साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

माइक पेन्सको संस्मरणलाई ३५ लाख डलर

Chovar Blues Mobile Size

अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सको संस्मरण पनि आउने भएको छ । उनको आत्मकथाले पनि डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकालको चिरफार गर्ने अपेक्षा गरिएको छ । उनको संस्मरणात्मक पुस्तक दुई भागमा प्रकाशन हुने र दुई पुस्तकका लागि प्रकाशन गृहले ३० देखि ४० लाख डलर रकम तिर्ने सम्भावना रहेको बताइएको छ ।

सन् १८८९ मा जन्मिएका बेलायती नियात्राकार फिलिप गुडेलाले आत्मकथालाई आफ्नाबारेमा भन्दा पनि अरुका बारेमा ‘खुलासा’ गर्ने अतुलनीय विमान भन्ने गरेका थिए । यसमा पनि उपराष्ट्रपति पेन्सले आफ्नाबारेमा भन्दा डोनाल्ड ट्रम्पको गतिविधिको चिरफार गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पको कार्यकालमा भद्र छवि बनाएका माइक पेन्सको यो आत्मकथामा भने ट्रम्प कार्यकालमा निस्किएका केही आत्मकथाजस्तो सनसनीखेज नहुने पेन्सले नै प्रस्ट पारेका छन् ।

राष्ट्रपतिहरुको आत्मकथालाई प्रकाशकले दह्रो मूल्य तिर्दै आएका छन् । ओबामा दम्पतिको पुस्तकलाई सन् २०१७ मा प्रकाशकले ६ करोड डलर तिरेका थिए । त्यस्तै बिल क्लिन्टनले सन् २००४ मा ‘माई लाइफ’ पुस्तकका लागि डेढ करोड डलर हात पारेका थिए । यसैगरी हिलारी क्लिन्टनले सन् २०१४ ताका उनको पुस्तक ‘हार्ड च्वाइसेस’का लागि एक करोड ४० लाख डलर पाएकी थिइन् ।

जर्ज डब्लु बुसको सन् २०१० मा निस्किएको आत्मकथा ‘डिसिजन पोइन्ट्स’का लागि १ करोड डलर पाएका थिए । त्यस्तै डोनाल्ड ट्रम्पको सन् १९८७ मा निस्किएको ‘आर्ट अफ द डिल’ पुस्तकका लागि प्रकाशकले पाँच लाख डलर पाएका थिए । यो रकम डोनाल्ड ट्रम्प र उनका गोस्ट राइटरबीच दामासाहीले रकम वितरण गरिएको थियो ।

गएको वर्ष मात्र डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले आफ्नो आत्मकथा कसैलाई नदिई आफैँ प्रकाशन गरेका थिए । पछिल्लो समय कुन प्रकाशकले कसको आत्मकथालाई कति रकम तिर्यो भन्ने कुरा प्रतिष्ठाको विषय बन्न पुग्दा जुनियर ट्रम्पले आफैँ प्रकाशन गरेको केहीको टिप्पणी छ किनभने उनका लागि ठूलो मूल्य हालेर कुनै पनि प्रकाशक किताब छाप्न उनीकहाँ जाँदैनन् भन्ने स्वयं ट्रम्प जुनियारलाई पनि थाहा छ ।

पेन्सको आत्मकथालाई सिमोन एन्ड सुस्टरले प्रकाशन गर्ने निधो भएको छ । उनको आत्मकथामा उनी कोलम्बस, इन्डियानामा जन्मिएदेखि गभर्नर हुञ्जेल र डोनाल्ड ट्रम्पको उपराष्ट्रपति हुञ्जेलका घटनाहरु पहिलो भागमा समावेश गरिने बताइएको छ ।

पहिलो भाग सन् २०२३ सम्म बजारमा आइपुग्ने बताइएको छ ।

पेन्सले पुस्तक निस्कने भएपछि एक विज्ञप्ति जारी गर्दै पेन्सले भनेका छन्, ‘मेरो जीवनका कथा यहाँहरुलाई सुनाउन पाउँदा खुसी छु । मैले केही समय कंग्रेसमा बिताएँ, इन्डियाना राज्यको गभर्नर भएँ र अमेरिकाको उपराष्ट्रपतिका रुपमा सेवा गर्ने मौका पाएँ । यो यात्रा मेरालागि निकै रोचक थियो र अरुका लागि पनि पठनीय बन्न सक्ने अपेक्षा गरेको छु ।’

सिमोन एन्ड सुस्टरले यसअघि जोन बोल्टनको संस्मरण द रुम ह्वेर इट ह्यापेन्ड निकै हल्लीखल्ली र प्रतिबन्ध लगाउने प्रयासका बीच प्रकाशन भएको थियो । यसैगरी बब वुडवार्डको ‘फियर’ र डोनाल्ड ट्रम्पकी भतिजी मेरी ट्रम्पको ‘टु मच एन्ड नेभर इनफ’ पुस्तक पनि सिमोन एन्ड सुस्टरले नै बजारमा ल्याएको थियो ।

गएको अप्रिलमा यो पुस्तक बजारमा ल्याउने हल्लाका बीच केही मानिसहरुले ट्रम्पलाई बेइज्जत गर्ने लामो प्रक्रियाको अन्त्य हुनुपर्ने आवाज उठाउँदै प्रकाशन गृहअगाडि धर्ना बसेका थिए । स्वयं प्रकाशन गृहमा काम गर्ने २१६ जना कर्मचारीहरुले यस कार्यको प्रकाशन गृहसँग विरोध जनाएका थिए । उनीहरुको कार्यमा कयौँ बाहिरियाहरुले समेत साथ दिएका थिए ।

ट्रम्प कार्यकाललाई एउटा सामान्य कार्यकालका रुपमा व्यवहार गर्न विरोधकर्ताहरुले प्रकाशन गृह सिमोन एन्ड सुस्टरलाई आग्रह गरेका थिए ।

आखिर प्रकाशकहरुले यस्ता विवादास्पद पुस्तक किन प्रकाशन गर्छन् त ? स्वाभाविक छ, यो संसारभरि नै बढीभन्दा बढी बिक्छ । यी किताब बिकाउ बनाउन हल्ला गरिदिने संसारभरको नेटवर्क छ ।

तर यसपाला यसअघि कहिल्यै नभएको घटना भने घट्न पुगेको छ । प्रकाशन गृहको तल्लो तहमा काम गर्ने कर्मचारीहरुले चुत्थो फाइदाका लागि कम्पनीले वाहियात र ननिस्कनुपर्ने किताबहरु पनि निकाल्न थालेको र त्यसले अमेरिकाको छवि धूमिल बनाउने टिप्पणी गर्न थालेका छन् । स्वयं कम्पनीले पनि यसअघि कहिल्यै आफ्ना कर्मचारीको गुनासो र टिप्पणी सुन्दैन थियो । यसपाला भने आफ्ना कर्मचारीले गरेको विरोध प्रदर्शनलाई आफूहरुले सुन्ने तर निर्णय गर्ने अधिकार व्यवस्थापन समूहको रहेको टिप्पणी गरेको छ ।

कार्यालयभित्रै काम गर्ने कर्मचारीहरुको यो विरोधको नयाँ शैलीले कहिलेकाहीँ फाइदाकै काम गर्ने गर्छ । आफ्नै सौतेनी छोरीको यौन शोषण गरेको आरोप खेपिरहेका चर्चित हलिउड फिल्मका अभिनेता तथा निर्देशक उडी एलेनको आत्मकथा प्रकाशन गर्नबाट कर्मचारीहरूले सामाजिक सञ्जालबाट रोक्ने प्रयास गरेका थिए । उनीहरू त्यस कार्यमा सफलसमेत भएका थिए । पछि उडीको आत्मकथा एउटा सानो कम्पनीले बजारमा ल्याएको थियो ।

प्रतिक्रिया
Loading...