यो अवचेतन मन
स्वार्थको दलदलबाट
फुत्त बाहिर निस्किन्छ
र एउटा प्रेमिल प्रश्न गर्छ
आफ्नै धरातलमा स्वाधीन टेकेर
मेरो निकटस्थ बहने हावा
आवरणमा देखिने हरित सौन्दर्य
सम्मुखका सुरम्य लतिका
चन्चल जलाशय
असुरक्षाको दुहाई माग्दै
मेरो शरण पर्दा
मेरो प्रेम झन् उम्लिन्छ ।
सायद म एक यस्तो प्रेममा छु
एक अर्गानिक प्रेम
अत्ति गहिरो पर्यावरणीय प्रभाव
त्यो प्रेम यत्ति स्निग्ध छ
जस्तो कि मेरो मुटुको केन्द्रभागमा
हरदम बसेर राज गरिरहने
मेरो मनको राजा
जो आफू तिर्खै बस्छ
र मेरो लागि कन्चन
हिमनदी उपहार दिन चाहन्छ
आफ्नो भोकको प्रवाह नगरी
मलाई स्वस्थ ब्रह्माण्ड सुम्पिन खोज्छ
म उसैको समर्थनमा
एक उन्नत प्राकृत प्रेमको
खेतीपाती गर्न लालायित छु।
मेरो हर क्षण, हर श्वास
तिम्रै चिन्ता र मायाले
हरदम पिरोल्नु
मान्छेले तिम्रो अस्तित्व
नामेट पारेको देख्न नसक्नु हो
तिमी यति प्रिय लाग्नु
मेरो प्रेमीले मलाई
यत्तिकै प्रिय ठान्नु जस्तै हो
जसरी मेरो प्रेमिको मन मलिलो छ
ऊबिना मेरो प्रेम अधुरो छ
त्यस्तै तिमीबिना
चराचर जगत अधुरो छ
तिमी स्वस्थ हुनुले नै
प्राणीको आयु निर्धारण गर्दछ
प्रिय प्रकृति,
तिमीलाई म निरोगी प्रेम गर्छु,
र दीर्घायु बनाउनेछु ।
तिमीबिना न कुनै अस्तित्व छ मेरो
न बाँच्न नै सक्छु
आत्मीय प्रकृति,
तिम्रो अदृश्य प्रेममा छु म
निर्मल, निराकार
पवन झैं पवित्र
मजस्तै धेरै जीवात्माहरूको
प्राण हौ तिमी
तिमीबिना कसैको पनि छैन अस्तित्व
तर खै किन यति धेरै पीडामा छौ तिमी ?
तिम्रो सुन्दर रूपको
फाइदै फाइदामात्र किन लिइन्छ ?
फूलको बदला किन काँढा झेल्न
अभीशप्त छौ तिमी ?
मान्छे किन यति स्वार्थी भए ?
प्रेम किन यति सस्तो भयो ?
पानी खाने धारा
घाँस-दाउरा गर्ने वन
सिँचाइ गर्ने खोला
स्वास लिने हावा
र आफूलाई जीवन दिने पर्यावरणलाई
किन प्रेमको बदला
घात गर्दैछ मान्छे ?
संरक्षणको बदला
किन विनाश निम्त्याएको होला ?
जवाफबिहीन प्रश्नहरुको चाङबाट
म एक्लो जवाफ बन्न खोज्दैछु ।
म तिम्रो संरक्षक बन्ने यात्रामा छु
म ती सारा भक्षकहरुलाई
रक्षक बनाउने अभियानको
अग्र मोर्चामा छु
पीर नगर प्रकृति,
म हरपल तिम्रो साथमा छु
किनकि,
म तिमीलाई असाध्यै माया गर्छु
प्रिय प्राकृति,
म तिम्रो गहिरो प्रेममा छु
जस्तो कि-
म मेरो प्रेमिको
गहिरो प्रेममा छु
जहाँ कुनै छलकपट र विषादी छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।