यज्ञविघ्नभूत जरासन्ध र शिशुपालको वध भइसकेपछि महाराज युधिष्ठिरको संकल्पानुसार राजसूय यज्ञ निर्विघ्नतापूर्वक सुसम्पन्न भयो ।

यस राजसूय यज्ञमा सर्वत्र परम–समृद्धिको चमत्कार देखिन्थ्यो ।

यज्ञमण्डपको मूलद्वार सुवर्णमय थियो, त्यहाँ सदा सूर्योदय भए झैं लाग्दथ्यो । त्यस तेजोमय मूलद्वारबाट भित्रतिर हेर्दा त्यो विशाल यज्ञमण्डप समस्त ग्रहगणले देदीप्यमान महाकाशजस्तो प्रतीत हुन्थ्यो । त्यहाँ शय्या, आशन र क्रीडाभवनहरूको अपार विस्तार थियो । जताततै बडे बडे घडा, कराही, कलश आदि नानाभाँतिका पात्रहरू देखिन्थे– ती सबै स्वर्णमय थिए । त्यस महान् यज्ञमा राज–सेवकगण ब्राह्मणवर्गका सामू स्वादिष्ट व्यञ्जनहरू पस्किरहन्थे । भोजन ग्रहण गर्ने ब्राह्मणहरूको संख्या जब एक लाख पुग्दथ्यो अनि त्यसको प्रमाणस्वरूप दिव्य शंख फुकिन्थ्यो, जसको ध्वनि दिग्दिगन्तसम्म गुञ्जायमान हुने गर्दथ्यो । दिनभरिमा कैयौं पटक यस्तो शंखध्वनि त्यहाँ गुँजिरहन्थ्यो, यो सुनेर त्यहाँ आएका सहभागीहरू परम–विस्मयमा पर्दथे ।

हजारौं हृष्टपुष्ट सत्पुरुषहरू यज्ञकार्य सम्पन्न गर्न अनवरत कर्म गरिरहन्थे । त्यहाँ भोजनका निम्ति अन्नको पर्वताकार थुप्रो लागिरहेको देखिन्थ्यो । मानिसहरू छक्क परेर हेर्दथे : दूध दहीको खोलो बगिरहको हुन्थ्यो, घिउका बडे बडे कुण्डहरू लबालब भरिएर छचल्किरहेका देखिन्थे । सारा जम्बूद्वीपबाट भेला भएका मणिमय कुण्डल र हारले सुशोभित नरेशहरू पूज्य ब्राह्मणदेवलाई भोजन गराउन व्यस्त रहन्थे । अनेकौं स्वादिष्ट व्यञ्जन आकण्ठ खाइ–पिइ सकेर ती परम सन्तृप्त एवम् परम–प्रमुदित देखिन्थे ।

उता ऋत्विक्गण शास्त्रीय विधिअनुकूल महाराज युधिष्ठिरलाई यज्ञानुष्ठान गराउन सन्नद्ध थिए । विशाल यज्ञकुण्डमा पवित्र आहुति दिइँदै थियो । स्वाहाकारको पावन ध्वनिले यज्ञक्षेत्र गुञ्जायमान थियो । त्यहाँ मुख्यरूपेण व्यास र धौम्य आदि सोह्र जना ऋषिहरू प्रधान ऋत्विक् थिए । त्यस यज्ञ मण्डपका सबै सदस्यहरू षडङ्ग वेदका ज्ञाता, बहुश्रुत, व्रतनिष्ठ, निष्पाप, क्षमाशील र समस्त उत्तम मानवीय गुणहरूले ओतप्रोत थिए । त्यस यज्ञमा कोही पनि दीन, दरिद्र, दुःखी, मूढ र भोको प्यासो थिएन । त्यस राजसूय महायज्ञमा सदा भगवत्–कथा र प्रवचन चलिरहन्थ्यो त्यो मन्त्रमुग्ध बनेर सुनिरहेका असंख्य श्रोतागण परममुदित बन्दथे । देवता, असूर, यक्ष, नाग, दिव्य मानव तथा विद्याधरगणले भरिभराउ बनेको त्यो महायज्ञ अत्यन्त समृद्ध र शोभाशाली थियो ।

त्यहाँ गन्धर्व, अप्सरा, देवता, मुनिवृन्द किन्नर, किम्पुरुष र यक्षगणको भव्य उपस्थितिले यस्तो लाग्दथ्यो मानौं यही देवलोक हो । त्यहाँ सहस्रौं भेरी, मृदंग, मड्डुक, गोमुख, शृंग, वंशी र शंखको दिव्यनाद सदा गुँजिरहन्थ्यो ।

त्यस महायज्ञमा भीष्म, द्रोण, दुर्योधन आदि समस्त कौरवगण, सारा वृष्णीवंशीय सज्जन तथा समस्त पांचालहरू समेत सेवकसरह बनेर यथायोग्य सबै काम आफ्नै हातले सम्पन्न गर्दथे । धर्मराज युधिष्ठिर त्यस यज्ञमा हरबखत वस्त्र, कम्बल, स्वर्णपदक, स्वर्णपात्र र अनेक भव्य आभूषणहरू दान गरिरहन्थे । उनले समस्त ब्राह्मणवर्गलाई सहस्रकोटि स्वर्णमुद्रा समर्पित गरे । व्यास, धौम्य, महामति नारद, सुमन्तु, जैमिनि, पैल, वैशम्पायन, याज्ञवल्क्य, कठ र महातेजस्वी कलाप यी सबै सर्वश्रेष्ठ ब्राह्ममणलाई महाराज युधिष्ठिरले अत्यन्त मनोयोगका साथ पूजा सत्कार र अर्चना गरी प्रशस्त दान दक्षिणा अर्पण गरेर परमसन्तृप्त तुल्याए । उनले यस्तो यज्ञानुष्ठान गरे– जो न भूतो न भविष्यति को उक्तिलाई चरितार्थ तुल्याउन समर्थ थियो ।

यसरी अत्यन्त भव्यताका साथ राजसूय यज्ञ सम्पन्न भयो । अन्त्यमा अत्यन्त विनयका साथ महाराज युधिष्ठिरले यज्ञका सकल विघ्नविनाशक भगवान् श्रीकृष्णको वन्दना–अर्चना गरे । बलदेव र भीष्म पितामहको पूजन गरे । शंख–चक्र–गदा–पद्मधारी महाबाहु श्रीकृष्णले आरम्भदेखि अन्त्यसम्म त्यस यज्ञको रक्षा गर्नुभएको थियो । यज्ञान्तमा अवभृथस्नान सम्पन्न गरिसकेपछि त्यहाँ उपस्थित विशाल राजसमूहका प्रधान महाराजहरूले महाराज युधिष्ठिरका सामु गएर भने : हे धर्मज्ञ युधिष्ठिर महाराज, यो परम सौभाग्यको कुरा हो कि हजुरले सम्राट्को सर्वोच्च पद प्राप्त गर्नुभएको साथसाथै उत्तम यज्ञ सम्पन्न गरेर महान् धर्मको अनुष्ठान पनि सम्पन्न गर्नुभएको हजुरले हर तरहले सेवासुविधाका साथ अभीष्ट पदार्थ सुलभ गराएर हाम्रो ठूलो सम्मान पनि गर्नुभएको हामी सबै हजुरप्रति हार्दिक कृतज्ञता निवेदन गर्दछौं अब हामीलाई फ्ना राज्यतिर फर्कन अनुमति दिनुहोस्

अनि महाराज युधिष्ठिरले आफ्ना भाइहरूलाई ती सबै राजाहरूलाई सम्मानपूर्वक तिनका राज्यमा पुर्‍याएर आउन अह्राउनुभयो । प्रतापी धृष्टद्युम्न राजा विराट्सँग गए, धनञ्जयले महारथी द्रुपदको अनुसरण गरे, महाबली भीमसेन भीष्म र धृतराष्ट्रलाई पुर्‍याउन गए, सहदेव द्रोणाचार्य र गुरुपुत्र अश्वत्थामालाई पुर्‍याउन गए, सुबल र उनका छोराका साथ नकुल गए, द्रौपदीका पाँच भाइ छोरा र अभिमन्यु अरु समस्त पर्वतीय प्रदेशका राजाहरूलाई पुर्‍याउन गए, यसैगरी समस्त ब्राह्मणदेव र अन्य आगन्तुकगण पनि पूजा सत्कार ग्रहण गरेर त्यहाँबाट विदा हुन लागे ।

अन्त्यमा भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई भन्नुभयो:

हे कुरुनन्दन, अब पनि आज्ञा चाहन्छु, मलाई द्वारकापुरी जाने अनुमति दिनुहोस् सौभाग्यले गर्दा हजुरले सबै यज्ञहरूमा उत्तम राजसूय यज्ञ भव्य रूपमा सम्पादन गर्नुभयो

महाराज युधिष्ठिरले भने : हे गोविन्द, हजुरकै कृपाले मैले यो श्रेष्ठ यज्ञ सम्पन्न गर्न सकें समस्त क्षत्रियमण्डल पनि हजुरकै प्रसादले मेरा अधीन भयो सबै उत्तमोत्तम रत्नहरूको उपहार लिएर आए हे अनघ, हजुरलाई जानुहोस् भनेर कसरी भनूँ ? हजुरविना कहिल्यै प्रसन्न हुन सक्तिनँ तर, हजुर द्वारकापुरी जानु पनि परमआवश्यक उनका कुरा सुनेर श्रीकृष्णले उनलाई पनि साथमा लिएर आफ्नी फुपू कुन्तीका नजीक गएर भन्नुभयो : आदरणीय फुपू, हजुरका छोराहरूले अब साम्राज्य प्राप्त गरेका छन्, उनीहरूका मनोरथ पूरा भएका छन्, यी सबै धनधान्य रत्नहरूले सम्पन्न छन्, अब हजुर प्रसन्नतापूर्वक रहनुहोस् अब हजुरको आज्ञा पाएर द्वारकापुरी जान चाहन्छु

यसरी कुन्तीको आज्ञा लिएर श्रीकृष्णले सुभद्रा र द्रौपदीलाई पनि भेट्नुभयो र मधुर वचनले ती दुवैलाई प्रसन्न तुल्याउनुभयो । त्यसपछि उहाँ युधिष्ठिरका साथ अन्तःपुरबाट बाहिर निस्कनुभयो ।

तदनन्तर स्नान र जप सम्पन्न गरेर ब्राह्मणवर्गबाट स्वस्तिवाचन गराउनुभयो । त्यसपछि महाबाहु दारुक मेघका समान नीला रंगका अश्वले सुसज्जित सुन्दर रथ हाँकेर उहाँका सेवामा उपस्थित भए । गरुड–ध्वजले सुशोभित उक्त तेजस्वी रथ उपस्थित भएको देखेर कमलनयन श्रीकृष्णले त्यसलाई दक्षिणावर्त प्रदक्षिणा गर्नुभयो र त्यस रथमा आरुढ भएर द्वारकापुरीतिर प्रस्थान गर्न उद्यत हुनुभयो ।

सात्यकि र कृतवर्मा शीघ्रतासाथ त्यस रथमा आरुढ भएर श्रीकृष्णको सेवामा चमर हल्लाउन लागे । देवेश्वर बलदेवजी तथा सहस्रौं यदुवंशीहरू धर्मपुत्र युधिष्ठिरबाट पूजित भएर राजोचित सम्मानका साथ विदा हुनलाग्नुभयो ।

अन्त्यमा श्रीकृष्णले महाराज युधिष्ठिरलाई सम्बोधन गर्दै भन्नुभयो :

हे राजन्, अब तपाईं सदा सावधान भएर प्रजाजनको पालनमा लागिरहनुहोला जसरी सकल प्राणीहरू मेघलाई, सकल पक्षीगण महान् वृक्षलाई समस्त देवतागण इन्द्रलाई फ्नो जीवनको आधार मानेर तिनको आश्रय लिन्छन् त्यसै गरी तपाईंका सबै बन्धुबान्धव जीवननिर्वाहका लागि तपाईंकै आश्रय लिऊन्  

एवं रीतले शुभ वाणी र शुभ भावना प्रकट गरेर उहाँ विदा हुनुभयो ।

यसरी यदुवंशशिरोमणि श्रीकृष्ण द्वारका गइसकेपछि पनि राजा दुर्योधन तथा सुबलपुत्र शकुनि यी दुवै जनाचाहिं त्यसै दिव्य सभा–भवनमै बसिरहे ।

……

२०८२ साल भाद्र ६ गते शुक्रवार,

ॐ अक्षरालयः, भादगाउँ ।