दमौलीमा लाहुरेको रेलिमाईका लेखक विजय हितानसँग स्रष्टा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जितप्रकाश आले प्रमुख अतिथि रहनुभएको कार्यक्रममा स्रष्टा साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आलेले लाहुरे प्रथाको दुई सय वर्षभन्दा लामो इतिहासको युगलाई लाहुरेको रेलिमाईले जीवन्त राख्ने आफ्नो बुझाइ रहेको बताउनु भयो । लामो अध्ययन, अनुसन्धान र भ्रमणपश्चात लेखिएको यस उपन्यासको नेपाली साहित्यमा एक महत्त्वपूर्ण योगदान रहने उहाँको विश्वास थियो ।

आफ्नो मन्तव्यको क्रममा उपन्यासकार हितानले भन्नुभयो, ‘भारतीय तथा ब्रिटिश गोर्खा भूपू सैनिक, नेपाली सेना र प्रहरीका उच्च स्तरका पदाधिकारी, स्कुल र कलेजका विद्यार्थीका साथै विभिन्न सङ्घसंस्थाका पदाधिकारीमाझ लाहुरेको रेलीमाईलाई प्रस्तुत गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको छु ।”

आफूले ६ वर्ष लगाएर बेलायती लेखकहरूले प्रथम विश्व युद्धमा इन्डियन तथा गोर्खाली सैनिक परिचालनबारे लेखिएको पुस्तक अध्ययन र युरोपका युद्ध संग्राहलय तथा युद्ध स्मारक भ्रमण गरी लेखेको उपन्यास दमौलीवासी पाठकमाझ ल्याउन पाउँदा हर्षले विभोर भएकाे बताउनुभयो ।

लाहुरेको रेलिमाई आदि व्यंग्यकार तथा फस्ट गोर्खा राइफलका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास हो ।

कार्यक्रममा ईश्वर बास्तोलाले लाहुरेको रेलिमाईमाथि टिप्पणी गरेका थिए । लाहुरे, पल्टनघर र युद्धको त्रिकोणात्मक सम्बन्धलाई उजागर गर्दै युद्ध संवेदना बोकेको यस किसिमको आख्यान नेपाली साहित्यमा यसअघि आफूले नपढेको बताउनु भयो ।

कार्यक्रममा स्थानीय कलेजका विद्यार्थी, नेपल प्रहरी तथा सेनाका अधिकृत, भारतीय गोर्खा सेनाका भूपू सैनिक र विभन्न सङ्घसंस्थाका प्रतिनिधि पदाधिकारिको उत्साहजनक उपस्थिति थियो ।

कार्यक्रम सञ्चालन मगर लेखक सङ्घ तनहुँका सचिव विजय थापाले गर्नुभएको थियो । कार्यक्रम मगर सङ्घ तनहुँको भवनमा सम्पन्न भएको थियो ।