महाभारतीय आख्यानका अनुरागी प्रिय बन्धु !

गत शुक्रवार आरम्भ भएको अष्टक–ययातिका बीच सम्पन्न अत्यन्त रोचक संवाद यसरी अगि बढ्दछ :

…..

अष्टक :

हे राजन्, सत्ययुगका यशस्वी राजाहरूमध्ये तपाईं सर्वश्रेष्ठ हुनुहुन्छ ।

आफ्ना पुण्यसम्पदाले इच्छानुरूप शरीर धारण गरेर तपाईंले दश लाख वर्षसम्म स्वर्गको नन्दनवनमा निवास गरिसक्नुभएको छ भने अब भन्नुहोस्– कुन कारणले गर्दा तपाईं त्यस्तो दिव्य स्थानलाई छोडेर यस पृथिवीतलमा आउन लाग्नुभएको हो ?

ययाति :

ज्ञातिः सुहृत् स्वजनो वा यथेह

    क्षीणे वित्ते त्यज्यते मानवैर्हि ।

तथा तत्र क्षीणपुण्यं मनुष्यं

    त्यजन्ति सद्यः सेश्वरा देवसङ्घाः ।। म, आ प, ९० अ, २ श्लो ।

हे अष्टक, जसरी यस मर्त्यलोकमा आफन्त, बन्धुबान्धव, मित्र र स्वजनहरूले निर्धन भएपछि आफन्तलाई परित्याग गरिदिन्छन्, त्यसै गरी त्यस स्वर्गलोकमा पनि पुण्यसम्पदा समाप्त भएपछि देवराज इन्द्रसहित समस्त देवगणले मनुष्यलाई तत्काल त्यागिदिन्छन् । हे नरदेव, जो आफ्नै मुखले आफ्ना पुण्यकर्मको बखान गर्दछन् त्यस्ता मनुष्य फेरि यसै भौम नरकमा गिर्न पुग्दछन् अनि गिद्ध, स्याल र कागहरूले भोजन गरिने शरीरका लागि भारी श्रम गरेर आफनो वंशविस्तार गर्ने धन्दामा लागिरहन्छन् । त्यसैले यस लोकमा जुन दुष्ट र निन्दनीय कर्म हो त्यस्ता कर्मलाई सर्वथा त्यागिदिनु नै श्रेयस्कर हो ।

अष्टक :

हे राजन्, जब मनुष्यको देहलाई मृत्युपश्चात् पशुपक्षीहरूले भोजन गर्दछन् त्यसपछि फेरि ती कुन रूपमा उत्पन्न हुन्छन् त ? अनि तपाईंले भौम नरक भन्नुभयो, त्यो भनेको के हो ?

ययाति :

आफ्ना कर्मले उपलब्ध भएको, निरन्तर वृद्धिशील शरीरलाई पाएर स्त्रीको गर्भबाट यथासमय निस्किएपछि जीव यस पृथ्वीलोकमा विचरण गर्न लाग्दछ । यही जन्म–मृत्यु–जरा–व्याधिले ग्रस्त लौकिक शरीरयात्रालाई नै भौम नरक भनिन्छ । यस नरकमा परेकाहरू व्यर्थ बितिरहेका अनेकौं वर्षहरूको हेक्का नै राख्दैनन् ।

षष्टिं सहस्राणि पतन्ति व्योम्नि

    तथा अशीतिं परिवत्सराणि ।

तान् वै तुदन्ति पततः प्रपातं

    भीमा भौमा राक्षसास्तीक्ष्णद्रंष्टाः ।। ८

कैयौं  प्राणीहरू अन्तरीक्षमै ६० हजार वर्षसम्म रहन्छन् भने केही ८० हजार वर्षसम्म । त्यसपछि बल्ल यस भूमिमा झर्दछन् । यहाँ पनि तिनीहरूलाई तीखा दाह्रा भएका राक्षसवत् दुष्ट प्राणीहरूले निरन्तर दुःख  दिइरहन्छन् ।

अष्टक :

तीखा दाह्रा भएका पृथ्वीका राक्षसहरूले दुष्कर्मका कारण यस भौम नरकमा खस्न पुगेका जीवहरूलाई निरन्तर सताइरहन्छन् भने ती जीवहरू फेरि कसरी जीवित रहन्छन् त ? अनि कसरी इन्द्रियहरूले सम्पन्न बनीरहन्छन् त ? अनि फेरि स्त्रीको गर्भमा चाहिं कसरी आउँछन् नि ?

ययाति :

अस्रं रेतः पुष्पफलानुपृक्त

    मन्वेति तद् वै पुरुषेण सृष्टम् ।

स वै तस्या रज आपद्यते वै

    स गर्भभूतः समुपैति तत्र ।। १०

अन्तरीक्षबाट प्राणी जलका रूपमा जमीनमा झर्दछ । त्यही नै समयको परिपाकले  नूतन शरीरको बीजभूत वीर्य बन्दछ । त्यही वीर्य फूल र फलरूपी अवशिष्ट कर्मले संयुक्त भएर तदनुकूल योनिको सन्धान गर्दछ । गर्भाधान गर्ने पुरुषद्वारा स्त्रीसंसर्ग हुनेवेला वीर्यमा आविष्ट भएको त्यही जीव स्त्रीको रजसँग मिल्न पुग्दछ । अनि यथासमय गर्भरूपमा परिणत हुन्छ ।

वनस्पतीनोषधींश्चाविशन्ति

    अपो वायुं पृथिवीं चान्तरीक्षम् ।

चतुष्पदं द्विपदं चापि सर्व–

    मेवम्भूता गर्भभूता भवन्ति ।। ११

जलरूपमा पृथ्वीतलमा झरेका जीव वनस्पति र ओषधिहरूमा प्रवेश गर्दछन् । जल, वायु, अन्तरीक्ष आदिमा प्रवेश गर्दै कर्मानुसार चारखुट्टे जीव पशु अथवा दुईखुट्टे जीव मनुष्य आदि बन्दछन् । यसरी यस पृथ्वीतलमा आएर पूर्वोक्त विधिले गर्भमा प्रविष्ट हुने गर्दछन् ।

अष्टक :

हे राजन्, यस मनुष्ययोनिमा आउने जीव आफ्नै शरीरमा गर्भमा आउँछ कि अरू नै शरीर धारण गर्दछ ? अनि गर्भमा आइसकेपछि आँखा, नाक, कान, मुख आदि इन्द्रिय एवम् चेतना कसरी उपलब्ध गर्दछ ? हे राजन्, तपाईं क्षेत्रज्ञ आत्मज्ञानी हुनुहुन्छ, कृपा गरेर हाम्रो यो उत्कट जिज्ञासालाई समाधान गरिदिनुहोस् ।

ययाति :

वायुः समुत्कर्षति गर्भयोनि –

   मृतौ रेतः पुष्परसानुपृक्तम् ।

स तत्र तन्मात्रकृताधिकारः

    क्रमेण संवर्धयतीह गर्भम् ।।१४

हे अष्टक, ऋतुकालमा सम्भोगान्तमा पुष्परसले संयुक्त पुरुषक्षरित वीर्यलाई वायुले गर्भाशयमा खिँच्दछ । त्यहाँ गर्भाशयमा त्यस जीवले पृथिवी अप तेज वायु आकाश यी पञ्चतत्त्वका सूक्ष्मकण पञ्चतन्मात्रामाथि अधिकार गर्दछ । अनि क्रमशः गर्भरूपमा उसको वृद्धि हुँदै जान्छ ।

स जायमानो विगृहीतगात्रः

    संज्ञामधिष्ठाय ततो मनुष्यः ।

स श्रोत्राभ्यां वेदयतीह शब्दं

    स वै रूपं पश्यति चक्षुषा च ।।१५

घ्राणेन गन्धं जिह्वयाथो रसं च

    त्वचा स्पर्शं मनसा वेद भावम् ।

इत्यष्टकेहोपहितं हि विद्धि

    महात्मनां प्राणभृतां शरीरे ।।१६

त्यो गर्भ बढेर जब सम्पूर्ण शरीरावयवले सम्पन्न बन्दछ अनि चेतनाको आश्रय लिएर यथासमय योनिबाट बाहिर निस्कन्छ र मनुष्य कहलाउँछ । उसले कानले शब्द सुन्दछ, आँखाले रूप देख्दछ, नासिकाले गन्ध सुँघ्दछ , जिब्राले रसास्वादन गर्दछ, त्वचाले स्पर्श गर्दछ अनि मनले आन्तरिक भावहरूको अनुभव गर्दछ । यसरी हे अष्टक, महात्मा  प्राणीहरूको शरीरमा जीवको स्थापना हुने गर्दछ ।

अष्टक :

यः संस्थितः पुरुषो दह्यते वा

    निखन्यते वापि निकृष्यते वा ।

अभावभूतः स विनाशमेत्य

    केनात्मना चेतयते परस्तात् ।।१७

जो मनुष्य मर्दछ, त्यसलाई जलाइन्छ वा गाडिन्छ अथवा जलमा बगाइन्छ । यसरी विनष्ट भएपछि स्थूल शरीरको त अभाव भइहाल्यो, अनि फेरि त्यो चेतन जीवात्मा कुन शरीरका आधारमा रहेर चेतनवत् व्यवहार गर्दछ त ?

ययाति :

हित्वा सोऽसून् सुप्तवन्निष्टनित्वा

    पुरोधाय सुकृतं    दुष्कृतं वा ।

अन्यां योनिं  पवनाग्रानुसारी

    हित्वा देहं भजते राजसिंह ।। १८

हे राजसिंह अष्टक, जसरी मनुष्य निद्रावस्थामा श्वास लिंदै प्राणयुक्त स्थूल शरीरलाई छोडेर स्वप्नलोकमा विचरण गर्दछ, ठीक त्यसै गरी यो चेतन जीवात्मा पनि अस्फुट शब्दोच्चारणका साथ मृत स्थूल शरीरलाई त्यागेर सूक्ष्म शरीरमा समाहित बन्दछ अनि फेरि पुण्य वा पापको संस्कारलाई अगि लाएर वायुसमान वेगवान् हुँदै अन्य योनिमा प्राप्त हुन्छ ।

पुण्यां योनिं पुण्यकृतो व्रजन्ति

    पापां योनिं पापकृतो व्रजन्ति ।

कीटाः पतंगाश्च भवन्ति पापाः

    म ने विवक्षास्ति महानुभाव ।।१९

चतुष्पदा द्विपदाः षट्पदाश्च

    तथाभूता गर्भभूता भवन्ति ।

आख्यातमेतन्निखिलेन सर्वं

    भूयस्तु कि पृच्छसि राजसिंह ।।२०

पुण्य गर्ने मनुष्य पुण्य योनिमा जान्छन् । पाप गर्ने मनुष्य पाप योनिमा नै जान्छन् । यसरी पापी जीव कीट पतंग आदि हुन्छन् । हे महानुभाव, यी सबै विषयलाई विस्तारमा कहने इच्छा मलाई भएन । हे नृपश्रेष्ठ, गर्भमा आएर जीवहरू यसप्रकार द्विपद, चतुष्पद र षट्पदका रूपमा जन्म लिन्छन् । मैले सबै बताइसकें । अब अरू के सोध्नु छ, सोध ।

अष्टक :

किंस्वित् कृत्वा लभते तात लोकान्

    मत्र्यः श्रेष्ठांस्तपसा विद्यया वा  ।

तन्मे पृष्टः शंस सर्वं यथावत्

    शुभांल्लोकान् येन गच्छेत् कथं वा ।।२१

हे तात, मनुष्य के कस्ता कर्म गर्नाले उत्तम लोकमा पुग्दछ ? अनि ती लोक तपस्याले प्राप्त हुन्छन् कि विद्याले ? जस्ता कर्म गर्नाले श्रेष्ठ लोक प्राप्त हुन्छ कृपया त्यो सबै यथार्थ रूपमा बताउनुहोस् ।

ययाति :

तपश्च दानं च शमो दमश्च

    ह्रीरार्जवं सर्वभूतानुकम्पा ।

स्वर्गस्य लोकस्य वदन्ति सन्तो

    द्वाराणि सप्तैव महान्ति पुंसाम् ।

नश्यन्ति मानेन तमोऽभिभूताः

    पुंसः सदैवेति वदन्ति सन्तः ।। २२

हे राजन् , सन्तहरूले स्वर्गलोकका सातवटा मूल प्रवेशद्वार बताएका छन् : तपस्या, दान, शम, दम, लज्जा, सरलता र समस्त प्राणीहरूप्रति दयाभाव । यी सातै ढोकाहरू अभिमानरूपी अन्धकारले ढाकिए भने अदृश्य बन्दछन्, विनष्ट हुन्छन् । सन्तहरूको कथन यस्तै छ ।

अधीयानः पण्डितं मन्यमानो

    यो विद्यया हन्ति यशः परेषाम् ।

तस्यान्तवन्तश्च भवन्ति लोका

    न चास्य तत् ब्रह्म फलं ददाति ।।२३

जो शास्त्र अध्ययन गरेर आफूलाई सबैभन्दा ठूलो पण्डित ठान्दछ र आफनो विद्याद्वारा अर्काको यश नष्ट गर्दछ त्यस मनुष्यको पुण्यलोक विनाशशील हुन्छ अनि उसले पढेको विद्याले उसलाई फल पनि दिंदैन ।

चत्वारि कर्माण्यभयङ्कराणि

    भयं प्रयच्छन्त्ययथाकृतानि ।

मानाग्निहोत्रमुत मानमौनं

    मानेनाधीतमुत मानयज्ञः ।। २४

चारवटा कर्म यस्ता हुन्छन् जसले मनुष्यलाई भयमुक्त बनाउँदछन् : अग्निहोत्र, मौन, अध्ययन अनि यज्ञ । तर तिनै कर्महरु ठीक ढंगले गरिएनन् भने, अभिमानपूर्वक गरिए भने उल्टै भयदायक बन्दछन् ।

न मानमान्यो मुदमाददीत

    न सन्तापं प्राप्नुयाच्चावमानात् ।

सन्तः सतः पूजयन्तीह लोके

    नासाधवः साधुबुद्धिं लभन्ते ।।२५

विद्वान् पुरुषले कहिल्यै पनि सम्मानित हुँदा हर्षित र अपमानित हुँदा दुःखित नहुनू । किनभने यस जगत्मा सन्त पुरुषले मात्र सत्पुरुषको आदर गर्दछन् । दुष्टहरूमा त– यो सत्पुरुष हो– भन्ने बुद्धि नै हुँदैन ।

इति दद्यामिति यज इत्यधीय इति व्रतम् ।

इत्येतानि भयान्याहुस्तानि वर्ज्यानि सर्वश : ।।२६

म यो दिन सक्दछु, म यसरी यजन गर्दछु, यसरी स्वाध्यायमा लागिरहन्छु, यस्तो मेरो व्रत छ, यस्ता अहंकारपूर्ण वचनलाई भयरूप मानिएको छ । यस्ता बोलीहरुको सर्वथा परित्याग गर्नू ।

ये चाश्रयं वेदयन्ते पुराणं

    मनीषिणो मानसमार्गरुद्धम् ।

तद् व : श्रेयस्तेन संयोगमेत्य

    परां शान्तिं प्राप्नुयुः प्रेत्य चेह ।।२७

जो सबैको आश्रय हो, जो पुराण हो तथा जहाँ मनको मार्ग पनि अवरुद्ध हुन्छ त्यो परमात्मा तिमी सबैका लागि कल्याणकारी बनोस् । जो विद्वान् त्यस परमतत्त्वलाई जान्दछन् ती उनै परब्रह्म परमात्मासँग संयोग प्राप्त गरेर इहलोक र परलोक दुवै स्थानमा परमशान्तिमा उपलब्ध हुन्छन् ।

…….

महाभारत, आदिपर्व, ९० अध्याय ।

२०८१,भदौ १४गते शुक्रवार, ॐ अक्षरालयः ।