मान्छेका आवश्यकताहरू असीम छन् । हरेक चिजको प्राप्ति पछि फेरि अर्को वस्तु प्राप्तिको आकाङ्क्षा राख्दा-राख्दै मान्छे बुढो हुन्छ । सुविधा भोगी जीवनयापन मान्छेको अर्को कमजोरी हो । जीवनका हरेक आयाम सहज र द्रुत बनाउने होडबाजीमा मान्छेले आफ्नै अस्तित्व नामेट पारिरहेको छ । त्यो वस्तुनिष्ठ सत्यको हेक्कै नराखी मान्छे क्षणिक सुख र आनन्दको भुमरीमा फसिरहेको छ, निरन्तर-निरन्तर ।

जन्मजात माटो टेकेर हुर्केको मान्छे सुखभोगको चाहनामा यसरी जाकिन्छ कि, ऊ आफ्नै पैताला आफैँबाट हराउन पुग्छ । फलस्वरूप खालि खुट्टा हिँड्दा-हिँड्दै चप्पल-जुत्ता, गाडी-घोडा र वायु यानसम्मको सयर मान्छेको आवश्यकता नभएर शौक बन्न पुग्छ । सौखिन जीवनयापनको भूत सवार भएपछि नै मान्छे अँजुली भरेर पिउनु पर्ने पानीका लागि प्लास्टिकको बोतल र थैला प्रयोग गर्न लालायित बन्दछ । साइकल चलाउने रहर विकसित भएर स्कुटर, मोटरसाइकल र कारसम्म आइपुग्दा पनि नमेटिएपछि हावामा उड्न पखेटाको आविष्कार गर्न मान्छे जत्ति तत्पर हुन्छ त्यति आफू टेक्ने माटो बचाउने विषयमा सोच्दैन ।

हिजोसम्म दुना-टपरीमा अर्ग्यानिक भतेर खाएर शताब्दी जिउने मानिस आज प्लास्टिकका रेडिमेड थालमा भुजा ज्यूनार गर्छ र आयुको रेखा घटाउँछ । हामी टुलुटुलु हेर्न अभीशप्त छौँ तर एक शब्द आवाज बुलन्द पार्ने कामका लागि कोही तयार छैनौँ । सही र गलत छुट्टाउन नसक्नुको प्रतिफल हाम्रै शरीर, स्वास्थ्य र जीवनशैली कष्टकर बन्दो छ, दिनानुदिन ।

प्रसङ्ग हो, पर्यावरणीय चेतमा खुल्न नसकेको हाम्रो दिमागी बिर्को । बजारमा दूध पाइहालिन्छ किन गाई पाल्नुको दरिद्र सोचले नै हाम्रो जीवन भयावह बन्दै छ, हरक्षण । घर-घरमा प्लास्टिकजन्य सामग्रीको सघन प्रयोगले त्यो घर मात्र होइन समाज, राष्ट्र र पुरै पृथ्वीको अस्तित्व धरापमा पर्दै छ । ब्रह्माण्डको आयु क्रमशः छोटिँदै जीर्ण अवस्थामा गुज्रिरहेको छ । प्रकृति संरक्षण र पर्यावरण बचाउका अभियन्ताहरू तारे होटेलमा सेमिनार गर्छन् । तर प्लास्टिककै प्याकेटमा जङ्क फुड खाएर अनि प्लास्टिककै बोतलको मिनिरल वाटर पिएर जथाभाबी फाल्छन् । यो पङ्क्तिकारले देखेका र भोगेका यस्ता थुप्रै सन्दर्भको फेहरिस्त लामै छ । समयानुकूल पेस गर्दै जानेछु ।

गाउँका मान्छे बरु काँस, स्टिलका थालमा भात खान्छन् र सालको पातका टपरीमा खाजा खान्छन् तर सहरका मान्छे प्लास्टिकका प्लेटमा पिकनिक खान्छन् र सडक किनारमा फोहोर फालेर हिँड्छन् । मैले प्लास्टिकजन्यको प्रयोगलाई पुरै निस्तेज गरेपछि मेरो घरको पर्यावरण स्वच्छ हुँदै छ । नगरपालिकाको फोहोर उठाउने गाडी मेरो घरछेउमा आएपछि बाटो काट्छ । कारण मेरो घरमा अन्यत्र जस्तो धेरै प्लास्टिकको फोहोरको थुप्रो हुँदैन । बजारमा किनमेल गर्न जाँदा म आफ्नै वातावरणमैत्री झोला र भाँडा लिएर जान्छु । पसलेहरू अभ्यस्त भइसकेछन् कि म त्यहाँ पुग्दा खुसी व्यक्त गर्दछन् । कारण दुई चिजको बचत छ । एक- उनीहरूको प्लास्टिक झोला । अर्को- पर्यावरण । तर सहरका सम्भ्रान्तहरूको सपिङ संस्कारले मलाई हैरान पार्ने गरेको छ । उनीहरू जति जना किनमेलमा निस्किन्छन् ती सबैको हातमा प्लास्टिक झोला देख्दा दिक्क लाग्छ । एक मुठो साग समेत प्लास्टिककै झोलामा बोक्नेहरूको घरमा प्लास्टिक झोलाको गोदामै होला जस्तो लाग्छ । सोच्ने गर्छु- तिनीहरूले भेला पारेका ती प्लास्टिक झोलाहरू कहाँ लगेर फाल्दा हुन् र कहाँ पुगेर अड्किदा हुन् । मान्छेको आयु हजार वर्षको भए पनि त्यो पूर्णतः स्वस्थ रहन सक्दैन जबसम्म प्लास्टिक सङ्क्रमणले प्रकृतिलाई सताइरहन्छ । समाजका सम्भ्रान्त, बुद्धिजीवी र पढेलेखेका पात्रहरू नै प्लास्टिक प्रयोगका सर्वाधिक सफल नायक छन् र तिनीहरू नै पर्यावरण विनाशका मुख्य कारक पनि हुन् ।

सरकारले पनि पर्यावरण संरक्षणमा देखाउनु पर्ने चासो र तत्परता नदेखाउनु झन् बढी विडम्बनापूर्ण छ । त्यत्रो आर्थिक हैसियत र संयन्त्र भएको वातावरण मन्त्रालय के गरेर बस्छ ? कसैले यसै भन्न सक्दैन । नत्र, एउटा व्यक्ति जाग्दा त धेरै गर्न सकिँदो रहेछ भने पुरै सरकार लाग्दा गर्न नसक्ने केही हुन्न थ्यो !

प्लास्टिक प्रयोगको सर्वाधिक असर पर्यावरणलाई मात्र होइन, अन्ततोगत्वा घुमाइफिराई मान्छेलाई नै पर्ने हो । प्लास्टिक घरमा राखे पनि अनुत्पादक हुन्छ जमिनमा फाले झन् विनाशक हुन्छ । माटोको लागि यो महारोग नै हो । रुखको जरामा होस् या हाँगामा यसले क्षति गरेकै हुन्छ । बोटबिरुवा, वनस्पति, फलफूल, सागसब्जी, अन्नपात, जनावर, जलाशय जहाँ पुग्छ प्लास्टिक त्यहीँ पुर्‍याउँछ हानि । यी सबै मार्फत अन्ततः मान्छेकै पेटमा जाने हो । नजानेर चौपायाको आहार बनेको प्लास्टिक जानेर मान्छेको काल बन्दछ । घाम जत्तिकै छर्लङ्ग सत्य बुझ्दाबुझ्दै पनि प्लास्टिक मोहमा चुर्लुम्म डुबेको मान्छे देख्दा लाग्छ- भिरमा जाने गाईलाई राम भन्न सकिन्छ काँध हाल्न सकिन्न ।

यो पङ्क्तिकारको एकल प्रयासमा पर्यावरण संरक्षण समाज नामक संस्थाको श्रीगणेश भएको छ । चुनौती पक्कै छन् तर असम्भव पनि त केही छैन । यसको उद्देश्य प्लास्टिक रहित पर्यावरणको परिकल्पना हो । यसले आफ्नो नारा नै घनिभूत रूपमा सार्वजनिक गरेको छ- `SAY NO TO P।ASTIC´ अर्थात् प्लास्टिक बहिष्कार गरौँ भन्ने । यो एउटा साझा अभियान हो । सचेत समाज निर्माण गरेर यो पवित्र अभियानमा यथाशक्य सकारात्मक योगदान पुर्‍याउन सके प्लास्टिकले अतिक्रमण गरेको पर्यावरण केही हदसम्म सङ्लिन्थ्यो कि भन्ने अहम् आशा मनमा छ । यसमा हात, साथ दिनेको जमात पनि उत्तिकै छ र खुट्टा तान्नेको लर्को पनि त्यत्तिकै छ । आस गरिएकाहरू निराशाको पोको बोकेर आउँछन् । निकटस्थहरूलाई सम्झाउन र पर्या चेत खुलाउन निक्कै हम्मे छ । बरु टाढा-टाढाबाट हौसला, प्रोत्साहन र प्रेरणाको पुञ्ज पठाउने पर्याप्रेमी मनहरू मेरो उत्साहको अजस्र श्रोत बन्ने गरेका छन् । मेरो कर्मगत प्रतिबद्धतामा हिम्मत र साहसको दीप प्रज्वलित गर्ने तिनै हितैषीहरूको होस्टेमा हैँसे गरिरहेकी छु म ।

कहिलेकाहीँ सम्झिन्छु- लाजहरू दुई प्रकारका हुँदा रहेछन् । खुल्ला लाज र गोप्य लाज । लजाउनु र नलजाउनुको पराकाष्ठामा लाज स्वयम् चेपिएको देख्दा उदेक लाग्छ । कोही केही गर्न लाज मान्दैनन् र कोही केही नगर्न लाज मान्दैनन् । म प्लास्टिकका झोला बोक्न लाज मान्छु तर मान्छेहरू प्लास्टिकका झोला नबोक्न लाज मान्छन् । प्लास्टिकका झोला, बोतल लगायतका सामग्री प्रयोग गरिसकेर जथाभाबी फाल्ने त झन् सर्वाङ्ग नाङ्गा हुन् । निर्वस्त्र, निर्लज्ज । कपडाको झोला बोक्नु, त्यसैलाई धोएर फेरी-फेरी पनि प्रयोग गर्नु । कपडाको झोला प्रयोग गर्न नमिल्ने वस्तुको लागि भाँडाकुँडा प्रयोग गर्नु । आर्थिक र पर्यावरणीय रूपमा त फाइदाजनक छ नै स्वास्थ्य र सभ्यताको दृष्टिकोणले पनि लाभप्रद छ । यत्ति बुझ्न नसक्नु मान्छेको लापरबाही हो या अज्ञानीपन बुझ्नै मुस्किल छ ।

संसारको विवेकशील प्राणीको हक दाबी गर्ने मान्छे आफैँ कतिसम्म अविवेकी छ भन्ने कुराको ज्वलन्त प्रमाण त यो छ कि उसले आफ्नै वरिपरिको वातावरण विनाशमा खेलेको खलनायककी भूमिकाबाट प्रस्ट हुन्छ । आफैँले सास फेर्ने हावामा विषादीको वर्षा गराएर रोगी जीवन बाँच्न अभिसप्त मान्छेहरू आखिर आफ्नै कारणले अल्पायुमै मर्न विवश छन् । आवश्यकता भन्दा बढी सुविधा भोगी जीवनयापनको भूत सवार मान्छेहरू विष रोपेर अमृतको अपेक्षा गर्छन्, जुन प्रकृतिका नियम भन्दा ठ्याक्कै विपरीत छ ।

प्लास्टिक मोहको सर्वथा हानी बुझेरै पनि लबस्तरो भएको मान्छेको सोचमा पर्या-चेतना घुसाइदिन सके यो जीवन र जगत् कत्ति सुन्दर हुने थियो होला ! पृथ्वीको आयु लम्बिएर हराभरा हुने थियो । सँगै हामीले पनि दीर्घ जीवन पाउने थियौँ । स्वस्थ पृथ्वी, स्वस्थ प्राणी । दीर्घायु जीवन, दीर्घायु जगत् । आहा, सम्झिँदै पनि फुरुङ्ग हुन्छ ! तर मान्छेहरू यति अबुझ भए कि राम्रो कुरा सुन्नै छोडिसके । कुनै दुर्व्यसनी जस्तो प्लास्टिक मोहमा फसेका मान्छेहरू यति बेलै, आजै र अहिल्यै सुध्रेनन् भने समयले ठुलो मूल्य तिराउने पक्का छ । बेहोसीबाट होसमा आउँदा धेरै ढिलो भइसकेको हुनेछ ।

अस्तु !