तिमी कुकुर हौ ?
कि
सुँगुर हौ ?
या
गधा ?
हुनु पनि कसरी ?
तिमी त त्यो स्तरमा पुगेकै छैनौ
कुकुर कुकुर झगडा गर्छन्
परन्तु
कुकुरले कुकुर मारेको थाहा छैन
सुँगुरले सुँगुर मारेको देखेको छैन
न त गधा गधाको लडाइमा
गधा मरेको देखिन्छ

तर
तिमी त मान्छे
आफूलाई बडो सर्वश्रेष्ठ प्राणी ठान्छौ
आफैँलाई विवेकशीलको बिल्ला भिराउँछौ
र पनि
कुकुर, सुँगुर र गधा भन्दा
तल्लो कोटीमा ओर्लन्छौ
आफ्नै जातिको हत्या गर्छौ

एउटै पुर्खाका सन्तान तिमी
आफैँले आफैलाई विभाजित गर्छौ
छुत अछुतको भ्रम छर्छौ
हिन्दु, मुस्लिम, इसाई बनाउँछौ
शिख, बुद्धिष्ट, यहुदी भनाउँछौ
आर्य, मङ्गोल, निग्रो भन्दै
मान्छे मान्छेमा विद्वेष फैलाउँछौ

मानवता बिनाको धर्म कहाँ छ ?
परोपकार बिनाको पुण्य केमा छ ?
सोध तिम्रो अल्लाहलाई सोध
तिम्रो भगवान्, ईश्वरलाई सोध
मान्छेले मान्छे मार्दा स्वर्ग पुगिन्छ ?
स्वजनको हत्याले
प्रमेश्वर खुसी हुन्छ ?
यदि त्यस्तो हुन्न भने
किन तिमी त्यसमै रमाउँछौ ?
बन्दुक, तरवार किन समाउँछौ ?
बारुद, बमगोला किन बनाउँछौ ?
एकाग्र भई चिन्तन गर
आफ्नै आत्मालाई नढाँटी सोध
मिल्छ यदि आउन भने
आऊ, एकापसमा अङ्कमाल गरौँ
सद्भावनाको भकारी भरौँ
भातृत्वभावको जागरण गर्दै
विश्वबन्धुत्वको कामना गरौँ
विश्वशान्तिको कामना गरौँ ।

अमरपुर, गुल्मी
हालः तिलोत्तमा न पा -२, रुपन्देही