शताब्दियौंदेखि ठिङ्ग उभिएको छु
अनेकौँ मौसमी प्रतिकुलता सहेर
हण्डर खाएर आफूले
शीतलता दिएको छु अरुलाई
भन्नेहरू भन्छन्, राम्रो देखिन्छु रे
राम्रो हुनु गुणी हुनु पनि हो
जीवन दिएको छु रे जिउन चाहनेलाई ।

देखिनेगरी बोल्न, हिँड्न सक्दिनँ
तर महसुस गर्न सक्छु
तिमीले मलाई साह्रै सतायौ,
चिथोर्यौ, घिसार्‍यौ
काट्न पनि बाँकी राखेनौ
सबै सबै थाहा पाउन सक्छु
आयु त लामै हुँदो हो मेरो पनि
तर पूरा आयु बाँच्नै दिएनौ मलाई
विषालु पदार्थको सेवन गराएर
अकालमै मार्न चाह्यौ मलाई ।

मेरो आवश्यकता बुझेर पनि बुझ पचायौ
वृद्ध भए नि आँत बलियो थियो मेरो
तिमीलाई सकेजति दिन केही बाँकी राखिनँ मैले
जन्मिएको दिनदेखि तिम्रै सेवामा
निरन्तर तल्लिन छु
तिमीसँगै त छु म हर्दम
जति-जति तिम्रो उन्नति हुँदै गयो
त्यति-त्यति तिरस्कृत भएँ म तिमीबाट
मल चाहन्थेँ म
तर प्लास्टिक खुवायौ तिमीले
म जिङ्लाइरहेको छु
म सुकिरहेको छु ।

कहिले थाहा पाउछौ तिमी ?
प्लास्टिकका विषले म निस्सासिएको
कहिले देख्छौ तिमी
सिसाका टुक्राले मलाई घोचिरहेको ?
मलाई जस्तै कुनै बेला तिमीलाई पनि
घोचे, पोले
पीडा उस्तै हो
दुखाइ उही हो
फरक यत्ति मात्र हो कि,
तिमी बोल्न सक्छौ
चिच्याउन सक्छौ
छट्पटाउन सक्छौ
उपचार गर्न सक्छौ ।

तर
म सक्दिनँ
म त केवल तिम्रो भरमा छु,
तिमीमै आश्रित छु
मेरो जीवन तिम्रो हातमा छ
म स्वस्थ भए
तिमी पनि स्वस्थ हुनेछौ,
तसर्थ
मलाई बचाऊ !