प्रेम आफैँमा सर्वव्यापी छ । यसको बारेमा बोलेर पनि कति बोल्नु ? नबोलेर पनि के गर्नु ? प्रेम प्रेम हो । बस ! यति बोलेँ ।

जीवनको उत्तरार्द्धतिर मात्रै प्रेमको परिभाषा जानेँ । पहिले नै प्रेमको विषयमा जान्नुपर्थ्यो । त्यसो गर्न सकिएन । तै पनि मन बेखुस छैन । प्रेम नजानेर के भो त ? आखिर अघिदेखि नै प्रेममा फसेको रहेछु । प्रेम आखिर के हो ? जीवन कि मृत्यु ?

साइवर युगको मान्छे हुनुको नाताले प्रेम पनि आखिर त्यसरी नै सम्भव छ । म कोठामा कम्प्युटरको अगाडी छु । इन्टरनेटमा च्याट गर्दैछु । उनीसँग विवाह भएको पनि थुप्रै वर्ष भयो । अझैसम्म भेटघाट छैन । दुवै व्यस्त छौँ । यतिखेर उनी विराटनगर बस्छिन् म काठमाडौँ बस्छु । के यो सम्भव छ ? तपाईंलाई लाग्ला । तर हाम्रो जीवन अहिलेसम्म यसरी नै चलिरहेको छ ।

च्याट गर्दै जाँदा प्रेम सम्बन्ध स्थापित भो । त्यही सम्बन्ध निरन्तर छ । मैले उनका बारेमा सोधेका प्रशस्त प्रश्नको उत्तर सरल पाएँ । झुट छ कि सही म जान्दिनँ । त्यही सरलता मन पर्‍यो र प्रेम प्रस्ताव राखेँ । उनले स्विकारिन्, त्यही प्रेम निरन्तर छ ।

एक साँझ उनको कोठाको सम्पूर्ण दृश्य देखाइन् । स्लिपिङ बेड, सोफा, कृत्रिम फूलहरू, कम्प्युटर र बरिपरी सजाइएको ठुला ठुला प्रेममा रहेका उनको तस्बिरहरू । हेर्दाहेर्दै एउटा रोबोट आयो र चिया राखेर गयो । उनी बोलिन् – “इतिहास हेर्ने हो भने नेपालमा यस्तो कुराको कल्पना सम्भव थिएन । तर विज्ञानले यति फड्को मार्‍यो कि हामी एउटै कोठामा बसेर पनि संसारको अध्ययन गर्न सक्छौँ र त्यसको प्रमाण लिन सक्छौँ ।”

मैले समय थोरै भएको जानकारी गराएँ । उनले लाइन डिस्कनेक्ट गरिन् ।

हाम्रो आफ्नै छुट्टै कथा छ । उनी गर्भधारण गर्न मान्दिनन् । मैले पनि इतिहासको अध्ययनबाट थाहा पाएँ कि महिलाहरू गर्भधारण गर्न सक्छन् । तर अचेल त्यो कसरी सम्भव छ ? जब कि सबै पुरुषहरू वीर्य बेच्छन् र टेस्टट्युब बेबीहरू जन्मन्छन् । कुन पुरुषहरूलाई थाहा छ कि आफ्नो वीर्य कुन बच्चामा परेको छ ? यदि यस्तो भएको, थुप्रै भएको हो भने अब कुन महिला नौ-नौ महिनासम्म गर्भधारण गरेर बच्चा जन्माउन चाहन्छे । मैले पनि एउटा बच्चाका लागि स्वीकृति दिएको छु । त्यो बच्चा भर्खर दुई वर्ष पुग्यो । जब कि हामी बिच भेटघाट छैन । प्रेम ! यौन सँगसँगै रहन्छ कि भावना सँगसँगै ? सोचयोग्य छ ।

थाहा छैन, आधुनिक नेपाल कस्तो थियो ? त्यहाँ के हुन्थे ? के हुनुपर्थ्यो ? उत्तरआधुनिक नेपालमा फूलहरू फुल्दैनन्, फुलाइन्छ । सडकहरूमा मान्छेहरू हिंड्दैनन् । कसैसँग कसैको भेटघाट छैन । बोलचाल गर्ने सम्म समय कसैसँग हुँदैन । मोबाइल फोनको प्रयोग केका लागि ? केही काम परे फोन गर्नुस्, त्यहीँ सबै कुरा हुन्छ । जीवनको नयाँ कुरा नेटमा राखिन्छ । त्यही नेटमा आफ्नो व्यक्तिगत विवरण राख्नुस् सबैको विवरण त्यहीँ भेटिन्छ ।

फेरि मान्छेलाई भेटेर किन सोधिरहनु ? समयको बरबादी मात्रै । समयको बरबादी गर्ने मन तपाईंलाई छैन भने व्यर्थमा किन टाउको दुखाउनु ? सोच्दा सोच्दै साइन इन गरेछु । नेटमा उनको उपस्थिति पनि मजाको छ । खाना उनैले पठाउँछिन् । खाना खानुअघि पर्दामा भेटिन्छौँ । खाना खान शुरु गर्छौँ । फुच्चे ममीलाई दुख दिन्छ ।

भन्छ, “बाबा, हजुरलाई खाना थपौँ ?” समयले निकै फड्को मार्‍यो । खाना त कसरी थप्न सकिन्थ्यो ? तर प्याकेट सिस्टमले पो सजिलो पारेको छ । उनी खाना बनाएर पठाउँछिन् । त्यसलाई एक हप्तासम्म जस्ताको त्यस्तै राख्न सकिन्छ । त्यो सकिँदासम्म फेरि अर्को खाना आइहाल्छ । जे होस् जीवनको गति रमाइलोसँग चलेको छ ।

मान्छेको मन दाँज्न मिल्छ, नाप्न पनि मिल्छ । त्यसो हो भने अब किन मान्छेलाई भेटिरहनु पर्‍यो ? तै पनि क्षण क्षणमा फेरिइरहने मन सधैँ एक नासको हुँदैन । त्यसलाई पनि नाप्न सके कस्तो मज्जा हुन्थ्यो । मन अब के सोच्छ जान्न पाए, पुग्थ्यो ।

खाना खाई सकेपछि लाइन छुटाएँ । केही क्षण सुस्ताएँ, फेरि नेटमै झुन्डिन थालेँ । आफ्नो पुर्खाको बारेमा खोज्दै गएँ । लेखिएको थियो-

नाम – सरोज यादब

बुबाको नाम – रबि श्रेष्ठ

हजुरबुबाको नाम – पिताम्बर उपाध्याय

यसरी फरक-फरक थरका कारण म अन्योलमा परेँ । मैले पढेको थिएँ कि नेपाल समावेशी राज्य बन्यो । जातीय आधार यसको पहिलो आधार हुनेछ । त्यसो हो भने पुर्खाको विवरण आमाको नामबाट राखियो कि बुबाको नामबाट राखियो । आखिर बुबा कसरी छुट्याइयो जबकि टेस्ट्युब बेबीका लागि कसको वीर्य लिइयो ? उसको बुबा चाहिँ को त ? रबि श्रेष्ठको बुबा पिताम्बर उपाध्याय नै भएको के ग्यारेन्टी ? जे होस् मैले आफ्नो विवरणबाट यी नामहरू अटाउन सकिनँ ।

इतिहासको अध्ययनबाट मैले थाहा पाएँ कि नेपालमा के आएको थियो ? पहिले महिलाहरूको अवस्थाको बारेमा पनि जानकारी पाएँ । यद्यपि त्यसलाई पत्याउने कसरी ? जब कि त्यति बेला ईश्वर छ भन्ने कुरा नदेखेर नै व्याप्त थियो । के अहिले उति बेलाको नेपाल अवलम्बन गर्न सकिन्छ ? महिलाहरूले गर्भधारण गर्ने, विवाह गरेर एउटै घरमा बस्ने, आफ्नै घरबारी हुने, त्यहीँ खेतीपाती गर्ने, यी सबै कुरालाई कसरी लागु गर्न सकिन्छ ? जब कि मेरो पुर्खा त्यतिखेर को थिए ? मेरो घरबारी कहाँ थियो ? यी सबै कसले बताउन सक्छ ? यदि कसैलाई थाहा छैन भने म आफ्नो सम्पत्ति खोज्न कहाँ जाने ? मैले यो कोठामा कति साल बिताएँ ? मेरो बुबाले कति साल बिताए ? यो घर वास्तविकतामा कसको हो ? के हामी अब शरणार्थी हौ त ? पक्कै होइनौँ । त्यसो हो भने हामी के हौँ त ?

उत्तर छैन । बिना उत्तर समर्थन गर्न पनि सकिन्न । जे होस् म नेटमा छु । त्यही त हो बाँच्ने आधार । नेटमा आफ्नो सबै थोक खोजिन्छ । आफू जोखिएर त्यसबाट काम गर्न थालिन्छ । त्यहीँ कामबाट आउने तलबले बाँचिन्छ । गुजारा यस्तै गरी चलिरहेको छ ।

म जीवनमा त्यही अवलम्बन गरिरहेको छु । “देश अनुसारको भेष भने झैँ” म त्यसै गरी बाँचिरहेको छु । यो समय विचित्रको छ, आफैँमा एउटा चलचित्र जस्तो अनौठो देखिन्छ । चन्द्रमामा हनिमुन मनाउन गइन्छ । मङ्गल ग्रह हाम्रै पहुँचमा छ । सूर्यलाई नदेखेर पनि बाँचेका छौँ । सूर्यको के अस्तित्व छ ? जब कि ओजोन तह पहिले नै प्वाल परिसकेको रहेछ । के यो आजसम्म बाँकी छ ? बाहिर हिंड्दा छालाजन्य रोग लाग्छ । त्यसैले मान्छेहरू घाम छेकेर दौडिन्छन् ।

यतिखेर हाम्रो इतिहास हेर्दैछु । त्यो हेर्दाहेर्दै अनौठो र आश्चर्यपूर्ण लाग्छ । मेरी श्रीमतीलाई यो कुरा बताउन मन लाग्छ । फोन गर्छु । भन्छे, “शृङ्गार गर्दैछु ।”

मैले विगतको हाम्रो देशको बारेमा बताएर अनुरोध गरेँ, “के हामी यसलाई अवलम्बन गर्न सक्दैनौ ?”

ऊ खिल्ली उडाउँछे । उल्टै बौलाहा भयौ भन्छे । मैले इतिहास सम्बन्धी त्यो फाइल पठाउँछु र भन्छु पूरा पढेपछि भेट है ।

त्यो साँझ खाना खाने बेलामा हाम्रो भेट भएन । उनले लाइन डिस्कनेक्ट गरिछिन् । त्यसको दोस्रो दिन हाम्रो भेट भयो । उनले फोन उठाइन् । उनले उक्त प्रस्तावमा सहमत हुन नसक्ने जानकारी गराइन् । आखिर विवाद यहीँबाट शुरु भयो । उनले उनको हठ त्यागिनन् र मैले मेरो हठ छाडिनँ ।

च्याटमा टहल्ने क्रमसँगै मेरो दिन पनि परिवर्तित हुँदैछ । आधुनिकतामा फर्कन उनी मान्दै मान्दिनन् । धेरै पटक सम्झाउँदा पनि उनले मानिनन् । मैले हाम्रो सम्बन्ध छुटेको जानकारी दिएँ । आखिर हामी बिचको नाता यतिकैमा छुट्यो ।

आधुनिकताको लामो बहस पछि साथी सलिना त्यसको निम्ति तयार हुन्छिन् । मैले अन्त्यमा उसैलाई अपनाउँछु । थाहा छैन, समयले कसरी अगाडी बढाउँछ ।

जसलाई मैले श्रीमती बनाएँ । उनी मेरो साथमा छैनन् ।

म मेरो भन्दै छु, ऊ पनि मेरो हैन । उसले कसको वीर्यदानबाट जन्म पायो ? त्यसको बारेमा कसले बोल्ने ? तै पनि म आफैँ त्यसै गरी जन्मिएँ र मेरो विवरण विचित्रको छ । सलिना पनि त्यस्तै हो । अचेल हामी सँगै बस्छौँ र स्वस्थ गर्भाधानपश्चात जन्मिएको बच्चालाई हुर्काउने निर्णयमा पुगेका छौँ ।

सोच्दासोच्दै रोबोट चिया राखेर जान्छ । सलिना अङ्गालिन आउँछे ।