अमरलाई महकुमा कार्यालय समयमा पुग्नु हतार भइरहेको थियो । सरकारी बस पर्खिएर बाटामा उभिइरहन पर्दा उसको हतार झन् बढिरहेको थियो । ‘बसलाई पनि आजै ढिलो आउनुपर्ने’ मात्र के भनेको थियो बस नजिकै आइपुग्छ ।
ऊ अत्तालिंदै बसमा चढ्छ । बसको एकापट्टिको दुई सीटमध्येको एउटामा एक जना भद्र देखिने मान्छे गजक्क भएर बसेको थियो । उसले दैनिक समाचार पत्रिका उल्टा पढिरहेको देखेर
अमरलाई त्यस खाली सीटमा बसूँ कि नबसूँ हुन्छ । त्यस मान्छेले उसलाई देख्ने बित्तिकै “बस्नुहोस् न” भन्छ, चस्मा माथिबाट हेर्दै ।
ऊ त्यहाँ थ्याच्च बस्छ । त्यस मान्छेले पत्रिका उल्टा पढेको देखेर अमरले अप्ठ्यारो मान्दै अरूले नसुन्ने गरी भन्छ, “महाशय ! तपाईंले पत्रिका उल्टा पढिरहनुभएको छ ।”
“होइन-होइन ! म सधैँ पत्रिका उल्टा नै पढ्ने गर्छु विशेषगरी दार्जीलिङको राजनैतिक खबरहरू ।” उसले पत्रिका पल्टाउँदै भन्छ ।
“उल्टा पढेर पढ्न सकिन्छ र ?” अमरले एक्कासि सोध्छ ।
“हजुर ! पढ्न पनि सकिन्छ अनि कुरा पनि बुझ्न सकिन्छ,” भन्दै उसले कुरा फुकाउन थाल्छ, “उल्टा पढ्ने गर्छु कारण दार्जीलिङको राजनैतिक सुल्टा पढ्दा अलिक अप्ठ्यारो हुन्छ ।” ऊ फेरि बोल्न थाल्छ, “सुन्नुहोस् न, आज बाटामा कलेजका केटीहरू देखेर म छक्क परें । बाटामा एउटा भुसिया कुकुर दिशा बस्दै रहेछ, त्यो देखेर उनीहरू मरीमरी हाँस्छन् बा ! कस्ता मोरीहरू रहेछिन्, मैले मुखमा नै भनिदिएँ, ‘नहाँस त्यसरी ! यो कुकुर दिशा बसेन भने मर्छ । कस्तो यति सामान्य ज्ञान पनि थाहा नभएको । माथिबाट कोचारेको-कोचारेकै तर तलको प्वाल बन्द भयो भने गाह्रो पार्छ त ! गाह्रो मात्र होइन ज्यान पनि जान सक्छ ।’ हुन पनि हो नि तलको बन्द गरेर चार-पाँच दिन हेर्नुहोस् त त्यतिबेला थाहा हुन्छ । हाँस्नुपर्ने हो कि सञ्चो मान्नुपर्ने । मिर्गौलो बिग्रियो भने भ्रष्टाचारको धनले पनि थाम्दैन नि !”
फेरि एकछिनपछि अमरलाई राम्ररी हेर्दै भन्छ, “दार्जीलिङमा धेरै छन् है कोचारेको-कोचारेकै गर्नेहरू । यिनीहरूको पो मलद्वार बन्द गरिदिनुपर्ने । साला गोम्बेहरू !”
अमरलाई वाक्क लागेर आउँछ, र कुरा घुमाउनलाई सोध्छ, “तपाईं कुन विभागमा काम गर्नुहुन्छ ?”
“मेरो विभाग त छैन तर म आफैलाई हास्य कलाकार ठान्छु । हुन त मसित कोही हाँस्दैन, त्यसैले पनि म आफूलाई हास्य कलाकार ठान्छु । उदाहरणका लागि हेर्नुहोस् तपाईं नै मसित रिसाएर बस्नुभएको छ । यस्तो युगमा मिथकको परिभाषा त परिवर्तन भइरहेको छ । कस्ता-कस्ता सिद्धान्त र थ्योरीहरू यहाँ नचल्ने एकानी-दुवानी जस्ता भइरहेका छन् ।”
त्यति सुनिसकेपछि अमरलाई साँच्चै हाँस उठेर आउँछ र हाँस्दै भन्छ, “तर तपाईं त कम हास्य कलाकार ज्यादा व्यङ्ग्यकार हुनुहुँदो रहेछ नि !” त्यस मान्छेले आफूलाई अमरको कुरा घतमा गएको जस्तो गरेर मुसुमुसु हाँस्दै भन्छ, “हेर्नुहोस् त यहाँ मेरो टाउकामा एउटा ठूलो टुटुल्को छ । मैले फलाकेको कसैले बुझ्दैन, बुझ्छ त मात्रै मेरी श्रीमतीले, अनि यो टुटुल्को चाहिं न्युटनको गतिको तृतीय सिद्धान्तको घरेलु पुष्टि हो । मिलाएर बुझ्नुभयो भने यो घरेलु ट्याटो हो ।”
“तपाईंको टाउकामा यस्तो अझै दुई-तीनवटा छन् होलान् नि ?”
“किन नहुनु ? तर तपाईं चाहिं लेखक जस्तो देखिनुहुन्छ नि !”
“कसरी ?”
“तपाईं हाँस्नै हुन्न, पीर बोकेर बसिरहनु भएको छ ।” त्यस्तो उत्तर सुनेर पनि अमर चूप लागेर बसिरहन्छ । तर त्यो मान्छे भने अझै बोल्न थाल्छ, “तपाईं चाहिँ पत्रिका सुल्टै पढ्नुहुन्छ होला नि ? सुनेको हिजोआज उल्टा पढ्ने र पढाउनेहरूले मात्र सम्मान र पुरस्कार पाउँछन् अरे ! साँच्चि हो ?”
“मलाई थाहा छैन अनि चासो पनि छैन,” भनेर अमरले त्यस मान्छेसित संवाद टुङ्ग्याउने प्रयास गर्छ । तर त्यो मान्छे अलिकति असजिलो मान्दै फेरि बोल्न थाल्छ, “तपाईं त दार्शनिक जस्तो देखिनुहुन्छ नि !”
“अँ, तपाईंलाई चाहिं कता-कता बुद्ध जस्तो लाग्यो !”
“अबुइ ! बुद्धको कुरा नगर्नुहोस्, बुद्धलाई यहाँ झन्डै मारेको आठ-आठ केजीको कान लगाइदिएर ।”
“तपाईं पनि अब दार्जीलिङमा मात्र होइन भारतभित्र पनि नअटाइने भइसक्नुभएछ,” भनेर अमरले अलिकति व्यङ्ग्य प्रहार गर्छ ।
“नरिसाउनुहोस् ल सर ! म तपाईंलाई कार्ल मार्क्सको कुरा सुनाउँछु ।” भन्दै कुरा बढाउँछ, “राहुल सांकृत्यायनले लन्डनमा कार्ल मार्क्सलाई दुई पल्ट भेट्ने प्रयास गर्दा पनि भेट्न सकेको रहेनछन् र धेरै वर्षपछि उनलाई भेट्न भनी भारतबाट लन्डनमा मार्क्स बसेका गाउँमा गएछन् । लन्डनबाट फर्किने दिनभरि समय लगाएर गाउँभरि खोज्दा पनि भेट्न सफल भएन रे । त्यसरी विफल र निराश भएर आफ्नो कोठा फर्किंदा बाटाछेउको एउटा चिहानघारीमा बिसाउन बसेछन् । त्यतिबेला त्यहाँ उनले एउटा ठूलो टाउको भएको मैलो कालो ओभर कोट लगाएको लगभग भालु जस्तो देखिने मान्छे एउटा भुसिया कुकुरसित डल्लो परेर सुतिरहेको देख्छन् । अरे ! यस्तो चिसो भुइँमा मजाले सुत्ने को होला भनेर पल्टाएर हेर्दा त आफूले खोजिरहेको कार्ल मार्क्स रहेछन् । तीनपाने पिएर लट्ठु भएका मार्क्ससित त्यो दिन कुनै बात हुन सकेनछ । जसोतसो गरेर उनले मार्क्सलाई आफ्नो डेरामा पुराइराखेर छुट्ने बेलामा कानमा नै ‘म राहुल सांकृत्यायन भारतबाट भेट्न आएको, भोलि तपाईंलाई भेट्न आउँछु कतै नजानु होला’ भनिराखेर कोठा फर्कन्छन् । तर भोलिपल्ट पनि मार्क्सलाई न त उनको डेरामा न त गाउँमा नै भेटे । अब स्वर्गमा गएर कसले मार्क्सलाई ‘तपाईंलाई एकपल्ट भारतका राहुल सांकृत्यायन भेट्न आएका थाहा छ’ भनेर सोध्ने ?”
अमरले अब चूप लागेर त्यस मान्छेलाई आश्चर्यको नजरले हेर्दै सोध्छ, “तपाईंलाई यस्तो रोचक कुरा कसले सुनायो ?”
“मेरा बाजेले । मेरा बाजे कट्ठर मार्क्सवादी तर उनले चस्मा लगाउँदैन थिए ।” त्यति भनिसकेपछि एकछिन घोरिन्छ र आफैलाई भन्छ, “खै, मार्क्सवाद ‘सिउँडो साइन्स’ हो कि होइन बुझ्न गएका थिए कि ‘म्यानिफेस्टो’ का बारेमा चर्चा गर्न गएका थिए, थाहा भएन !”
त्यसरी बातै-बातमा गन्तव्य आइपुग्न आँटेको थाहा लागेपछि अमरले हात मिलाउँदै भन्छ, “तपाईं बढो रोचक व्यक्ति हुनुहुँदो रहेछ !”
हात मिलाइसकेपछि दुवैजना मरीमरी हाँस्छन् । छुट्नै आँटेको बेलामा त्यस मान्छेले अमरलाई एउटा कुरा सोधूँ भनेर अनुमति माग्छ । त्यसपछि मुसुक्क हाँसेर प्रश्न गर्छ, “’क’ कसले आविष्कार गर्यो ?”
अमरले बाङ्गो हाँस्दै प्रत्युत्तरमा यति मात्र भन्छ, “तपाईं पनि ज्यादै गर्नुहुन्छ । त्यसको उत्तर पछि भाग्यवशले भेटिहाले भने दिउँला,” भनिराखेर अमर बसबाट बाहिर ओर्लिन्छ ।
अमर जसरी महकुमा कार्यालय पुग्छ त्यसरी नै झसङ्ग भएर झस्कन्छ – कार्यालयको मूल गेटमा एउटा ठूलो ताला लगिरहेको रहेछ । अमरले अत्तालिँदै अलिक पर जाँदै गरेकी एकजना औरतलाई सोध्छ, “दिदी ! गेटमा त ताला पो लागेको छ त ?” उत्तरमा “आज गान्धीजयन्तीको छुट्टी हो,” भन्ने सुनिसकेपछि ऊ अक्क न बक्क पर्छ ।
“हँ ! म के भएको ?” भन्दै आफैलाई झकझकाउँछ ।
० ० ० ०
भोलि बिहान त्यही बसमा यात्रा गर्दा त्यस मान्छेको सम्झना अमरलाई आइरहन्छ साथै कतैबाट त्यो मान्छे त्यस बसमा चडिदिए पनि हुन्थ्यो जस्तो लागिरहन्छ । फेरि उसले आफैलाई भन्छ, “आज भेटेको भए कुरा गर्ने थिएँ कि ‘क’ कसले आविष्कार गर्यो भन्ने । मान्छेले कुरा राम्ररी नबुझी यत्तिकै आविष्कार-साविष्कार भन्ने गर्छ, अरे यार !”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 










