साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चिसो मान्छेः कोभिडकाल झल्काउने सशक्त सिनेमा

नेत्र बुढा

सुदुर पश्चिम समाजको भाषा शैली, भेषभूषा र कोभिड-१९ को समयमा भुईंमान्छेले भोगेको कथा। नेपाली सिनेमा जगतमा एक फरक आयाममा प्रस्तुत गरिएको छ।

bahulako diary small and inside post

फिल्म ‘चिसो मान्छे’ को ट्रेलरमा देखाएको पात्रले बोल्ने स्थानीय भाषा र ड्रेसकै कारण फिल्मको ट्रेलर चर्चित बनेको थियो। त्यसमाथि थुप्रै चलेका फिल्ममा अभिनय गरिसकेकी नायिका स्वस्तिमा खड्काको अभिनयले फिल्म हेर्ने दर्शकलाई आकर्षण गर्दछ। यदि तपाईं पश्चिमको भाषा लवजबारे परिचित हुनुहुन्छ भने पश्चिमतिर यात्रा गरेको हुनुहुन्छ भने फिल्मको पात्रमा स्वयम् आफैँलाई पाउनु हुनेछ, कोभिडको समयमा भुईंमान्छेले पाएको सास्ती र सरकारी संयन्त्र र राजनीतिक नेतृत्वले गरेको अस्पष्ट नीतिमा आफूलाई नजानिँदो पाराले घुलेको पाउनु हुनेछ ।

नेत्र बुढा

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ रोग फैलिनुभन्दा अगाडि कुखुरा बोक्ने गाडी। गाडीका (धनी) चालक अशोक थापा (अर्पण थापा), कतारबाट रातो बन्द बाकसमा आएको शव, श्रीमती पुष्पा (स्वस्तिमा खड्का) र बुवा (देशभक्त खनाल) फिल्मका मुख्य विशेष पात्र यिनै हुन्।

कथा सुरु हुन्छ: विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना र देशभर नेपाल सरकारले गरेको लकडाउनका अवधिमा कतारबाट रातो बन्द बाकसमा आएको शव कोरोना कहर र लकडाउनका माझ बाजुरा पुऱ्याउनुपर्ने शवयात्राको कथाभित्र संवेदना, संवेग, आवेग र करुणा छ । पुरै फिल्म यही विषयमा केन्द्रित भएर घुमेको छ ।

यो फिल्ममा प्रस्तुतीकरणमा स्वाद भने नयाँ पाइन्छ ।अन्य फिल्मको जस्तो एक्शन, रोमान्टिक दृश्य हेर्न उद्देश्य हो भने हलमा नगए पनि हुन्छ। स्थानीय भाषा, शैली, फिल्ममा प्रयाग भएको डायलग पृथक् तरिकाले प्रस्तुत गरिएको छ ।

आश्चर्य के छ भने, श्रीमानको शव बुझ्न आएकी श्रीमती पुष्पामा त्यो रातो बन्द भएको बाकस भित्रको लोग्ने प्रतिको कुनै सम्मान, सद्भाव छैन, संवेदना छैन । जिन्दगीमा लाग्नेको काँधमा सिरानी राखेर एक पल निदाउन पनि नपाएर परदेशिएको त्यो लोग्ने न जीवनमा आउने कष्टमा साथ थियो, न त प्रेम र अपनत्वमा कतै थियो । न त उनको गायन क्षेत्रमा भविष्य बनाउने सपनामा साथ थियो। उनका लागि त्यो सधैंसधैं मनदेखि चिसो मान्छे थियो ।

फिल्म चिसो मान्छेमा शवलाई केवल रातो बन्द बाकसभित्र मात्रै सीमित गर्न खोजिएको छ । अनेक झन्झटबाट आफूलाई मुक्त पार्न खोजेका हुन् कि भन्ने पनि लाग्छ मनमा। निर्देशकले उनको कुन दृष्टिकोणबाट यसलाई हेरे या समावेश गरे, त्यो फरक पाटो होला तर मृतकलाई बाकसमै सीमित बनाउँदा दर्शकमा जे जस्तो भावना, दृष्टिकोण, विचार, संवेग जाग्नुपर्ने हो त्यो जाग्न पाएन कि भन्ने लाग्छ मलाई ।

चिसो मान्छेमा पुरै नेपाली माटोको स्वाद छ । फिल्म कपी गर्ने भारतीय फिल्मको कपी गरेर नेपाली फिल्म बनाएका नेपाली निर्देशकहरू पनि थुप्रै थिए र छन् पनि। तर यो फिल्मबाट निर्देशक दीपेन्द्रले के-कति धन राशि कमाउलान्, त्यो अलग पाटो हो । यस्तो मौलिक कथा र एकदमै सीमित परिवेशलाई बुनेर सीमित पात्र त्यो पनि उत्कृष्ट अभिनय गरेर कथा सुनाउन खोजेको बृहत् खाका अरु निर्देशकले पनि सिक्नु जरुरी छ । प्रेमको भाषा बुझाउनको लागि रोमान्स नै चाहिन्न, अथवा वस्तु परिस्थिति देखाउनका लागि सधैंको सबैले साझा देखेको रोइलो पनि देखाइरहनु पर्दैन भन्ने सूक्ष्म विषय चिसो मान्छेमा लुकेको पाइन्छ । प्रेम, वियोग, संवेग र संवेदनाका हकमा दीपेन्द्रको यो काम विशेष रहेको पाइन्छ।

मुख्य पात्रमा बच्चैदेखि गीत गाउने गायिका बन्ने सपना बुनेकी हुन्छिन्, गाउँमा हुर्केकी पुष्पा (स्वस्तिमा खड्का)ले। उनका ससुरा देशभक्तले भन्छन्, ‘भाग्छे यो पहिला पनि धनगढीमा भागेकी हो।’ उनी स्वतन्त्र भएर हिँड्न चाहन्छिन् । आफ्नो इच्छा आकांक्षा पूरा गर्न चाहन्छिन् । आफूले देखेको सपना साकार गर्न चाहन्छिन् त्यही भएर भागेर हिँड्न पनि खोज्छिन्।

पुष्पाका लोग्ने वैदेशिक रोजगारीका सिलसिलामा कतार गएको बेला हृदयघातका कारण मृत भेटिन्छन् र एयरपोर्टमा बन्द रातो बाकसमा फर्किन्छन् । उनी आफ्नो ससुरासँग शव लिन काठमाडौं आउँछिन्। शव लैजानका लागि गाडीको मान्छेसँग भाडाको बार्गेनिङ गरिरहेको बेलामा उनी त्यो बेलासम्म भाग्ने मौका खोजिरहन्छिन् । भाग्छिन् पनि तर कोरोनाका कारण आर्थिक अवस्था तहसनहस भएको बेलामा बल्लतल्ल भेटिएको ग्राहक नि फुत्किन लाग्यो भनेर गाडी चालक र एक जना ब्रोकर अनि ससुरा दगुरेर छोप्छन् र गाडीमा राख्छन्। यहाँनिरको दृश्यमा मानवता हराएकोझैँ लाग्छ। हिन्दू संस्कार होस् या अन्य समाज, लोग्ने मरेकै समयमा एउटा नारी आफूलाई लोग्ने र उसको व्यवहार मन नपरेको भए पनि मनदेखि मनसम्म चिसो सम्बन्ध भए पनि आफ्नो सपना पूरा गर्न यस्तो दुखद् समयमा कोही पनि भाग्ने आँट गर्दैनन्। पश्चिम नेपालतिरको संस्कारमा कसैको घरमा मान्छे बित्दा अरु मान्छे छैनन् भने पनि स्वास्नी मान्छेलाई मान्छे बितेको ठाउँमा होस् या शव लिन जाने ठाउँमा जान दिने चलन प्रायः हुँदैन।

विद्यालयमा पढ्ने र उज्जवल भविष्य बनाउने समयमा पुष्पको १५ वर्षकै कलिलो उमेरमा माया, पारिवारिक सम्बन्ध र विवाह के हो केही नबुझ्दै मागी विवाह हुन्छ। त्यो पनि अग्रगामी विकासको छलाङ मार्नुपर्छ, देशमा परिवर्तन ल्याउनुपर्छ भन्दै ठूला ठूला आदर्श र भाषण गर्ने क्रान्तिकारीको घरमा। सशस्त्र द्वन्द्वकालमा पढ्ने उमेरका युवायुवतीलाई माओवादीले ब्रेनवास गरेर बुर्जुवा शिक्षा ठिक छैन, सरकारले तपाईंहरुको गरिबीलाई दमन गरेको छ। थिचोमिचो गरेको छ। यसको विरुद्धमा एकजुट भएर लाग्नुपर्छ भनेर सोझासाझा र दुर्गम गाउँका मानिसलाई माओवादीमा लगेर भरपूर प्रयोग गरी सत्ता प्राप्तिपश्चात वास्तै नगरेको राजनैतिक चरित्रलाई यथार्थ चित्रण र व्यङ्ग्य गरेको पाइन्छ ।

देसभक्तका दुई छोरामध्ये कान्छो छोरो सशस्त्र द्वन्द्वमा उहिल्यै स्वर्गवास भइसकेका हुन्छन्। पुष्पालाई आफ्नो ‘घरको छोरी जस्तै बनाएर राख्छु’ भनेर ललाई फकाई गरेर ससुराले जेठो छोरोसँग विवाह गराइदिएका हुन्छन्। तर उनलाई लगेकै त्यो कालो रात अँध्यारो बन्द कोठामा उनको मुख थुनेर उनका श्रीमानले रक्सीले मातेर वैवाहिक बलात्कार गर्छन्। उनले त्यो समयमा हारगुहार गर्ने मौका समेत पाउँदिनन्।

१७ दिनसम्म छाउगोठमा रगतमा डुबेर बुहारीलाई राख्छन्, अनि फेरि जातपात केही हैन, सबै मान्छे बराबर हो भनेर ज्ञान दिन्छन्। विवाह गर्ने बेला छोरीजस्तै बनाएर राखम्ला भन्या हुन्छन् । यस्तै आफ्नै छोरीलाई भएको भएर के गर्थे भनेर आक्रोश पोख्छिन्, पुष्पाले ससुरासँग।

पुष्पालाई उनका लोग्नेको अनुहार राम्ररी यादसम्म हुँदैन। शव पात्रको कथा बेग्लै खालको हुन्छ। सानै उमेरमा गरिबीले थिचेको हुन्छ । परिवर्तनपश्चात प्राप्त भएको राज्यसत्ताको मतिभ्रष्ट र निकम्मा भएपछि फेरि पनि अवस्था उस्तै हुन्छ र उनी छिमेकी मुलुक भारतमा रोजगारीका लागि जान्छन्। केही आम्दानी कमाएर आफ्नै गाउँ फर्केर उनका बुबाले खोजेकी केटी पुष्पासँग विवाह गर्छन्। तर, विवाह गरेलगत्तै केही दिनमै उनी रोजगारीका लागि कतार गइहाल्छन् ।

रातो बन्द बाकससँगै आएको छोराको लत्ताकपडा राखेको ब्याग खोलेर बुवाले पर्स भेट्टाउँछन् । पर्समा अर्कै कुन चाहिँ केटीको फोटो बोकेर हिँड्ने धोकेबाज पनि हो, त्यो शव पात्र। बुवाको रिस र मायाले मिश्रित खालको परिस्थितिले रसाएका ती आँखाले यस्तो पनि सोच्दा हुन्। जसलाई बुवाले लाइटर निकालेर फोटो जलाउँछन्।

पुष्पाका ससुराले दुःख भुलाउन बाटोमा रक्सी खान्छन्, पुष्पाले बड्डा आफू रक्सी खान्छन्, मलाई मासु खान दिँदैनन् भनेर आक्रोशित हुन्छिन्। यो दृश्य भने कल्पना भन्दा बाहिर रहेको पाइन्छ। लोग्ने मरेको बेला, सँगै शव भएको बेला कसैको पनि मस्तिष्कमा त्यसरी मासु खाने इच्छा जाग्दैन र त्यसरी खाने हिम्मत आकांक्षा पनि हुँदैन। राति छोराको सम्पूर्ण कागजपत्र आफैँ हराउँछन् बाबुले र बाटोमा प्रहरी प्रशासनले अर्को जिल्ला प्रवेशमा रोक लगाएको समयमा निगरानी राख्ने युवाबाट अनेक सास्ती पाउँछन्। अनि उनले राज्य संयन्त्रलाई भरपूर रूपमा दोष लगाउँछन्। बाटोमा अनेक दुःख दिने पात्र हेर्दा फिल्म हेर्नेका आँखा रसाउँछन् र मानवता हराएको अनि सबै कागजमै सीमित र व्यावहारिक कानुनको खाँचो र खडेरी परेको झल्किन्छ।

अर्का सशक्त र विशेष पात्र हुन्, नुवाकोटका चालक अशोक थापा। उनी पुष्पाको हाउभाउ, अनुहार, बडी ल्याङ्वेज हेरेरै मनको कुरा थाहा पाउन सक्ने एक मनोविश्लेषकका रूपमा देखिन्छन्। हाकिम हुने भन्दा धेरै पढेलेखेका छन्। अङ्ग्रेजी पनि फररर बोल्छन् । सरल छन्, नम्र बोल्छन्, सबैलाई सम्मानपूर्वक बोल्छन्। तर उनको पनि दुःखको पहाड नै छ । कोरोनाले गर्दा ६ महिनाकी छोरी हुँदा उनकी श्रीमती खाइदिन्छ । छोरीलाई काठमाडौंमा डेरा गर्नु बस्ने आफ्नी बहिनीको जिम्मा लगाएका हुन्छन्। र, रोजीरोटीको लागि गाडी लिएर बाहिर निस्किन्छन्।

अशोक कुखुरापालन गर्थे तर कोभिडले-१९ ले सारा सपना चक्नाचुर पार्दियो ।अन्तिममा भोको पेट पाल्न अनि काठमाडौंमा ज्वाइँले बोलेका शब्दका तीरले गर्दा बैंकबाट ऋण लिएर किनेको कुखुरा बोक्ने गाडीमा शव बोकेर बाजुरातिर सुइँकिन्छन् । अर्पण थापाको अभिनयले भने दर्शकको मन छुन्छ। एक दृष्यमा अर्पण आफ्नी बहिनीलाई कल गरेर हालखबर सोध्छन्, रोइरहेकी ६ महिने छोरीलाई फोनबाट छोरी भनेर बोलाउँछन्, फकाउछन्। फोन राखिसकेपछि उनी निकै भावुक हुँदै रुन्छन्, बेसरी चिच्याउँछन् । परिवार, समाज, बैंक, राज्य व्यवस्थाले भुईंमान्छेलाई कसरी झन् पछाडि पार्ने तरिकाले प्रहार गर्ने रहेछ, बुझाउन फिल्म सफल छ । उनको अभिनयकला निकै अब्बल महसुस हुन्छ ।

अशोकले शव बोकेर हिँडेको गाडीमा यात्राको क्रममा उनले बाटोमा निकै दुःखकष्ट पाउँछन्। शवको कागजपत्र हराएकै कारण प्रहरीले हात्ती भएको कागजपत्र माग्छ, त्यो त सरकारले दिएको होला नि भन्ने सवालमा प्रहरीको लाठी खान्छन्, बाजुरा प्रवेश गर्ने समयमा युवाहरूको रवाफ पुष्पा र उनका ससुरालाई गरेको हिंसाविरुद्ध बोल्दा खाएको कुटाई, मुक्का हानाहान्, धारिलो हतियार प्रयोग गरी गाडीको टायर पन्चर गरेको दृष्टान्तले मन निकै कुँडिन्छ। चुनाव जितेर आएका वडा अध्यक्षको रवाफ्ले झन् राजनीति प्रतिको दृष्टिकोणमा झन् घृणा पैदा गराउँछ र अशोकले निभाएको भूमिका उनले बोलेका डायलग झन् निकै उत्कृष्ट छन्।

खासमा निर्देशकले यस फिल्ममा चित्रण गर्न खोजेको चाहिं के हो? कोभिड- १९ को मनोवैज्ञानिक असर हो कि, रोजगारीको बदलामा दिएको रातो बन्द बाकसको उपहार कि, आफ्नो गायनको सपना मारेर बस्न बाध्य चेलीको कथा कि, कोभिडको समयमा गाउँघर, देशभर यत्रतत्र देखिएको कुसंस्कार र परिपाटी हो कि ? कमजोर नागरिकलाई केन्द्रमा राखेर सुविचार गर्ने नसक्ने भ्रष्ट पतित नालायक नेतृत्व प्रणाली र दुःखको समयमा पनि अलिकति पनि मानवता देखाउन नसक्ने मानवीय सोच हो कि, के हो ?

फिल्ममा संवाद निकै कम मात्रामा छन्। दृश्यहरू भने निकै लामा र कतिपय थुप्रै दृश्य दोहोरिएको जस्तै देखिन्छन् ।कर्णालीको भौगोलिक परिवेशलाई निकै लम्ब्याएको पाइन्छ । संवाद पनि कतै त सायरी जस्तो छेउ न टुप्पोको पनि छन्। कुनै प्रसंग नमिलेको जसरी चालकले संस्कृतका श्लोक फररर भन्छन्, संस्कृत नबुझ्ने भएर हो कि खै किन हो, केही बुझिँदैन । गाडीको आवाजले पनि त्यही बेला साथ दिँदैन।

फिल्ममा पुष्पा र उनका ससुरालीले बाजुराको स्थानीय भाषा बोल्छन्। दर्शकले आधाउधि मात्रै संवाद बुझ्छन् होला र आधाले त भाषाशैली लवज नै बुझ्दैनन् होला। फिल्ममै पनि पुष्पाको ससुराले संवादको बीचमा बोलेको त अशोक नै नबुझेर पुष्पाले बुझाइदिनुपर्छ । निर्देशक यहाँनिर चुकेका छन् । उनले सबटाइटल बनाउने कोसिस नै गरेनन् या अरु केही हो उनै जानुन्। उनको मानसपटलमा र दृष्टिकोणमा देखाउन र दिन खोजेको सन्देश भाषिक समस्याका कारण आममान्छेले अनुमानको भरमा बुझ्नुपर्ने हुन्छ। तर अभिनयको मामिलामा हेर्ने हो भने अशोक (अर्पण थापा)ले दुवै कलाकारलाई पछि छोडेका प्रस्टै हुन्छ । उनको स्वभाव र उनले देखाउने व्यवहारले दर्शकको मन निकै तान्ने गर्दछ।

एउटा दृश्य बबई कटेर सुर्खेत पुग्ने बेला एउटा अनकन्टार जङ्गलको डाँडोमा पिपलको रुख हुन्छ । चौतारीमा कफनले बेरेर शव राखिएको हुन्छ । त्यो दृश्य एकपटक मात्रै झुलुक्क आउँछ। त्यसको अर्थ के हो बुझ्न सकिनँ मैले । शहरका विभिन्न अस्पतालहरूमा बेवारिसे शव अलपत्र छोडे तापनि गाउँमा यस्तो अवस्था सिर्जना नै भएन । यो दृश्य त निकै अकाल्पनिक र असान्दर्भिक लाग्छ। गाउँमा गाई मर्दा त सद्गत गर्ने हाम्रो नेपाली समाजमा यतिसम्म जङ्गलको चौतारामा लगेर कफन बेरेर शव अलपत्र कसले छोड्छ होला त ? त्यो ठाउँमा फेरि नजिकै गाउँ पनि छैन। यतिसम्म त मानवता हराइसकेको छैन कि भन्ने प्रश्न फिल्मले उठाइदिन्छ ।

नेपाली समाजको वर्तमान परिप्रेक्षको यथार्थता, सार्वजनिक निकायले प्रवाह गर्ने सेवा प्रवाह, रेमिट्यान्सबाट चलेको देश, यसरी रेमिट्यान्स पठाउने व्यक्ति बाकसमा भरिएर आउँदा शवलाई निजको घरसम्म पठाउन ल्याकत नभएको देशको अवस्था, स्थानीय तहदेखि केन्द्रसम्मको अस्पष्ट नीति, राज्य पद्धति सम्मको सूक्ष्म विश्लेषण र दृश्य हेर्ने मन भए एकपटक ‘चिसो मान्छे’ अवश्य हलमा गएर हेर्नुहोला । फिल्मी क्षेत्रमा नयाँपन र नयाँ स्वादका लागि दीपेन्द्र के खनाललाई बधाइ !

प्रतिक्रिया
Loading...