अमेरिकाको राष्ट्रपति पदका आकांक्षी कन्जर्भेटिभ नेता विवेक रामास्वामीको हालै प्रकाशित पुस्तक ‘ट्रुथ्स: द फ्युचर अफ अमेरिका फर्स्ट’ ले उदारवादी छाडापनका कारण पतनको दिशामा अघि बढिरहेको अमेरिकालाई बचाउनका लागि दिइएको सुझावको संकलन हो ।
रामास्वामीको रिपब्लिकन पार्टी पहिलेदेखि नै पुरातन मूल्यमान्यताहरूको जगेर्ना गर्दै उदारवादका कतिपय सकारात्मक पक्षलाई पनि अंगीकार गर्नुपर्छ भन्ने मान्यता राख्ने गर्छ । त्यसलाई आधार बनाएर रामास्वामीले अमेरिकाको समकालीन राजनीतिमा हराउँदै गएको नैतिक मूल्यमान्यतालाई फर्काउनका लागि प्रयास गर्दै आएका छन् र उनको यो पुस्तक त्यसैको घोषणापत्रका रूपमा आएको छ ।

ट्रुथ्सः द फ्युचर अफ अमेरिका फर्स्ट

पुस्तकले जलवायु परिवर्तन, अभिव्यक्ति स्वतन्त्रता, पहिचानको राजनीति, आर्थिक स्वतन्त्रता, संवैधानिक मान्यताको अनुपालन लगायतका विषयलाई समेटेको छ । वर्तमान राजनीतिले अमेरिकीपन गुमाउँदै गएको तर्क गरी रामास्वामीलाई पुनर्जागृत गर्नका लागि अपनाउन सकिने उपायका बारेमा पुस्तकमा चर्चा गर्छन् ।
रामास्वामीले डोनल्ड ट्रम्पको ‘पहिले अमेरिका’ भन्ने मूलमन्त्रमा आफ्नो अगाध आस्था रहेको स्पष्ट पारेका छन् । यसलाई उनी राजनीतिक नाराका रूपमा मात्र नभई देशको केन्द्रीय विचारधाराका रूपमा लिन्छन् । आत्मशासन, व्यक्तिगत जिम्मेवारी र योग्यतामा आधारित व्यवस्थामा अमेरिकाको पहिचान अडिएको उनी तर्क गर्छन् ।
अमेरिका हालैका वर्षमा यी सिद्धान्तहरूमा च्युत हुँदै गएको र पहिचानमा आधारित ‘गुनासोको राजनीति’को विकृतिमा फसेको उनको दाबी छ । ‘पहिले अमेरिका’ विचारधारालाई व्याख्या गर्दै रामास्वामीले यो जनतालाई राजनीतिक विभाजनबाट माथि उठाउन समर्थ शक्ति बन्न सक्छ भनेका छन् । यसले अमेरिकाको भविष्यलाई पनि समृद्ध बनाउने उनको तर्क छ । अहिले रिपब्लिकन र डेमोक्रेटहरूबीच चरम ध्रुवीकरण भएर एकअर्कासँग काटाकाटको स्थिति रहेको अवस्थामा रामास्वामीको यो प्रस्ताव विचारणीय ठहर्छ ।
राष्ट्रिय एकता कायम गराउनका लागि पहिले अमेरिका विचारधाराको भूमिकालाई स्थापित गरी रामास्वामीले पुस्तकमा १० वटा कठोर सत्यहरूको व्याख्या गरेका छन् । आफ्नो रिपब्लिकन पार्टीलाई मात्र नभई समग्र अमेरिकी समाजलाई पनि पुनर्ताजगी दिनका लागि कन्जर्भेटिभहरूले यी सत्यहरूलाई अंगीकार गर्नुपर्ने रामास्वामीको आग्रह छ ।
आधुनिक राजनीतिक विमर्शमा कठोर सत्यको अभाव रहेको र तार्किकता भन्दा पनि भावनात्मकतामा मानिसहरू बहकिने गरेको रामास्वामीको भनाइ छ । जलवायु परिवर्तनको जटिलता होस् या लैंगिकता सम्बन्धी विचारधारा होस् – अमेरिकामा सभ्य भएर वादविवाद हुने गरेको छैन । विवादमा एक पक्षले अर्को पक्षलाई दानवीकरण गर्ने र व्यक्तिगत आक्षेप लगाउने प्रवृत्ति बढिरहेको छ । रामास्वामीले राजनीतिक संवादहरू अनुभवजन्य वास्तविकतामा आधारित हुनुपर्ने र जुनकुनै पनि कुरालाई नैतिक सिद्धान्तको कसीमा राखेर हेर्नुपर्ने तर्क गरेका छन् ।
जलवायु परिवर्तनको जल्दोबल्दो विषयलाई रामास्वामीले सत्यको कसीमा राखेर विश्लेषण गरेका छन् । उनका अनुसार, जलवायु परिवर्तनले निम्त्याएका विनाशहरूको कुरा गर्दा वैज्ञानिक सत्यलाई भन्दा पनि विचाराधारात्मक आग्रह पूर्वाग्रहलाई महत्त्व दिने गरिएको छ । पृथ्वीको लामो इतिहासमा जलवायु परिवर्तन निरन्तर हुने गरेको र यसलाई विनाशको सूचकका रूपमा लिएर कोकोहोलो गर्नुपर्ने आवश्यकता नरहेको उनी लेख्छन् । अनि आजभन्दा ४० वर्षअगाडिका पत्रिकामा विश्व चिसिँदै गएको (ग्लोबल कूलिङ) का बारेमा चेतावनीयुक्त लेखहरू आउने गरेकोमा अहिले विश्व तातिँदै गएको (ग्लोबल वार्मिङ) को कुरा उठिरहेको छ । यसलाई तटस्थ भएर वैज्ञानिक आँकडामा आधारित रहेर मूल्यांकन गर्नुपर्ने रामास्वामीको भनाइ छ ।

विवेक रामास्वामी

त्यस्तै अमेरिकामा चलिरहेको पहिचानको राजनीतिले जातिविभेदलाई प्रश्रय गरिरहेको रामास्वामी लेख्छन् । विगतमा गोरा जातिका मानिसले सबै अश्वेतमाथि जातिविभेद (रेसिजम) गर्ने गरेकोमा अहिले प्रतिविभेद (रिभर्स रेसिजम) चलिरहेको रामास्वामी उल्लेख गर्छन् । काला जातिमाथि भएका विगतका विभेदको क्षतिपूर्तिका लागि अहिले गोरा जातिमाथि विभेद गर्नुपर्ने भनी कतिपय अभियन्ताहरूले कुतर्क गरिरहेका छन् । काला जातिको परिपूरणका लागि उनीहरूलाई नगद भरपाई गर्नेदेखि लिएर सकारात्मक विभेदका नाममा उनीहरूलाई विश्वविद्यालयमा कठोर प्रवेश परीक्षा उत्तीर्ण नगरिकनै भर्ना गर्नुपर्ने मागहरू गोरा र भारतीय मूलका अमेरिकीहरूप्रति विभेद भएको रामास्वामीको भनाइ छ । यसले अमेरिकी समाजलाई एकताबद्ध नगरी थप विभाजित तुल्याउने उनको दाबी छ ।
त्यसैले जातीय, लैंगिक वा आर्थिक–सामाजिक पहिचान भन्दा पनि व्यक्तिको योग्यताले उसको सफलता वा असफलतालाई निर्धारण गर्ने प्रणाली हुनुपर्ने रामास्वामीको तर्क छ । अमेरिकाको कर्पोरेट जगतले कामदारको योग्यतालाई नभई जातीय वा लैंगिक पहिचानलाई महत्त्व दिँदा अमेरिकी समाजमा विभाजनका रेखाहरू प्रगाढ बनेको र विश्वव्यापी रूपमा अमेरिकाका प्रतिस्पर्धात्मक क्षमतामा ह्रास ल्याएको उनको भनाइ छ । यस तर्कलाई उनले आफ्नो अघिल्लो पुस्तक ‘वोक, इन्क.’ मा पनि प्रस्तुत गरेका थिए ।
रामास्वामीले निकै साहसका साथ लैंगिकताका विषयमा पुस्तकमा चर्चा गरेका छन् । अहिले अमेरिकामा व्यक्तिको लैंगिकतामाथि चर्को राजनीति चलिरहेको छ । प्रकृतिको नियमलाई बेवास्ता गर्दै लिंग परिवर्तनका लागि दुष्प्रेरित गर्ने र अबोध बालबालिकालाई पनि ‘ट्रान्जिशनिङ’ का लागि फकाउने कार्यले तीव्रता पाइरहेको छ । त्यसरी लिंग परिवर्तन गरी कृत्रिम रूपमा हर्मोन बदल्नेहरू पछुताएको र डिप्रेशनमा पुगेको उदाहरण प्रस्तुत गर्दै रामास्वामीले सीमित व्यक्तिमा हुने लिंग पहिचानसम्बन्धी समस्या (जेन्डर डिस्मोर्फिया) लाई समग्र अमेरिकीहरूमाथि लाद्न खोज्ने कथित प्रगतिशील वोकहरूको दुष्प्रयासको चिरफार गरेका छन् ।
त्यस्तै कन्जर्भेटिभ विचारलाई दबाउनका लागि प्राज्ञिक क्षेत्र, सञ्चारमाध्यम र सामाजिक सञ्जालले अपनाएको सेन्सरशिप नीतिले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाएको र यसबाट अमेरिकी लोकतन्त्र नै अस्तित्वगत संकटमा परेको रामास्वामीको तर्क छ । ठूला प्रविधि कम्पनीहरूले सरकारसँगको साँठगाँठमा बहसलाई निरुत्साहित गर्ने गरी श्याडोब्यानिङदेखि डिप्ल्याटफर्मिङसम्म गर्ने गरेको र विपक्षी आवाजहरूलाई दबाउनका लागि भरमग्दूर प्रयास गरेको भन्दै रामास्वामीले आलोचना गरेका छन् । हुन पनि यस्तो कदम अमेरिकी संविधानको दोस्रो संशोधनको मर्मविपरीत रहेको छ । यसरी विपरीत ध्रुवका विचारलाई दबाउँदा जनताले आत्मशासनको अवसर गुमाएको उनको भनाइ छ ।
यस पुस्तकमार्फत रामास्वामीले अमेरिकीहरूलाई हरण भइरहेको स्वतन्त्रता पुनः दाबी गर्न आह्वान गरेका छन् । दिनानुदिन शक्तिलाई केन्द्रीकरण गर्दै गइरहेको सरकार र कर्पोरेट जगतले विभिन्न बहानामा वैयक्तिक स्वतन्त्रता खोसिरहेको छ । रामास्वामीले पाठकहरूलाई त्यो स्वतन्त्रता कायम राख्नका लागि संघर्ष गर्न आग्रह गरेका छन् । त्यसक्रममा अमेरिकाको संविधानलाई आफ्नो मार्गनिर्देशकका रूपमा अपनाउनुपर्ने उनी आग्रह गर्छन् ।
‘ट्रुथ्स’ मा रामास्वामीले अमेरिकी मूल्यमान्यतामाथि धावा बोल्ने वामपन्थीहरूलाई मात्र नभई अकर्मण्य बनेका कन्जर्भेटिभहरूको पनि आलोचना गरेका छन् । कन्जर्भेटिभहरूले प्रगतिशीलहरूलाई गाली गरेर बस्नुभन्दा स्वीकार्य विकल्प पेश गर्नुपर्ने उनको भनाइ छ । रिपब्लिकन कन्जर्भेटिभहरूले प्रेरणास्पद विचारधारा प्रस्तुत नगरेकाले पनि विगत केही वर्षयताका चुनावमा पराजय भोग्नुपरेको रामास्वामी तर्क गर्छन् । प्रगतिशीलहरूसँग प्रतिरक्षात्मक हुनु भन्दा पनि कठोर सत्यलाई अंगीकार गर्दै आक्रामक बन्नुपर्ने उनको आह्वान छ । त्यसका लागि हाल वर्जित बनाइएका विमर्शहरूमा सक्रिय सहभागी हुने र प्रगतिशीलहरूसँगको सम्झौतापरस्त दृष्टिकोण त्याग्ने सुझाव उनले दिएका छन् ।
यसरी रामास्वामीले ‘ट्रुथ्स’ मार्फत अमेरिकी राजनीतिको भविष्यको खाका कोर्ने प्रयास गरेका छन् । कन्जर्भेटिभ मूल्यमान्यतालाई अंगीकार गर्ने वा अमेरिकाको अहिलेको राजनीतिसँग असन्तुष्ट पाठकहरूले रामास्वामीका तर्कहरूलाई आत्मसात गर्नेछन् । प्रगतिशील पाठकहरूले उनका तर्कसँग असहमति जनाए पनि उनले उठाएका विषयमा घोत्लिने अवसर पाउनेछन् ।
रामास्वामीको लेखनशैली सरल छ । तथ्यांकको चर्चा गर्नुपर्दा उनी पाठकसँग पहिल्यै माफी माग्छन् अनि आंकडालाई सुपाच्य ढंगले प्रस्तुत गर्छन् । कानून पढेको व्यक्ति भएकाले शायद उनी पाठकलाई विश्वस्त तुल्याउनका लागि बलिया तर्कहरू पेश गर्ने र तिनलाई उदाहरण सहित सम्झाउने काम गर्छन् । बीचबीचमा आफ्नो व्यक्तिगत जीवनको समेत प्रसंग ल्याएर उनले पुस्तकलाई सुललित बनाएका छन् ।
अमेरिकी समाजले सामना गरिरहेका जटिल विषयवस्तुलाई सहज तरिकाले प्रस्तुत गरी सुस्पष्ट तर्कमार्फत समाधानको उपाय सुझाउने रामास्वामीको क्षमताका कारण यो पुस्तक समकालीन अमेरिकी राजनीतिको बलियो दस्तावेज बन्न पुगेको छ । रामास्वामीका सबै तर्कसँग सहमत हुन नसकिए पनि (जस्तो, चीनप्रति उनको नकारात्मक दृष्टिकोण) अमेरिका अहिले कुन दिशामा अघि बढिरहेको छ र वर्तमानका समस्याहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनी रामास्वामीले दिएका सुझाव पाठकहरूका लागि मननयोग्य छन् ।
नेपालमा पनि पश्चिमको हावा चलेर जातीय र लैंगिक उग्रवादको ‘वोक’ एजेन्डाले प्रश्रय पाउन थालेको सन्दर्भमा रामास्वामीको पुस्तकको अध्ययन नेपाली पाठकहरूका लागि वाञ्छनीय देखिन्छ । देशलाई एकताबद्ध गर्ने धर्म, राष्ट्रियता र सामाजिक मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको अवस्थामा रामास्वामीले पेश गरेका तर्कहरूबाट प्रेरित भई प्रगतिशील भनिने वोक उग्रवादीहरूलाई परास्त गर्न यहाँका कन्जर्भेटिभ चिन्तकहरू समर्थ हुनेछन् ।