हस्तिनापुरका दुर्भाग्यका दिन आएका थिए । सत्यवती अपार शोकसागरमा मग्न थिइन् ।

महाराज शान्तनु र महारानी सत्यवतीको प्रणयसम्बन्धबाट जन्मिएका दुवै राजकुमारहरुको निधन भइसकेको थियो । पहिले जेठा छोरा चित्राङ्गद गन्धर्ववीर चित्राङ्गदसँग तीन वर्षसम्म चलेको घमासान युद्धमा मारिएका थिए । अहिले कान्छा छोरा युवराज विचित्रवीर्य पनि अति कामोपभोगका कारण राजयक्ष्माको प्राणान्तक रोगको शिकार बनिसकेका थिए, फलतः दुवै नवयुवती पुत्रवधूहरू अम्बिका र अम्बालिका सन्तानहीना बनेर असमयमै विधवा बनेका थिए । यो असामान्य परिस्थितिमा एउटा प्रश्नचिह्नले उत्तरोत्तर विराट् रूप धारण गर्न लागेको थियो– अब हस्तिनापुरका सिंहासनमा कसलाई आरुढ गराउने ? आफ्ना दुवै भाइहरूको असमयममा भएको निधनले किंकर्तव्यविमूढ बनेका राजकुमार आजीवन ब्रह्मचर्य–व्रतधारी महाप्रतापी देवव्रत भीष्मका मनमा गहन तर्कवितर्कको द्वन्द्व चलिरहेको थियो ।

प्रथमतः आफ्ना पति शान्तनुको अचानक दिवंगतिले पीडित बनेकी, अहिले आफ्ना दुवै पुत्रलाई असमयमै गुमाउनुपर्दा पीडाधिक्यले थकित बनेकी तथैव राज्यको उत्तराधिकारीको अभावले गम्भीर बनेकी महारानी सत्यवतीले जसैतसै आफ्ना दुवै विधवा बुहारीका आँशू पुछिन्, सम्झाइ–बुझाइ गरिन् अनि प्रथमतः सर्वोपरि रहेको स्वकर्तव्यको बोधले प्रेरित भएर कुमार देवव्रतलाई मन्त्रणाका निम्ति डाकिन् र अत्यन्त विनयभावले समुपस्थित ती गङ्गापुत्र भीष्मलाई सस्नेह सम्बोधन गर्दै भनिन् :

हे पुत्र ! तिमी सदा धर्माचरणमा तत्पर रहन्छौ । तिम्रा पिता यशस्वी महाराज शान्तनुको पिण्डपानीको व्यवस्था, कीर्तिरक्षा र वंशवर्धन यी सबै परमकर्तव्यको पालन गर्नु अब तिम्रै जिम्मेवारी बन्न पुगेको छ । तिमी स्वयं सकल विद्यामा पारंगत छौ । शुक्र र बृहस्पतिका वरेण्य नीतिहरूका परम–ज्ञाता छौ । मेरो कुरा ध्यान दिएर सुन ! तिम्रा दुवै भाइहरू असमयमै दिवंगत बनेका छन् । तिम्रा दुवै पति–विरह–विकला अनुजवधूहरू रूपयौवन–सम्पन्ना एवञ्च तनय–तृषातुरा छन् । यस परिस्थितिमा हाम्रो सन्तति–परम्परा सुरक्षित राख्ने दायित्व तिम्रो काँधमा आइपुगेको छ । हे महाबाहो ! मेरा आज्ञाले तिमी यी दुवै रमणीसँग समागम गरी पुत्रोत्पत्तिको पुण्यकर्म सम्पन्न गर । राज्यको उत्तराधिकार आफ्ना काँधमा वहन गर, विधिपूर्वक विवाह गर, यो राज्य र वंशपरम्परालाई अक्षुण्णता प्रदान गर ।

महारानी सत्यवतीका यी कुरा ध्यानपूर्वक सुनिरहेका धैर्यधुरीण महाव्रती भीष्मले धर्मानुकूल धारणाका साथ यसो भने :

हे मात ! हजुरले आज्ञा भएको कुरा सर्वथा धर्मयुक्त नै हो– यसमा कुनै सन्देह छैन । परन्तु म राज्यको लोभले न त आफूलाई अभिषिक्त गराउँछु, न त सन्तानोत्पत्ति, न त नारी–सहवास नै गर्दछु । यस विषयमा मैले पूर्वकालमा गरेको भीष्मप्रतिज्ञालाई आजीवन दृढताका साथ पालन गर्नेछु । मैले के–के प्रतिज्ञा गरेको थिएँ त्यसको यथार्थ स्मरण हजुरलाई अवश्यमेव रहेकै होला । म आज फेरि दृढताका साथ के भन्दछु भने–

अनि, राजकुमार देवव्रतले तेजस्विनी वाणीमा आफ्नो उद्घोष यसरी व्यक्त गरे :

परित्यजेयं त्रैलोक्यं राज्यं देवेषु वा पुनः ।

यद् वाप्यधिकमेताभ्यां न तु सत्यं कदाचन ।।

त्यजेच्च पृथिवी गन्धमापश्च रसमात्मनः ।

ज्योतिस्तथा त्यजेत् रूपं वायुः स्पर्शगुणं त्यजेत् ।।

प्रभां समुत्सृजेदर्को धूमकेतुस्तथोष्मताम् ।

त्यजेच्छब्दं तथाùकाशं सोमः शीतांशुतां त्यजेत् ।।

विक्रमं वृत्रहा जह्यात् धर्मं जह्याच्च धर्मराट् ।

न त्वहं सत्यमुत्स्रष्टुं व्यवसेयं कथंचन ।।

मभ,आप,१०४अ,१५–१८श्लो ।

म तीनै लोकको राज्य, देवताहरूको साम्राज्य अथवा यीभन्दा अधिक महत्त्वको वस्तुलाई पनि सर्वथा परित्याग गर्न सक्दछु तर सत्यप्रतिज्ञालाई कदापि छोडन सक्दिनँ । चाहे पृथ्वीले गन्ध छोडून्, जलले आफनो रस, तेजले रूप, वायुले स्पर्श, सूर्यले प्रभा, अग्निले उष्णता, आकाशले शब्द, चन्द्रले शीतलता, इन्द्रले पराक्रम र धर्मराजले धर्मको कदाचित् उपेक्षा गरून् तर मचाहिँ आफूले उद्घोष गरेको सत्य–प्रतिज्ञालाई छोड्ने विचारसम्म पनि गर्न सक्दिनँ ।

माता सत्यवतीले भीष्मप्रतिज्ञ पुत्रको सराहना गर्दै भनिन्– बाबू, तिमी सत्यसन्ध छौ, सत्यमा तिम्रो दृढनिष्ठा छ, तिमी महापराक्रमी छौ, तिमीले चाह्यौ भने आफ्नै तेजले समस्त त्रिलोकीको सृष्टि गर्न पनि सक्दछौ । मैले तिम्रो भीष्म–प्रतिज्ञा एक क्षण पनि बिर्सिएकी छैन । तैपनि मेरो आग्रह छ कि आपद्धर्मको निर्वाह गरेर यो पितृपितामहको धरोहर यस राज्यभारलाई वहन गर ।

यथा ते कुलतन्तुश्च धर्मश्च न पराभवेत् ।

सुहृदश्च  प्रहृष्येरंस्तथा  कुरु  परन्तप ।। पूर्ववत् : २२श्लो.

हे सत्यप्रतिज्ञ शत्रुसन्तापक पुत्र ! जे गर्दा तिम्रो कुलतन्तु विच्छिन्न हुँदैन, धर्मको पराभव पनि हुँदैन, हितचिन्तक सुहृद्वर्ग पनि हर्षित बन्दछन्– तेही उपाय गर ।

पुत्रको कामनाले दीन–वचन बोल्न विवश बनेकी ती सत्यवतीलाई सम्झाउँदै भीष्मले भने :

हे राजमाता, सत्य–व्रतरूपी धर्मबाट विचलित हुनु कदापि प्रशस्य हुँदैन । महाराज शान्तनुको वंशपरम्पराको क्षय नहोस् भन्नाका निमित्त के कस्तो आपद्–धर्म सम्भव छ, त्यो उपाय म हजुरलाई अवश्य विन्ती गर्नेछु । हजुर पनि यस विषयका विज्ञ पुरोहित–वर्गसँग परामर्श गरेर लोकतन्त्रको हितका निमित्त के सर्वथा उपयुक्त हुन्छ त्यसवारे सविचार निर्णय गरिबक्सेला ।

अनि, भीष्मले आपद्–धर्मका आलोकमा माता सत्यवतीलाई यस्तो सल्लाह दिए :

हे मात ! शास्त्रीय परम्परानुसार सन्तान–परम्परालाई अविच्छिन्न तुल्याउनका लागि कुनै गुणवान् ब्राह्मणलाई यथेष्ट धन दिएर निमन्त्रित गर्नुहोस् अनि विचित्रवीर्यका पत्नीहरूसँग समागम सम्पन्न गराएर तिनका गर्भबाट सन्तान प्राप्त गर्नुहोस् ।

यो कुरा सुन्नासाथ सत्यवतीको मुहारमा अनौठो परिवर्तन आयो । अनायास कुनै सुमधुर स्मृतिमा आकण्ठ अवगाहन गरेर मानौं उनको चेतनामा नवजीवनको सञ्चार भएको होस् । हलुका लजालु नजाँनिदो मुस्कानले उनको मुहार लालिम बन्यो । अनि लज्जा र संकोचले लोलाएको स्वरमा उनले मन्द वाणीमा भीष्मका सामु आफ्नो हृदयको रहस्य यसरी खोलिन्–

हे महाबाहु भीष्म ! तिमी जे भन्दछौ त्यो सर्वथा उपयुक्त छ । तिमीमा मेरो अगाध विश्वास छ, किनभने हाम्रो कुलमा तिमी मूर्तिमान् धर्म हौ, तिमी नै सत्य हौ अनि तिमी नै परमगति हौ । त्यसैले हाम्रो सन्तति–रक्षाका निम्ति यो रहस्य तिमीलाई बताउँछु, सुन । मेरो यो सच्चा पूर्वगाथा सुनेपछि तिमीलाई जे उपयुक्त लाग्दछ– तेही गर ।

हे भरतश्रेष्ठ ! तिमीले महाराज वसुको नाम अवश्य सुनेका छौ होला । म उनकै वीर्योत्पन्न सन्तति हुँ । तर विधि–विधानवश म माझीकी धर्मपुत्री बन्न पुगें । मेरा ती निषादराज पिता धर्मपरायण हुनुहुन्थ्यो । उहाँकै आज्ञाले म नाउ ख्याएर यात्रीहरूलाई यमुना–पार गराउने काममा खटिएकी थिएँ ।

एक दिनको कुरो हो । त्यसवेला म भरखरै जवानीमा पाइला हाल्दै थिएँ । यमुना नदी पार गर्न भनेर परमधर्मज्ञ महर्षि पराशर मेरै नाउमा पदार्पण गर्न आइपुग्नुभयो । म शान्तभावले उहाँलाई नौकामा सवार गराएर यमुना पार गराउँदै थिएँ । उहाँ त मेरो नवयौवनको अमोघ आकर्षणले आहत हुनुभएछ, काम–वाण–विद्ध हुनुभएछ । उहाँले मेरा समीपमा आएर स्निग्ध भावले आफ्नो परिचय दिनुभयो र मसँग कामभोगको याचना गर्नुभयो । मैले लाजले राती हुँदै भनें : म त माझीकी छोरी हुँ प्रभो ! हजुरलायक छैन ।

हे भरतर्षभ, कुनै पनि स्वैच्छिक कामभोगका विषयमा एकातिर त म आफ्ना पितासँग डराइरहेथें । अर्कातिर काम–निवेदन अस्वीकार गर्दा मलाई यस्ता तेजस्वी महर्षिले रिसाएर शाप देलान्– भन्ने पनि डर थियो । त्यसवेला ती महर्षिले एउटा दुर्लभ वर दिएर मलाई आफ्नो सामर्थ्य पनि देखाए, मलाई उत्साहित पनि तुल्याए । उनका वचनले तत्काल मेरो माछाको दुर्गन्धले भरिएको देह परमसुगन्धले मगमगाउन लागेको थियो । मैले फेरि नदी किनारबाट सबैले हेरिरहेछन् भनेर उनलाई रोक्न खोजें । तर उनले योगबलले तत्काल सघन हुस्सू प्रकट गरेर तिलस्मी शैलीमा समग्र परिवेशलाई अन्धकाराच्छन्न तुल्याइदिए । अनि, त्यसै नौकामा मलाई आफ्ना सबल बाहुपाशमा आबद्ध गरेर सन्तृप्तिमय समागम गरे । अनि भने : तिमी यस यमुनाका द्वीपमा नै, मैले तिमीमा स्थापित गरेको गर्भबाट एक तेजस्वी पुत्र पाउनेछौ । तर यो कुरा कसैलाई पनि थाहा हुने छैन । तिम्रो कौमार्य यथावत् सुरक्षित रहनेछ ।

नभन्दै विस्मयान्वित तुल्याउँदै मेरो कोखबाट तत्काल एक तेजस्वी बालकको जन्म भयो । हेर्दाहेर्दै क्षणभरमा ती बालक वयस्क बनेर विनम्रभावले भने– माता ! म अब जान्छु । जब मलाई हजुरले स्मरण गर्नुहुनेछ तत्काल म हजुर समक्ष समुपस्थित रहनेछु । यति भनिसकेर ती अमित–तेजस्वी पुरुष हेर्दाहेर्दै यमुनाको द्वीपमा विलीन भए ।

हे भीष्म ! ती मेरा पुत्र बन्न पुगेका महान् योगी महर्षि व्यास हुन् । उनले आफ्ना तपोबलले वेदलाई चार पृथक्–पृथक् भागमा विभक्त गरेकाले उनलाई वेदव्यास पनि भनिन्छ । द्वीपमा रहनाले उनको काया कृष्णवर्णको छ, अनि उनलाई द्वैपायन भनेर लोकले चिन्दछ । ती सत्यवादी, शान्त, तपस्वी एवम् पापरहित छन् । उनी उत्पन्न हुनासाथ यकायक ठूला भएर आफ्ना पिताकै साथ गएका थिए । यदि मैले र तिमीले आग्रह गर्यौं भने तिनले यी दुवै वधूहरूको कोखबाट कल्याणकारी सन्तान उत्पन्न गर्न सक्दछन् । उनले मलाई भनेका पनि थिए– हे मात, कुनै संकट आइलाग्यो भने मलाई सम्झनू, म तत्काल उपस्थित हुनेछु । हे महाबाहु भीष्म ! यदि तिमी सहमति प्रकट गर्छौ भने के म उनलाई स्मरण गरुँ ?

माता सत्यवतीको यो रोमाञ्चक पूर्वगाथा सुनेपछि चकित बनेका भीष्मले सहर्ष स्वीकृति प्रदान गर्दै भने :

मात, हजुरको यो प्रस्ताव मलाई सहर्ष स्वीकार्य छ । किनभने यो कृत्य समग्र–भावले आपद्–धर्मको अनुकूल छ ।

यसरी दुवै आमा–छोराको चिन्ता–सन्तानको वितान यकायक विलीन बन्न पुग्यो ।

अनि, सत्यवतीले तत्काल एकाग्र मनले महर्षि वेदव्यासलाई आवाहन गरिन् ।

भगवान् वेदव्यासको जय !

…………….

महाभारतको आदिपर्वमा आधृत ।

२०८१ कार्तिक २ गते शुक्रवार ।

ॐ अक्षरालय ।