अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा नयाँ पुस्तकका कारण पुनः विवादमा तानिएका छन्।
ट्रम्पकी ५५ वर्षीया भतिजी मेरी लिय ट्रम्पले लेखेको पुस्तक ‘टु मच एन्ड नेभर इनफः हाउ माई फ्यामिली क्रिएटेड द वर्ल्ड्स मोस्ट डेन्जरस म्यान’का कारण राष्ट्रपति ट्रम्प विवादमा परेका हुन्।
हुन त यो पुस्तक तयार हुँदै गर्दा मेरीले धेरै वर्षअघि अर्बपति डोनाल्ड ट्रम्पसँगको सम्पत्ति विवादका बेला एउटा सम्झौता गरेको र सो सम्झौताका कारण यस्ता घरेलु कुरा यतिबेला खुलासा गर्न नपाउने भनी अदालतमा मुद्दा हालेका छन्। गएको साता मुद्दा हाल्नेबित्तिकै पुस्तकलाई तुरून्त स्थगन गर्न स्थानीय अदालतले आदेश दिएको थियो।
तर मेरीले पुस्तक प्रकाशन स्थगनको कुनै कारण नरहेको स्पष्टीकरण पेस गरेपछि पुस्तक प्रकाशन स्थगन रद्द गरिएको थियो।
यता मेरीले भने आफ्ना काका राष्ट्रपति ट्रम्पले धोका दिएर आफूसँग सम्झौता गरेको र अहिलेको अवस्थामा सो सम्झौता काटेर यो पुस्तक प्रकाशन गर्न सकिने स्पष्टोक्ति दिएकी छन्। पैसा भनेपछि मरिहत्ते गर्ने काका डोनाल्डले कसरी पैसा कमाए भन्ने भित्री कुराको खुलासा गरिएको यो किताब र सम्झौतासँग कुनै लेनदेन नरहेको पनि उनले बताएकी छन्।
यो पुस्तक यही जुलाई महिनाको अन्त्यताका बजारमा ल्याउने तयारी भइरहेको छ।
पुस्तक बजारमा ल्याउन नदिन डोनाल्ड ट्रम्प परिवारका अन्य सदस्यले गत साता नै दुई वटा मुद्दा अदालतमा हालिसकेका छन्। पछिल्लो पटक डोनाल्डका कान्छा छोरा रोबर्टले पुस्तक बजारमा ल्याउनबाट रोक्न मुद्दा हालेका छन्।
गएको मंगलबार न्युयोर्कको डचेज काउन्टीले पुस्तकलाई केही समय प्रकाशन रोक्न अनुरोध गरेको थियो। यतिबेला पुस्तकको मुद्रण कार्य भने धमाधम भइरहेको छ। पुस्तकको ई-बुक यसअघि नै बजारमा आइसकेको छ, जुन अमेजन डटकममा बेस्ट सेलर भइसकेको न्युयोर्क टाइम्स पत्रिकाले जनाएको छ।
पुस्तकमा डोनाल्ड ट्रम्पका पिता फ्रेड ट्रम्पको सन् १९९९ मा निधन भएपछि आफ्ना भतिजा-भतिजीले पाउनुपर्ने आर्थिक अधिकारबाट व्यापक रूपमा कटौती गरेको तीतो पोखेकी छन्। मेरीका बुबा फ्रेड जुनियर सन् १९८१ मा ४२ वर्षकै उमेरमा बितेका थिए। फ्रेड जुनियर लागू पदार्थको नराम्रो समस्यामा फँसेका थिए।
हजुरबा भन्दा पहिल्यै बितेका मेरी र उनकी आमाले हजुरबा फ्रेड सिनियरबाट राम्रै अंशको अपेक्षा गरेका थिए। तर फ्रेड सिनियरको निधनपछि अवस्था यति बिग्रियो कि पाउनुपर्ने रकम पनि नपाएको गुनासो पुस्तकमा छताछुल्ल भएको छ। मेरी र उनका भाइ फ्रेड ट्रम्प तृतीयले पछि काका ट्रम्पविरूद्ध सम्पत्तिको अधिकारका लागि मुद्दा हालेका थिए।
मुद्दा यति तिक्ततापूर्ण तरिकाले लडियो कि पछि एउटा गोप्यतासम्बन्धी सम्झौतामा गएर टुंगियो। अहिलेको ट्रम्प अडान सोही बेला गरिएको सम्झौताको कुरा हो। तर मेरी ट्रम्प भन्छिन्, ‘त्यो बेलाको सम्झौता र किताबमा उल्लेख गरिएका चिज फरक कुरा हुन्। त्यसले किताब प्रकाशनलाई असर पुग्ने छैन।’
पुस्तकको भविष्य के होला भन्ने चासोका कारण यतिबेला अनलाइनमा पुस्तक बिक्री ह्वात्त बढेर बेस्ट सेलरको तेस्रो नम्बरमा उक्लिएको छ।
लेखिका मेरीले सार्वजनिक महत्त्वको पुस्तकलाई सामान्य अवस्थामा लाग्ने कानुन लगाएर प्रकाशन रोक्न नमिल्ने जिकिर गरेकी छन्। अदालतले पुस्तकबारे आउँदो जुलाई १० मा पूर्ण फैसला दिने अपेक्षा गरिएको छ। यता प्रकाशक सिमोन एन्ड सुस्टरले पनि प्रकाशन स्थगन नगर्न अदालतलाई लिखित अपिल गरेको छ।
पत्रकार अच्युत कोइरालाले राष्ट्रपति डोनाल्ड ट्रम्पको जीवनी लेखेका छन्। पैसा भनेपछि मरिहत्ते गर्ने ट्रम्पको जीवनी पढ्नु एउटा रोचक अनुभव हुने र जीवनमा सफल हुनका लागि कयाैँ अनैतिक कार्य गर्ने ट्रम्पले यो पुस्तक प्रकाशन रोक्नबाट अनेक हतकण्डा अपनाउन पछि नपर्ने तर त्यहाँको सशक्त न्याय प्रणालीका कारण यो नरोकिने बताएका छन्।
मेरी ट्रम्पसँग डोनाल्डको तिक्ततापूर्ण सम्बन्धबारे एउटा पूरै अध्याय छुट्याइएको पनि उनले जनाएका छन्।
(यो पुस्तक मोबाइल नं. ९८४१३५५८६५ मा फोन गरेर घरमै मगाउन पनि सक्नुहुन्छ या आवश्यक जानकारी लिन सक्नुहुन्छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।