(यो वार्ता २०५९ मा इनशा डटकम प्रकाशित भएको थियो । यो वार्ता ‘नुमाफुङ’ प्रदर्शनको क्रममा गरिएको थियो । त्यसयता सुब्बाले ‘गुडबाई काठमाडौँ’ प्रदर्शन गरिसक्नु भएको छ भने हालै ‘गाउँ आएको बाटो’ प्रदर्शनोन्मुख छ । अझै पनि यस वार्ताको सान्दर्भिकता रहेको ठानेर पुनः प्रकाशन गरेका छाैँ ।)

नवीन सुब्बा
नमस्कार म नवीन सुब्बा । म फिल्म बनाउँछु, फिल्मबारे चिन्तन मनन गर्छु ।
म ताप्लेजुङको हाङपाङमा जन्मिएँ, मावलीमा । तर मेरो बुवाको खास बर्साई चैँ ताप्लेजुङ ढुंगेसाँघुमा थियो । लिम्बुहरुको बिहे गर्दा सात पुस्ता खेद्नु पर्छ भन्ने भनाइ छ र साधारणतया टाटाढा बिहे हुने गर्दछ । बाल्यकाल चाहिँ हंगकंग र मलेसियामा बिताइयो तर उति धेरै कुरा मलाई सम्झना छैन । चार भाइमध्ये म जेठो हुँ ।
बाल्यकाल
प्राथमिक शिक्षा क्याम्पभित्रै पढ्थेँ । त्यहाँ नेपाली विद्यार्थीका लागि नेपालीमै पढाउने शिक्षा प्रणाली लागू थियो । क्याम्प यति ठूलो थियो कि त्योभन्दा बाहिर त हामी निस्कनै नपर्ने । ससाना खोलाहरू क्याम्पभित्रै बग्थे र ती खोलामा हामी माछा मार्ने गर्दथ्यौँ ।
बुवाको छुट्टी हुनेबित्तिकै हामी नेपाल आउँथ्यौँ । नेपाल आउँदा हामी ६/७ महिना बस्नु पर्ने हुनाले प्रायः स्कुल छुट्थ्यो । म साधारण विद्यार्थी थिएँ । बुवाको पालातिर पढ्ने भन्दा पनि छोराहरूलाई लाहुरे नै बनाउने कुरामा बढी विश्वास गरिन्थ्यो । हंगकंगमै रहँदा ८/९ कक्षातिर पुस्तकालयमा रहने सबै साहित्यिक कुराहरू पढ्ने गर्दथेँ । यही बेला साहित्यतिर म तानिएको थिएँ । त्यसैबेला मैले बीपीका अधिकांश साहित्य पढिसकेको थिएँ र अन्य कुरा पनि यहीबेला पढेँ ।
किशोर वयमा चाइनिज बच्चाहरूसँग झगडा पर्ने गर्दथ्यो कहिलेकाहीँ । त्यो स्वाभाविक पनि थियो ।
नेपाल आएको बेला मैले एसएलसी पहाडबाट दिएँ । पास भएपछि राम्रो नम्बर आउने सबैले साइन्स पढ्नु पर्छ भन्ने मान्यता थियो त्यसबेला । मैले चैँ धरानको हात्तिसारमा साइन्समा भर्ना भएँ । आइएस्सी पढ्दा नै धरानमा निकै साहित्यिक गतिविधि गरियो । ‘अर्को जमात’ भन्ने समूह बनायौँ हामीले । रमेश केसी, स्व. चन्द्र घिमिरे आदिको समूहले पर्चा कविता आन्दोलन शुरु गरेका थियौँ । यसैबेला हामीले अर्को जमातले पुरस्कार दिने शुरुवात पनि गर्यौँ तर एक वर्षपछि अर्को वर्ष चलाउन सकेनौँ ।
राजनीतिक चेत
दीप श्रेष्ठपछि कृष्ण पाख्रिन, लीला श्रेष्ठ सुब्बा, हर्ष सुब्बाहरूको पुस्तापछि सांस्कृतिक र साहित्यिक गतिविधि अलि लोसे भएको थियो । तर अर्को जमातको प्रवेशपछि साहित्य, संगीत र नाटकमा एउटा नयाँ ऊर्जाको शुरुवात भएको थियो । राजनीतिक रुपमा हामी सचेत थियौँ, प्रजातन्त्रवादी र कम्युनिष्टहरुसँग मिलेर जान सक्ने हामी थियौँ । स्वतन्त्र चिन्तनको शुरुवात नै अर्को जमातको उद्देश्य थियो ।
यहीबेला मैले गोर्खापत्र, गरिमा, मधुपर्कमा कविताहरू छपाएको थिएँ । गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग गर्ने र नयाँ पुस्तालाई होष्टेमा हैंसे गर्न हामीले पर्चा कविता आन्दोलनको शुरुवात थियो । एक रुपियाँमा एउटा पर्चा बेच्ने गर्दथ्यौँ । राम्रै बिक्री हुने गर्दथे । युवाहरूले राजनीति गर्नुपर्छ, दर्शन पढ्नु पर्छ र संस्कृतिलाई बुझ्नुपर्छ भन्ने चेत थियो । त्यसबेला रंगकर्म छिटपुट हुने गर्दथ्यो । यही बेला हामीले काठमाडौँसम्म आएर नाटक मञ्चन गर्यौँ । सांस्कृतिक संस्थानमा मञ्चन गरियो तर त्यो शो फ्लप भयो । दर्शक नै आइदिएनन् । २०३८/३९ को जस्तो नाटक क्रेज सकिइसकेको थियो । त्यसपछि अनाम नाट्य जमात जन्मिएको थियो । अनाम नाट्य जमात हामीले छरिएका नाट्यकर्मलाई एकत्र गर्न जन्माएका थियौँ । २०४३ सालतिर राजनीतिक सोच त हुनुपर्छ तर राजनीति गर्नु हुन्न भन्ने मान्यताले यो नाट्य जमात खुलेको थियो । त्यसबाट जन्मिएका प्रेम सुब्बा, शारदा शाक्यले एक किसिमको पहिचान बनाइसकेका छन् । पछि यो संस्था फुट्यो, स्वाभाविक पनि हो कि कुनै संस्था ठूलो भयो भने त्यो फुट्छ । त्यसपछि पञ्चहरूले पनि एउटा नाट्य समूहलाई सहयोग गरे, हाम्रै समूहलाई तानेर । कम्युनिष्टहरुले पनि आफ्नो बेग्लै समूह बनाए । तर हामीले स्वतन्त्र नाट्य समूह बनायौँ ।
‘अनाम नाट्य’ जमातबाट नाटक दोस्रो पटक ल्याउँदा भने त्यसको प्रभाव ज्यादै सकारात्मक पर्यो र उत्कृष्ट नाटक घोषित भयो । यही क्रममा आरोहणसँग राम्रो सम्बन्ध स्थापित भयो । काठमाडौँ आउने जाने क्रममा साथीहरूले यतै बसौँ भने र २०४६ सालमा आन्दोलनअघि यहीँ बस्ने निर्णय गरेँ ।
पत्रकारिता
धरानमा मैले थोरै पत्रकारिता गरेको थिएँ । काठमाडौँ उपत्यकामा बाँच्नका लागि मैले पत्रकारिता गर्न थालेँ । शुरुमा ‘रुपरेखा’ भन्ने पत्रिकामा काम गरेँ । पदम ठकुराठीको थियो यो पत्रिका । जनआन्दोलनका क्रममा हामीले कलाकारहरूलाई सडकमा उतार्ने प्रयास गर्यौँ । चैत ३ आन्दोलन नाम दिइएको यस प्रदर्शनमा सिनेकर्मीहरू त आएनन्, तर नाटक र साहित्यकारहरूको उत्साहवर्द्धक उपस्थिति रहृयो । यसपछि भने नियमित रुपमा मैले नियमित पत्रकारिताभन्दा पनि लेख/रचना र स्तम्भतिर ध्यान दिन थालेँ ।
सिनेमाप्रति रुचि
पत्रकारिता गर्दा नै मैले विदेशी चलचित्र पनि हर्न थालेँ । नेपाली चलचित्रको बाटो परिवर्तन हुनुपर्छ भन्ने मान्यता त्यतिबेलै बनेको थियो । राजेन्द्र शलभ, शैलेश आचार्यजस्ता व्यक्तिहरूको उद्योगको मोडल परिवर्तन हुनुपर्छ भन्ने सोच थियो । तर बजारको दबाब अत्यन्त पर्यो । उहाँहरूसँगै मैले काम सिकेँ । पहिलो पटक मैले शलभजीको ‘भाउजू’मा सहायक निर्देशकको रुपमा काम गरेँ । त्यस्तै ‘परिभाषा’मा पनि काम गरेँ । व्यवसायिकतामा हलुका कला राख्ने उद्देश्य थियो ‘परिभाषा’मा । त्यही बेला मैले ‘माइली’को पटकथा लेखेँ । (तर त्यो सिनेमा रुपमा आइपुग्दा अर्कै भयो ।)
नेपाली सिनेमाको विश्लेषण गर्दा यस्तो देखिन्छ- पहिला सिनेमा गाउँका कथामा बन्थे । गाउँका कथा हुन्थे र गाउँमै सकिन्थे । बीचमा गाउँबाट कथा शुरु भएर शहरमा टुंगिन थाल्यो । अहिलेका अधिकांश सिनेमाको विषय नै गाउँबाट शहर हुने गर्दछ । तीमध्ये कतिपयले सिनेमा शहरमा केन्द्रित गर्न थालेका छन् । माइली सिनेमा चाहिँ गाउँबाट शहर आउने कथा हो ।
अल्टरनेटिभ फिल्म
धेरैले यस्तो सोच्छन्- मैले एउटा निश्चित उद्देश्य (अल्टरनेटिभ फिल्म मेकिङ) को उद्देश्य बोकेर ‘तरेवा’ बनाएको हो । त्यसबेला ‘लछुमनिया’, ‘भिडदेखि भीडसम्म’, ‘कोरश’जस्ता टेलिफिल्महरू साहित्य बन्थे । त्यसैको नियमितता हो, ‘तरेवा’ । सुन्दर श्रेष्ठ हुनुहुन्थ्यो, युएसआईएसमा काम गर्नु हुन्थ्यो । उहाँ सोलुको हुनुहुन्थ्यो । उहाँले ‘तरेवा’को कथा लेख्नुभयो र तयार भयो- ‘तरेवा’ । तरेवा हेरिसकेपछि शेर्पा साथीहरूले उहाँहरूको विषयमा चलचित्र निर्माण गर्ने सोच पलायो र ‘खाङ्ग्री’ बनाइयो । आङफुर्वा र कर्मा शेर्पाजी मेरो निर्माता हुनुहुन्थ्यो । उहाँकै सल्लाहमा एउटा चलचित्र महोत्सवमा पठाइयो र चलचित्र महोत्सवमा छानिएको र १० दिने भ्रमणमा बोलाइयो ।
त्यहाँ एकदमै राम्रो मानसम्मानका साथ हामीलाई राखियो । ‘खाङ्ग्री’ आर्काइभमा राख्ने कुरा भयो र सिनेमा बिक्री पनि भयो र त्यहाँबाट हामीले चार हजार डलर लिएर आयौँ । त्यो पैसा सबैभन्दा ठूलो आकर्षणको पक्ष रह्यो । यसले त स्पेशल मेन्सन अवार्ड पनि पायो । त्यसपछि त विभिन्न अवार्डहरूमा बोलाउने र त्यसलाई लैजाने कुरा हुन थालेपछि भने यी चलचित्रको महत्त्व बल्ल मैले थाहा पाएँ ।
‘खाङ्ग्री’ र ‘नुमाफुङ’ निर्माण अवधि पाँच वर्ष लाग्यो । तर २०५८ सालमा भिजिट नेपालको समयावधि थियो र त्यसबेला मैले निकै डकुमेन्ट्रीहरू बनाएँ । धेरैले यस्तो ग्यापको निकै आलोचना गर्छन् तर म चूप लागेर चाहिँ बसेको छैन । यसबीचमा बाँच्नका लागि केही कामहरू गरिरहेको हुन्छु ।
यदि हाम्रो उद्योगलाई बचाउने हो भने यो नै सर्वोत्तम उपाय हो । राम्रो सिनेमा बनाउन थुप्रै पैसा चाहिन्छ । हामीसँग थुप्रै पैसा छैन । तर अलग किसिमको कथाहरू देखाउने र भन्ने गर्यौँ भने त्यो विश्वमा रुचिपूर्ण हुनसक्छ । र, हामीले निकै पैसा कमाउन सक्छौँ । व्यावसायिक चलचित्रले हामी कसैलाई पनि तान्न सक्तैनौँ । हामी साना मसिना पैसामा अल्झिरहन्छौँ ।
सिनेमाको विषयवस्तु
हामीले चलचित्र उद्योग बचाउन कथा भन्ने शैलीमा विकास गर्नुपर्छ । हामीसँग अहिले जे प्रविधि छ त्यसैबाट राम्रो बनाउन सकियो भने धेरै प्रविधि चाहिँदैन । मुख्यधाराले नयाँ कुरा दिन नसकेकाले राम्रो अवसर रहँदारहँदै पनि अमेरिका, क्यानडा, तथा युरोपतिर हाम्रा सिनेमा लैजान पाइरहिएको छैन ।
महोत्सवमा जानुका सीधा र बाङ्गा फाइदाहरू छन् । धेरै पैसा नआए पनि यहाँको तीस चालीस हजार आउने कयौँ फेस्टिभलहरु छन् । त्यसबाहेक त्यहीँ सिनेमा बेच्न सकिने वातावरणहरू बनेका छन् । फिल्ममेकरहरूले एक्पोजर पाउँछन् र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुन्छ । सानो किसिमको नेटवर्क बनाउन सक्दा तपाइँको नाम रहन्छ र तपाइँको सिनेमाले अरुभन्दा बढी महत्व पाउन सक्छ र कहिलेकाहीँ त्यो महत्त्वले राम्रो पैसा बनाउन पनि सक्छ । सीधा बजार पनि पाउन सकिन्छ ।
नुमाफुङको निर्माण
नुमाफुङको लगानी ४८ लाख पुग्यो, बढी लगानी भयो । हंगकंगमा मात्र २५ लाखको व्यापार गर्यो तर हाम्रो हातमा ७/८ लाख मात्र पर्यो । हामीले त्यसलाई राम्रोसँग मार्केटिङ गर्न सकेनौँ । मेलबर्नमा चार हजार डलरको व्यवसाय गरेको छ । त्यो चानचुने रकम होइन । न्युयोर्कमा मात्र चार हजार डलर एउटा स्क्रिनिङबाट आएको छ । त्यस्तो मार्केट छ । फिल्मको वाइड रिलिज भयो भने अवश्य पनि राम्रो व्यापार हुनसक्छ । नुमाफुङले फाइदा नदिएको भए पनि मलाई त्यो बाटो भने देखाइसकेकाले अहिले एक साथ दुई वटा सिनेमा बनाइरहेको छु । दर्शक र बजार कहाँ छ भन्ने कुरा थाहा पाएको छु ।
अहिले नेपाली सिनेमाको बजारभन्दा त्यो बजार १० गुणा ठूलो बजार छ । त्यही बजारमै हामीले सिनेमा पठाउनु पर्छ । भारतका बुद्धदेव दासगुप्ता, जानी बरुवा, साजियन करुन, गिरिस कार्चावलीहरुले हिन्दी सिनेमाको अर्को धार निर्माण गरेका छन् । हामीले यो बाटो उपयोग गर्न ढिला भइसक्यो ।
मान्छेले भन्छन्, ‘नवीनले गरिबी बेचिरहेको छ भनेर गिल्ला गर्छन् तर वास्तवमा त्यो कथावाचनको शैली बेच्ने हो । यहाँका एलिटहरूमाथि राम्रो कथा भन्नुस् र देखाउनुस् न, त्यसलाई उनीहरूले अवश्य पनि मन पराउनेछन् । किरण देसाइ, सम्राट उपाध्यायहरूले नेपालीमाथि लेखेको कथा पुरस्कृत हुन सक्छन् भने हामीले बनाएका सिनेमाहरू किन मन पराइँदैनन् ? अवश्य मन पराइन्छन् तर हुनुपर्यो नि मन पराउने किसिमको !
नीति बनाऔँ
हामी सेन्सरको विरोध गरिरहेका छौँ । सेन्सर बोर्ड नभएपछि ग्रेडिङ गर्नुपर्छ । सेन्सर हटाउन सरकारी कर्मचारीले त्यो हटाउन मानिरहेका छैनन् किनभने उनीहरूले त्यहाँबाट भत्ता पाउँछन् । अर्को कुरा, चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनु पर्छ । स्वायत्त हुँदा वार्षिक बजेट बनाउन सक्छ । आर्थिक रुपमा आफैँले धेरै निर्णय गर्न सक्छ । विषयमा लगानी गर्ने, मान्छेलाई ट्रेनिङ दिने आदि काम गर्छ ।
कोफिकले १० वर्ष लगानी गर्दा कोरियाको उद्योग नै परिवर्तन भयो । ३५ मिमिमा सिनेमा बनाउँदा पाँच लाख रुपियाँ लगानी गरिदिँदा स्तर बढ्छ भनेर हामीले भन्यौँ र अहिले ३५ एमएममा सिनेमा बढाउने कुरामा बढोत्तरी हुनसक्छ । प्राविधिक रुपमा अपग्रेड गर्नु पर्छ ।
उद्योगमा प्रत्येक पाँच वा दश वर्षमा नयाँ पुस्ता आउने वातावरण हुनुपर्यो । उद्योगमा पैसाको फ्लो हुनुपर्यो । उद्योग जग्गाको दलाल र सुन व्यापारीले जोगाएर हुँदैन । मुर्गा संस्कृतिलाई निरुत्साहित गर्नु पर्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










