नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजना र साहित्य पोष्टको सह–आयोजनामा दशौँ वातावरण साहित्य गोष्ठी आगामी जेठ १७ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ।

यो गोष्ठी वातावरण संरक्षणको सन्देश फैलाउने र साहित्यमा यसको महत्त्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो।

गोष्ठीमा विजय हितानद्वारा रचित पर्यावरण कविता संग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिनेछ। यो संग्रहको लोकार्पणसँगै एक सय आठ निबन्धमध्येबाट छानिएका उत्कृष्ट ३२ निबन्ध समेटिएको पहिलो नेपाली पर्यावरण निबन्ध संग्रह पनि सार्वजनिक गरिनेछ। साहित्य पोष्टको माउ संस्था शब्द मिडिया प्रा.लि.ले उक्त निबन्ध संग्रहको प्रकाशन गरेको हो। गोष्ठीको मुख्य आकर्षण नै यिनै दुई पुस्तकहरूको विमोचन रहेको आयोजकले जनाएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निबन्धकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ भने बाँकी २९ जना सहभागीहरूलाई पनि सम्मान गरिनेछ। यसले वातावरण संरक्षणमा निबन्ध लेखनको महत्वलाई पनि उजागर गर्नेछ।

कार्यक्रममा प्राज्ञ डा. अभि सुवेदी प्रमुख अतिथि र ज्ञानबहादुर क्षत्री विशेष अतिथि रहनुहुनेछ । डा. गोविन्दराज भट्टराई की-नोट स्पिकरको रूपमा उपस्थित हुनुहनेछ भने डा. गीता त्रिपाठी र डा. अशोक थापा वक्ताको रूपमा आफ्नो विचार प्रस्तुत गर्नुहनेछ। विजय हितानले कार्यक्रमको संयोजन गर्नुभएकाे छ।

आयोजकले यस गोष्ठीले वातावरण र साहित्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र वातावरण संरक्षणको सन्देशलाई साहित्यिक माध्यमबाट आम जनमानसमा पुर्‍याउने अपेक्षा राखेको बताएको छ। यस गोष्ठीले वातावरण संरक्षणबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।