जोनाथन ग्लेजरको निर्देशनमा बनेको फिल्म ‘द जोन अफ इन्टरेस्ट’ मानवभित्र रहेको दुष्टता (एभिल) को दार्शनिक विश्लेषण गर्ने कलात्मक चलचित्र हो ।।
बेलायती उपन्यासकार मार्टिन एमिसको यही नामको उपन्यासबाट फिल्मको कथा लिइएको हो । यसमा कुख्यात नाजी अधिकारी रुडोल्फ होस र उनको परिवारले पोल्यान्डको अस्विचमा रहेको नरसंहार शिविर (कन्सनट्रेशन क्याम्प) सँग जोडिएको घरमा बिताएको विलासी जिन्दगीका दैनन्दिनी देखाइएको छ । यहुदीहरूलाई दिनदिनै हजारौंको संख्यामा ग्यास च्याम्बरमा हत्या गर्दै शवलाई खरानी बनाउने काम चलिरहेको बेलामा होस परिवार चाहिँ त्यसलाई बेवास्ता गर्दै मोजमज्जामा लागिरहेको देख्दा दर्शकको मुटु कटक्क खान्छ ।
हिटलरको नाजी राज्यसंयन्त्रले यहुदीहरूमाथि गरेको नरसंहारका विषयमा अनगिन्ती चलचित्र बनेका छन् तर यो फिल्म अरूभन्दा भिन्न र उत्कृष्ट छ ।
यस फिल्ममा खासै केही कथानक छैन । कुनै नाटकीय घटनाक्रम यसमा भेटिँदैन । तर नाजी जर्मनीमा जुन स्तरको मानवताविरुद्धको अपराध भइरहेको थियो, त्यसलाई पृष्ठभूमिलाई विचार गर्दा फिल्मका घटनाक्रमहरूले आफैंमा गहन अर्थ बोकेका छन् ।
फिल्मभरि एकपटक पनि नरसंहारका दृश्यहरू देखाइँदैन । पीडित यहुदीहरू रोएको, चिच्याएको, आक्रोशित नाजी अधिकारीहरू कराएको, गोलीको आवाज आएकोबाट नै कन्सनट्रेशन क्याम्पमा दुर्दान्त घटनाहरू भइरहेको संकेत पाइन्छ । मलाई त फिल्म हेर्दै गर्दा भट्टीमा डढाइएका यहुदीहरूको गन्धको कल्पनाले नै पनि विचलित गरायो ।
एकातिर त्यसरी पीडाको तापमा मानिसहरू जलिरहेका छन् भने अर्कातिर होस परिवार स्वर्गीय आनन्दमा मग्न छन् । रुडोल्फकी पत्नी हेडविगले आफ्नो एउटा बेग्लै सुन्दर संसार खडा गरेकी छन् जसमा सजाइएको घर, चिटिक्क परेको बगैंचा, बगैंचामा विभिन्न थरीका फूल र तरकारी अनि मनोरञ्जनका लागि स्विमिङ पूल छ । थप आनन्दका लागि होस परिवार अलि पर रहेको एउटा तलाउमा नुहाउन जाने गरेको छ ।
राम्ररी खान समेत नपाएर भयावह मृत्युको प्रतीक्षा गरिरहेका यहुदीहरूको चित्कारसँगै होस परिवारले मस्तीका क्रममा निकालेका खुशीका स्वरहरूको कन्ट्रास्टले फिल्मको दार्शनिकतालाई बलियो बनाएको छ ।
होस परिवारलाई पर्खालको अर्को भागमा मानवता चकनाचुर भइरहेको कुराको जानकारी छ तर उनीहरूको मुटु त्यसलाई बेवास्ता गरेर सक्ने गरी कठोर बनिसकेको छ । पीडाप्रतिको यस्तो असंवेदनशीलता शायद मानवीय स्वभाव नै हो किनकि अहिले गाजामा प्यालेस्टाइनीहरूको नरसंहार भइरहँदा हामी त्यसलाई बेवास्ता गरी आफ्नै दुनियाँमा मस्त छौं । तर हेडविगलाई भेट्न आएकी उनकी आमाले पर्खालपारि भइरहेको मानवताको हत्यालाई सहन नसकी भागेको दृश्यले मानवता पूर्ण रूपमा नमरिसकेकोतर्फ इंगित गर्दछ ।
फिल्मलाई मुख्य कलाकारहरूको अभिनयले पनि बलियो बनाएको छ । अस्विच कन्सनट्रेशन क्याम्पका कमान्डर रुडोल्फ होसका रूपमा क्रिस्चियन फ्राइडेलको अभिनय उम्दा छ । औद्योगिक स्तरमा नरसंहार गर्ने क्रूर व्यक्तिले पनि सामान्य जीवन बिताउन सक्छ भन्ने कुराको सन्देश दिने पात्रका रूपमा फ्राइडेलले उत्कृष्ट काम गरेका छन् ।
सबभन्दा बलियो अभिनय चाहिँ हेडविग होसका रूपमा स्यान्ड्रा ह्युलरले गरेकी छन् । एनाटमी अफ ए फलमा आफ्नो उत्कृष्ट अभिनयले प्रशंसा बटुलेकी ह्युलरले यस फिल्ममा सामान्य गृहिणीको उम्दा चित्रण गरेकी छन् । आफूले बनाएको सानो संसारलाई कायम राख्नका लागि हेडविगले देखाएको कठोरता र परिवारको खुशीका लागि उनमा रहेको कोमलताको कन्ट्रास्टलाई सफलतापूर्वक निर्वाह गर्न सक्नु ह्युलरको क्षमताको बलियो प्रमाण हो । एउटा दृश्यमा उनले यहुदी दासीलाई धेरै आक्रोशित नभइकनै ‘मैले चाहें भने तेरो पतिलाई खरानी बनाइदिन सक्छु’ भनी बोलेको संवादले दर्शकलाई झसंग बनाउँछ ।
क्यामरावर्क र साउन्ड डिजाइज यस फिल्मका मजबुत खम्बा हुन् । सिनेमाटोग्राफर लुकास जालले क्यामरालाई एकदमै स्थिर राखेका छन् । स्थिर शटहरूमा कलाकारहरूको गतिविधिलाई शान्त तवरले क्याप्चर गरिएको छ ।
फिल्ममा कुनै पनि पात्रलाई कहिले पनि क्लोजअप शटमा देखिँदैन । यसरी वाइड फ्रेममा क्यामरा र पात्रहरूबीचको एउटा निश्चित दूरी राखेर सिनेमाटोग्राफर जाल र निर्देशक ग्लेजरले घटनाक्रमलाई निस्पृह रूपमा अवलोकन गरिरहेको आभास दिलाएका छन् । कताकता फिल्मले बिग बोसमा रहेका सबै प्रतिस्पर्धीहरूलाई हेरिरहेको क्यामरा जस्तो भान दिन्छ । पात्रहरूप्रति दर्शकको सहानुभूति नजागोस् भन्नका लागि यही क्यामरालाई दूरीमा राखिएको हुन सक्छ ।
अनि फिल्ममा घरिघरि छायाँचित्रको सिक्वेन्स देखिन्छ । त्यस सिक्वेन्समा एकजना युवतीले बाटोमा र खेतमा स्याउहरू राखिरहेकी हुन्छिन् । ती युवतीको अनुहार देख्न सकिँदैन किनकि त्यो पूरै छायाँ हुन्छ । त्यसको के अर्थ होला भनी मैले गूगल सर्च गर्दा ती युवती पात्र अलेक्जान्द्रा बाइस्त्रोन–कोलोजेईचेक भएको थाहा पाएँ । उनले अस्विचका बन्दी यहुदीहलाई रातको समयमा नाजीहरूले नदेख्ने गरी खाना राखिदिने गरेकी थिइन् । उनको यो दयालुता तथा मानवीय कार्यलाई उजागर गर्नका लागि निर्देशक ग्लेजरले थर्मल इमेजिङको उपयोग गरेका रहेछन् ।
फिल्ममा रहेको ध्वनिको कुरा गर्दा साउन्ड डिजाइनर जोनी बर्नको काम उत्कृष्ट छ । नरसंहारको भयानक वातावरणलाई क्याप्चर गरिएको ध्वनि फिल्मको कथानकमा घरिघरि सुनिँदा दर्शकको आङ जिरिंग बनाइदिन्छ ।
मानिस क्रूरताको कुन हदसम्म जान सक्छ र अर्को मान्छेको पीडाप्रति कतिसम्म उदासीन बन्न सक्छ भन्ने कुरालाई आख्यानमार्फत प्रस्तुत गरेर निर्देशक जोनाथन ग्लेजरले दर्शकहरूलाई दुष्टताको प्रकृति (नेचर अफ एभिल) माथि घोत्लिन बाध्य बनाएका छन् । आफ्नो चासोको क्षेत्र अर्थात् जोन अफ इन्टरेस्टभन्दा बाहिर संसारमा भइरहेका विभिन्न ज्यादतीलाई बेवास्ता गर्ने मानवीय प्रवृत्तिको उजागर पनि फिल्मले गरेको छ ।
स्लो पेसको कथा हेर्ने धैर्य र दार्शनिक प्रश्नहरूमा घोत्लिने स्वभाव भएका मानिसले यो फिल्म औधी रुचाउनेछन् । यस्तो किसिमको उम्दा कलात्मक चलचित्र दुर्लभै मात्र बन्ने गर्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।