कतिपय फिल्म हेरेको केही समयपछि नै बिर्सिइन्छ भने कतिपय फिल्महरू हेरेको लामो समयसम्म पनि स्मृतिपटलमा अंकित भएर बसिरहेका हुन्छन् । फ्रान्सेली फिल्म निर्देशिका जस्टिन त्रियेको फिल्म ‘एनाटमी अफ ए फल’ दोस्रो वर्गमा पर्ने सुन्दर चलचित्र हो ।
यसले पतिपत्नीको सम्बन्धमा आएको असमझदारीले निम्त्याएको त्रासदी र त्यससँग जोडिएको अदालती प्रक्रियाको बर्बरतालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
जर्मन मूलकी उपन्यासकार सान्द्रा भोयटर (सान्द्रा ह्युलर) आफ्ना पति स्यामुअल मालेस्की (स्यामुअल थिइस) र छोरा डेनियल मालेस्की (माइलो मकादो–ग्रेनर) का साथ फ्रान्सको हिमाली क्षेत्र आल्प्समा रहेको एकलासे घरमा बस्छिन् । आफूसँग अन्तर्वार्ता गर्न आएकी एक विद्यार्थीसँग कुरा गरिरहेकी सान्द्रालाई उनका पतिले माथिल्लो तल्लामा बसी चर्को आवाजमा पियानो बजाएर डिस्टर्ब गरिदिन्छन् । अन्तर्वार्ता अर्को कुनै दिन गर्ने भनी सान्द्राले विद्यार्थीलाई बिदा गर्छिन् र पति भएको माथिल्लो तल्लाको कोठमा जान्छिन् । यसैबीचमा उनका दृष्टिविहीन छोरा डेनियल आफ्नो कुकुरलाई लिएर बाहिरतिर डुल्न जान्छन् । ती छोरा फर्केर आउँदा बुवा स्यामुल तीन तल्लामाथिबाट टाउको ठोकिएर भुइँमा मरिरहेको अवस्थामा पाउँछन् ।
स्यामुअल माथिको झ्यालमा खसेका हुन् ? खस्दै गर्दा उनको टाउको सिधै भुइँमा ठोकिएको थियो कि अर्को कुनै वस्तुमा ? कि कसैले उनको टाउकोमा हिर्काएर उनलाई झ्यालबाट घचेडिदिएको हो ? स्यामुअललाई सान्द्राले माथिबाट खसालेर मारिदिएकी हुन् कि स्यामुअलले आत्महत्या गरेका हुन् ? यिनै प्रश्नहरूको जवाफ फिल्ममा खोजिएको छ ।
फिल्मको कथा अघि बढ्दै जाँदा सान्द्रा र स्यामुअलको सम्बन्धमा आएका घर्षणहरूको बारेमा दर्शकले फ्ल्याशब्याकमार्फत थोरबहुत कुरा थाहा पाउँछन् । सफलताले ल्याएको डाह, पारिवारिक जिम्मेवारी पूरा गर्ने दायित्व वहन नगरिएको विषयमा भएको झगडा, विवाहेतर सम्बन्धले जन्माएको तनावका कारण व्यक्तिमा आउने डिप्रेशन लगायतका संकेतहरू फिल्ममा पाइन्छन् तर तिनले घटनाको वास्तविकता के हो भन्ने प्रश्नको उत्तर दिँदैनन् ।
वास्वतमा यो फिल्मको विशेषतालाई उल्लेख गर्नुपर्दा यसले दर्शकलाई अन्तिमसम्म पनि के भएको हो भन्ने कुरामा घोत्लिन बाध्य बनाउँछ । घटनाको अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दा त चलाउँछ र अदालतले एउटा निर्णय त दिन्छ तर यो आत्महत्या हो कि हत्या हो भन्ने प्रश्नको सन्तोषजनक उत्तर दर्शकले पाउँदैन । अदालती सुनुवाइका क्रममा स्यामुअल र सान्द्राको दाम्पत्य जीवनको केस्राकेस्रा केलाएर जसरी विश्लेषण गरिन्छ, त्यसले सम्बन्धहरूको जटिलताको पीडादायी तस्वीर भने उजागर गरिदिन्छ ।
कुनै पनि व्यक्तिले मोटिभ भएको खण्डमा जुनसुकै अपराध पनि गर्न सक्छ वा उसले अपराध नगरे पनि परिस्थितिले उसलाई दोषी जस्तो देखाइदिन सक्छ भन्ने कटुसत्यलाई आत्मसात गराएकाले दर्शकहरू फिल्म हेरुन्जेल असहज अनुभव गर्छन् । हुन पनि दर्शकलाई सस्तो मनोरञ्जन दिनु भन्दा पनि असहज बनाएर जटिल प्रश्नमा घोत्लिन बाध्य बनाउनुमा नै कलात्मक चलचित्रको सफलता अडिएको हुन्छ ।
त्यस अर्थमा हेर्दा ‘एनाटमी अफ ए फल’ सफल चलचित्र हो । कान्स फिल्म फेस्टिभलमा पाम डी’ओरका साथै बेस्ट ओरिजिनल स्क्रीनप्लेका लागि अस्कर पुरस्कारका अलावा अनेकौं प्रतिष्ठित पुरस्कारहरू पाएर फिल्मले सफलताका उचाइहरू छोइसकेको छ ।
यस फिल्मलाई मुख्य कलाकारहरूको दमदार अभिनयले पनि बलियो बनाएको छ । सान्द्रा ह्युलरले पतिको हत्याको आरोप लागेकी महिलाको अभिनय जीवन्त तरिकाले गरेकी छन् । परिस्थितिहरूको विश्लेषण गर्दा सान्द्रा आफ्नी पतिकी हत्यारा हुन् कि जस्तो दर्शकलाई लाग्छ तर ह्युलरको सटीक अभिनयका कारण सान्द्राप्रति दर्शकमा सहानुभूति सिर्जना हुन्छ । सरकारी वकिलले अदालतमा उनलाई टोकसिरहँदा दर्शकको सहानुभूति उनीप्रति झनै बढ्दै जान्छ ।
उनको पतिको भूमिकामा रहेका स्यामुअल थिइसको भूमिका छोटो छ तर दर्शकमा छाप छोड्न सफल छ ।
दृष्टिविहीन छोराका रूपमा माइलो मकादो–ग्रेनरले उत्कृष्ट अभिनय गरेका छन् । आफ्नी आमालाई अदालतको कठघरामा उभ्याएर सरकारी वकिलले ¥याख¥याखती पर्दा सहन गाह्रो भएर घरिघरि झस्याङ्ङ भएको दृश्यमा उनले कलाकारिताको उच्च नमूना प्रस्तुत गरेका छन् ।
मान्छे त मान्छे, कुकुरले समेत फिल्ममा गरेको अभिनय तारिफयोग्य छ । स्यामुअलको लाश देख्दा भुइँमा लत्रिएको दृश्य होस् कि डेनियलले दिएको औषधि खाएर फत्र्याकफत्र्याक पर्ने गरी बिरामी पर्दाको दृश्य होस्, कुकुर स्नूपको अभिनय चर्चायोग्य बनेको छ । त्यस्तै सान्द्राका प्रतिरक्षक वकिलका रूपमा भिन्सेन्ट रेन्जी (स्वान अर्लाउ) को र छुच्चो सरकारी वकिलका रूपमा आत्वाँ रेनार्जको अभिनय पनि कलात्मक छ ।
निर्देशिका जस्टिन त्रियेले कथानकलाई सलल बगाउनका लागि निकै परिश्रम गरेको देखिन्छ । महान् जर्मन नाटककार बर्तोल्त ब्रेख्तको शैली अपनाउँदै उनले फिल्मका पात्रहरूमध्ये कुनै एकको पक्ष नलिएर सबैलाई निर्लिप्त भावले व्यवहार गरी दर्शकलाई नै ती पात्रहरूप्रति कस्तो दृष्टिकोण राख्ने भनी विकल्प दिएकी छन् ।
फिल्मका सबै पात्रहरू वास्तविक जीवनमा भेटिने मानिस जस्तै छन् र तिनमा कुनै नाटकीयता छैन । आफ्ना पति आर्थर हरारीसँग मिलेर तयार पारेको पटकथामा निर्देशिका त्रियेले वास्तविकता र यथार्थवादलाई भावुकताबाट दमित हुन दिएकी छैनन् । तुलनै गर्नुपर्दा, हलिउड वा बलिउडका निर्देशकहरूले नाटकीयताविनाको पात्र खडा गरेर दर्शकको बौद्धिकतालाई सम्मान गरेको उदाहरण दुर्लभै मात्र भेटिन्छ ।
दाम्पत्य सम्बन्धका जटिलताको विश्लेषण र कोर्टरूम ड्रामालाई फ्युजन गरेर जस्टिन त्रियेले दर्शकको मस्तिष्कलाई लामो समयसम्म खलबल्याउने गरी यो फिल्म बनाएकी छन् । तपाईं कलात्मक चलचित्रको पारखी हुनुहुन्छ र स्लो पेसमा बग्ने कथा हेर्ने धैर्य तपाईंमा छ भने यस फिल्मले तपाईंलाई आनन्द दिनेछ ।