मीन बहादुर भामको फिल्म शाम्भालालाई उपल्लो डोल्पाको सुन्दर हिमाली पृष्ठभूमिमा प्रेम, जीवन, मृत्यु र अदम्य साहसका विषयमा बनेको सुन्दर दृश्यकविता भन्न सकिन्छ । बौद्ध दर्शनमा आधारित यस चलचित्रले नेपालको उच्च हिमाली क्षेत्रको गहन सांस्कृतिक सोचप्रणालीलाई कथानक बनाएरप्रस्तुत गरेको छ ।
चलचित्र पेमा नामक युवतीमा केन्द्रित छ । सुदूर डोल्पाको एक गाउँमा तीनजना दाजुभाइसँग पेमाको विवाह हुन्छ । यस्तो बहुपति विवाह गर्ने महिला भाग्यमानी हुन्छन् भनी पेमाका पिता भन्छन् । खासमा जेठो दाजु टासीसँग पेमाको विवाह भएको हो र सम्भोग पनि उनैसँग हुन्छ । तिब्बतको ल्हासामा व्यापारका लागि वर्षैपिच्छे जाने गरेका टासी उतै हराएपछि गाउँलेहरूले पेमाको कोखमा हुर्किरहेको बच्चाको पिता को हो भनी अर्नगल प्रलाप गर्न थाल्छन् । आफ्नो हराएको पतिलाई खोज्न तथापवित्रताको प्रमाण समाजलाई पेश गर्न पेमा यात्रामा निस्किन्छिन् ।
त्यसक्रममा उनले कठिन प्राकृतिक चुनौतीका साथै आफ्नो समाजको नकारात्मक पूर्वाग्रहको पनि सामना गर्नुपर्ने हुन्छ । पितृसत्तात्मक समाजमा महिला हुनुको पीडा पेमाले घरिघरि बेहोर्नुपर्छ । हिउँले भरिएका अग्ला पहाडहरूमा यात्रा गर्ने क्रममा पेमाले आफूभित्रका डर र कमजोरीहरूको सामना गर्छिन् र अन्त्यमा आफूमा रहेको आध्यात्मिक सबलताको साक्षात्कार गर्न पुग्छिन् । यसरी पेमाको यो यात्रा भौतिक मात्र नभई आध्यात्मिक समेत हुन पुगेको छ किनकि उनले प्रकृति र समाजले तेर्स्याएको चुनौतीका साथसाथै अन्तर्मनको द्वन्द्वलाई समेत सामना गरी त्यसलाई जित्न सफलता पाएकी छन् ।
भामको निर्देशन प्रशंसायोग्य छ । उनले हिमालय क्षेत्रको सुन्दरता र कठोरता दुवैलाई उम्दा तरिकाले प्रस्तुत गरेका छन् । तर कथालाई उनले यसभन्दा अझै राम्रोसँग पस्किन सक्थे होलान् ।
फिल्मको छायांकनले दर्शकलाई मोहित तुल्याउँछ । सिनेमाटोग्राफर अजिज जाम्बाकियिभले घाम लागेको बेलामा आँखा तिर्मिराउने शुभ्र हिमाच्छादित चुचुरा, बोटबिरुवारहित पठार, द्रुत गतिमा बगिरहेका हिउँखोला जस्ता प्राकृतिक छटाका अतिरिक्त चर्को हावा चलेको बेलामा फर्फराइरहेका लुङ्दरहरूलाई वाइड क्यामरा एंगलमार्फत समेटेका छन् । प्रकृतिको विशाल क्यान्भासमा साना मानिसहरूको संघर्षदेखाएर जीवनको अनित्यतालाई प्रस्तुत गर्ने दृश्य संयोजनमा निर्देशक भाम र छायाँकार जाम्बाकियेभको प्रयास स्तुत्य छ । कतिपय दृश्यमा ध्वनिमार्फत दर्शकले कथाको प्रमुख मोडको जानकारी पाइरहेका हुन्छन् भने क्यामरा चाहिँ अर्को पात्रमाथि फोकस भइरहेको देख्छन् । निर्देशक भामले दर्शकलाई पूर्ण रूपमा फिल्ममा केन्द्रित हुन लागि यस्तो संयोजन गरेका हुन सक्छन् ।
त्यसैगरी फिल्मको ध्वनि संयोजन पनि प्रभावशाली छ । हावा चलेको, हिउँखोलहरू छङछङ बगेको, क्यामराको फ्रेमबाहिर पशुहरू कराएको, सांस्कृतिक बाजाहरू बजाइएका ध्वनिले दर्शकलाई स्वयं उपल्लो डोल्पोमा पुगेको अनुभूति गराउँछन् । फिल्ममा उपयोग गरिएको संगीतले आध्यात्मिकता बोकेको छ भने कतिपय दृश्यमा विद्यमान ध्वनिरहितताले शान्ति र करुणाको भावलाई उजागर गरेको छ ।
पेमाका रूपमा थिन्ले ल्हामुले असाधारण अभिनय गरेकी छन् । उनको अभिनयमा कुनै पनि नाटकीयता छैन । कठिनाइको सामना गर्दा पनि पेमाको पात्रले देखाएको सुदृढताले उनी वास्तविक रूपमा बौद्ध दर्शनले मार्गदर्शन गरेको अलिप्तता भएकी र रहस्यमयी शाम्भालामा पुग्नका लागि योग्य बनेकी छन् । तिब्बती बौद्ध धर्ममा शाम्भाला भन्नाले त्यस्तो आध्यात्मिक स्थान हो जहाँ शुद्ध मन र हृदय भएका मानिस मात्र पुग्छन् ।ल्हामुले यस्तो जटिल पात्रलाई संवेदनशीलताका साथै गहिराइका साथ प्रस्तुत गरी जीवन्त बनाएकी छन् ।पेमाको मुस्कानले सबैलाई फिदा बनाउँछ ।
अन्य कलाकारहरूको काम पनि प्रशंसायोग्य छ ।
फिल्ममा बहुपति प्रथालाई तटस्थ रूपमा देखाइएको छ । उपल्लो डोल्पोको यो अद्वितीय सांस्कृतिक परम्परा अन्य जातजाति तथा धर्मका मानिसका लागि अनौठो नै हो । तर निर्देशक भामले यसलाई सहानुभूतिशील रूपमा पेश गरी भिन्न संस्कृतिको सम्मान गरेका छन् । त्यसक्रममा उनले पितृसत्तात्मक समाजले महिलामाथि गर्ने थिचोमिचोलाई चाहिँ मिहिन रूपमा देखाएका छन् ।
उपल्लो डोल्पावासीले प्रकृतिसँग राखेको आध्यात्मिक सम्बन्धलाई कथानकमार्फत प्रस्तुत गर्न सक्नु यस फिल्मको सबल पक्ष हो । चलचित्रमा हिमाललाई कलात्मक पृष्ठभूमिका रूपमा मात्र प्रस्तुत गरिएको छैन । आफूमा आश्रित मानिसहरूको जीवनलाई आकार दिने प्राणदाताका रूपमा हिमाललाई देखाइएको छ । हिमालको आध्यात्मिक महत्त्वलाई फिल्मले मर्मस्पर्शी रूपमा उजागर गरेको छ ।
तर यो फिल्म कलात्मकताका पारखीहरूले मात्रै मन पराउनेछन् । यसको कथाको गति सुस्त छ र दृश्यहरू पनि निकै लामा छन् । खासमा फिल्मको सुस्त गतिले दर्शकलाई प्रकृतिको सौन्दर्यका साथै पात्रहरूको गहिराइमाथि चिन्तन गर्ने अवसर दिएको हो । आफ्ना सबै व्यग्रताहरूलाई परित्याग गरी ध्यानस्थ हुनका लागि फिल्मले दर्शकलाई आग्रह गरेको छ । अलौकिक शाम्भाला तथा पुनर्जन्मको अवधारणालाई स्वप्नसदृश दृश्यहरूमार्फत प्रस्तुत गरिएको छ र त्यसलाई बुझ्नका लागि दर्शकमा असीम धैर्य आवश्यक हुन्छ । फिल्मको अन्त्यमा पेमाले गरेका अभिव्यक्तिहरूले दर्शकलाई मानवीय शक्तिको आशा सञ्चार गराउँछन् र आध्यात्मिक आनन्द दिलाउँछन् । फिल्म हेरिसक्दा दर्शकहरू आध्यात्मिकतामा अभिभूत हुन्छन् ।
तपाईं दार्शनिक गहनता बोकेको फिल्म मन पराउनुहुन्छ भने शाम्भाला हेर्न नछुटाउनुहोला । यसले तपाईंलाई हिमालको काखमा बस्ने समुदायको संस्कृतिमा सहानुभूतिशील गराउनुका साथै बौद्ध दर्शनको गहिराइलाई पनि दृश्यकथामार्फत बुझाउँछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।