मधेशकी छोरी म, पहाडकी बुहारी हुने मन थियो ।

बुबा धेरै पहिले मधेश झरेको रे । पछि पहाड गएर आमालाई विवाह गर्नुभएछ । त्यसपछि म अस्पतालमा जन्मेँ । धन्न रिक्सामा चढाएर मेरी आमालाई समयमै अस्पताल पुर्‍याउनुभएछ । म रिक्सामै जन्मेको भए के हुन्थ्यो ! पहाडमा कहाँ अस्पतालको सैयामा जन्मने सौभाग्य ! मेरी आमाजस्तै कोदो रोप्दारोप्दै बारीमा पो जन्मिनुपर्थ्यो कि ?

मधेश, जहाँसम्म दृष्टि पुग्छ त्यहाँसम्म सबै सम्मो भूभाग । बजारमा कङ्क्रिटका थेप्चा घरहरू । देहातमा लमतन्न पल्टेका खेतका गराहरू । न पारि छ न वारि, न तल छ न माथि । मधेशमा बस् हुन्छ अल्छीलाग्दो तेर्सैतेर्सो ।

यस्तो विविधताहीन भूगोलमा मेरो बाल्यकाल मेहन्दी र होलीका रङ खेल्दै बिते । मेरा नजरहरू उत्तर क्षितिजमा देखिने पहाडी शृङ्खलामा ठोक्किरहन्थे । अनि डाँडाको टुप्पोमा उष्णताको भारी बिसाई शीतल पवन बोकेर झर्थे ।

शैरकल्पनामा डुबेर सोच्थेँ, ‘म ठूली भएर विवाह गरी जाने उः त्यहीँ हो ।’

फुच्ची भए पनि बासँग कुदिहिँड्थेँ । प्रकृतिसँग समीप हुन मन पर्ने खुबै । ढुङ्गा, माटो, हावा, पानी सबैलाई स्पर्श गर्नै पर्ने स्वभावकी म ।

देख्थेँ, नदीले आफूसँग बगाएर ल्याएको पहेँलो मलिलो माटो । भूगोल विषय पढ्दै थिएँ त्यति बेला । गुरुले भन्थे, ‘पहाडको टुप्पोमा मूल फुट्छ । अनि पाखापखेरा बेँसी हुँदै खोलाबाट नदी बन्दै झर्छ । सिञ्चित र उर्वरशील पार्छ मधेशका खेतहरूलाई र फल्छन् मुरीका मुरी धान तिम्रा खेतमा ।‘

अनि बाउछोरी झारसहितको माटाको चप्केनालाई कोदालोले उप्काएर कुलोमा बाँध बाँधी खेतमा पानी लगाउँथ्यौँ । लहलहाउँदो हरियो धानको जरामा सिञ्चित पानीको बहावप्रति नजर बिसाउँदै ‘पानीलाई मेरो हुनेवाला घरले मेरो माइतीलाई पठाइदिएको पाहुर हो ।’ भन्ठान्थेँ । भविष्यमा माइत झरेँ भने मेरो घरले लगाएको यो गुनलाई यही खेतमा फलेको एक बोरा चामलले तिरिदिन्छु जस्तो लाग्थ्यो ।

कुनै दिन पहाडकी राजकुमारी हुने स्वप्न सजाउँदै निधारको पसिनालाई चुनरीले पुछ्थेँ ।

मधेशको गर्मी ! गर्मी याममा नरिवलको डोरीले बुनेको खाट बरन्डामा तेर्स्याएर सुत्थ्यौँ दिदी र म । मच्छडदानी टाङ्नै पर्थ्यो । नत्र मलेरियाको शिकार हुन सक्ने सम्भावना थियो । मच्छडदानीभित्र सुत्दा घरभित्र अर्को घरजस्तै लाग्थ्यो । बाहिर बग्ने मन्द हावाको स्याँठलाई मच्छडदानीले पस्न दिने थिएन । भित्र पसिनाले हामी लुछुप्पै हुन्थ्यौँ । बाहिर मच्छडका सैनिकले पहरा दिन्थे । निसास्सिएको महसुस हुन्थ्यो । पहाडमा यस्ता समस्या हुँदैनन् भनेको सुन्दा उडेर जाऊँ जाऊँ लाग्थ्यो ।

बाका साथीले भन्थे, ‘तिम्रा सन्तान अब कहिल्यै पहाड फर्कंदैनन् ।’

म छक्क पर्थें, प्रकृतिकी सुन्दरी, जैविक र सामाजिक विविधताकी खानी, किन मान्छे फर्कन चाहँदैनन् पहाड ? यो संसारलाई एक दिन मेरो पुर्ख्यौली ठाउँमा फर्केर म देखाइदिने छु । नदीको किनारै किनार बाम माछाले जस्तो पच्छाउँदै गएँ भने पुग्ने छु पहाड र भेट्ने छु मेरो सपनाको राजकुमारलाई जस्तो लाग्थ्यो । तर मेरा सहपाठी सबै मधेशका देहाती र बजारिया मात्रै थिए । कसरी भेट्नु नि मेरो पर्वते राजकुमार ?

मधेशमा मान्छेका बस्ती दिनदिनै थपिँदै थिए । घरघरमा चापाकल पनि । बोरिङहरू पनि ठाउँठाउँमा । तिनलाई भूगर्भमा धेरै तल धसाइएको हुनुपर्छ भन्ने अनुमान लगाउन सक्थेँ । बोरिङबाट दिनरात पानी स्वतः झरिरहन्थ्यो । गुरुत्वाकर्षण शक्तिलाई जितेर जमिनमुनिबाट पानी कसरी निस्कन्थ्यो भनी म अचम्मित हुन्थेँ । मधेशमा कुनै दिन पानीको स्रोत रित्तिन गए मान्छे काकाकुल बनेर मर्ने छन् भन्ने भयले सताउँथ्यो ।

पहाडको टाकुरामा सधैँ हिमपात हुन्छ र पानीको मूल फुटिरहन्छ । पहाडमा बस्ती पनि पातला हुन्छन् । त्यसैले त्यहाँ पानीको समस्या कहिल्यै पर्दैन भन्ने मेरो बुझाइ थियो ।

यी यस्ता कारणहरूले गर्दा पनि पहाडकी चरी बनेर जिन्दगीका बाँकी पल रमिरहने धोको थियो मेरो ।

पहाडको फेदमा बसेको सानो शहर बुटवल । उत्तरबाट झरेको चिसो बतास र दक्षिणबाट उक्लेको तातो बतासको मिलनस्थल । मानिसको शरीरलाई सुहाउँदो वातानुकूलित तापक्रम भएको सङ्गमस्थल । मजस्ती मधेशी ठिटीले पहाडी ठिटो भेटेँ भने हाम्रो जिन्दगी पनि बुटवलजस्तै वातानुकूलित बन्थ्यो कि जस्तो लाग्थ्यो ।

कहिलेकाहीँ साथीहरूसँग भैरहवाबाट बुटवलको बस चढेर सरर जान्थ्यौँ नेपाली सिनेमा हेर्न । आफ्नै थाप्लोमाथि बडेमाको डाँडा तेर्सिएको देख्दा ‘आम्मै आम्मै, केले जन्मायो होला यसलाई ?’ भनेर छक्क परेर घोरिइरहन्थेँ । पहाडबाट त नाकमै ठोक्किने गरी ठिङ्ङ उभिएको हिमाल देख्न सकिन्छ भन्थे । उँधो इन्डिया झर्यौं भने सबै समतल मैदान भेटिन्छ र समुद्र पुगिन्छ रे । उँभो तिब्बततिर पहाड अग्लिँदै जान्छ र हिमाल पुगिन्छ रे भनेर भूगोलमा पढेकी थिएँ । शास्त्रमा चैँ सुनेको अलि अर्कै । उहिल्यै हनुमानले दक्षिण दिशाबाट डल्ला फोर्दै फोर्दै आए रे । बुटवलदेखि उँभोका डल्ला फोर्न उनलाई अल्छी लाग्यो रे ।

भारतीय महाद्वीप एसियन भूभागमा जोल्टिन जाँदा तलको जमिन चेप्पिएर पहाड जन्मेको भनेर भूगोल विषयले मलाई सिकायो । तिनै पहाडहरूका एक टाकुरामा दरबार निर्माण गरेर भविष्यको मेरो राजकुमारसँग सँगै जिउने रहर झाँगिँदै आयो मभरि । धर्ममा भन्दा वैज्ञानिक तथ्यमा विश्वास गर्ने मेरो बालमस्तिष्क, भूगोलमा सिकेको कुरोलाई मैले साँचो मानेँ ।

यस्तै सुन्दर सपना सजाएर मधेशी हावापानीमा बरालिँदै एसएलसी, इलेभेन र टुवेल्भ प्लसका लिस्नोहर चढ्दै आएँ । बैँसले उन्मक्त तर तराईको वातावरणले उकुसमुकुस भैरहेकी थिएँ । यी दुवैबाट मुक्ति पाउन कुनै आत्मीय मित्रको चक्करमा थिएँ क्यारे ।

अन्ततः तिलकसँग फेसबुकमा भेट भयो । ऊ गाउँको लक्का जवान भएकैले मैले उसलाई एकैपल्टमा साथी बनाएकी थिएँ ।

हामी घन्टौँ मेसेन्जरमा च्याट गर्दै रमाउँथ्यौँ । उसले लेख्थ्यो, ‘गाउँको जीवन शहरभन्दा निक्कै सुन्दर छ, तिम्रो मुहारजस्तै । सफा सुग्घर छ, तिम्रो मनजस्तै । यहाँको मुहानको पानी मिठो छ, तिम्रो चुम्बनजस्तै । हावा स्वच्छ छ, तिम्रो भावनाजस्तै । खाना स्वादिला छन्, तिम्रा बोलीहरूजस्तै । तिमी सोच्दी हौ पहाड तिम्री आमाको पालामा जस्तो विकट छ, त्यस्तै होला । यथार्थमा त्यस्तो होइन । धेरै परिवर्तन भइसकेका छन् यहाँ । बिजुली, इन्टरनेट, गाडी सबै आइपुगेका छन् । गाउँका मान्छे सिधा, समझदार र सहयोगी छन् ।‘

मेरो जवाफ हुन्थ्यो, ‘तिमीजस्तै ।‘

ऊ अगाडि यसरी बग्थ्यो, ‘मधेशको जस्तो यहाँ गर्मी हुन्न । भैहाले तिम्रा लागि म हिमाली हावा बनेर सिरसिर बहिदिउँला । धुलो उड्दैन, उडिहाल्यो भने म गलबन्दी बनेर धुलो छेकिदिउँला । बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइन्छ । तिमीलाई मेरी बनाएर ल्याएँ भने बिहानै पहिला तिम्रो अनुहार हेरेर मात्रै हिमाल हेरुँला । अनि आफूलाई दोब्बर भाग्यमानी भएको महसुस गर्ने छु ।’

मेरो प्रतिउत्तर हुन्थ्यो, ‘पहाड गएकी छैनँ कहिल्यै । न त पहाडका उकाली-ओरालीहरूमा कुदेकी छु । पहाड सुन्दर हुन्छ भन्ने बुझेर पहाडी जीवन बिताउने सपना सानैमा स्कुल पढ्दादेखि नै देखेकी हुँ । मुसलधारे वर्षा, गर्मी र डुबान हुँदा मलाई डर लाग्छ । मधेशमा जलवायु परिवर्तनको असर देखिन सुरु भइसक्यो । मधेश सामुद्रिक सतहदेखि सय डेढसय मिटरमाथि त हो नि । पहाड धेरै उचाइमा पर्छ र धेरै उत्तरमा पनि, हैन र ! जलवायु परिवर्तनको प्रभाव तिम्रो गाउँमा यो जुनीमा पर्न सक्दैन । त्यसैले आऊ तिलक, अहिल्यै मधेशको यो होचो भूभागबाट अलग्याएर पहाडको अग्लो ठाउँमा स्थानान्तरण गराइहाल मलाई ।‘

ऊ मधेश कहिल्यै नझरेको जवान । यहाँको वातावरण र जनजीवनलाई व्याख्या गर्दै मैले अगाडि टेक्स मेसेजमा लेख्थेँ, ‘मधेश हुरीबतासबाट पनि अछुतो छैन । प्रत्येक दुई तीन वर्षमा छानै उडाइदिने गरी हुरीबतास आउँछ । बङ्गालको खाडीमा उत्पन्न सामुद्रिक हुरीबतास यहाँसम्म आइपुग्छ । पहाडमा हुरीबतासले क्षति पुर्‍याएको सुनिँदैन । पहाडले सायद छेक्छ हुरीबतासलाई । हुरीबतासजस्तो प्रकोपबाट बाँच्नका लागि पनि मलाई पहाड गाउँमा गएर बस्न मन लागेको हो । तिमीलाई थाहा छ कि छैन समुद्रको सतह बढ्दै छ । यो क्रम जारी रहिरह्यो भने मधेशलाई समुद्रले कुनै दिन डुबाउन के बेर ? तिम्री प्रिया डुबेर मरेको हेर्न चाहन्नौ नि तिलक ? त्यसो हो भने छिट्टो आएर मलाई उद्धार गरिहाल ।’

मेरा अधिकांश फाल्तु समयहरू यस्तै च्याटमा बित्थे तिलकसँग ।

हामीले आदानप्रदान गरेका म्यासेजहरूलाई जम्मा गरेर राखेको भए एक उपन्यास तयार हुन्थ्यो । प्रेममा यति पागल बनेछु कि उसको विवाहको प्रस्तावलाई, हामी साथी भएको एक वर्ष नपुग्दै, म एकैपल्टमा स्विकार्न पुगेछु ।

सासू, ससुरा, देवर, नन्द, जेठाजु र जेठानीहरूसँग मेरो सम्बन्ध कस्तो हुनुपर्छ भनेर कहिल्यै सोचिनँ या सोच्नै भ्याइनँ । सोचेँ त बस् पहाडी प्रकृतिसँगको मेरो नाता हुनेवाला मेरो खसम तिलकसँग जस्तैको सामीप्यमा हुनेछ । तिलक र पहाडको मोहमा म यति डुबिसकेकी रहेछु कि सर्लक्कै बिर्सेछु मान्छेहरूसँगको नाता कस्तो हुनुपर्छ भनेर बुझ्न । सोधिनँ कहिल्यै कसैलाई, विवाह गर्नुअघि मेरी हुनेवाली सासू कस्ती हुनुपर्छ भनेर । सोध्दा पनि सोधिनँ, तिलकको गाउँघरमा कति उकाली-ओराली गर्नु पर्नेछ भनेर ।

उसको प्रेमको भारी बोकेर जीवनका जति उकाली पनि चढ्न म तयार थिएँ । मैले सम्झेकी थिएँ, मधेशमा घरघरै चापाकल भएजस्तै पहाडका घरघरै पानीका मूल फुट्छन् । पानी भर्न पँधेरा धाउनुपर्दैन । तिलकसँगको एक वर्षे प्रेम अवधिमा भविष्यमा भोग्नुपर्ने सबै दुःख बिर्सिन पुगेछु ।

म कस्ती अनजान ! तिलकको सिन्दूर पहिरिएर नौमती बाजाको तालमा त्यो घर भित्रिँदा मेरो सपनाको राजदरबारभित्र साँच्चै राजकुमारी बनेर प्रवेश गरेको महसुस भएको थियो मलाई ।

त्यो बालरहर मलाई तिलकले पुर्‍याइदियो ।

पहाडी स्वच्छ परिवेशमा रम्न थालेपछि कोलाहल, प्रदूषण, ठुस्स गन्हाउने चापाकलको पानी, मच्छडको टोकाइ, गर्मी, पसिनाजस्ता दैनिकका भोगाइ एकादिनको कथा हुन थाले । पाखापखेराको साथमा तिलकको कोमल बाहुपासमा सुरक्षित महसुस गर्दै बिते मेरा छ महिना ।

यी दिनहरूभित्र घाँस काट्न सिकेँ । झन्डै घाँसको भारीले तानेर भुइँमा नलडेको ! बाटो त्यस्तै हो कि म हिँड्न नजानेको हो, ठेस लाग्यो । बुढी औँलाको नङ रनन हुने गरी दुख्यो । दुखाइले एकचोटि मधेशको याद दिलायो । मधेशमा ठेस लाग्ने गरी हिँडेको सम्झना भएन । बरु कैँचे पाराले साइकल चलाउन सिक्दा लडेर घुँडा ठोक्किएको कहिल्यै बिर्सन सकिनँ ।

एक दिन गाग्रीसँगको डोको घरको पेटीमा बिसाएँ । अधा बाटोदेखि बुढीऔँलाको कापमा चिलाएको र दुखेको जस्तो महसुस हुँदै आइरहेको थियो । गाग्रीलाई भित्र चुलामा राखेर बाहिर निस्केपछि खुट्टामा नजर लगाएँ । एक इन्च लामो, कालो, चिप्लो नुडलजस्तो वस्तु देखेँ । चिच्याएँ, ‘आमा हेर्नुस् त के हो ?’ भनेर ।

‘ए तिमीलाई त जुका लागेछ ।’ भन्दै भित्रबाट नुन ल्याएर आउनुभयो सासू ।

मलाई हातले तान्न घिन लाग्यो, डर पनि । सासूले तानेर निकालिदिनुभयो र भन्नुभयो, ‘अलि जोगिएर हिँड भनेको हैन ? हिँड्न पनि नजान्ने ! भुइँमा हेरेर हिँड्नुपर्दैन ? कहाँ तिम्रो मधेशजस्तो हो र !’

एक चिम्टी नुनमा जुकालाई राखिदिनुभयो । नुन एकैछिनमा रगताम्य भयो । मच्छडले टोकेको सम्झना आयो । कसैको टोकाइ खान नपरोस् भनेर पहाड आएको । जुकाले झन् मच्छडले भन्दा धेरै रगत चुस्दो रहेछ । हे दैव ! सुखैसुख प्राप्त हुने ठाउँ यो संसारमा कहाँ होला ?

एक दिउँसो घाँस काट्दा हँसियाले कान्छी औँला झ्याप्पै पार्यो । कोदो रोप्न सिकेँ । दूध दुहुन, मोही पार्न, घिउ बनाउन जानेँ । एक दिन दूधको ठेकी घोप्टियो । सासूको गाली खाएँ । गाग्रीको डोको ढाडमा अडिन थाल्यो बिस्तारै । नाम्लोले थाप्लो दुखाउन छाड्यो । अनि त मेरो कामको परीक्षण काल सफलताका साथ पूरा भएको महसुस भयो । आफैँले आफैँलाई पहाडकी बुहारीको सर्टिफिकेट प्रदान गरूँ जस्तो खुसी लाग्यो ।

हरेक बिहान उठेपछि मेरो दैनिकी भयो, गाईबस्तुका लागि ताउलोमा कुँडो पकाउने, पँधेरीबाट पानी ओसार्ने, गाई दुहुने, घाँसदाउरा काट्न जाने । सासूले पकाएको बिहानको खाना खाएर दिनमा गर्नुपर्ने तमाम कामहरूमा व्यस्त बन्थेँ । बेलुका पनि सासूले पकाएको खाना खाएर तिलकसँग बिस्तरामा आनन्दमय रातहरू गुजार्दै मेरा दिनहरू बित्न थाले ।

छ महिनापछि मेरो जीवनमा बिस्तारै पहिरो जान थाल्यो । तिलक मलाई छाडेर मलेसिया लाग्यो वैदेशिक रोजगारीका लागि । गाउँमा अफिस जाने काम नभएपछि के गर्ने ? उद्योग र निर्माणका कार्य नभएपछि बेरोजगार बसेर भएन ।

सासूबुहारी मिलेर बसेको कथा विरलै पाइन्छ । जुन दिनदेखि मैले यस घरमा पाइला टेकेकी थिएँ, हाम्रो सम्बन्ध एक उदाहरणीय बनाएर समाजलाई देखाउँछु भन्ने लागेको थियो । विडम्बना ! मलाई यसमा सफलता मिल्न गएन । परम्परागत संस्कार हाबी हुन थाल्यो । छोराको अनुपस्थितिमा समयका पल बित्दै जाँदा सासूको कचकचले सीमा नाघ्न थाल्यो ।

गाग्री बोकेर पँधेरा अलि अबेला जान थालेँ म, बिहान सबेरै अलि भीड हुने भएकाले । गैरीगाउँ तिरका पँधेर्नीहर हूल बाँधेर आउँथे सबेरै । हामी यताका धेरै टाढा भएर होला उनीहरूलाई उछिन्नै सकिन्नथ्यो । जैले पनि उनीहरूका गाग्री मेरो भन्दा अगाडि नै हुन्थे लाइनमा ।

सासूआमा दशबाह्र वर्ष भएको थियो उकालो-ओरालो गर्न नसक्ने हुनुभएको पक्षघातले हानेपछि । त्यसरी बिमार हुने उमेर भने भएको थिएन । धन्न भित्रबाहिर गर्न सक्नुहुन्थ्यो । घरआँगनभित्रै उहाँको जीवन सीमित थियो । थाहा थिएन वरिपरि गाउँको सामाजिक र भौगोलिक वातावरण कति परिवर्तन भइसकेका छन् भनेर ।

पँधेराबाट ढिला आएँ भनेर मलाई सुनाउनुहुन्थ्यो, ‘हामी तिमीजस्ती युवती हुँदा आधा घण्टामा त्यही पँधेराबाट पानी ल्याएर आउँथ्यौँ । तिमी बलियो देखिन्छ्यौ हामीभन्दा र पनि डेढ घण्टा लगाउँछ्यौ, त्यै पल्तिरको पानी बोकेर खुवाउन ।’

बलियो त आफूलाई बलियै लाग्थ्यो । स्कुलमा खेलकुद गरेकै हो । चापाकलको पानी गाग्रीमा भरेर कम्मर मर्काउँदै ओसारेकै हो । दिदीले लुगा धुँदा र भाँडा माझ्दा घण्टौँसम्म चापाकल चलाइदिने मै हुँ । कोदालो खेलाएर खेत लगाएकै हो । तर मधेशको तेर्सो बाटो र पहाडको उकालो ओरालो कहाँ मिल्दो रहेछ र !

दिनप्रतिदिन मेरो अल्छीपन बढ्दो थियो । म आफैँलाई थाहै हुन सकेन के कारणले भन्ने । सासूआमाले गनगन गर्न छोड्ने कुरा भएन, ‘जेठी बुहारी एकहत्तर सालमा मधेश झरिन् । त्योभन्दा अघि बेस्सरी लगाएको एक घण्टा लगाउँथिन् नत्र चालीस पचास मिनेटमा टुप्लुक्कै आइपुग्थिन् एक गाग्री पानी लिएर । गाग्री त्यै हो, पँधेरो त्यै हो । कि सर्यो र पँधेरो टाढा ? तिमी त स्वभावैले ढिली देखिन्छ्यौ । घरमा यति धेरै काम पर्छ । यसरी ढिलो गर्यौ भने काम कहाँ सिद्ध्याउन सकिन्छ ? ल है अलि छोटोछिटो हातखुट्टा चलाउने बानी गर ।’

पानीको मूल सुक्दै आएको थियो, त्यसैले गाग्री चाँडै भरिन्नथ्यो । पँधेर्नीहरूको सङ्ख्या पनि बढेको थियो । यी कारणहरू देखाउँदा पनि सासूले पत्याउने होइन ।

ससुरा नबित्दै चालीस पचास सालतिर हाम्रो घरवरिपरि खेतैखेत थियो रे । त्यतिबेला कुलो घरघर लाग्थ्यो रे । बीस-पच्चीस मुरी धान बनाउँथे रे हाम्रो घरले । गाउँमा प्रायः सबैका खेत थिए । अहिले धानका ती गराहरूलाई कोदो रोप्ने पाटाहरूमा परिणत गरिएको प्रमाण देख्न सकिन्थ्यो, पानीको मुहान सुक्नाले । पानीको मुहान त्यत्तिकै सुक्दैन । मौसम परिवर्तनका कारणले हो भन्ने तथ्य मेरी सासूजस्ता धेरैलाई थाहा नहुन सक्थ्यो । फलस्वरूप धनीहरू टारीतिर झरेछन् । कोही शहरबजार, हाम्रा ससुराजस्ता गरिबगुरुवा परिवार बसाइसराइ गर्न सकेनन् । प्रकृतिको कठोरपनसँग युद्ध गर्दै जीवनलाई बचाउनै पर्यो । अनि लोग्ने मान्छेहरू जति लाहुर र वैदेशिक रोजगारतिर लाग्दा जलवायु परिवर्तनको मार मजस्ता महिलाले बेहोर्दै जिउन बाध्य हुनुपर्यो । मेरी सासू स्वयम् यसैकी भुक्तभोगी हुनुहुन्थ्यो । उहाँलाई मैले यी परिवर्तनका कुरा बुझाएर बुझ्नेवाला हुनुहुन्नथ्यो ।

छ महिना भैसकेको थियो तिलक मलेसिया लागेको ।

एकान्तपनले सताउँदै थियो । खान मिठो नहुने र आलस्यपन बढ्दो थियो । सासूबुहारीको सम्बन्धको खाडल बिनाबित्थै फराकिलो बन्दै थियो । म पानीको गाग्री बिसाउन पाएको हुँदैनथेँ, ठूलठूला बनाएर कर्के आँखाले हेर्नुहुन्थ्यो । ‘फेरि आज पनि पँधेराबाट ढिला !’ भन्ने भावका साथ ।

कतिपल्ट फोनमा गुनगुन गरेको सुन्थेँ सासूलाई । आफ्नो छोरासँग हुनुपर्थ्यो त्यसरी कुरा गरेको । त्यसको लगत्तै मेरो फोनमा म्यासेज आउँथ्यो तिलकको । अनि हाम्रो दोहोरी चल्थ्यो । बिचरा उसले पनि आफ्नी आमालाई के भन्न सक्थ्यो र ।’ आमासँग अन्डरस्टान्डिङ गरेर बस न ।’ भनेर मलाई सम्झाउँथ्यो ।

मलाई भने त्यो घर भूतबङ्गला जस्तो लाग्दै थियो । तगारोबाट भित्र आँगनमा टेक्नै मन पर्दैनथ्यो । किन पस्न मन लागोस् र मेरो राजकुमार नै नभएपछि ! पहिला रानीजस्तै सम्झने सासूलाई बोक्सीजस्तै देख्न सुरु गरेकी थिएँ ।

मलाई यो बेहालमा छाडेर आफू भने आधुनिक सुखसुविधा भोग्न किन गएको होला मलेसिया भन्ठान्थेँ तिलकलाई । यता मेरो जवानी गण्डकीको पानीजस्तो बिना उपयोग बगिरहने । उता बिचरा तिलकको पनि त त्यस्तै होला । कि कतै तिलकमा स्वार्थ त लुकेको थिएन ?

यो जमानामा पनि बोकेर पिउनुपर्ने पानी ? बिजुलीलाई पनि बोकेर ल्याई बाल्नुपर्ने भए कस्तो हुन्थ्यो ? रेडियोलाई पनि बोकेर ल्याई सुन्न परे कस्तो हुन्थ्यो ? इन्टरनेट पनि बोकेर ल्याई चलाउन पर्ने भए कस्तो हुन्थ्यो ? भनेर सोच्थेँ ।

उता तिलक धाराको पानी पिउँदो हो । बाथरुममा नुहाउँदो हो । म उसैकी अर्धाङ्गिनी, यता बोकेर पिउनुपर्ने । खुल्ला धारामा नुहाउनुपर्ने ! कस्तो असन्तुलित हाम्रो जीवन ! चारैतिरबाट अन्यायमा परेको महसुस भएर अगाडि बाँच्नुको के अर्थ होला र भन्ने लाग्थ्यो । किन हो यस्ता अचम्मका विचार जन्मन्थे ममा । शरीरमा आएको हर्मोन परिवर्तनले हो कि जस्तो पनि लाग्थ्यो । लोग्नेसँगै नभएर पनि हुनसक्थ्यो । सासूको नकारात्मक व्यवहार एउटा प्रमुख कारण छँदै थियो ।

समग्रमा मानसिक रोगको शिकार बन्दै थिएँ कि भनेर पनि डराउँथें भित्रभित्रै ।

एक दिन म सदाको जस्तै पानी बोकेर उकालो लाग्दै थिएँ । घाम दक्षिण दिशाबाट चर्को लागेको थियो टाउकै फुट्ने गरी । पसिनाले चिटचिट पार्दै थियो । रिँगटा लाग्ला जस्तो लागेर एउटा ढुङ्गामा पानीको डोको बिसाएँ । पछाडिबाट ‘दिदी ठिकै हुनुहुन्छ ?’ भन्ने आवाज आयो । रहेछ खयरपाटे रमेश माइलो । मेरो लखतरान ज्यान देखेर उसले सहयोगको हात बढायो । मैले नाइँ भनिनँ । उसैले पानी बोकेर घरसम्म ल्याइदियो । भाइजस्तै रमेशले सहयोग दिँदा मलाई राहत महसुस भयो तर सासू शङ्कालु बन्नुभएछ ।

रमेश घरतिर लागेपछि सासूले भन्नुभयो, ‘रमेशले गर्दा आज पनि ढिलो भएछ, हो ?’

म नाजवाफ बनेँ । आफ्नै भाइजस्तो रमेशसँग अनैतिक सम्बन्ध विस्तार गरेर मेरो नैतिकतामा दाग लगाउनु थिएन । जवानीका पलहरू एक्लै जिउन बाध्य भएको धेरै दिन भए तापनि समाजमा एक महिला भएर बाँच्नुको प्रतिष्ठाको मूल्य ठूलो छ भन्ने मैले बुझेकी थिएँ नै । आफ्नो अस्मितालाई जोगाइराख्न सकिनँ भने पहाडकी बुहारी बनेको के मतलब र ! जसरी एक युवतीमा एक कुमारप्रति रोमाञ्चका भावना तरङ्गित हुनु स्वाभाविकै हो, त्यसरी नै एक बुढी सासूले हामीमाथि शङ्का गर्नु पनि स्वाभाविकै थियो । तर स्वाभाविक के होइन भने आफ्नो छोरालाई शङ्काको कानेखुसी गर्ने ।

यति भएपछि अब छिट्टै रमेशको टेक्स मेसेज आउँछ भन्ने पीरले चिन्तित बन्दै म बिस्तरातिर लागेँ त्यो साँझ । राति ब्युँझेँ । पेट अप्ठ्यारो भइरहेको थियो । फोन खोलेर हेरेँ ।

रमेशको मेसेज थियो, ‘आजकाल तिमी त पँधेरा गयो पँधेरामै हराउँछ्यौ रे । वन गयो वनमै हराउँछ्यौ रे । प्रायः घर अबेला आउँछ्यौ रे । के हुँदै छ दीपा ?’

तिलकलाई के थाहा एक स्त्री कसैको स्वास्नी, बुहारी र आमा बन्नुको पीडा !

तिलकका शङ्कालु शब्दहरूले मलाई निःशब्द तुल्याए तर पनि मैले जवाफ दिने प्रयास गरिनँ ।

मैले उत्तरमा लेखेँ, ‘जसरी तिम्री दीपा हजारौँ पीडा खपेर एक्लै बाँचिरहन परेको छ, त्यसरी नै तिम्रो गाउँ पनि । आजकाल गाउँमा हिउँ पर्न छाड्यो । खडेरी परेको केही वर्ष भयो । वर्षा भइहाले पनि मुसलधारे हुन्छ र बाढीपैरोको जोखिम बढाउँछ । बहत्तर सालको भूकम्पपछि पानीको मूल हाम्रो घरदेखि झन् टाढा सर्यो । अझ गत वर्ष बमले पहरा फोरेर मोटर बाटो ल्याएपछि त मूल सुक्न थालेको छ । पानीको स्रोतमा जलवायु परिवर्तन र विकास निर्माणका कार्यले पर्न गएको प्रभाव तिम्री आमालाई के थाहा ? उहाँले त बुहारीलाई ढिलासुस्ती गरेको मात्रै देख्नुहुन्छ । उहाँ आफैँ आमा भएर पनि मेरो पीडा बुझ्न किन नसक्नुभएको होला ? बुढ्यौलीपनले होला, तिमीलाई गर्भमा बोक्दा खेप्नुपरेको दुःख बिर्सनुभएछ कि क्या हो यति छिट्टै ?’

यौवनावस्था र एक्लै जिउनुपर्ने विवाहित महिलाको उत्तेजना कसले बुझ्ने । रमेशजस्तो भलाद्मी तरुणलाई देखेर ममाथि शङ्का गर्नुलाई अस्वाभाविक ठानिनँ तर ममाथि विश्वास गर्न नसक्नु आमाछोराको कमजोरी थियो । एक सचेत बुहारीको नैतिकतामाथि प्रश्न तेर्स्याउँदै छोरालाई कुरा लाउनु उचित थिएन । आमाछोराबाट उत्सर्जित आक्षेप साँच्चै इटाभट्टाको चिम्नीबाट उत्सर्जन हुने धुवाँभन्दा कम प्रदूषित थिएन । यसले हाम्रो परिवारको सम्बन्धलाई दूषित तुल्याइरहेको थियो ।

म बिरक्तिन थालेँ । पहाडको बसाइँ अभिशाप बन्दै आयो दिनानुदिन । उफ् ! खुसी खोज्न उक्लेको म बिस्मातको दलदलमा फस्न पुगेँ ।

हामी सासूबुहारी आखिर एकै प्रजातिका भएर पनि एकापसको परिस्थितिलाई बुझ्न नसक्ने किन भयौँ ? बुझाइमा किन यत्रो दरार ? सायद पुस्तान्तरणको भिन्नताले हुनसक्छ । यस्तै कुरा मनमा खेलाउँदा खुलाउँदै दिनभरिको थकित शरीर, कोल्टे फेरेर निदाउने प्रयासतिर लागेँ ।

कुखुराको भालेले डाको फेर्यो । छटपटिएँ । पारि गोरुसिँगे भीरमा निरन्तर फ्याउरोको आवाज सुनिन्थ्यो ।

जिन्दगीमा सबैभन्दा बढी माया मैले कसैलाई गरेकी थिएँ भने उही तिलकबाहेक अरू कोही हुन सक्दैनथ्यो । उसैले ममाथि अनावश्यक शङ्का पालेर नमिठा बचन लगाउने ? उही थियो मेरो पहिलो प्रेमी । उसैलाई म अन्तिम बनाउनेवाला थिएँ । मेरा सम्पूर्ण बाँच्ने आधारहरू टुट्दै आएका थिए । अब अगाडि एक पल पनि बाँच्न सक्नेवाला थिइनँ म ।

अर्को बिहान ।

सदाझैँ गाग्री बोकेर पँधेरातिर झरेँ । आफ्नो पालो सदाको झैँ ढिला आयो । एक गाग्री पानी डोकोमा बोकेर उकालो उक्लेँ । पेट करकर दुखिरहेको थियो । हिजो रातिको अनिद्रा, खाना रुच्दैनथ्यो पहिलाजस्तो । थर्थराएर आए खुट्टा । फोक्सोमा श्वास अन्य दिनको भन्दा बढेको महसुस गरेँ । एकैछिन बिसाएँ गाग्री । लामो श्वास तानेर आकाशतिर मन्टो डुलाएँ । पारि गोरुसिँगे भीरमाथि चिल घुमिरहेका थिए ।

पटुकाबाट मोबाइल झिकेँ र ट्याक्स लेखेँ, ‘हाम्री जन्मिनेवाला छोरीले पनि मैले जस्तै यसरी नै पानी बोकेर पिउनुपर्ने होला । दुई घण्टा त होइन चार घण्टा लाग्न सक्ला भविष्यमा हाम्री छोरीलाई पानी बोकेर उसका परिवारलाई पिलाउन । त्यो पानी बोक्नुको शारीरिक पीडा र उसकी सासू र पतिले सम्भवतः दिने मानिसक यातना, भो मेरी छोरीलाई भोग्न नपरोस् । मलाई अब उप्रान्त बाँच्ने रहर भएन तिलक । म मर्न जाँदै छु । अर्की श्रीमती विवाह गर्ने छौ निश्चय नै । कृपया उसलाई पानी बोकेर पिउन नपर्ने बजारको ठाउँमा छाडेर गए, तिमी मलेसिया जानै पर्ने भयो भने ।’

अनि म पानी बोकेर बाटो लागेँ । उकालो काट्दै गर्दा घुम्तीमा एक हुल बाख्रा झर्दै रहेछन् । बाटोमुनि अडिएर बाख्राका हूललाई पहिला जान दिएँ । कसो कसो गर्दा गाग्रीको भारीले थिच्यो । मेरा गलेका गोडा शिथिल भए ।

घरको आँगनमा कुरिरहनु भएकी सासूलाई एक्कासि सम्झेँ, ‘सासू, ढिलै भए पनि पानी ल्याएर आउन सकिनँ ।’ यत्तिकैमा पानीको गाग्रोले झटार्यो, थामिन त खोज्दै थिएँ तर सधैँभर पहाडकी बुहारी बनेर बस्ने मेरो रहरलाई छताछुल्ल पार्दै गुल्टिएँ म ।