मानिस बहुलाउन के बेर लाग्छ र ? बेर लाग्दैन भन्दैमा कोही बहुलाएको तत्कालै देख्ने कमै होलान् । तर बहुलाएको तत्कालै देख्नेहरू पनि छन्, जस्तै ? नरेन्द्रकै छिमेकीहरूलाई लिऊँ । नरेन्द्रकै छिमेकी मात्र किन अरूतिर अरूहरू पनि होलान् बहुलाउन लागेका र बहुलाएको तत्कालै देखेका । तर तिनको हिसाब यहाँ राखिएन । नरेन्द्रकै छिमेकीहरू देखी जान्ने साक्षी भए, किनभने उसलाई सबैले त्यस दिन बहुलाएको देखे । एकाएक बहुलाएको देख्नु पनि एउटा संयोग हो, हिरोसिमामा सर्वनाशी एटम बम पड्केको देख्न पाइएझैं ।
मानिस सद्दे भएर हिंडिरहेको छ अहिले र अहिले तुरुन्तै ऊ बहुलायो ! आनन्द मान्ने कुरो थिएन र देख्न पाइयो भनेर खुशी मान्ने कुरो पनि थिएन । तर मानिसहरू सोचिरहेका हुन्छन्, एक्कासि यो कस्तो रोग लागेको हो ? अस्ति भर्खर टिभीमा मानसिक रोगविशेषज्ञ डा. फणीन्द्र (नाम कल्पित) ले भनेका थिए— ‘विश्वमा मानसिक रोगीहरू बढेर गएका छन् । एउटा अध्ययनको तथ्याङ्क अनुसार…।’
यहाँनिर यो प्रसङ्गलाई धेरै नतन्काएर यहीँ पूर्णविराम लगाउँदा हुन्छ । डा. फणीन्द्रले टिभीमा प्रस्तुत गरेको तथ्याङ्कका आँकडाहरूलाई अनुसरण गरेर मनन गर्ने वा स्मृतिमा राखिरहने श्रोता–दर्शक कमै होलान् । नरेन्द्र स्वयम् पनि बहुलाउने सीमान्तमा पुगेको रहेछ । उसले त यादै राखेन होला । उसको विषय यो थिएन । हातमा समातेको दहीको पोको एक्कासि भुइँमा पछारेर उसले चिच्च्याउँदै भनेको थियो रे, ‘यो संसारमा एक्लै आइयो एक्लै गइन्छ ।’ ऊ त्यसपछि घर फर्केन । बिर्सियो, ऊ एक नाम भएको व्यक्ति हो र उसको घर (डेरा वा कोठा) पनि छ ।
यसमा दुई राय गर्न सकिंदैनथ्यो, जन्मँदा एक्लै जुम्ल्याहा बाहेक ।
जुम्ल्याहा पनि एकपछि अर्को गर्दै आमाको पेटबाट झर्छन् कि क्या हो ? मर्दा पनि एक्लै । एक्लै ? हिरोसिमामा आणविक बम खस्दा त्यसो भइन होला, पक्कै । भीडभाडका बीच मानिसहरूको लास खातका खात एक ठाउँ देखियो । तर आउनु पनि एक्लै जानु पनि एक्लै भन्ने सत्य त स्थापित छ । यो सत्य नरेन्द्रले बोल्दैमा झन् टाठो सत्य भएर आउने त होइन तर उसले जुन किसिमले भनेको थियो, उसलाई देख्नेहरूले भने, ‘बहुलाउने बेलामा मानिसले त्यसरी व्यवहार गर्ने रहेछ । मर्ने बेलामा मात्र मानिस सत्य बोल्छ र सत्यदर्शी हुन्छ भनेको होइन रहेछ, मानिस बहुलाउन लाग्दा पनि त्यस्तो बोल्ने रहेछ ।’
भन्नेहरूले यो भन्न चाहन्थे, उनीहरूको चित्रणलाई श्रोताले स्वतः चित्रात्मक रूपमा आँखा अगाडि ल्याओस् । त्यस्तो सम्भव थिएन । शब्द र चित्रमा निश्चय पनि भेद हुन्छ । चित्रलाई बढी महत्व दिन एक हजार शब्द बराबर एउटा कार्टून चित्र हुन्छ भनिने गरेको छ । अँ, नरेन्द्रलाई पत्नी उसकै शब्दमा ‘स्वास्नी’ भन्न चाँडै बोल्दा ‘मास्टरसाहेब’ को ‘मास्साब’ भएजस्तै ‘स्वान्नी’ भन्थ्यो । उसको यो घरायसी उच्चारण थियो । त उसकी स्वान्नीले भर्खरै उसलाई ठूलै धोका दिएर पोइल गएकी थिई । यसमा पिक्चर सफा रूपमा आउँथ्यो ।
दुईचार दिन त उसले पत्नी पोइल गएको पीडा आँखा अगाडि ब्यान्ड बाजा बजाएर दुलही भित्राएको दृश्य सम्झँदै, खप्यो । पछि उसलाई वास्तवमै उसकी पत्नी अब फर्केर आउन्ने र ब्यान्ड बाजा पनि सदाकालका लागि मौन भएको अनुभव गर्न थालेपछि ऊ अब यस संसारमा एक्लै भयो भन्ने गहिरो गरी महसूस हुँदै आएछ र उसले केही रात छाती दुखेको अनुभव गर्यो । तर त्यसतिर उसले वास्ता गरेन ।
यो त सम्भव थिएन, बहुलाउन लागेको मानिसको पहिले छाती दुख्छदुख्छ भनेर किट्नु । बहुलाउन लागेको मानिसको पहिले छाती दुख्छ वा ऊ एकान्तमा एक्लै रुने गर्छ ? के ठेगान ? हुन पनि सक्छ, नहुन पनि सक्छ । मानिस बहुलाएपछि त्यसको यकिनसाथ बयान गर्न सक्दैन । बहुलाउनु एउटा रोग हो अर्थात् शारीरिक रोग नभएर मानसिक रोग हो भन्ने माने तापनि समयसमयमा अर्द्धविक्षिप्त बालक वा युवक वा वृद्धलाई साङ्लोले बाँधेर खोरमा थुनिराखेको दृश्य-माध्यममा खबर सुन्न र देख्न पाइन्छ । पेपरभन्दा दृश्य-माध्यमकै पहुँच बढी भएको छ ।
अब नरेन्द्र विक्षिप्त अवस्थामा पुगेको विस्तृत विवरणसाथ श्रोता–पाठकले थाहा पाए पनि ऊ बहुलाएपछि यस्तो विवरण दिन उसले सकेन । सक्ने कुरो पनि भएन । ऊ विक्षिप्त भएको उसका छरछिमेकीले पहिले थाहा पाए । उसको असन्तुलित व्यवहार र बोलाइ देखेसुनेपछि तिनलाई लाग्यो, “यो कुनै ‘जेटलेग’ जस्तो बिरामी होला जुन उसकी पत्नी पोइल हिँडेपछि भएको भाउन्ने हो । पछि शनैः शनैः ठीक भइजाला ।” पछि भनेर समयसीमा तोकिएको थिएन । महीना दुई महीना वा साल—छ महीना पनि लाग्न सक्छ ।
नरेन्द्र बहुलाएपछि पसलपसलका पेटीमा बोरा ओढेर सुत्ने भयो । घर फर्केन । उसलाई यो चेत रहेन होला मेरो पनि घर–परिवार छ (घर भन्नाले एकदुई कोठाको एउटा डेरा) भलै त्यसको एक मुख्य सदस्य पत्नी पोइल हिंडिसकेकी छ । त्यस आधारमा उनीहरूले नरेन्द्रको छोरो मानवलाई जुन आठ वर्षको थियो र सरकारी स्कूल आफै जानेआउने गर्थ्यो उसलाई बास पनि दिए र केही दिन राम्रो स्याहारसुसारसाथ पाले पनि ।
अर्को समस्या यो थियो नरेन्द्रकी पत्नीले वर्ष दिनकी छोरी पनि छाडेर हिंडेकी थिई । छोराछोरीको बिचल्ली थियो । खानु थिएन, पिउनु थिएन, जाडोबर्खामा ओत थिएन, न्यानो ओढ्ने थिएन, गर्मी जसोतसो कटिहाले पनि । यो देखियो उसकी पत्नी निष्ठुरी थिई यद्यपि उसका पनि आफ्ना समस्या र वेदना हुँदा हुन् ।
नरेन्द्रका सन्तानको बिचल्लीले पीडित भएको भावना पन्छाएर अलिअलि खुकुलो लागेको बेला छिमेकीले यसो पनि भने— ‘उसकी स्वास्नीका पनि समस्या र वेदना हुँदा हुन् ।’ तर निष्कर्षमा उनीहरूले यही भने सर्वसम्मतसाथ— ‘ऊ एक निष्ठुरी र निर्दयी स्वास्नीमान्छे हो ।’ कताकता यो पनि सुनियो— ‘पापिनी आमा ।’
एक महिला जो नरेन्द्रको डेराछेउमै अर्को कोठा लिएर सपरिवार बस्थी, उसले भनी, ‘पोइले नकराओस् भनेर रातिराति मुखमा झुम्राको बुजो कोचेर कुट्ने खँदार्ने गरेपछि को बसिरहन्छ त्यस्ता लोग्नेसित । मै भए पनि कुटाइ खाएको अर्को बिहान हिंडिदिने थिएँ ।’ यस्तो भन्दा उसले आफ्नो पोइलाई छड्के आँखाले उसको प्रतिक्रिया जान्न हेरिरहेकी हुन्थी । पोइले सुन्थ्यो र चुरोट निभाएर अर्कोतिर हिंड्थ्यो— ‘यस्ताका कुराले तर्सिने भए मैले पनि उहिले अर्की ल्याइसक्थेँ’ भन्ने मनमनै गुन्दै ।
नरेन्द्रकी पत्नी माया एक औसत रूपकी महिला थिई । बिहे त उसको नरेन्द्रका साथमा भएको थियो । यसैले त उनीहरू दुई पतिपत्नी भए । पछि गार्हस्थ्य धर्मको निर्वाहमा एक छोरा र एक छोरी पनि जन्मिए । माया अत्यन्त सरल स्वभावकी छ भन्थ्यो नरेन्द्र ।
बहुलाएपछि त केही कुरो भएन, तर बहुलाउनुअगि माया अर्कासँग हिंडेपछि बेलाबेला ऊ छाती पिट्दै भन्ने गर्थ्यो— ‘पापिनीले चटक्क माया मारेर गई । मेरो माया नलागे पनि यी कलिला छोराछोरीको माया त लाग्नु पर्ने हो । यी गौप्राणीहरूको के दोष थियो ?’ फेरि एकै सासमा ऊ यसो पनि भन्थ्यो— ‘त्यो छँडुल्नीलाई भेटें भने नकाटी छाड्दिनँ । मैले नमारुँला तर यी कलिला बालकहरूको सराप लाग्ने छ उसलाई र कहिल्यै सुखी हुनेछैन । मरिजाओस् राँड !’
गालीहरू अरू पनि थिए खारिएका र टोलछिमेकमा निरन्तर सुन्दै आएका । केटाकेटीले पनि सिकेका थिए । अलिकति पिएको बेला ऊ आमाचकार गाली पनि गर्थ्यो मायालाई । अरू गाली पनि थिए जुन व्यक्तिले फुर्सतमा सुनेर अवचेतनमा जम्मा गरेर राख्छ र अपर परेको बेला फुक्काफाल भएर चिच्च्याईचिच्च्याई बक्न थाल्दछ । मानिसहरू त्यस्तो बेला घरको ढोका डामडुम लगाएर भित्र कान थुनेर बस्ने गर्थे भन्ने होइन, ‘थुक्क तेरो कीरा पर्ने मुख’ भनेर सराप्ने भने अवश्य गर्थे ।
मायाको पिरलोले नरेन्द्रलाई यति बहुलाउने (बहुलाएको त थियो नै) गरायो उसले आफ्ना ती छोराछोरीको वास्तै गर्न चटक्क छाडिदियो । होशै थिएन, चटक्क भन्न पनि मुश्किल !
मानिसहरू जो उसको छरछिमेकमा थिए ती पनि र उसलाई चिन्ने उसका सहकर्मीहरू पनि परेशान थिए— उसका लागि भन्दा पनि उसका ती नाबालक छोराछोरीका लागि । कसैले भनेको थियो, ‘छोरो त कसैको भाँडा माझेर भए पनि ज्यान पाल्ला, तर छोरी ? छोरी भर्खर एक वर्षकी छे । उसलाई कसले पाल्ने ?’ दिक्क परेकाहरू भन्थे, ‘यो मानिस कपटी छ । छोराछोरी पाल्नुपर्छ भनेर नाटक गरिरहेछ ।’ नाटक गर्नुको अर्थ यस्तै छलछाम गरेर आफ्नो जिम्मेवारी पन्छाउनु भन्ने लगाइन्थ्यो । नाटकको बृहत् अर्थ खुम्चिएर कपट गर्नुमा सीमित हुन आउँथ्यो ।
यो यस्तो थियो, नरेन्द्रको नाम पछि टोलकाहरूले बिर्सिदिए । सज्जन नरेन्द्र बहुलाएपछि उसको खोजीनिती पनि हुन छाड्यो र उसको नाम पनि बिर्सिइनु नै उचित देखियो । छोराछोरीहरूमा छोरो सोर्स लगाएर कतैको अनाथालयमा पढ्न राखियो भन्ने हल्ला थियो । के थाहा ? छोरीलाई कुनै सेठले मान्छे लगाएर धर्मपुत्री तुल्याउन गुपचुप लग्यो भन्ने अफवाह फैलाइयो । फैलाइयो वा सत्य थियो त्यो यसै भन्न सकिएन । उनीहरूको खोजखबर कसैले गरेन । नरेन्द्रको पागलपन कायमै रह्यो । झारफुक र धामीझाँक्री यावत्ले पनि केही लछारपाटो लागेन ।
समस्या यो थियो, धामी काम्न लागेपछि नरेन्द्र पनि सँगसँगै कामिदिन्थ्यो । कसैले पन्युँ आगोमा झोसेर रातो भएपछि डामेदेखि यसको पागलपन हट्छ भन्ने सुझाए । तर त्यसो गरियो वा गरिएन त्यसका लागि पनि कुनै खोजखबर भएन । कारण यो थियो त्यसका लागि चाहिने सरजाम भनिएको कालो पोथी वा कालो पाठो किन्ने जिम्मा कसैले लिएन । कसैले अगि सरेर जिम्मा नलिएपछि आर्थिक पक्षको कारण देउतालाई चढाउने कष्ट पनि भएन । टोलमा बाहिर ‘प्रसिद्ध धामीझाँक्री फलानाको अड्डा यही हो’ भनेर झारफुक र जडीबुटीको उपचारद्वारा निको पारिने बिरामीहरूको सूची पनि उल्लेख गरिएको प्रिन्ट तूल झुन्ड्याइएको थियो ।
नरेन्द्रका लागि कसैले पनि धामीझाँक्रीको ढोका फेरि ढकढकाउने चासो देखाएन । नरेन्द्र पागल नै रह्यो ।
यो कष्टकर कुरा थियो । यसलाई उच्च प्राथमिकतासाथ लेखिरहनु पनि मानवताका नाताले उचित ठहरिंदैनथ्यो । कुनै मानिसको मानसिक विकारलाई विषय बनाएर रमाइलो गर्नेहरू पनि टोलमा थिए । तर एक दिन एउटा हुल्याहा केटाको टाउकोमा लाग्ने गरी ईंटको ठूलै टुक्रा बजाइदिएपछि टोलका हुल्याहाहरू अलि हच्केका थिए । बहुलालाई पनि रीस उठ्छ र ? यस्तो प्रश्न पनि गरियो । उनीहरूको विचारमा पागल भएपछि व्यक्ति रीसविहीन शान्त त्यागी योगी सरह हुन्छ भन्ने थियो कि ? सिद्धान्ततः यो कुरा गलत सही जे भए पनि प्रत्यक्षमा नरेन्द्रले त्यो धारणालाई गलत साबित गरिदिएको थियो ।
यो यस्तै गरी चलिरहेको थियो । नरेन्द्र पागल भएको भन्ने उस बेला साबित भएको त हो, पछि गएर ऊ र उसको पागलपन अज्ञातमा बिलायो । उसको छोरा पनि कताबाट आएको थियो रे एक दिन । तर त्यो दिनलाई कसैले यही दिन हो भनेर किटानसाथ भन्न सकेन । आएको थियो रेमा अलमल्याइयो । तर छोरोले परिचय पाएपछि बाउलाई केही बेर टोलाएर हेरिररह्यो भनिन्छ । आफूमा कतै पागलपनको बीज त छैन भनेर घोत्लिएको हुन सक्छ । तर अर्को दिनदेखि छोरो देखा परेन रे । छोरी त आउँदै आइन भनियो । जजसले नरेन्द्रको जीवनी जानेका थिए तिनका लागि सप्रमाण बोल्ने एउटा विषय बन्थ्यो ऊ पनि र छोरी पनि छोरा पनि, नरेन्द्रकी पत्नी माया पनि ।
फेरि एकाएक नरेन्द्र हरायो । कता गयो भन्ने कसैले खोजी गरेन । हिमालयतिर गयो भन्न सकिन्नथ्यो । कारण यो थियो, प्राचीन कालदेखि नै हिमालयतिर गएर हराउने किम्बदन्ती समाजमा थियो जसअन्तर्गत नरेन्द्रलाई पनि राखियो— हिमालयतिर गयो भन्नेमा । तर पाण्डवहरू सशरीर स्वर्ग गएको कथा त समाजमा छ तर यो अर्कै । नरेन्द्र बहुलाएपछि हराएको सम्बन्धमा खासै चर्चा गरिरहनु पर्ने उसका दौंतरीहरूले पनि देखेनन् । नियति हो, मानिस बहुलाएपछि समाजबाट निष्कासित हुन्छ र उसको परिचय विलुप्त हुन्छ । निष्कर्षमा यसो भनेर विश्राम लिन त सकिन्थ्यो तर यसले केही संवेदनशीलहरूलाई पागलपन र त्यसपछिको जीवनबारे सोच्न खुराक दिन्थ्यो ।
अन्तिममा नरेन्द्रको अध्याय समाप्त गर्न यसो भनियो, ऊ हालैको पहिरो वा बाढीमा परेको हुन सक्छ । उसको लास पहिरोमा पुरिएर वा बाढीले टाढै कता हो कता बगाएर हरायो । हुन पनि टोलको छेउमा एउटा नाला बग्थ्यो, जसको रूप कसैले सुतिरहेको शिशु जस्तो छ भन्थे भने कसैले उघाउने हो भने एक अँजुली पानी छैन भन्थे ।
त्यो नाली अत्यन्त दुर्गन्धयुक्त थियो । शिशुको उपमा वा एक अँजुली पानीको तुलना सारै अनुपयुक्त लाग्ने । संसारभरिको त नभनौं टोल वा शहरको एक ठूलै हिस्साको फोहोरमैला, दिसापिसाब त्यसैमा ढलद्वारा त्यसैमा खसालिन्थ्यो । बाहिरबाट आएका यात्रुहरूले पनि दिसापिसाबको निप्टारा त्यहीँ गर्थे । यो बर्खामा अकल्पनीय रूपमा त्यो नालीमा बाढी आयो जुन ससानो प्रलयवाहक रौद्र जलविक्षिप्ति देखियो । धेरैका घर डुबे । सिलिन्डर, भाँडाबर्तन र लुगालत्ता, सोफाकुर्सी, कपडासाडी सबैसबै बगाएर त्यसको छेउमा निर्धक्क बसोबास गर्ने मानिसहरूलाई घरै भत्काएर सुकुम्वासी वा शरणार्थी वा घरबारविहीन तुल्यायो ।
त्यही बाढीमा नरेन्द्र पनि जानेर वा नजानेर बग्यो भन्ने अपुष्ट हल्ला थियो । जीवनको अन्त्य अनिवार्य थियो र नरेन्द्रको जीवनको कारुणिक अन्त्य पनि यसरी भयो । यो अनुमान थियो र हल्ला पनि !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










