Say No To Plastics!

यो विश्वव्यापी नारा आत्मसात गरौँ र सबैले भनौँ- प्लास्टिक हुँदैन, प्लास्टिक बहिष्कार गरौँ ! प्लास्टिकले पर्यावरणमा पार्ने घातक र दीर्घकालीन असरका बारेमा सायद सबैलाई ज्ञात छ ।  मैले यसैका बारेमा केही बोल्ने जमर्को गरिरहेकी छु यहाँ ।

आज विश्व वातावरण दिवस । वातावरण भन्ने कुरा त बुझाउनु पर्छ जस्तो लाग्दैन । वातावरण भनेको के हो ? भनेर सोध्दा भन्न नसक्ने विरलै होलान् तर हामीलाई नभई नहुने वातावरणले खेप्नु परेको सास्तीका बारेमा ज्यादै कमलाई थाहा छ । परन्तु वातावरणले पार्ने  नकारात्मक प्रभाव र असरबारे सबैलाई थाहा छ  किनभने प्राकृतिक प्रकोपको चपेटामा कम बेशी सबै  परेका छ्न् ।

कुरा नेपालकै गरौं । प्राकृतिक सुन्दरताको धनी हाम्रो देश  आफैंमा एउटा गर्वको कुरा हो ।

सरसफाइ सम्बन्धी चेतनाको अभाव नै हुन सक्छ अहिले नेपालको जुनसुकै ठाउँ अझ भनौं  तराई, पहाड र यहाँ सम्म कि हिमाल पनि अछुतो रहन सकेको छैन, जहाँ  प्याकिङ्ग खानेकुराका खोल, पानी कोल्डड्रिङ्क्सका बोतल, सुर्तीजन्य पदार्थका खोलहरू, प्लास्टिकका झोलाहरू असङ्ख्य रूपमा देखिन्छन् ।

कुनै पनि यस्तो ठाउँ देखिँदैन कि जहाँ प्याकिङ खानेकुराका खोल, पानी कोल्डड्रिङ्क्सका बोतल, सुर्तीजन्य पदार्थका खोलहरू, प्लास्टिकका झोलाहरू नभएको होस् ।

आफूले प्रयोग गरेको प्लास्टिकलाई जथाभावी फ्याँक्ने त बानी नै परिसकेको छ ।

कहिले सोच्नुभएको छ ? यसरी जथाभावी फालेको फोहोर र एकछिनको सुबिधाको लागि प्रयोगमा ल्याएको कहिले पनि नसड्ने प्लास्टिकजन्य पदार्थ कहाँ गएको छ होला भनेर ?

कुलो, कुलेसो, खोल्सो, बाटोको छेउ, खेत, बारी प्लास्टिकजन्य पदार्थ  नभएको कुनै ठाउँ नै छैन । एकछिन एकपलको सुबिधाको लागि मान्छेले प्रयोगमा ल्याउने गरेको प्लास्टिकले डम्पिङ साइडको क्षेत्रफल त बढाएको छ नै । त्यसका अलावा यत्रतत्र छरिएका प्लास्टिकजन्य पदार्थले खेतीयोग्य जमिन, नदी, ताल, पोखरी, वन जङ्गल सबैतिर प्रत्यक्ष असर पारेको छ ।

नेपालमा दिनहुँ सयौं टन प्लास्टिकको फोहोर उत्पादन हुन्छ । यसले दिनहुँ डम्पिङ साइडको क्षेत्रफल बढाइरहेको छ । यहीँ रफ्तारले फोहोर बढ्दै जाने हो भने हाम्रा छोराछोरीले हाम्रो उमेरमा आइपुग्दा फोहोर प्लास्टिक नभएको ठाँउ देख्न पाउने छैनन् ।

`एक थुकी सुकी सय थुकी नदी´ भनेजस्तै सानो ठूलो जे सामान किन्दा पनि सजिलोसँग व्यापक रूपमा प्रयोगमा आइरहेको कहिले पनि नसड्ने प्लास्टिकले प्रकृतिलाई पार्ने दीर्घकालीन असरका बारेमा पनि एक पटक सोचिदिनुस् न है ।

हेर्दा सामान्य लाग्छ  तर यो एउटा विकराल समस्याका रूपमा देखिएको छ । एकछिनको सुबिधाको लागि जे सामान किन्दा पनि प्लास्टिकका झोला प्रयोगमा ल्याउने बानीले प्रकृतिलाई विनाशतर्फ धकेलिरहेको छ ।

बुझ्नुपर्ने र बुझाउनुपर्ने बेला आएको छ ।

तसर्थ सबैले एक स्वरमा भनौं – Say no to plastics !

त्यस्तै हामीले घरबाट बाहिर निस्कँदा एउटा सानो झोला पनि लिएर निस्कने बानी गर्यौँ भने ९०% प्लास्टिक हाम्रो घरमा भित्रिदैन अनि फोहोर धेरै नै कम हुन्छ  ।

सबैभन्दा राम्रो कुरा त यति गर्नासाथ हामीलाई खुशी पनि लाग्छ । म पनि प्रकृतिलाई माया गर्छु र मेरो पनि प्रकृति संरक्षणमा  भूमिका छ भन्ने कुराको आभास हुन्छ । एकपटक आफूले आफूलाई नै परिवर्तन गरी प्रकृतिको लागि केही योगदान गरौं न । हाम्रो सानो प्रयासले एउटा असल संस्कारको विकास गर्न सकिन्छ । हामी आफू सुध्रिएर अरूलाई पनि सुधार्न सकिन्छ । म एक्लैले गरेर के हुन्छ र ? भन्ने  नसोच्नुहोला । सुरूवात एकजना बाट नै हुन् हो  । अनि बल्ल अरूले सिक्ने हो ।

आउनुहोस् आजको दिनमा केही प्रण गरौँ । ” धेरै केही गर्नु पर्दैन । प्रकृतिको लागि आफ्नो बानीमा थोरै सुधार मात्रै ल्याउने हो भने पनि धर्तीको लागि धेरै नै राहत हुनेछ । म सकेसम्म प्लास्टिकको झोला प्रयोग गर्दिन, प्रयोग गर्नै परेका खण्डमा प्लास्टिकजन्य पदार्थलाई जतासुकै नफाली उचित व्यवस्थापन गर्छु  । किनमेल गर्न जाँदा वातावरणमैत्री झोला लिएर नै जान्छु । म सकेसम्म प्लास्टिकको झोलाको प्रयोग गर्दिन र अरूलाई पनि प्रयोग नगर्न प्रोत्साहन गर्छु भनी एउटा दृढ सङ्कल्प गरौं ।” वातावरणको लागि आफ्नो तर्फबाट यति गर्न सक्ने हो भने तपाईंलाई धर्ती र आकाशले आशीर्वाद दिनेछ ।

प्रकृतिले हामीलाई सबैथोक दिएको छ । हामी चाहिँ प्रकृतिका लागि केही पनि गर्न नसक्ने ? प्रकृति स्वस्थ भए हामी पनि स्वस्थ रहने कुरा निःसन्देह छ । तैपनि हाम्रो उदासिनताले हाम्रै जीवन प्रभावित भइरहेको कुरा  सत्य  हो भन्ने बुझ्न जरूरी छ । प्रकृति संरक्षणमा विश्वले देखाएको चासो र प्रयास प्रशंसनीय छ तर यत्ति नै पर्याप्त भने छैन । जबसम्म व्यक्ति स्वयं जागरुक हुन सक्दैन तबसम्म संस्थागत  रूपमा गरिएका प्रयासहरू निरर्थक सावित हुन्छन्  ।

बैयक्तिक सचेतनाको प्रयासस्वरूप म आफैंले पनि वातावरण संरक्षण हेतु केही नवीन कार्यको   थालनी गरेकी छु । म आफ्नो साथमा एउटा वातावरण मैत्री झोला कहिल्यै पनि छुटाउँदिन । तरकारी किन्दा होस् फलफूल किन्दा र अरू जुनसुकै सामान किन्दा म आफ्नो झोलामा नै सामान थाप्छु । पसल गर्ने साहुजी पनि प्लास्टिक दिन नपर्दा मुसुक्क हाँस्ने, अनि अलिकति बढी नै सामान  प्लास्टिकको झोला नलिएबापत् पाइने । राम्रो  भएन त ! अवस्य भयो । प्लास्टिकको झोला पनि प्रति के. जि.रु. ३००/- देखि रु. ६००/-सम्म   पर्दोरहेछ । घरमा पनि फोहोर खासै धेरै जम्मा नहुने । अब त बानी पनि भइसक्यो झोला लिएर घरबाट निस्कने । मलाई त प्लास्टिकको झोला बोकेर हिँड्दा लाज लाग्छ ! अनि तपाईलाई नि ?

विश्व पर्यावरण दिवसको यो पावन बिहानीसँगै सबैमा सचेतना अभिवृद्धि होओस् । बोली, व्यवहार अनि कर्मले यो सुन्दर पृथ्वीलाई प्रदूषणरहित बनाऔं । प्लास्टिकरहित माटो टेक्न र छुन पाए हामीले धर्तीप्रति गरेको कर्तव्य सफलीभूत हुनेछ । यो पुण्य कर्ममा हाम्रै हातहरू सकृय हुन जरूरी छ । आत्माको आवाज एकसाथ घन्काऔं –  Say No To Plastics !!!