यस पुस्तकमा समस्याका फेहरिस्त मात्र छैनन्, हाइटले समाधानका ठोस उपायहरू पनि सुझाएका छन् । मातापिता, विद्यालय, प्रविधि कम्पनी र सरकारहरूले बालबालिकालाई मानसिक समस्याबाट बचाउनका लागि प्रयत्न गर्न सक्ने उनी लेख्छन् ।

===

प्रविधिको विकाससँगै मानिसलाई सूचनामा सरल र सहज पहुँच मिलेको त छ तर त्यसले अवसाद पनि निम्त्याइरहेको छ । विशेषगरी मस्तिष्कको प्राकृतिक विकास हुन नपाउँदै सामाजिक सञ्जालको लती बनिरहेका आधुनिक बालबालिकामा मानसिक समस्याका लक्षणहरू देखा पर्न थालेका छन् ।

यसै विषयलाई समेटेर अमेरिकाका सामाजिक मनोवेत्ता जोनाथन हाइटले केही महिनाअघि “दी यांक्सस जेनरेशन” शीर्षकको पुस्तक प्रकाशन गरेका छन् । निकै चर्चित बनेको यस पुस्तकले सन् १९९५ पछि जन्मेका बालबालिका (जसलाई जेन जी भनेर चिनिन्छ) मा भयावह रूपमा मानसिक समस्या देखिन थालेको र त्यसका लागि सामाजिक सञ्जाल जिम्मेवार रहेको तर्क गरेको छ ।

हाइटका अनुसार, दुई किसिमका सामाजिक प्रवृत्तिहरूले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पारिरहेका छन् । वास्तविक संसारमा चाहिँ बालबालिकालाई आमाबुवाले बढी नै चियोचर्चो र निगरानी गर्ने अनि प्रविधिको संसार (भर्चुअल वर्ल्ड) मा चाहिँ खुला छोडिदिने प्रवृत्तिका कारण बालबालिकामा तनाव, अवसाद र आत्मक्षतिका लक्षणहरू देखिएको हो । हाइटले यसलाई ग्रेट रिवायरिङ नाम दिएका छन् ।

बालबालिकालाई हुर्कंदै गर्दा वास्तविक संसारमा देखिने वस्तुहरूसँगको अन्तरक्रिया आवश्यक हुन्छ । नयाँ नयाँ कुरा देख्ने, त्यसका बारेमा थप कुरा जान्न खोज्ने र जोखिम मोल्न समेत तयार हुने बालबालिकाको प्रवृत्ति हुन्छ । हाइटले यसलाई प्ले बेस्ड चाइल्डहूड अर्थात् खेलकुदमा आधारित बालापन भनेका छन् ।

तर प्रविधिको विकास भएसँगै हातहातमा स्मार्टफोन आउन थालेपछि अहिले फोन बेस्ड चाइल्डहूड अर्थात् फोनमा आधारित बालापनमा अभिवृद्धि भएको छ । यसले गर्दा बालबालिकाले जिज्ञासु हुँदै खोजी गर्ने भन्दा पनि आफूलाई प्रविधिको संसारमा गुमाएर तनाव र डर पाल्ने अनि निरन्तर सुरक्षाको खोजी गर्ने प्रवृत्ति बढेको छ । अहिलेका बालबालिका र किशोरकिशोरीहरू विशेषगरी सामाजिक सञ्जालमा अरूसँग आफ्नो तुलना गर्दै आफूलाई कमजोर ठान्ने गर्छन् र आत्महत्यासम्मको स्थितिमा पुग्छन् ।

पुस्तकको आरम्भमै हाइटले २१औं शताब्दीमा किशोरहरूको मानसिक समस्या नाटकीय रूपमा बढेको तथ्यांक प्रस्तुत गरेका छन् । स्मार्टफोनहरू सुलभ बनेपछि यस्तो मानसिक समस्या बढेको उनको भनाइ छ । उनले अमेरिका, बेलायत, क्यानडा लगायतका विकसित मुलुकहरूमा यस्तो वृद्धि देखिएको औंल्याएका छन् ।

तर यसमा तर्क सकिन्छ: मानसिक समस्याका बारेमा जनचेतनामा वृद्धि भएको र खुलस्त रूपमा त्यसको चर्चा हुन थालेकोले गर्दा आँकडामा अभिवृद्धि भएको पनि त हुन सक्छ । तर हाइटले मानसिक समस्याको प्रवृत्ति विकसित मात्र नभई विभिन्न मुलुकमा अभिवृद्धि भएको देखिएको अनि आत्महत्याको दर पनि बढेको देखिएको भन्दै उक्त तर्कको खण्डन गरेका छन् ।

बालबालिकामा मानसिक स्वास्थ्य समस्याको वास्तविकतालाई स्थापित गरी हाइटले उनीहरूको विकासका विविध आयामलाई केलाएका छन् । नस्सिम निकोलस तलेब नामक चिन्तकको एन्टीफ्रजाइलिटी भन्ने अवधारणालाई आधार बनाउँदै हाइटले बालबालिका आँधीतुफानको सामन गरिरहेको रुख जस्तै हुन् र उनीहरूलाई सहनशक्ति बढाउनका लागि जोखिम मोल्न अभिप्रेरित गर्नुपर्ने भनेका छन् । घरबाहिर अलिक जोखिम मोलेरै भए पनि बालबालिकालाई खेल्न दिँदा उनीहरूको शारीरिक, मानसिक र सामाजिक क्षमतामा अभिवृद्धि हुने हाइटको तर्क छ ।

तर मातापिताले आफ्ना बालबालिकाको बारेमा बढी नै चिन्ता लिँदै बाहिर जानै नदिने अनि जतिखेर पनि आफ्नो निगरानीमा राखिरहने प्रवृत्ति बढेको हाइट दाबी गर्छन् । विशेषगरी पश्चिमी मुलुकहरूमा बालबालिकालाई घरबाहिर एक्लै छोडिदिँदा अरू मान्छेले प्रहरीलाई खबर गरिदिने अनि प्रहरीले आमाबुवालाई छोराछोरीको हेरचाह नगरेको आरोपमा मुद्दा चलाइदिने गर्दा पनि आमाबुवा डराएका हुन् ।

तर यसले गर्दा बालबालिकालाई बाहिरी संसारको बारेमा सोधखोज गर्न र जोखिम लिन दिँदैन र उनीहरूको शारीरिक तथा मानसिक विकास दुवैमा अवरोध पुर्याउँछ । पश्चिमको जस्तो कानून भएका देशमा पनि घरबाट बाहिर निस्कँदा आफ्ना छोराछोरी अपहरणमा पर्लान् वा कुसंगतमा लाग्लान् भनी चाहिने भन्दा बढी चिन्ता लिने मातापिताले वास्तवमा छोराछोरीको अहित गरिरहेका हुन्छन् ।

एकातिर बाहिरी संसारको अवलोकन गर्न आफ्ना छोराछोरीलाई नदिने मातापिताले सामाजिक सञ्जाल र इन्टरनेट जगतमा चाहिँ खुला छोडिदिएका हुन्छन् । त्यहाँ कस्ता मानिससँग छोराछोरीले अन्तरक्रिया गरिरहेका छन् भन्ने कुरामा आमाबुवाले ध्यान दिइरहेका हुँदैनन् । धेरैजसो यापहरूमा प्यारेन्टल कन्ट्रोलको सुविधा भए पनि त्यसलाई आमाबुवाले उपयोग गर्दैनन् । फलस्वरूप, छोराछोरीमा मानसिक समस्याहरू उत्पन्न भइरहेको हुन्छ ।

सामाजिक सञ्जालहरूले प्रयोगकर्ताको ध्यान निरन्तर खिचिरहनका लागि हूक्ड मोडल उपयोग गर्ने गरेको र त्यसले गर्दा बालबालिकालाई लती बनाइरहेको हाइटको दाबी छ । आफ्नो पोस्टमा कति लाइक र कमेन्ट आयो भन्नेमा चासो लिइरहँदा बालबालिकाले पढाइ र व्यवहारमा ध्यान दिन सकिरहेका हुँदैनन् । सामाजिक सञ्जालमा अर्काले गरेको प्रशंसा वा निन्दा वा बेवास्तालाई अनावश्यक महत्त्व दिनुका साथै अर्को प्रयोगकर्तासँग आफूलाई तुलना गरेर हीनभाव लिने बानीका कारण बालबालिका र किशोरकिशोरीहरूमा मानसिक समस्या बढ्न थालेको छ ।

हाइटका अनुसार, बालक र किशोरहरू भिडियो गेम र पोर्नोग्राफीमा बढी आकर्षित हुन्छन् किनकि त्यसले उनीहरूलाई आफ्नो कर्तृत्व (एजेन्सी) स्थापित गरेको भ्रम दिलाउँछ । बालिका र किशोरीहरू चाहिँ इन्स्टाग्राम र स्न्यापच्याट जस्ता सामाजिक सञ्जालमा बढी आकर्षित हुन्छन् किनकि त्यहाँ उनीहरूले समान सहभागिता (कम्युनियन) को अवसर पाउँछन् । तर त्यसक्रममा किशोरीहरूले आफूलाई अरूको सौन्दर्यसँग (चाहे त्यो फिल्टरले बनाएको कृत्रिम सौन्दर्य नै किन नहोस्) तुलना गर्न थाल्छन् र तनाव लिन्छन् । किशोर र किशोरीहरूको यो लतले उनीहरूलाई नजानिँदो तवरले हानि गरिरहेको हुन्छ ।
तर हाइटले प्रविधिमाथि सबै दोष थुपारेका छैनन् । सामाजिक संरचना र सांस्कृतिक मूल्यमान्यतासँग प्रविधिको संयोजनका कारण मानसिक जटिलताहरू आइरहेको उनको भनाइ छ । मातापिताले नै आफ्ना छोराछोरीलाई अरूका छोरीछोरीसँग घुलमिल हुन नदिँदा अनि विभिन्न डर पालेर घरबाट बाहिर निस्कन नदिँदा छोराछोरीहरू प्रविधिको संसारमा नभुलेर के गरून् त ?

यस पुस्तकमा समस्याका फेहरिस्त मात्र छैनन्, हाइटले समाधानका ठोस उपायहरू पनि सुझाएका छन् । मातापिता, विद्यालय, प्रविधि कम्पनी र सरकारहरूले बालबालिकालाई मानसिक समस्याबाट बचाउनका लागि प्रयत्न गर्न सक्ने उनी लेख्छन् ।

सरकारले सामाजिक सञ्जाल उपयोगमा उमेर प्रमाणित (एज भेरिफिकेशन) मा जोड दिनुपर्ने हाइटले प्रस्ताव गरेका छन् । त्यसैगरी सामाजिक सञ्जालहरूलाई प्रयोगकर्ता लती बनाउने डिजाइनमा नियन्त्रण गर्नका लागि सरकारले बाध्य बनाउन सक्छ ।

उता प्रविधि कम्पनीहरूले नाफा कमाउने मात्र नभई प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने हाइटको सुझाव छ । सामाजिक सञ्जालमा स्वस्थ अन्तरक्रियालाई प्रवर्धन गर्ने डिजाइन बनाउन उनी प्रस्ताव गर्छन् ।

त्यस्तै विद्यालयहरूले फोन पटक्कै चलाउन नदिने प्रतिबन्धात्मक नीति अंगीकार गर्नुपर्छ । कक्षाकोठामा सिकाइ र सामाजिक अन्तरक्रिया मात्र गर्न पाइने, फोन चलाएर बस्न नपाइने नीतिलाई कठोरतापूर्वक लागू गर्नुपर्छ । अनि विद्यालयहरूले बालबालिकाको सामाजिक र भावनात्मक विकासका लागि अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नुपर्छ ।

त्यस्तै मातापिताहरूले आफ्ना छोराछोरीलाई काठ मिस्त्रीले जस्तो आकार दिने नभई बगैंचेले जस्तो फल्न फुल्नका लागि स्वतन्त्र छोडिदिनुपर्छ । प्रविधिको उपयोगमा नियन्त्रण गरी बालबालिकालाई वास्तविक संसारका क्रियाकलापहरूमा सहभागी हुन उत्प्रेरित गर्नका लागि हाइटले मातापितालाई सुझाव दिएका छन् ।

चारवटा सुझावलाई हाइटले मन्त्र जस्तो गरी प्रस्तुत गरेका छन्: १) १३ वर्षको उमेरअघि स्मार्टफोन चलाउनै नदिने, २) १६ वर्षको उमेरअघि सामाजिक सञ्जाल चलाउनै नदिने, ३) विद्यालयमा फोन चलाउनै नदिने र ४) बालबालिकालाई स्वतन्त्र रूपमा खेल्न दिने ।

हाइटले पाठकहरूलाई यस विषयमा थप मुखरित हुन र समाजका अन्य व्यक्तिहरूसँग समन्वय गरेर बालबालिकाको मानसिक विकासका लागि प्राकृतिक संसारमा प्रवृत्त गराउन आह्वान गरेका छन् । वर्षको एकपटक बालबालिकालाई फोन नदिइकन सामूहिक रूपमा जंगल भ्रमण गर्न लगाउने, कुनै ठाउँमा घुम्न जाँदा त्यहाँको फोटो खिचेर बस्ने भन्दा पनि प्राकृतिक सौन्दर्यको रसपान गर्न लगाउने अनि योगध्यानतिर बालबालिकालाई आकर्षित गराउने सुझाव उनले दिएका छन् ।

विकसित पश्चिमी संसारमा भयावह रूपमा बालबालिकाको मानसिक समस्या देखिरहेको अवस्थामा हाइटका सुझावहरू सान्दर्भिक र उपयोगी छन् । अल्पविकसित र अविकसित मुलुकहरूमा पनि यी सुझावहरू महत्त्वपूर्ण ठहरिन्छन् ।

प्रविधिको द्रुत विकासका कारण सूचनामा सहज पहुँच बढेको छ र यसलाई फिल्टर गर्न नसक्दा मानिसहरूले बोझ अनुभव गर्न थालेका छन् । यसलाई ब्रेन रट भनिन्छ र यस शब्दावलिलाई अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् २०२४ को वर्षशब्द घोषणा गरेको थियो । सामाजिक सञ्जालका अनुपयोगी कुराहरू आधुनिक पुस्ताले ग्रहण गर्दा ब्रेन रट भइरहेको हो । हाइटको सुझाव मान्दै त्यसलाई नियन्त्रण गर्नु जरूरी छ ।

हाइटको सिफारिशलाई संसारका कतिपय मुलुकले कार्यान्वयनको दिशामा लगिरहेका छन् । हालै अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न प्रतिबन्ध लगाएको छ । त्यस्तै भारतमा १८ वर्षमुनिका बालबालिकालाई प्रमाणित गर्न सकिने अभिभावकीय स्वीकृति विना आफ्नो डेटालाई प्रोसेस गर्न नदिइने नीति छ । अन्य मुलुकहरूले पनि बालबालिकाका लागि सूचना प्रविधि उपयोगमा नियन्त्रण तथा नियमनका लागि नीतिहरू ल्याउन थालेका छन् । नेपालमा पनि यस्तो किसिमको नीति आवश्यक छ ।

जे होस्, हाइटको पुस्तक दी यांक्सस जेनरेशनले बालबालिका एवं किशोरकिशोरीमा देखिएको मानसिक स्वास्थ्यको समस्या र त्यसको कारणका रूपमा रहेको सामाजिक सञ्जालको उपयोगका बारेमा विचारोत्तेजक विश्लेषण प्रस्तुत गरेको छ । मिहिन अनुसन्धान, सूक्ष्म अन्तरदृष्टि तथा व्यावहारिक सल्लाहसुझावको मिश्रणका कारण यो पुस्तकको पठन अपरिहार्य बनेको छ ।