आर्मेनियाका पूर्वराष्ट्रपति आर्मेन सारकिसियनको पुस्तक ‘द स्मल स्टेट्स क्लब: हाउ स्मल स्मार्ट स्टेट्स क्यान सेभ द वर्ल्ड’ले भौगोलिक आकारमा साना मुलुकहरूले बदलिँदो विश्व राजनीतिमा कसरी आफ्नो प्रभाव पार्न सक्छन् भनी चर्चा गरेको छ ।
नौवटा साना मुलुकहरूले विषम परिस्थितिबाट गुज्रिएर पनि कसरी आर्थिक उन्नतिका साथै शक्ति आर्जन समेत गर्न सके भनी सारकिसियनले पुस्तकमा वर्णन गरेका छन् । उनले सिंगापुर, कतार, युनाइटेड अरब इमिरेट्स, इजरायल, इस्टोनिया, स्विटजरल्यान्ड, आयरल्यान्ड, बोत्सवाना र जोर्डनको विकासको उदाहरण प्रस्तुत गर्दै राजनीतिक नेताको सकारात्मक इच्छाशक्ति हुने हो भने जस्तो प्रतिकूल अवस्थामा रहेको मुलुक भए पनि सफलताको शिखर चुम्न समर्थ हुने ठोकुवा गरेका छन् ।
राजनीतिमा आउनुअघि कूटनीतिकर्मीका रूपमा बेलायतका लागि लामो समय राजदूत रहेका सारकिसियनले माथि उल्लेख गरेका मुलुकका राष्ट्रप्रमुख र उच्च अधिकारीसँग सुमधुर सम्बन्ध कायम गरेका थिए । त्यसैले ती मुलुकहरूको विकासक्रमका बारेमा आधिकारिक धारणा प्रस्तुत गर्ने पात्रता सारकिसियनले हासिल गरेका छन् ।
सिंगापुरको कुरा गर्नुपर्दा बेलायतले सन् १९६० को दशकमा समेत झुपडपट्टी मात्र भएको र लामखुट्टेको आतंकले सताएको धापका रूपमा रहेको भूमिलाई ली क्वान यू जस्ता दूरदर्शी नेताले कसरी विश्वको अग्रणी अर्थशक्तिमा परिणत गरे भनी सारकिसियनले मसिनो वर्णन गरेका छन् । लीले विविध जातजातिका मानिसलाई सिंगापुरको राष्ट्रिय पहिचानमा गोलबद्ध हुन लगाई भ्रष्टाचारलाई जरैबाट निर्मूल बनाएका थिए । त्यसका साथै उनले आर्थिक उदारीकरणलाई अपनाउँदै नागरिक अनुशासनको अनुगमनमा राज्यको भूमिका अभिवृद्धि गराएर समाजवादी चीन र पूँजीवादी पश्चिमको मिश्रणका साथ सिंगापुरलाई उन्नत राज्य बनाउने नीति कार्यान्वयन गरेका थिए । सिंगापुरको विकासका लागि उनको यो व्यावहारिकतावादी दृष्टिकोणको प्रमुख भूमिका रहेको सारकिसियनको निष्कर्ष सटीक छ ।
उता कतारको कुुरा गर्दा, तेल र ग्यासको अथाह भण्डारका कारण कतारको आर्थिक उन्नति अवश्यम्भावी थियो । तर त्यसलाई व्यवस्थापन गर्न चुकेको भए कतार अहिलेको जस्तो रणनीतिक शक्ति बन्ने थिएन, सारकिसियन लेख्छन् । तर कतारी राजा हमाद बिन खलिफा अल थानी र उनका छोरा बहालवाला राजा तमिम बिन हमाद अल थानीले तेल उद्योगलाई राष्ट्रियकरण गरी तेल बजारमा कतारको हैसियत उकासेका थिए । त्यसका साथै तेलबाट प्राप्त राजस्वको सदुपयोग गर्दै राजा तमिमले कतारमा नवप्रवर्तनमा लगानी गरी कतारको अर्थतन्त्रलाई विविधीकरण गरेका छन् । उनको त्यही कदमका कारण साउदी अरबको नेतृत्वमा नाकाबन्दी लगाइएको भए पनि कतारलाई नकारात्मक असर परेन । त्यसका साथै कूटनीतिक सन्तुलन कायम गरी उनले अमेरिका, चीन र रुस जस्ता महाशक्तिहरूलाई आफ्नो अनुकूल बनाउन सकेको सारकिसियन लेख्छन् ।
त्यसैगरी युनाइटेड अरब इमिरेट्सले कृषि, माछा मार्ने काम र समुद्रमा मोती खोज्ने काम जस्ता सामान्य आर्थिक क्रियाकलापका भरमा भरथेग गरिरहेको अर्थतन्त्रलाई तेलको खोजीपश्चात् सबल अर्थतन्त्रमा परिणत गरेको थियो । तर तेलमा मात्र आधारित नरही यूएईले विश्वभरका लगानीकर्ताहरूलाई आफूकहाँ भित्र्याएर उसले नवप्रवर्तनका आधारहरू तयार पारेको छ । फलस्वरूप, यूएईले मंगलग्रहमा अन्तरिक्षयान पठाएर आफूलाई अन्तरिक्ष महाशक्ति राष्ट्रहरूको समूहमा आबद्ध गराएको छ । त्यस्तै आधुनिक विश्वको प्रविधिसँग आफूलाई अनुकूल गर्दै यूएईले कृत्रिम बौद्धिकता (आर्टिफिशियल इन्टेलिजेन्स) को रणनीति बनाएको छ र एआईको व्यवस्थापनका लागि बेग्लै मन्त्रालय नै गठन गरेको छ । स्रोतसाधन भएर मात्र कुनै राष्ट्र धनी हुने हैन, त्यसको सदुपयोगले मात्र उसले शक्ति हासिल गर्ने हो भन्ने तथ्यलाई यूएईले प्रमाणित गरेको सारकिसियनको भनाइ छ ।
हुन पनि पुस्तकको सबटाइटल ‘स्मल स्मार्ट स्टेट्स’ अर्थात् साना चतुर राज्य – यस शब्दावलिमा हामीले ध्यान दिनुपर्ने हुन्छ । भौगोलिक रूपमा कुनै मुलुक सानो हुनु इतिहासको परिणाम हो तर चतुर हुनका लागि कसैले सिकाइरहनु पर्दैन । सारकिसियनले उल्लेख गरेका मुलुकहरू चतुरताका कारण महाशक्तिहरूसँग ‘डील’ गर्न समर्थ भएका हुन् ।
इजरायलले नवप्रवर्तनमा जोड दिएर, इस्टोनियाले व्यवहारवादी आर्थिक नीति अंगीकार गरी करप्रणालीलाई सरलीकृत गर्दै ई–गभर्नेन्सलाई जोड दिएर, स्विटजरल्यान्डले संघीय व्यवस्थाको समुचित व्यवस्थापनका साथै तटस्थताको नीतिलाई कार्यान्वयन गरेर, आयरल्यान्डले आर्थिक उदारीकरण तथा प्रवासीहरूको क्षमताको सदुपयोग गरेर, बोत्स्वानाले हीरा लगायतका खनिजस्रोतहरूको सदुपयोगका साथै लोकतान्त्रिक मूल्यमान्यताको सही कार्यान्वयन गरेर, जोर्डनले कल्याणकारी राज्यको उम्दा नमूना प्रस्तुत गरेर आफूलाई विश्व रंगमञ्चमा उकासेको उदाहरणलाई सारकिसियनले विश्वसनीय तरिकाले प्रस्तुत गरेका छन् ।
तर आफ्नो मुलुक आर्मेनियाले अपेक्षाअनुरूपको प्रगति गर्न नसकेको भन्दै सारकिसियनले चिन्ता व्यक्त गरेका छन् । युरोप र एसियाको साँधमा रहेको आर्मेनियाले आफ्नो लामो इतिहासमा धेरैपटक प्रताडना भोगेको थियो र पहिलो विश्वयुद्धमा नरसंहार समेत बेहोरेको थियो । सोभियत संघबाट स्वतन्त्र भएलगत्तै सन् १९९० को दशकमा अजरबैजानसँग नागोर्नो–काराबाख (आर्टसाख) क्षेत्रका लागि भएको लडाइँमा आर्मेनिया विजयी भएको थियो । तर सन् २०२० मा त्यही ठाउँको लागि भएको लडाइँमा अजरबैजानले आर्मेनियालाई परास्त गरिदियो र आर्टसाख क्षेत्रका आर्मेनियनहरू पलायन हुनुप-यो ।
पच्चीस वर्षको अन्तरालमा आर्मेनिया कसरी कमजोर हुन पुग्यो भनी सारकिसियनले निर्मम समीक्षा गरेका छन् । उनले आन्तरिक राजनीतिका झिनामसिना वादविवादमा अल्झिएकाले र अल्पकालीन सोचका साथ काम गरेकाले यो स्थिति आएको दाबी गरेका छन् । प्रधानमन्त्रीय प्रणाली ठीक कि राष्ट्रपतीय प्रणाली भन्ने विवादमा समय खेर फालेकाले आर्मेनियाले आर्थिक प्रगतितर्फ ध्यान दिन नसकेको उनको भनाइ छ । त्यससँग इजरायल र आयरल्यान्डले झैं गैरआवासीय आर्मेनियालीहरूको क्षमता उपयोग गर्न नसकेकाले पनि उन्नतिमा बाधा पुगेको उनको निष्कर्ष छ । नेपालको सन्दर्भमा पनि यीमध्ये कतिपय कुराहरू सान्दर्भिक ठहरिन्छन् ।
तर सन् १९९६ देखि १९९७ सम्म प्रधानमन्त्री रहेका र सन् २०१८ देखि २०२२ सम्म राष्ट्रपति बनेका सारकिसियनले पनि आर्मेनियाको दुर्गतिको अपजस बोक्नुपर्ने हुन्छ । पुस्तकमा उनले आफ्नो प्रधानमन्त्रीकालको खासै वर्णन गरेका छैनन् भने कार्यकारी अधिकारविनाको राष्ट्रपति पदमा हुँदा गरेको कार्यलाई प्रधानमन्त्री निकोल पाशिन्यानले सहयोग नगरेको भनी दोषारोपण गरेका छन् ।
आर्मेनिया उम्दा राज्यसञ्चालनको नमूना नभएको कुरा सारकिसियनको वर्णनले स्पष्ट पार्छ । तर उनले उल्लेख गरेका अन्य सफल मुलुकहरूबाट हामीले राम्रो पाठ सिक्न सक्छौं । त्यो के भने, साना राज्यहरूको सबभन्दा ठूलो चिन्ता अस्तित्व रक्षा नै हो (नेपालको सन्दर्भमा लियो ई. रोजको ‘स्ट्राटेजी फर सर्भाइभल’ पुस्तकको निचोड पनि यही हो) । त्यसलाई आत्मसात गर्दै ती राज्यहरूले आफ्ना कमीकमजोरीको मूल्यांकन गर्दै भविष्योन्मुखी लगानी गर्दछन् । साना राज्यको सफलतामा बलियो राष्ट्रिय पहिचान, सुस्पष्ट राष्ट्रिय लक्ष्य, त्यस लक्ष्यलाई हासिल गर्ने व्यावहारिक रणनीति र त्यस रणनीतिलाई कार्यान्वयन गर्ने प्रभावकारी नेतृत्वको योगदान रहन्छ । यी सबैको समन्वय हुँदा साना राज्यहरूले बहुध्रुवीय विश्व व्यवस्थाका जटिलतालाई आफ्नो राष्ट्रिय स्वार्थअनुकूल हुने गरी व्यवस्थापन गर्न सक्छन् ।
सारकिसियनले परिकल्पना गरेझैं साना चतुर राज्यहरूको क्लब वा समूह त बन्ला तर त्यसले संसारलाई बचाउनका लागि शान्ति प्रवर्धन र अन्तर्राष्ट्रिय साझेदारीमा योगदान गर्न सक्ला ? अनि ठूला आकारका महाशक्ति राष्ट्रहरूले यस समूहलाई सकारात्मक दृष्टिकोणले हेर्लान् ? साना राज्यहरूको समूह गठन आफैंमा ठूलो बन्ने र महाशक्ति बन्ने अभिलाषा हैन र ? पुस्तक पढेपछि पाठकका मनमा यी प्रश्नहरू उब्जिन्छन् ।
सारकिसियनले उदाहरण दिएका मुलुकहरू पश्चिमको सदिच्छाका कारण उन्नतिपथमा अग्रसर भएको सत्य हो । पश्चिमको वक्रदृष्टि परेको मुलुकलाई प्रगतिमा अवरोध आउने तथ्य त हालै बाङ्गलादेशमा भएको सत्तापलटले स्पष्ट पार्छ । त्यसैले अहिलेको परिस्थितिमा पश्चिम र गैरपश्चिम शक्तिहरूसँगको कूटनीतिक सन्तुलन नै साना राज्यहरूको अस्तित्व रक्षा र उन्नतिको कारण बन्न सक्ने देखिन्छ ।
पुस्तकमा सारकिसियनले पश्चिमी लोकतन्त्रको महिमागान गर्ने क्रममा रुस र चीन जस्ता मुलुकले नवप्रवर्तनको अवसर कुण्ठित गर्छन् भनी गरेको मूल्यांकनमा समीक्षकको विमति छ । रुस–युद्धमा सामरिक प्रविधिमा रुसको अतुलनीयता संसारले देखेको छ भने चौथो औद्योगिक क्रान्तिको सन्दर्भमा चीनले अमेरिकालाई समेत उछिनिसकेको तथ्यलाई बेवास्ता गर्न मिल्दैन ।
अनि सारकिसियनले इजरायलको वर्णन गर्ने क्रममा त्यहाँको सुरक्षा संयन्त्रले प्यालेस्टाइनीहरूमाथि गरेको अमानवीय दमनलाई समर्थन पुग्ने गरी इजरायली नेतृत्वको बचाउ गरेको कुरा पनि चित्तबुझ्दो छैन । आर्मेनियालीहरूले जस्तै गरी नरसंहार भोगेकाले इजरायलीहरू प्रति सारकिसियन सहानुभूतिशील छन् तर अहिले इजरायलीहरूले प्यालेस्टाइनीको नरसंहार गरिरहेको तथ्यलाई कुनै पनि हालतमा जायज ठह-याउन सकिँदैन ।
जे होस्, सारकिसियनले साना सफल राज्यहरूको उदाहरण प्रस्तुत गरेर अन्य साना मुलुकहरूलाई त्यही पथमा लाग्न अभिप्रेरित गरेका छन् । स्रोतसाधनमा धनी भइकन पनि नेपाल अल्पविकसित राज्यको दर्जामा कायम रहनुमा यहाँका नेताको अल्पदृष्टि र भ्रष्टाचारमोह कारणका रूपमा रहेको छ । भूराजनीतिक अवस्थितिले नेपाललाई संकुचित गरेको होला तर शक्तिराष्ट्रहरूसँगको चतुर कूटनीतिक सम्पर्कले नेपाललाई उन्नति र समृद्धिको बाटोमा डोहो¥याउन सक्छ । सारकिसियनको यो बहुमूल्य पुस्तक हाम्रा नेता र कर्मचारीतन्त्रका लागि नेपाललाई समृद्ध राज्य बनाउने उत्प्रेरक बन्न सक्छ ।