जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व – स. विजय हितानमगर
पर्या कवि विजय हितानको सम्पादनमा प्रकाशनमा आएको पुस्तक हो, जयबहादुर हितानमगरको लेख रचनासहितको सङ्ग्रह ‘जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व’ । ग्रन्थमा जयबहादुरका प्रकाशित अप्रकाशित सामाजिक तथा राजनीतिक विचार तथा साहित्यिक सिर्जनाको संकलन गरिएको छ ।
”जयबहादुर हितानमा नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने मान्यता थियो ।”, पुस्तकमा महेन्द्र थापामगर लेख्नुहुन्छ, ”त्यसैले २०४८ सालमा काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट मगर सङ्घको कार्यकारी पदबाट विदा लिएर सल्लाहकारको भूमिकामा सक्रिय रहे । नेपाल लाङ्घाली परिवार सङ्घ कार्य समितिमा रहँदा उनले २०४५ सालमा सङ्घको विभाग ‘मगर संस्कृति तथा इतिहास परिषद्’ को अध्यक्ष बनेर मगर संस्कृति तथा इतिहास अध्ययन अनुसन्धान पनि गरेका थिए । मगर सङ्घको सङ्गठन विस्तारमा उनको ठूलो देन छ । नेपाल मगर विद्यार्थी सङ्घ गठन गर्न प्रमुख भूमिका निर्वाह गरेका उनी क्याम्पस९क्याम्पस पुगेर मगर विद्यार्थीहरूलाई सङ्गठित हुन प्रेरित गर्दथे । प्रजातन्त्र पुनर्वहालीको लागि नेपाली काँग्रेस पार्टीमा सक्रिय राजनीति गरेका हितान पटकपटक पक्राउसँगै जेल परे । उनले आदिवासी जनजातिको अधिकारको लागि पार्टी र सरकारसँग सशक्त आवाज उठाउँदै सङ्घर्ष पनि गरेका थिए । इमान्दार, छलकपट गर्न नजान्ने भएकोले पार्टीका जुनियरले संसदमा टिकट र राज्यको उच्च ओहादामा आसिन हुँदा पनि उनी एकरति हरेश नखाई आफ्ना विचारलाई लेख, साहित्यमार्फत् सम्प्रेषण गर्दथे ।”
त्यसैगरी, पुस्तकमा सम्पादक विजय हितान लेख्नुहुन्छ, ”मैले बुझेको सम्पादन एक जटिल कार्य हो । अरूका पुराना सामग्री बटुलबाटुल पारेर एक किताब सम्पादन गर्नु त निक्कै कठिन कार्य रहेछ । पानी नपरेर बाँझो रहेको बारीलाई खनेर अन्न उमारे जस्तै । जसोतसो यस ग्रन्थको जन्म भएको छ- सामाजिक तथा राजनीतिक विचार र साहित्यिक सिर्जनाको सङ्ङ्गालो, ‘जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व’। यो मेरो लागि एक वर्षीय परियोजना थियो । यसले एकातिर मलाई पुस्तक प्रकाशनका प्रक्रिया के के हुँदा रहेछन् भन्ने सिकाएको छ भने अर्कोतिर मैले यसका लेखक तथा स्रष्टालाई नजिकैबाट बुझ्ने अवसर पाएको छु । ती अरू कोही नभई मेरा आफ्नै पुज्यनीय पिता स्व. जयबहादुर हितान हुनुहुन्छ ।”
पुस्तकलाई नेपाल मगर संघले प्रकाशन गरेको हो । चार सय ७५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










