समर महीनाको एक साँझ हाफ पेन्ट लगाएर सेतो जापनिज स्पिट्ज प्रजातिको कुकुर डोर्याउँदै हावा खान निस्केकी आधा बैंसे उमेरकी सोफिया लच्कीलच्की हिंड्दै सुरिलो बोलीमा फोनमा कुरा गरिरहेकी थिई । अलिक पर पुगेपछि कुकुरले दिसा गर्यो । त्यसपछि उसले ज्याकलाई फोन गरी ।
रातो कारमा ज्याक आइपुग्यो र प्लास्टिकमा कुकुरको दिसा उठायो अनि अलिक पर रहेको ट्रयास केनमा हाल्यो। सोफियाले ज्याकलाई दुई घण्टा पछाडि पिकअप गर्न आउनु भनी । ज्याक गाडीमै फर्केर गयो र म्युजिक घन्काएर बस्यो ।
दुई घण्टा पछि भनेकै समयमा ऊ सोफिया भएको ठाउँमा लिन पुग्यो । अमेरिकामा धनीमानीको साथी कुकुर हो भने भिखारीहरू पनि प्राय: कुकुरसँग नै हुन्छन् । शारीरिक र मनोवैज्ञानिक हिसाबमा पनि कुकुर पाल्नु, डुलाउनु र घुमाउनु राम्रो मानिन्छ । अमेरिकामा महिलाहरू कुकुर पाल्ने पुरुषहरू प्रति अलिकति बढी नै आकर्षित हुन्छन् । किनभने जनावरलाई स्नेह देखाउन, नुहाइधुवाइ गर्ने र राम्रो हेरचाह गर्ने क्षमता भएको पुरुषले आफूलाई पनि राम्रोसँग हेरविचार गर्ने विश्वास महिलाहरूले गर्छन् भने कुकुर पाल्ने पुरुष सफल र परिपक्व अनि उसको जागीर र घरबारको स्थायित्व पनि हुन्छ भन्ने विश्वास गरिन्छ ।
साइड वाकमा कुकुर डोर्याएर हिंडिरहेको पुरुषले कुनै महिलालाई मोबाइल नम्बर माग्यो भने फोन नम्बर दिने सम्भावना २८ प्रतिशतले बढी हुन्छ । तर त्यसै बाटोमा हिंड्ने पुरुषलाई महिलाले आफ्नो नम्बर दिंदैनन् पनि । हुन पनि कुकुर पाल्न निकै नै सहानुभूति, दयामाया र भावनात्मक सञ्चारको कौशलता चाहिन्छ । त्यस्तै साँझ बिहान कुकुर डोर्याएर हिंड्ने महिलाहरूलाई पनि आफ्नो पेशा व्यवसायमा स्थापित भैसकेको, घरबारको बन्दोवस्त भैसकेको भनेर निकै राम्रो नजरले हेरिन्छ । कहिलेकाहीं अचानक भेटिएका मानिसहरूले आफ्नो घरको कुकुर बिरालाको बयान गरेर नै घण्टौं समय खर्चेका हुन्छन् ।
सोफिया पनि आफ्नो पेशा व्यवसायमा सफल र स्थापित महिला हो । तर साँझपख स्पिट्ज कुकुर घुमाउने वास्तविक उद्देश्य भने केही फरक नै छ । सोफिया ज्याकलाई आफू निक्कै व्यस्त देखाउँदै कुकुरलाई बाहिर घुमाउन लैजाने बहाना बनाएर लगभग हरेक साँझ घर बाहिर निस्कन्छे र आफ्नो प्रेमी पीटरसँग घण्टौं लामो कुराकानी गर्न बाहिर निस्कन्छे । उता ज्याकलाई पनि आफ्नो नियन्त्रणमा राखेर उसको साथ सहयोग लिइरहेकी छे । ज्याक भने सोफियालाई बिना शर्त एकोहोरो माया गर्छ ।
सोफिया एउटा ठूलो कम्पनीकी सिइओ हो । १८ वर्षको उमेर देखि बाबुआमाको घरबाट निस्केर एक्लै डेरामा बसेर संघर्ष गर्दै कलेज पढ्नेगर्थी । उसको पहिलो करियर रेस्टुरेन्टको Dishwasher बाट शुरू गरेको कुरा भन्न पनि कुनै अप्ठेरो मान्दिन । तर ज्याक भने खासै पढेलेखेको छैन र उसकै कम्पनीको स्टोर किपर र मर्मत सम्हारको काम गर्छ । त्यो लगायत सोफियाको गाडी ड्राइभ गरेर घर लाने, ल्याउने, मिटिङहरूमा लैजाने, शपिङ, लन्ड्री, बगैंचामा फूल रोप्ने, फूलहरूमा पानी हाल्ने, खाना पकाउने लगायतका घरायसी कामहरू पनि ज्याकले नै गर्ने गर्छ । ऊ सोफिया कै घरमा बस्छ । सोफिया, ज्याक र जापनिज स्पिट्ज कुकुर बाहेक त्यो घरमा कोही पनि छैन । कसैको आवतजावत पनि हुन्न । अमेरिकी संस्कृतिमा प्रायः मानिसहरू आफ्नो निजी वासस्थान देखाउँदैनन् र आफन्त र साथी-भाइहरूसँगको भेटघाटहरू पनि बाहिर कुनै रेस्टुरेन्टमा नै गर्ने गर्छन् ।
ज्याक दिनभर कम्पनीमा के भइरहेको छ, क कसले सोफियाको के के कुरा काटे भन्ने लगायतका सम्पूर्ण सूचना गोप्य रूपमा सोफियालाई दिइरहन्छ । ज्याकको माध्यमबाट सोफियाले आफ्नो र अफिसको बारेमा सबै जानकारी पाउँछे र दशकौंदेखि अफिसको वातावरणलाई आफ्नो नियन्त्रणमा राखेकी छे ।
अफिसको मात्रै नभएर आफ्ना हरेक काममा ज्याकको सहयोगमा उसको कामकाजी र व्यक्तिगत जीवनलाई पनि व्यवस्थित राखेकी छे । ऊ कुनै घरायसी कामकाज वा संस्कारगत मान्यताहरू पालना गर्ने नाममा उकुसमुकुस नै छ । पूर्ण रूपमा ऊ स्वतन्त्र छे । सोफिया आफूलाई अविवाहित भन्न पनि रुचाउँछे । वर्षको दुई पटक ज्याकलाई फेमेली भिजिटमा जाने भनेर झुक्याएर महिनौंसम्म पीटरसँग घुमघाममा निस्कन्छे ।
पीटर र सोफिया कहिले सँघाई त कहिले टोकियो घुम्न पुग्छन् । ज्याकको भावनामा चोट पुग्ला कि भन्ने कुरामा पनि निक्कै सजग छे । यसरी बाहिर गएको बेलामा ज्याकले नै अफिसको बारेमा के भैरहेको छ भनेर रिपोर्टिङ गर्छ । र घरको पनि रेखदेख गर्छ । सोफिया न्यूयोर्कमा बस्छे भने पीटर फ्लोरिडामा बस्छ । उनीहरू दुवै कलेजदेखिका साथी हुन् र २७ वर्षदेखि प्रेम सम्बन्धमा छन् । तर दुवैको व्यस्तताले गर्दा आफ्नो सम्बन्धलाई बेला बेलामा डेटिङ ट्रिप गरेर यसरी नै अगाडी बढाउँदै आएका छन् । उनीहरूको गहिरो प्रेम सम्बन्ध भए पनि बिहे गर्ने सोच भने राखेका छैनन् ।
अमेरिकामा सोफिया जस्ता पढेलेखेर आफ्नै लक्ष्य निर्धारण गरेर करियरलाई प्राथमिकता दिने शिक्षित महिलाहरू प्राय: विवाह नै गर्दैनन् र वैवाहिक सम्बन्धमा टिक्न पनि सक्दैनन् । विवाहले सुख वा सन्तुष्टिको ग्यारेन्टी गर्दैन भन्ने ठानेर नै परम्परागत भूमिका जस्तै विवाह, बच्चाबच्चीको रेखदेख र परिवार भन्दा माथि उठेर स्वतन्त्र रूपमा आफ्नो मर्जीको मालिक आफैं हुने भएकाले महिलाहरू आफूलाई निकै नै शक्तिशाली पनि ठान्छन् ।
सोफिया पनि परम्परागत समाजले महिलाहरूका निम्ति निर्माण गरेको मानसिकता भन्दा बाहिर निस्केकी महिला हो र ऊ व्यक्तिगत स्वतन्त्रता र आत्मनिर्भरतालाई अत्यधिक महत्त्व दिन्छे । २१औं शताब्दीमा अमेरिकामा धेरै महिलाहरूको सम्बन्धहरूको गति यसरी नै चलिरहेको हुन्छ । सोफिया एउटी उदाहरण मात्रै हो ।
सोफियाको जीवनलाई नियालेर हेर्दा ऊ अत्यन्त खुशी मध्येकी एक हो । खुशीका लागि सधैंभरि भौंतारिरहनेहरूको हकमा त यो लागू हुँदैन । तर मनमा शान्ति र जीवनमा सन्तुष्टि भयो भने मानिस सुखी बन्छ भन्ने कुराको बलियो उदाहरण पनि हो । तर सोफिया जस्ता अलिकति मात्रै सुख र स्वतन्त्रताको स्वाद पाइसकेका महिलाहरू कुनै सामाजिक वा पारिवारिक दलदलमा फस्न पनि चाहँदैनन् । खुशी हुन सामाजिक सञ्जालमा अरूसँग जोडिनु पनि पर्दैन । सोफियाको न त सामाजिक सञ्जाल नै छ न कुनै इन्स्टाग्राम वा ट्वीटर नै छ वा कुनै सेल्फीको चहकिलो फोटो पोस्ट गरेर “लाइक” र साथीहरूको “कमेन्ट” नै कुरेर बसेकी हुन्छे ।
आफ्नो यौन आवश्यकताका लागि भने उसले विभिन्न सेक्सट्वाइ, योनीएग्स जस्तै रोज क्वार्ट्ज, जाडे, र अमेथिस्ट जस्ता थुप्रै प्रकारका क्रिस्टलबाट बनेका अण्डाकार साधनहरू प्रयोग गर्छे । पेल्भिक फ्लोरको मांसपेशीहरूलाई बलियो बनाउन, यौन लगायत भावनात्मक तथा आध्यात्मिक लाभ लिनका लागि भनेर ध्यान, योग, वा ऊर्जा उपचारमा भाग लिइराख्छे र आफूलाई चुस्त, दुरुस्त र तन्दुरुस्त पनि राखेकी छे ।
विभिन्न गोष्ठी सेमिनार लगायत Motivational Speech हरूमा भाग लिने पनि गरिरहन्छे । जीवनजगत र हरेक विषयको बारेमा जानकारी राखेर बसेकी छे । आफूले आफ्ना लागि प्रशस्त समय दिन्छे । झट्ट हेर्दा सोफिया आफ्नो वास्तविक उमेर भन्दा निक्कै कम देखिन्छे र आकर्षक लाग्छे । जो शारीरिक, मानसिक, आर्थिक, शैक्षिक, आध्यात्मिक लगायतका सबै कुरामा भरिपूर्ण र सन्तुष्ट छ त्यस्तो व्यक्तिको आत्मिक चेतना पनि खुलेको जस्तो महसूस हुँदो रहेछ । जीवनप्रति सकारात्मक मान्छेसँगको सङ्गतमा सकारात्मक वाइब्रेशन आउँछ भने नकारात्मक मान्छेसँग नकारात्मक नै ।
हुन त पुरुषहरूलाई महिला जति आकर्षक र राम्री लाग्छन्, महिलाहरूलाई पुरुष खासै त्यस्ता लाग्दैनन् पनि । यो कुरा शायद धेरैलाई अनौठो पनि लाग्ला । महिलाले पुरुषमा यस्तो कुनै आकर्षक कुरा नै भेट्दैनन् । महिला प्रकृतिको उच्चतम वरदान पनि हो । पुरुषलाई महिलाको जति आवश्यकता पर्छ महिलालाई त्यति पर्दैन । बिहे गर्नु, सन्तान जन्माउनु भनेको ऐच्छिक विषय हो । महिलाहरू विवाहित भन्दा एक्लैमा नै बढी रमाइरहेका देखिन्छन् पनि । पढ्न-लेख्न पाएर म चेतनशील भएँ भनेर पनि नहुने रहेछ । सोफियाको जस्तै महिलाहरूले परम्परागत भूमिका बाहेक आफ्नो करियर र शिक्षालाई प्राथमिकतामा राख्ने, आफ्ना रुचि, सोखहरू खोजी गरी पहिल्याउने, र यसरी अगाडी बढ्ने हो भने घर परिवार बनाएर बस्नुभन्दा अन्य क्षेत्रबाट पनि धेरै शान्ति र सन्तोष मिल्छ । आफूले आफैंलाई चिन्ने मौका मिल्ने रहेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।