नेपाली पर्या साहित्य प्रतिष्ठानले आयोजना गरेको पर्या निबन्ध प्रतियोगितामा सहभागिता जनाउने समय सकिएको छ ।
प्रतिष्ठानले पर्या साहित्यलाई प्रबर्धन गर्ने उद्देश्यले साहित्यको सशक्त विधा निबन्ध लेखनमा प्रतियोगिता घोषणा गत मङ्सिर १४ गते गरेको थियो । समयसीमा २०२५ फेब्रुवरी २८ शुक्रबार (२०८१ फागुन १६) तोकी निबन्ध आव्हान गरिएको प्रतियोगितामा नेपालसहित १० मुलुकबाट ८६ थान निबन्ध प्राप्त भएको आयोजकले जनाएको छ ।
छनौट प्रक्रियाका लागि तीन सदस्यीय निर्णायक मण्डल चयन गरिसकिएको प्रतियोगिता संयोजक विजय हितानले बताउनुभयो । निर्णायकहरूको नाम प्रतियोगितालाई सक्दो पारदर्शी बनाउनुपर्ने कारण घोषणा नगरिएको उहाँले जनाउनुभयो ।
”निबन्धहरू सिकारु लेखक, विद्यार्थी, शिक्षक, नाम चलेका निबन्धकार, समालोचक, संरक्षणकर्मी, संरक्षणविज्ञ, वातावरण अभियन्ता, प्राध्यापक, डाक्टर, साहित्यकार, कुटनितिज्ञ, संचारकर्मी, कर्मचारी लगायतबाट आएको प्रारम्भिक नतिजाले देखाएको छ ।,” हितानले भन्नुभयो, ”सबै निबन्धकारले प्रतियोगिताका लागि अध्ययन अनुसन्धान गरी लेख पठाउनु भयो, सबैलाई हार्दिक धन्यवाद तथा शुभकामना छ ।”
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पर्या निबन्धका लेखकलाई सम्मानपत्रका साथमा क्रमशः रु. ५०,०००, रु. ४०,००० र रु. ३०,००० पुरस्कार राशी प्रदान गरिनेछ । सर्वोत्कृष्ट तीन सहित उत्कृष्ट २० निबन्धहरूको सङ्ग्रह साहित्यपोस्ट मार्फत प्रकाशनमा आउनेछ ।
साथै, विजेताबाहेकका सङ्ग्रहमा प्रकाशित हुने १७ निबन्धकारलाई जनही रु. २,००० सम्मानस्वरुप प्रदान गरिनेछ ।
पर्या निबन्ध प्रतियोगिताको नतिजा २०२५ मे ३१ शनिवार (२०८२ जेठ १७) काठमाडौंमा आयोजना गरिने ‘१० औं वातावरण साहित्य गोष्ठी’मा सार्वजनिक गरिनेछ । सोही दिन निबन्धसङ्ग्रहको लोकार्पण पनि हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










