भ्रमणको सिलसिला होस् वा कामको सिलसिला, कहिलेकाहीँ घरभन्दा अलिक टाढा कतै निस्कन पाउनुको मजा नै बेग्लै हुन्छ । मेसो मिलाएर निस्किन्छु म पनि कहिलेकाहीँ तर घुम्न जाने भनेर खासै समय निकाल्न चाहिँ सकिरहेकी छैन । काम-विशेषकै क्रममा बेला-बेलामा दिल्लीतिर हानिन्छु ।
दिल्ली, एक भव्य शहर । विशाल भारतको राजधानी । झण्डै नेपालमा जति जनसंख्या यो शहरमा छ । बाटोमुनि, बाटो र बाटोमाथि सवारीसाधन र मान्छेको भीड कहिल्यै कम देखिँदैन । सबैका आ-आफ्ना चटारा छ्न्, फुर्सदमा कोही छैनन् । सबैले बोल्ने भाषा उही हिन्दी छ, राम्रोसँग बुझिए पनि बोल्ने अभ्यास कम भएर होला नेपालीपारा घुसिहाल्छ, आफ्नो । छिमेकी न परे – ‘आप नेपाल से हो ?’ सोधिहाल्छन् ।
नेपालीहरूको भारतमा आफ्नै छुट्टै इज्जत छ । केही सामान देख्यो कि किनिहाल्नुपर्ने बानी धेरैको हुन्छ । राम्रो ग्राहक आएको जस्तै हौसिहाल्छन् व्यापारी, नेपाली भनेपछि । उस्तै परे ज्वाइँलाई जस्तै खातिरदारी गर्न पनि चुक्दैनन् । जता हेर्यो मान्छेको मुस्लो नै देखिन्छ । अत्यधिक जनसंख्या र शहरीकरणले गर्दा दिल्लीमा मान्छेको भिड नभएको ठाउँ नै हुँदैन ।
आफ्नो रुचिको विषय नै पर्यावरण भएकाले मेरो ध्यान त्यहाँको वातावरणले नै बढी तान्छ । यति धेरै विकास निर्माणका बाबजुद बाटोमा अग्ला-अग्ला महलहरूको अगाडि झ्याङ्गिरहेका सयौं वर्ष पुराना रूखहरूले साँच्चिकै मन छुन्छ । रूखहरू जस्ता पनि छन् – नयाँ, धेरै वर्ष पुराना । कुनै रूखका हाँगा सुकेका, कुनै झाङ्गिएका पनि छन् । शहरमा जताततै, पाइलैपिच्छे विशाल पीपलका वृक्षहरू भेटिन्छन् । अग्ला अग्ला भवनका आडैमा सयौं वर्ष पुराना वृक्षहरू छ्न् । पिपलका हाँगाहरू भवनका झ्यालहरूमा आड लिइरहेका छन् । लगभग ४००-५०० मिटरको दूरीमा अवस्थित हरियो दूबोसहितका पार्कले पनि शहरले सास फेरेको आवास दिलाउँछन् । ठूलो शहर, सवारीसाधनको चाप, अत्यधिक जनसंख्याका कारण उच्च प्रदूषणयुक्त शहरमा गनिन्छ यो शहर । म सोच्न बाध्य हुन्छु – दिनभरिको भागदौड भए पनि त्यो प्रदूषणयुक्त शहरमा थकान भने खासै छैन ।
अहो ! रूखको महत्त्व मलाई महसूस हुन्छ । कसरी मान्छेलाई जोगाइराखेको छ रूखले यो कुरा दिल्लीले बुझेको छ । समयसँगै, विकाससँगै प्रकृतिलाई जोगाएर गरिने विकासले कति फाइदा हुँदोरहेछ भन्ने कुरा दिल्लीबाट सिक्न जरूरी छ । अहिले नेपालमा लाखौँ चौताराहरू मासिइसके । अझै मासिने प्रक्रियामा छन् । नेपालमा अहिलेको विकासका योजना र काट्नलाई ठिक्क पारेर राखेका लाखौँ चौतारा र बाटो छेउका वरपीपललाई देख्दा यिनीहरूको अस्तित्व नै लोप भएर जाने खतरा देखिन्छ । चौताराको अस्तित्व समाप्त हुने सम्भावना बढेर गएको छ ।
जलवायु परिवर्तनको असरबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हिमालहरू काला भइसके । पुष-माघमा धाराको पानी जम्ने स्थानहरूमा पुष-माघमै चैतको जस्तो घाम छ । तराईमा पनि एकदिन चर्को घाम र अर्कोदिन बेस्सरी चिसो शीतलहर पर्न थालेको छ । गएको गर्मीमा ४८ देखि ५० डिग्री अधिकतम तापक्रम मापन गरिएको थियो । यस्तो अवस्थामा विकासका योजनाहरू आइरहेका छन् । छ लेनको पूर्व-पश्चिम राजमार्ग निर्माणको काम भइइरहेको छ । यो निर्माण कार्यमा हजारौँ चौताराहरू मासिइसके भने हजारौं मासिने प्रक्रियामा छन् । यी विशाल चौतारालाई जोगाएर वातावरणमैत्री विकास निर्माण गर्ने हो भने भविष्यमा यिनै वरपीपललाई अवलोकन गर्न आउँछन्, यो आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ ।
सयौं वर्ष पुराना विशाल वरपीपलले वरिपरिको वातावरणलाई सन्तुलन राख्न खेलेको भूमिकाबारे किन आवाज उठ्दैन ? वातावरणमैत्री विकासले बेफाइदा कसैलाई गर्दैन । नेपाललाई नेपालकै तरिकाले विकास गरौं । विकासको नाममा विनाश किमार्थ उचित हुन्न । भावी सन्ततिलाई के उपहार दिने हामीले ? स्वच्छ हावा कि दुर्गन्धित फोहोर-मैला ? यदि स्वच्छ हावा दिने हो भने पर्यावरण जोगाउन जरुरी छ । गाउँदेखि शहरसम्म, पाखादेखि सडकसम्म रुख रोप्न र जोगाउन अत्यावश्यक छ । जसरी दिल्ली रुखमैत्री शहर बन्यो त्यसरी नै हाम्रा पनि प्रत्येक शहरहरू रुखमैत्री बन्न आवश्यक छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ माघ २०८२, बिहीबार 









