दर्केर पर्यो दर्के झरी
आँत सित्तल भयो
मान्छेको
पशु-पन्छीको
वनस्पतिको

सिङ्गै पर्यावरणको

सफा भए शहरका सडक
गाउँका गल्ली र बाटाघाटा
तर बग्न सकेनन् सलल…
शहरबासीले फ्याँकेका फोहोरका पोका
फोहोरले बाटो रोक्यो
पानीले बाटो खोज्यो
कहाँबाट बग्ने हो ?
कता जाने हो अब ?
अलमलिएको पानी
विद्रोहमा उत्रियो

कठै ! पानीको बाध्यता
नचाहाँदा नचाहाँदै पनि
बाटो मोड्नु पर्यो
ढल त टालिईहाल्यो
प्लास्टिकले
अन्ततः
सडकमै उक्लिनुपर्यो पानीलाई
विकल्प थिएन उसको पनि
झिलीमिली आलिसान महलमा बसेर
मान्छे रमिता हेर्दै छ, विध्वंशको
उसलाई पत्तो छैन
यहीँ पानी फर्केर
उसकै सिरानीमा
आउने सम्भावना बढ्दो छ
नभन्दै
आफ्नो बाटो नभेटेर
पानी, पसल र घरमा छिर्न लाग्यो
एकैछिनमा देखियो पानीको
रौद्ररूप !
जेनतेन म भने फुत्किएँ
त्यहीँ पनि आँगनमै जमेको पोखरी
सागर भएर फैलियो
तैरिएका छन् पानीका अङ्गप्रत्यङ्गभरि
बोतल, प्लास्टिक र कागजहरू
जुन, मैले नै बेपर्वाह फालेका हुन्
सोच्दैछु
यो झरीको असरबाट
कसरी जोगाउने होला
खेतबारी ?
यो घर
अनि सिङ्गै जीवन !