्राह्मणवर्गलाई सहस्रकोटि स्वर्णमुद्रा समर्पित गरे । व्यास, धौम्य, महामति नारद, सुमन्तु, जैमिनि, पैल, वैशम्पायन, याज्ञवल्क्य, कठ र महातेजस्वी कलाप यी सबै सर्वश्रेष्ठ ब्राह्ममणलाई महाराज युधिष्ठिरले अत्यन्त मनोयोगका साथ पूजा सत्कार र अर्चना गरी प्रशस्त दान दक्षिणा अर्पण गरेर परमसन्तृप्त तुल्याए । उनले यस्तो यज्ञानुष्ठान गरे– जो न भूतो न भविष्यति को उक्तिलाई चरितार्थ तुल्याउन समर्थ थियो ।
यसरी अत्यन्त भव्यताका साथ राजसूय यज्ञ सम्पन्न भयो । अन्त्यमा अत्यन्त विनयका साथ महाराज युधिष्ठिरले यज्ञका सकल विघ्नविनाशक भगवान् श्रीकृष्णको वन्दना–अर्चना गरे । बलदेव र भीष्म पितामहको पूजन गरे । शंख–चक्र–गदा–पद्मधारी महाबाहु श्रीकृष्णले आरम्भदेखि अन्त्यसम्म त्यस यज्ञको रक्षा गर्नुभएको थियो । यज्ञान्तमा अवभृथस्नान सम्पन्न गरिसकेपछि त्यहाँ उपस्थित विशाल राजसमूहका प्रधान महाराजहरूले महाराज युधिष्ठिरका सामु गएर भने : हे धर्मज्ञ युधिष्ठिर महाराज, यो परम सौभाग्यको कुरा हो कि हजुरले सम्राट्को सर्वोच्च पद प्राप्त गर्नुभएको छ । साथसाथै उत्तम यज्ञ सम्पन्न गरेर महान् धर्मको अनुष्ठान पनि सम्पन्न गर्नुभएको छ । हजुरले हर तरहले सेवा–सुविधाका साथ अभीष्ट पदार्थ सुलभ गराएर हाम्रो ठूलो सम्मान पनि गर्नुभएको छ । हामी सबै हजुरप्रति हार्दिक कृतज्ञता निवेदन गर्दछौं । अब हामीलाई आ–आफ्ना राज्यतिर फर्कन अनुमति दिनुहोस् ।
अनि महाराज युधिष्ठिरले आफ्ना भाइहरूलाई ती सबै राजाहरूलाई सम्मानपूर्वक तिनका राज्यमा पुर्याएर आउन अह्राउनुभयो । प्रतापी धृष्टद्युम्न राजा विराट्सँग गए, धनञ्जयले महारथी द्रुपदको अनुसरण गरे, महाबली भीमसेन भीष्म र धृतराष्ट्रलाई पुर्याउन गए, सहदेव द्रोणाचार्य र गुरुपुत्र अश्वत्थामालाई पुर्याउन गए, सुबल र उनका छोराका साथ नकुल गए, द्रौपदीका पाँच भाइ छोरा र अभिमन्यु अरु समस्त पर्वतीय प्रदेशका राजाहरूलाई पुर्याउन गए, यसैगरी समस्त ब्राह्मणदेव र अन्य आगन्तुकगण पनि पूजा सत्कार ग्रहण गरेर त्यहाँबाट विदा हुन लागे ।
अन्त्यमा भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभयो:
हे कुरुनन्दन, अब म पनि आज्ञा चाहन्छु, मलाई द्वारकापुरी जाने अनुमति दिनुहोस् । सौभाग्यले गर्दा हजुरले सबै यज्ञहरूमा उत्तम राजसूय यज्ञ भव्य रूपमा सम्पादन गर्नुभयो ।
महाराज युधिष्ठिरले भने : हे गोविन्द, हजुरकै कृपाले मैले यो श्रेष्ठ यज्ञ सम्पन्न गर्न सकें । समस्त क्षत्रियमण्डल पनि हजुरकै प्रसादले मेरा अधीन भयो र सबै उत्तमोत्तम रत्नहरूको उपहार लिएर आए । हे अनघ, हजुरलाई जानुहोस् भनेर म कसरी भनूँ ? हजुरविना म कहिल्यै प्रसन्न हुन सक्तिनँ । तर, हजुर द्वारकापुरी जानु पनि परमआवश्यक छ । उनका कुरा सुनेर श्रीकृष्णले उनलाई पनि साथमा लिएर आफ्नी फुपू कुन्तीका नजीक गएर भन्नुभयो : आदरणीय फुपू, हजुरका छोराहरूले अब साम्राज्य प्राप्त गरेका छन्, उनीहरूका मनोरथ पूरा भएका छन्, यी सबै धनधान्य र रत्नहरूले सम्पन्न छन्, अब हजुर प्रसन्नतापूर्वक रहनुहोस् । अब हजुरको आज्ञा पाएर म द्वारकापुरी जान चाहन्छु ।
यसरी कुन्तीको आज्ञा लिएर श्रीकृष्णले सुभद्रा र द्रौपदीलाई पनि भेट्नुभयो र मधुर वचनले ती दुवैलाई प्रसन्न तुल्याउनुभयो । त्यसपछि उहाँ युधिष्ठिरका साथ अन्तःपुरबाट बाहिर निस्कनुभयो ।
तदनन्तर स्नान र जप सम्पन्न गरेर ब्राह्मणवर्गबाट स्वस्तिवाचन गराउनुभयो । त्यसपछि महाबाहु दारुक मेघका समान नीला रंगका अश्वले सुसज्जित सुन्दर रथ हाँकेर उहाँका सेवामा उपस्थित भए । गरुड–ध्वजले सुशोभित उक्त तेजस्वी रथ उपस्थित भएको देखेर कमलनयन श्रीकृष्णले त्यसलाई दक्षिणावर्त प्रदक्षिणा गर्नुभयो र त्यस रथमा आरुढ भएर द्वारकापुरीतिर प्रस्थान गर्न उद्यत हुनुभयो ।
सात्यकि र कृतवर्मा शीघ्रतासाथ त्यस रथमा आरुढ भएर श्रीकृष्णको सेवामा चमर हल्लाउन लागे । देवेश्वर बलदेवजी तथा सहस्रौं यदुवंशीहरू धर्मपुत्र युधिष्ठिरबाट पूजित भएर राजोचित सम्मानका साथ विदा हुनलाग्नुभयो ।
अन्त्यमा श्रीकृष्णले महाराज युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुभयो :
हे राजन्, अब तपाईं सदा सावधान भएर प्रजाजनको पालनमा लागिरहनुहोला । जसरी सकल प्राणीहरू मेघलाई, सकल पक्षीगण महान् वृक्षलाई र समस्त देवतागण इन्द्रलाई आफ्नो जीवनको आधार मानेर तिनको आश्रय लिन्छन् त्यसै गरी तपाईंका सबै बन्धु–बान्धव जीवन–निर्वाहका लागि तपाईंकै आश्रय लिऊन् ।
एवं रीतले शुभ वाणी र शुभ भावना प्रकट गरेर उहाँ विदा हुनुभयो ।
यसरी यदुवंशशिरोमणि श्रीकृष्ण द्वारका गइसकेपछि पनि राजा दुर्योधन तथा सुबलपुत्र शकुनि यी दुवै जनाचाहिं त्यसै दिव्य सभा–भवनमै बसिरहे ।
……
२०८२ साल भाद्र ६ गते शुक्रवार,
ॐ अक्षरालयः, भादगाउँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










