भरिया
भारी बोकेर
नाक ठोक्किने उकालो हिँडेको भरियाले
गन्तव्य आइपुगेर भारी थ्याच्च बिसायो
पसिना पुछ्यो
पानी पियो
अनि शिरको टोपी फ्यात्त फ्याँकेर बिसायो
तर मनको भारी भने उसले कतै बिसाउन सकेन
आमाको मायाले
अनि श्रीमतीको यादले
उनका आँखाहरू भरिन्छन् पीडाहरू तरल भएर
कति नदुखोस् भन्दा पनि दुखिरहन्छ
कताकता छातीभित्र मुलुक
जे होस्,
भारी फेरि उठाउँछ
सुखको एउटा मिथक पालेर ।
… … … …
क्रोध
भकभक
उम्लिरहेछ
कराहीमा पारो
गड्याङगुडुङ फुटिरहेछन्
ज्वालामुखीहरू डाँडाकाँडामा
छर्ल्यामछुर्लुम टेकेर बतलका टुक्राहरू
गइरहेछन् पैतालाहरू
एउटी रोगी स्त्रीले आफ्नो स्तन आफैँ काटेर
चोक्टाचोक्टी टोक्दैछ किरिककिरिक बिना कुनै पीडा
क्वाँक्वाँ रुँदैछन् रुनेहरू
चिच्च्याई-चिच्च्याई कराउँदैछन् कराउनेहरू
तैँ छाड मै छाड कुद्दैछन् कुद्नेहरू
उकुसमुकुस आवाजै-आवाजको विशृङ्खलामा
एउटा देवबत्ती आफैँ निभ्दै आफैँ बलिरहेछ
सहर बीचको एउटा पुरानो मन्दिरमा ।
… … … …
आतङ्कवादी
आँसुले लेखेका
संविधान भुक्तभोगीहरूले हृदयका
गुप्त कोठेघरहरूमा पारित गरेका हुन्छन्
मसीले लेखेका
एउटा राष्ट्रको संविधान
सबैले पढ्न र बुझ्न सके तापनि
आँसु तरल भएर पनि कहिल्यै मसी बन्न सक्दैन
मसी पनि
आँसु भएर कहिल्यै
हृदयका पन्नाहरूमा लेखिन सक्दैन
त्यसैले कहिलेकाहीँ एउटा मान्छेको मृत्यु
आतङ्कवादी भएर पनि शहीद भएको हुन्छ
अनि शहीद भएर पनि आतङ्कवादी भएको हुन्छ ।
… … … …
दार्जिलिङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 










